वैशालीमा बज्जिसंघ अन्तर्गत लिच्छिवी गणराज्य अति विकसित र समृद्ध थियो । आचार्य चतुरसेनको उपन्यास “वैशाली की नगरवधु” पृष्ठ ७ मा उल्लेख भए अनुसार वैशाली राजप्रासाद मुजफ्फरपुर भन्दा १८ माईल पश्चिम अहिले “बैसौढ” भन्ने गाउँमा थियो । अहिले बैसौढ सानो गाउँको रूपमा रहेको छ । गाउँको वरिपरि ध्वंशावशेष खण्डहर, टुटेका मूर्त्तिहरू कुनैवेला समृद्ध लिच्छिवीको वैशाली नगरको सम्झना गराउँदछ ।
बज्जिसंघलाई अट्ठकुल – विदेह, लिच्छिवी, ज्ञात्रिक, बज्जि, उग्र, भोज, इक्ष्वाकु र कौरव भनिन्थ्यो । यसमा चार प्रधान राज्य विदेहको मिथिला, लिच्छिवीको बैशाली, ज्ञात्रिकको कुण्डपुर र बज्जिहरूको कोल्लागमा राजधानी भएपनि बैशाली पूरै बज्जिसंघको राजधानीको रूपमा रहेको थियो । बज्जिसंघको शासन एउटा राज परिषद गर्थ्यो । राजपरिषदको चुनाव प्रत्येक सात वर्षमा अष्टकुलमा हुन्थ्यो ।
वैशाली एउटा उन्नत व्यापारिक केन्द्रको रूपमा प्रख्यात थियो । देश विदेशका व्यापारी, जौहरी, शिल्पकार तथा पर्यटकहरूबाट वैशाली नगर परिपूर्ण रहन्थ्यो । श्रेष्ठिचत्वर त्यहाँको प्रधान बजार थियो, जसको व्यापारिक शाखाहरू उत्तराखण्ड देखि दक्षिणापथ सम्म फैलिएको थियो । सुदूर पतित्थानदेखि माहिष्मती, उज्जैन, गोनर्द, विदिशा, कौशाम्बी र साकेत (अयोध्या) हुँदै पहाडको तराईको बाटोबाट सेतव्य, कपिलवस्तु, कुशीनारा, पावा, हस्तिग्राम र भण्डिग्राम भएर ठूला व्यापारीहरू वैशालीसंग व्यापार सम्बन्ध स्थापित गरेको थियो । जलमार्गबाट बर्मा, चीन, बेबिलोन, ताम्रपर्णी, स्वर्णद्वीप, यवद्वीप तथा सूदुरपूर्वका द्वीपहरूमा चम्पा (भागलपुर) हुँदै व्यापार हुन्थ्यो । श्रेष्ठिचत्वर व्यापारिक केन्द्रमा हीरा, पन्ना, पुषराज, मोती आदि रत्नको जौहरीद्वारा क्रय विक्रय हुन्थ्यो । कारीगरहरू स्वर्णाभरणमा विभिन्नि सुहाउँदो रत्न तराश गरि जडान गर्थे । सुगन्धित तेल, इत्र लगायत रेशमका बहुमूल्य वस्त्रको व्यापार ठूलो परिमाणमा हुन्थ्यो । (आचार्य चतुरसेन, बैशालीकी नगरबधु, पृष्ठ ८) ।
वैशाली राजप्रासाद ठूलो भूखण्डमा ठूला प्राचीरले घेरिएको थियो । सामरिक सामग्री, प्रशासनिक निकाय, सेना, संथागार, बैठक र प्रासाद प्राचीरभित्र थियो । छेउमा सप्तभूमि प्रासाद तथा उपवन थियो । यही सप्तभूमि प्रासाद ऐतिहासिक जगत सुन्दरी अम्बपाली (वैशालीकी नगरवधू) को आवास थियो । अम्बपाली चरित्रले नगरवधु बनेकी थिईनन्, बज्जिसंघको कानूनमा ‘सर्वसुन्दरी सबैको लागि भोग्य हुने’ प्रचलन रहेकोले त्यसैको शिकार भएकी थिईन । यस धिक्कृत कानूनसंग घृणित भाव राख्दै अम्बपाली अनिच्छापूर्वक सम्पूर्ण स्वत्वको त्याग गर्दै प्रचलनलाई स्वीकार गरेकी थिईन । बलात् नगरबधू बनाउने दबावलाई सम्बोधन गर्न संथागारमा उपस्थित भई अम्बपालीले भनिन– “म सहस्र पल्ट बज्जिसंघको धिक्कृत कानून वैशाली जनपदको यशस्वी गणतन्त्रको कलंक हो भन्न चाहन्छु । विधाताद्वारा प्रदत्त मेरो अथाह रूपका कारण आज मलाई आफ्नो जीवनको गौरवको लाँछना र अपमानको पंकमा डुब्न विवश पारिदैछ । मलाई आफ्नो स्त्रीत्वको सम्पूर्ण अधिकारबाट बंचित पारिईदैछ जुनमाथि एउटा कुलवधूको अधिकार हुन्छ । यदि सन्निपातलाई (सभा) मेरो शर्त स्वीकार छ भने म आफ्नो सतीत्व, स्त्रीत्व, मर्यादा, यौवन, रूप र देह तपाईंको यस धिक्कृत कानूनलाई अर्पण गर्दछु । होईन भने नीलपद्म प्रासादमा तपाईंहरूको बधिकको प्रतीक्षा गर्नेछु (उही, पृष्ठ १७, १८) । अम्बपालीको शर्त थियो– सप्तभूमि राजप्रासाद, राजप्रासादको समस्त साधन र वैभव, नौ कोटि स्वर्णभारको स्वामित्व प्रदान गर्नु । दोश्रो शर्त थियो, सप्तभुमि राजप्रासादको साधन र वैभव प्रदान गर्नु, तश्रो, मेरो आवासमा आउने अतिथिको गणाध्यक्षबाट जाँच नगरियोस् । शर्तको बारेमा सन्निपातमा बहस छलफल गरि सामन्तपुत्रहरूले अम्बपालीको रूप, यौवन प्राप्त गर्न सबै शर्त मंजूर गरि सप्तभूमिमा अम्बपालीलाई प्रतिष्ठापित गरे । लिच्छिवीवंशकी अम्बपाली लिच्छिवीवंशको उन्मूलन गर्ने मनोकाँक्षा सधैं पालेर राखी । मगध सम्राटसंग अन्तरंग सम्बन्धका कारण अम्बपालीले पुत्ररत्न प्राप्त गरेर मगध नरेश बिन्दुसारलाई हस्तान्तरण गरेकी थिईन । वैशालीको पतन पछि उनी भगवान बुद्धको शरणमा गई ।
मगधको साम्राज्य विस्तारको दम्भ बज्जिसंघको प्रभूतालाई सह्न सकि रहेको थिएन । वैशाली पनि आफ्नो आन्तरिक कारणले कमजोर हुँदै गई रहेको थियो । लिच्छिवी जस्तो व्यापारका लागि सुगमता मगधलाई नभएको कारणले पनि मगध वैशालीलाई कहिल्यै मित्रवत् व्यवहार राखेन ।सधैं युद्ध लिप्सा राख्ने मगध नरेश बिम्बिसारको लिच्छिवीसंग वैवाहिक सम्बन्ध भएर पनि उ लिच्छिवीको मित्र हुन सकेन । लिच्छिवीले बिम्बिसारदेखि अजातशत्रु सम्म लामो युद्धको बिभिषिका झेल्नु पर्यो । १६ वर्षको निरन्तर बिनाशक युद्धले बज्जिसंघको उन्नत गणतन्त्रको पतन गर्यो । संघको पतनसंगै लिच्छिवीवंशको पतन भएन । मगधको अधिपत्य स्वीकार गरेर पनि आफ्नै ठाउँमा लिच्छिवीवंश परम्परा शताब्दियौं कायम रह्यो । राजपुरूषहरू जसले मगधको अधीनता स्वीकार गर्न सकेन, विस्थापित भए । सम्भवतः यही बेला वैशालीबाट बिस्थापित भएका लिच्छिवीहरू नेपाल प्रवेश गरेका हुन । नेपाल प्रवेश गर्नेहरू सभ्रान्त राजपुरूषहरू थिए । वैशालीको पतन पछि भागेका लिच्छिवीहरू पुनश्च वैशालीमा संगठित भएर आफ्नो वंश परम्परालाई अगाडी बढायो । मगध सधैं लिच्छिवीहरूको लागि अवरोध नै थियो । मगधको विरूद्धमा केही न केही रूपमा विरोधाभास पालिएको थियो लिच्छिवीहरूले । बिम्बिसारदेखि उदायिभद्द सम्म मगधको कोपभाजन हुँदै आउँदा लिच्छिवीहरू यो वंशलाई समूल नष्ट गर्न चाहन्थे ।
यसै क्रममा मगधमा सुन्दरवर्मन राज्य गर्दथे । पाटलिपुत्रको रक्षा गर्दै उनको मृत्यु भयो । त्यो समयमा पाटलीपुत्रम चण्डसेन र लिच्छिवीहरूले घेरा हालेका थिए । सुन्दरवर्मन चण्डसेनलाई कृतकपुत्र बनाएका थिए । बृद्ध अवस्थामा सुन्दरवर्मनले पुत्ररत्न पाउँदा मगध राज्याधिकारबाट चण्डसेन विस्थापित हुने सम्भावना बढेर गयो । चण्डसेन लिच्छिवी राजकुमारीसंग विवाह गरेका कारण लिच्छिवीहरू चण्डसेनलाई मगधका राजा बनाउन चाहन्थे । चण्डसेन लिच्छिवीहरूको सहयोगमा मगधको सम्राट बन्न सफल भए । मगधको क्षत्रियवंशलाई समूल नष्ट गर्न दक्षिण पश्चिमबाट गुप्तवंश तथा पूर्व उत्तरबाट लिच्छिवीहरू संयुक्त रूपमा बढ्दै आए । चण्डसेन नै चन्द्रगुप्त थिए । लिच्छिवीसंग वैवाहिक सम्बन्ध कायम गरेर बलशाली भई लिच्छिवीहरूले मगधमाथि गुप्तवंशको स्थापना गरि आफ्नो पराजयको प्रतिशोध लिएका थिए । लिच्छिवीहरूको गणतान्त्रिक परम्परा मगध युद्ध पश्चात् नै समाप्त भएको थियो । मगधमा गुप्तवंशको स्थापना पश्चात् लिच्छिवीहरू पनि शक्तिशाली रूपमा आएका थिए । वैशालीमा फेरि एकपल्ट लिच्छिवीहरूको दुन्दुभि बज्न थाल्यो (राधाकृष्ण चौधरी, मिथिलाको इतिहास, पृष्ठ ४५–५२) ।
६३५ मा ह्वेन सांग वैशालीमा आउँदा वैशाली पतनोन्मुख अवस्थामा थियो । समृद्ध र वैभवशाली वैशाली मानिसहरूको कथामा सिमित थियो, (उही, पृष्ठ ५०) । यही समयको आसपास सभ्रान्त राजपुरूषको नेपालमा प्रवेशको प्रबल सम्भावना बुझिन्छ । वैशालीको पतन पछि शायद लिच्छिवीहरूले गणतान्त्रिक परम्परालाई त्यागेर राजतन्त्रात्मक परम्परा अंगालेको स्पष्ट देखिन्छ । वैशालीमा पनि लिच्छिवीहरूले राजतन्त्रको शुरूवात् गरोे देखिन्छ भने नेपालका लिच्छिवीहरूले राजतन्त्रात्मक पद्धति नै अंगालेका थिए ।
२०६९ श्रावण १९ गते मधेशवाणीमा प्रकाशित
