महाभारत युद्धकाल (२२००–१७०० ई०पू०)ः– द्वापर उल्लेखनीय अनेक महानतम घटनाहरुको संकलित युग हो । महाभारत युद्धबाट समस्त भारत प्रभावित भएको थियो । मध्यदेशका राज्यहरु पनि युद्धमा होमिएका थिए । कृष्ण्को जन्म, कंसको मृत्यु, शिशुपाल बध, जरासंधको मृत्यु, कुरुवंशको अन्त आदि घटनाहरु महत्वपूर्ण थियो ।
उच्चवर्गको आन्तरिक द्वन्द्व तथा दासप्रथाका बिषमताले समाजमा गृहयुद्धका कारण अनेक हलचल भई रहने, अनेक अस्तित्वको पतनको युग थियो । आफ्नो अस्तित्वको बृहत् वर्चस्व कायम राख्ने राजाहरुको शौर्यमाथि हुने आघातबाट युद्धको जन्म हुन्थ्यो र यसमा पक्ष र विपक्षमा सबै राज्यका सेना होमिन्थ्यो । महाभारतलाई धर्मयुद्ध भनिन्छ ।
कुलिंद, आनर्त, कालकूट, साकल, प्रतिविंध्य, प्रागज्योतिष, उलूक, उत्तरको पाँच गणराज्य, उत्सव संकेतगण राज्य, दारभस, कोकनद, अभिसारी, उरग, सिंहपुर, वाल्हीक, दरद किंपुरुष (नेपाल), हाटक (मानसरोवर नजिक), उत्तर हरिवर्ष (तिब्बत), पंचाल, विदेह, दर्शाण (छत्तीसगढ), पुलिंद नगर (बुंदेलखण्ड र सागर), श्रेणिमान मल्ल, भल्लाट (सुक्तिमान पर्वत), मलद, वत्सभूमि, निषाद, सरभक, वरमक, र्बबर, किरातहरुको सात राज्य, मगध, पुण्ड्र, कौशिकञ्च (पुर्णिया), ताम्रलिप्त, सुह्म, लाहित्य यी देशहरु युधिष्ठिरको प्रभावमा रहेको थियो (इंहिक्वा ७, पृष्ठ ५२६) । महाभारतको युद्धमा किरातहरुको उल्लेखनीय भूमिका थियो ।
किरातहरु पुर्वका निवासी थिए (राँगेय राघव, प्रा०भा०प०इ०, पृष्ठ २२४) । प्राग् ज्योतिषपुर (आसाम) को राजाको सेनामा किरात सेनाको बर्चस्व थियो । दरद किंपुरुष (नेपाल), प्राग ज्योतिषपुर (आसाम) तथा उत्तर हरिवर्ष (तिब्बत) मा किरातहरुको मूल थलो रहेको कुरा महाभारतले देखाएको छ । प्राग् ज्योतिषपुरको राजामाथि अर्जुनले आक्रमण गर्दा आफनो राजाको पक्षबाट अर्जुनको विरुद्ध चीन र किराँत लडेको थियो (द वाइल्ड ट्राइब्स इन इंडियन हिस्ट्री, पृष्ठ १६) । मत्स्य पुराण अनुसार भारतवर्षको सीमाप्रान्तको पश्चिममा यवन र पुर्वमा किराँत थियो । मार्कण्डेय र बिष्णु पुराणले किराँत पुर्वको बासी थियो भनेको छ । यो नयाँ ठाउँको खोजी गर्दै देशमा फैलियो । महाभारतमा उल्लेख भएको किराँत जातिको बारेमा द वाइल्ड ट्राइब्स इन इंडियन हिस्ट्री, पृष्ठ १६, १७ ले किराँत राज्य उत्तर पुर्वमा थियो उल्लेख गरेको छ । महाभारतमा वर्णित कुलिंद देश हिमालयमा थियो । किराँत, तंगण, पुलिंदसंगै कुलिंदको वर्णन पाइन्छ । कुलिंदका राजा सुबाहु थियो जसले पाण्डवलाई गन्छमादेन पर्वततिर जाँदा सत्कार गरेको थियो । कठीन हिमालय पार गर्दै पाण्डव चीन, तुषार, दरद हुँदै कुलिंद देश पुग्यो जो रत्नदेश थियो । वहीं उनले राजा सुबाहुको विशाल दुर्ग देखे । त्यही कुलिंद देशीय पर्वतहरुको पुत्री कालिंदीलाई यमुना भनिएको हो (प्रिआर्यन एण्ड प्रिद्रविडियन, पृष्ठ ९१–९३) ।
उत्तर पुर्वको किराँत देश, विदेह, वैशाली, पाञ्चाल, काशी, अयोध्या, मल्ल, शाक्य, कोशल आदि महाभारतमा कृष्णको पक्षमा थियो भने मगधका राजा जरासंध कृष्णको विपक्षमा थियो । जरासन्धको निरंकूश राजाको रुपमा वर्णन पाइन्छ । जरासंध शिव उपासक थियो । जरासंध पशुपति मन्दिरमा ८६ राजाहरुलाई बन्दी बनाएर राखेको थियो । १०० को संख्या पुर्याएर सबैलाई मार्ने योजना थियो (राँगेय राघव, प्रा०भा०प०इ० पृष्ठ २६४) । गणप्रथा हटाएर निरंकूश राजतन्त्र राखेर ऊ आततायी राजाको रुपमा आसपासका राजाहरुलाई भगाएर शासन गरि रहेको थियो । कृष्ण गणप्रथामा विश्वास राख्दथ्यो । राजतन्त्रको बिषयमा कृष्ण जनमुखी, उदार राजतन्त्रलाई स्वीकार गर्दथ्यो । कृष्ण अनार्य विरोधी भएपनि आर्यको पारस्परिक द्वन्द्वलाई पनि हटाउने प्रयासमा लागेको थियो । जरासंधको अन्याय अत्याचार सबैको चिंताको बिषय भएको थियो । कृष्ण जरासंधको अत्याचारबाट सबैलाई मुक्त गर्न जरासंधलाई मार्ने योजना बनायो । अर्जुन र भीमलाई लिएर उनी ब्राह्मणवेशमा जरासंधको राज्यमा पुगेर बडो चालाकी साथ जरासंधलाई मारेर कैदी राजाहरुलाई मुक्त गर्यो । कृष्णले जरासंधको पुत्र सहदेवलाई राज्य सुम्पि दियो । कृष्ण गणराज्यको समर्थक थियो । उदार राजतन्त्र पनि मान्य थियो । तर निरंकूश राजतन्त्रको उ सर्वथा विरोधी थियो (राँगेय राघव, प्रा०भा०प०इ०, पृष्ठ २६६) ।
भूमिलिप्साले क्षत्रिय राजाहरुलाई निरंकूशतातिर धेकेलि रहेको थियो । धेरै गणनायकहरु पनि उग्रताको बशमा निरंकूश राजतन्त्रको स्थापना गर्दै अत्याचारलाई अगाडि बढाई रहेका थिए । यो प्रबृति अरु वंशका नायकमा पनि देखिन्थ्यो । कंसले गणराज्य समाप्त गरेर क्रूर राजतन्त्रको स्थापना गरेको थियो । उसको अत्याचारको सीमा नाघे पछि कृष्णद्वारा उसको बध भयो । महाभारत युद्ध निरंकूश राजतन्त्रको विरुद्ध धर्मयुद्ध थियो । यसमा मध्यदेशका तथा यो भन्दा बाहिरका असंख्य राजाहरु धर्मको पक्षमा कृष्णलाई साथ दिएका थिए भने धेरै निरंकूश राजाहरु अधर्मको पक्षमा युद्धमा सामेल थिए । यादबवंशमा पनि विभाजन भएको पाइन्छ । एउटा विभाजित भाग कौरवको पक्षमा गयो ।
कृष्ण राजनीतिक रुपले गण र एकतन्त्रको मध्यमार्ग खोजी रहेको थियो । एकतन्त्रको निरंकूशताको कृष्ण सधैं विरोधी रह्यो । दासप्रथा, स्त्री अपहरण, राज्यको कूटनीति स्वार्थ के लिए शत्रुबध उनको लागि मान्य थियो । शुद्रलाई केही रियायत दिन चाहन्थ्यो । ब्राह्मण धर्मलाई सर्वोच्च राख्दै कृष्ण क्षत्रियलाई मात्र एक गर्न चाहन्थ्यो । उनको र पाण्डवको मत थियो कि पारस्परिक वैमनस्यता हटाएर अनार्यसंग युद्ध गर्नु पर्दछ (राँगेय राघव, प्रा०भा०प०इ०, पृष्ठ २९०) ।
धर्मयुद्धको नाममा भएको महाभारत युद्धको विभीषिकाले दिग् दिगन्त प्रभाव पार्यो । सबैको शक्ति नाश भयो । तात्कालीन सामाजिक व्यवस्था धाराशायी भयो । समाज सत्ताका एकाधिकार नायकको वर्चस्व कि त समाप्त भयो कि क्षीण अवस्थामा पुग्यो । दास, शुद्रले सिर उठायो । दाबिएका दास र शुद्र क्षत्रिय शासन बन्धनबाट मुक्त भई स्वतन्त्र रुपमा साँस लिन थाले । महाभारत युद्ध पश्चात् धेरै मरे, बाँचेका राजकुलीन महारथी शक्तिहीन भयो । शक्तिहीन राजतन्त्रहरु धराशायी हुन थाल्यो । द्वापरयुगको अन्तसंगै एउटा नवयुग (कलियुग) को शुरुवात् भयो ।
२०६९ मंसीर २९ गते मधेशवाणी साप्ताहिकमा प्रकाशित
