सत्तापक्ष र प्रतिपक्षको बीचमा हिलो छयापा छापबाट शुरु भएको दशैं एकर्का प्रतिको रीस रागलाई मेटेर आपसी सदभाव बढाओस सबैमा हाम्रो शुभकामना छ । हुनत सत्ता प्राप्तिका लागि खेलिने स्तरहीन तथा अन्तहीन खेलहरुमा घृणा, आक्रोश, प्रतिशोध जस्ता प्रवृति नै प्रश्रय पाएको हुन्छ । त्यहाँ सदभाव, प्रेम टिक्न सक्दैन । सबै राजनीतिक दलहरुको स्वार्थ मिल्ने बेलामा एकछिनका लागि देखिएको सहमती, राष्ट्रिय स्वार्थको सवालमा भने लोप भएको देखिएको छ । परिणामतः पारस्परिक प्रतिद्वन्द्विताको फोहरी खेलका कारण गतिरोध बढदै बिकृत अवस्थामा पुगेर राजनीतिक मर्यादाको सीमा नाघेको छ । सत्ता प्राप्तिलाई नै मूल उद्देश्य ठानेका तीन प्रमुख प्रतिस्पर्धी राजनीतिक दलहरु यसपाली त अजीब किसिमको नाटक देखाएको छ । बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको आधिकारिक उम्मेदवार बनाएर माओवादी पार्टीले मधेशी मोर्चाको समर्थनमा प्रधानमन्त्री पदमा आसीन गरायो । पराजयको पीडाबाट आक्रोशित प्रतिपक्षी दलले मधेशी मोर्चासंग गरिएको सहमती राष्ट्रघाती हो भनी रहँदा त्यही स्वरमा स्वर मिलाएर माओवादी पार्टीको वैद्यपक्षले पनि आफनै नेतृत्वको सरकार विरुद्ध राष्ट्रिय स्वाभिमान विरुद्धको सहमती भन्यो । मधेशीलाई गृह प्रशासन दिनु हुँदैन्थ्यो भन्ने माओवादीको एकजना बरिष्ठ नेता सी.पी.गजुरेलको अभिव्यक्ति पनि सार्वजनिक भयो । शरत सिंह भण्डारीको अभिव्यक्तिको प्रतिक्रियामा माओवादी नेता देव गुरुङको एउटा टी.वी. अन्तर्वार्तामा मधेशी मोर्चासंग भएको चार बून्दे सहमती राष्ट्रघाती हो, हामीले भनेका थियौं, आज शरत सिंहको भनाई अनुसार साबित भयो भन्ने विचार सार्वजनिक भएको छ । एमाले नेता के.पी. ओलीको मोर्चाको सहमती बारे बिचार यस प्रकार थियो– “माओवादी लडाकूको समायोजन त कठीन छ, नेपाली सेनामा मधेशी जत्थाको प्रवेश विल्कुल असम्भव छ ।” एमालेका बरिष्ठ नेता बामदेव गौतम, ईश्वर पोखरेलले शरत सिंह भण्डारीको राजीनामाको माँग गरेका छन । यही अवसरमा मुस्लिम संघका महासचिव फैजान अहमदलाई घटस्थापनाको २ दिन पहिले घंटाघरमा गोली हानी हत्या गरेर गृह प्रशासनको सुरक्षा व्यवस्थालाई चुनौती दिईएको छ । भूमी सुधार मन्त्री प्रभु साहलाई बिरगंजको काशीराम तिवारीको हत्या आरोपमा पक्राउ पूर्जी आएको हल्ला फिजाईएको छ । एमालेले प्रभू साहको राजीनामाको माँग पनि अगाडी सारेको छ । राजाले खोक्दा केही नहुने, प्रजाले खोक्दा फाँसी भन्ने मानसिकताले अराजक स्थितिको सृजना गरि विगत कै सरकार जस्तो यो सरकारलाई पनि जति सक्दो चाँडै ढाल्नेको पूर्व तयारी हो । यो स्वाभाविक पनि हो । गतिरोध कायम राखेर कुनै पनि सरकार विगतका दिनमा सफल भएको छैन भन्ने कुरा स्पष्ट देखाएको छ । तर पनि राजनीतिक दलहरु परिमार्जित भएर सहमतीको बिन्दुमा पुग्न नसक्नु दलीय मदान्धताकै कारणले हो । चारैतिरबाट कस्सिए पछि राजनीति गलत बाटोतिर उन्मुख हुन सक्ने खतराबाट पनि बेपरवाह हुने यी राजनीतिक दलहरुबाट जन चाहना बमोजिम नयाँ नेपाल निर्माणको कत्तिको आश गर्न सक्छ नेपाली जनताले ।
मधेश, मधेशी मोर्चा र शरत सिंह भण्डारीले मधेशलाई नेपाली नक्शाबाट अलग नै गर्न चाहन्छ ? मलाई लाग्छ, यसको पक्षमा कोई उभिन चाँहदैन । मधेश शदियौं देखि विभेदको पीडा भोगेर पनि दक्षिण दिशाको नेपाली सीमालाई सजग प्रहरीको जस्तो सीमाको सुरक्षा गर्दै आएको छ । मधेशी अरुभन्दा पनि बढी राष्ट्रियता, देशभक्ति, सामाजिक सदभाव र भातृत्वको भावना राख्ने छुटटै पहिचान बोकेको नागरिक हो । नेपालको नागरिकको रुपमा आफूलाई गौरवान्वित महसूस गर्ने मधेशीलाई शदियौंदेखि नेपाली राज्यसत्ताले दोश्रो दर्जाको, विदेशी, बिजित क्षेत्रका नागरिक आदि दृष्टिकोणबाट हेर्ने प्रयास गर्दै आएको कारणले सोही विभेदको विरुद्ध स्वाभिमान, पहिचान र सम्मान जस्ता न्यूनतम मानवाधिकार बहालीका लागि मधेश विद्रोह भएको हो । संघीयताको रुपमा मधेशका अधिकार सुनिश्चित नभएसम्म मधेशको आन्दोलन जारी रहने कुरा पनि उत्तिकै यथार्थको रुपमा उपस्थित छ । मधेशी मोर्चाको सहमतीलाई राष्ट्रघाती भन्नु पनि मधेशीमाथिको अमर्यादित अतिक्रमणको विरुद्ध शरत सिंहले कडा प्रतिवाद गरेको मात्र हो । के शरत सिंह भण्डारीले देश विखण्डन गर्ने राज्यलाई चुनौती दिएको हो ? कथमपि होइन । शब्दावलीको अमर्यादित प्रयोग मात्र गरेको हो । रुने मन थियो, निहूँ पायो भने जस्तै प्रतिपक्षले शरत सिंह भण्डारीलाई राजीनामा गराउने एउटा राम्रो निहूँ पायो । यसलाई मीडियाले अतिरंजित रुपमा शरत सिंह भण्डारीलाई देशको विखण्डनकारी नै ठहराई प्रचार गर्दा सडक स्मेत तातिएको छ ।
देशको परिवर्तित राजनीति परिवेशमा अन्धराष्ट्रवादको परम्परागत चिन्तनलाई कडा चोट गर्दै शरत सिंहले यस्तो कट्टरपंथी सोचले राष्ट्र विखण्डनमा जान सक्ने आशय व्यक्त गरेका हुन । मधेश खाँस्दा पनि भूँईचालो जाने खतरा देख्ने कट्टरपंथी विरुद्ध शरत सिंहले गरेको कडा प्रतिवादले नव परिवेशमा यथास्थितिवादीले आफनो चिन्तनमा सुधार ल्याउन औंल्याएको छ । एमाले माओवादी समीकरण राष्ट्रघाती नहुने, मधेशी मोर्चासंगको सहमती कुन आधारमा राष्ट्रघाती भएको हो ? मधेशीलाई सेनामा समावेश गर्ने बून्दालाई लक्षित गरि राष्ट्रघाती भनिएको हो भने सेनामा अहिले पनि केही मधेशी कार्यरत छन, त्यो राष्ट्रघातको काम कसरी भयो । माओवादीका लडाकू दस्ता छन जो सेना समायोजनका लागि सिरदर्द बनेको छ । तर मधेशी त सेनाको भर्ना प्रक्रियाको मापदण्डलाई पूरा गरेर सेनामा प्रवेश गर्ने कुरामा राष्ट्रघात कसरी परिलक्षित भयो एमालेलाई । राज्यको पुनर्संरचना गरि समावेशी बनाउने प्रतिबद्धतालाई लत्याउँदै नयाँ नेपालको निर्माण गर्ने के.पी. ओली जस्ता भाग्य विधाताले मधेशीको सेनामा प्रवेश असम्भव भनेर प्रवेशद्वारमा ताल्चा नै ठोकी दिए पछि त्यहाँ द्वन्द्व बाहेक अरु के बाँकी रहन्छ ? यही कट्टरपंथी तथा यथास्थितिवादीको जमातका कारण संविधान निर्माण, राज्यको पुनर्संरचना आदि देशका अहम सवाल अवरुद्ध भएको छ । जन अपेक्ष्ति संविधान, जनताले चाहेको समावेशी राज्य कट्टरपंथीको कैदबाट मुक्त हुन कठीन छ ।
मधेशी मोर्चासंग समीकरण बनाएर बाबुराम भट्टराई प्रधानमन्त्रीमा विजयी भए पश्चात मधेशीलाई सेनामा प्रवेश गराउने सहमतीको बून्दालाई लक्षित गरि संसदमा भएका कट्टरपंथीहरुको व्यापक ध्रुवीकरण भएर मधेशी मोर्चा विरुद्ध एकमुष्ट विरोध सतहमा देखिएको छ । अहिले संक्रमणकालीन अवस्थामा राष्ट्रिय सहमतीको सरकारको अपरिहार्य आवश्यकतालाई बिर्सेर बन्ने जुनसुकै बहुमतीय सरकार अग्रगमनको दिशा निर्देश गर्न सक्दैन । मधेशी मोर्चाले पनि अग्रगमनको सोच लिएर होइन, व्यक्तिगत महत्वाकाँक्षालाई नै अगाडी राखेर दुई दिने राजकीय सुविधा भोग्न फरक समीकरण बनाएको हो । यो फलदायी तथा नवीन बिषय वस्तु भएको यात्रा होइन । व्यापक गतिरोध रहेको वातावरणमा कुनै सरकारले समस्याको समाधान गर्नै सक्दैन । मधेशी मोर्चाले फरक समीकरण बनाए देखि मोर्चाको विरुद्ध कट्टरपंथीहरुको ठूलो जमात सतहमा देखियो । मधेशले यस घटनाबाट पाठ सिक्नु पर्दछ । मधेशी मोर्चाले मधेशीलाई सेनामा प्रवेश गराउने बिषय कुनै नयाँ होइन, सम्झौतामा उल्लेख भएको बून्दालाई राखेर सहमती गरेको हो । मधेशीलाई सेनामा प्रवेश दिनु हुँदैन भन्ने बिषयलाई लिएर अहिले यथास्थितिवादी, कट्टरपंथी र उग्रपंथी सबै एक भएर मोर्चाको विरुद्ध संघर्षमा उत्रेका छन । धृतराष्ट्रको सिंहासनमा बसेको मधेशका दलहरु मधेशलाई के दिन सक्छ भन्ने कुरा प्रष्ट भएको छ ।
मधेशसंगको सम्झौताप्रति प्रतिबद्ध नरहने, माँग गर्दा फरक चरित्र भएका शक्तिहरु एकजुट भएर विरोध गर्ने यो बेइमान मानसिकताले मधेशलाई कहाँ राख्न खोजेको हो । यस किसिमका चिन्तन निश्चय पनि राष्ट्रिय हितको हुँदैन । शरद सिंहको अभिव्यक्तिले ठूलो भूइँचालो ल्याएको छ । शब्द र भाषाको अमर्यादित प्रस्तुति भएको होला, तर सतहमा देखिएका मधेश विरोधी कट्टरपंथी शक्तिलाई कडा चोट गरेको हो शरत सिंह भण्डारीले । उसको भनाईको आशय यतिमात्र हो कि कट्टरपंथी तथा उग्र चिन्तनले मधेश विखण्डनमा जान सक्ने सम्भावना हुन्छ । यो यथार्थ हो । दक्षिणी सूडान पनि कट्टरपंथी सोच कै कारण अलग भएको हो । मधेश नेपालको अन्न भण्डार हो, यसलाई राज्यले त्याग्नै सक्दैन । मधेशमा राष्ट्रियता बढी रहेकोले छुट्टिने सवालै उठदैन । राज्यले मधेशलाई हेर्ने परम्परागत सोचमा परिवर्तन ल्याउन पनि सक्दैन । यस्तो अवस्थामा यहाँ संघर्ष बाहेक के विकल्प रहन्छ । मधेश अब त्वम शरणम गर्ने अवस्थामा पनि छैन । आफनो अधिकार प्राप्तिका लागि सजग छ । अहिलेको घटनाले मधेश अझ सजग भएको छ । कट्टरपंथी विचारको प्रदर्शनले त मधेश आन्दोलनको उपलब्धिलाई राज्यले मधेशलाई दिन सक्छ भन्नेमा शंकै उब्जाएको छ । आफनो अधिकारको प्राप्तिका लागि अर्को मधेश आन्दोलनको विकल्प छैन ।
२०६८ असोज १३ गते मधेशवाणीमा प्रकाशित
