उत्तर प्राचीनकाल ( १७०० ई० पू०)ः– राँगेय राघव अनुसार त्रेतायुग २२०० ई०पू० मा आरम्भ भई १७०० ई० पू० मा समाप्त भएको हो । पार्जिटरले द्वापरमा ३० पिढीको उल्लेख गरेको छ । २० वर्षको हिसाबले ३० पिढीको ६०० वर्ष भयो । २२०० मा ६०० घटाउँदा १६०० वर्ष ई० पू० कलियुगको आरम्भ मानेको छ । महाभारत युद्धको विभीषिकाले तत्कालीन समाजमा धेरै सकारात्मक र नकारात्मक प्रभाव पारेको थियो । समाजमा वर्चस्वधारी वंशको पतन भई रहेको थियो । गणहरु सिर उठाई रहेका थिए । कृष्णको गण सिद्धान्तको सुविधाले गणहरुको शक्ति तीब्र ढंगले बढि रहेको थियो । आर्य आर्यबीच, अनार्य अनार्यबीच, आर्य अनार्यको बीचको द्वन्द्वले संगठित शक्ति क्षीण भई रहेको थियो । तथापि वर्चस्वधारीहरु बदलिदो समाजमा बर्चस्व कायम गर्न असफल प्रयास गरि रहेका थिए । ब्राह्मण क्षत्रियबीचको कटुता बढेकाले दास र शुद्र परस्पर संगठित हुन थाले । आस्तिक नास्तिक बीचको संघर्ष चर्किन थाल्यो । नास्तिकको केन्द्र गण थियो ।
पारम्परिक रुपमा ब्राह्मण क्षत्रियबीचको सम्बन्ध टुट्न थालेको अवस्थामा पौराणिक समाज कमजोर भई परिवर्तित भई रहेको थियो । जैनधर्मका संस्थापक ऋषभदेव क्षत्रिय भएर पनि तत्कालीन धार्मिक सुधारकको रुपमा विद्रोह गरेका थिए । ऋषभदेव इक्खाग भूमि (अयोध्या) मा ईक्ष्वाकु वंशमा पैदा भएका थिए, (जैनधर्म, पृष्ठ १७) । भागवत पुराणले पनि ऋषभदेवलाई नै जैनधर्मका संस्थापक मानेको छ । ऋषभदेव पछि तेइस तीर्थंकर भयो । त्यसमा चारबाहेक अरु सबै ईक्ष्वाकु वंशका थिए (जैनधर्म, पृष्ठ १७) । जैन संघमा चारै वर्णको मानिस समावेश थियो । शुद्रलाई पनि धर्म सेवन गर्ने अधिकार थियो (जैनधर्म, पृष्ठ २७५) । पार्श्वनाथ महावीर भन्दा २५० वर्ष पुर्व अर्थात् ई०पू० नवम शताब्दीमा भएका थिए (जैनधर्म, पृष्ठ १९–२२) । पार्श्वनाथको मृत्यु ७७६ ई०पू० भएको थियो (जैनधर्म, पृष्ठ ३५३) । उनले विवाह प्रथा, शवदाह आदि धेरै कुरा सिकाए । उनको समयमा भाई बहिनीबीच विवाह जायज थियो (लाइफ इन ऐंशेंट इण्डिया, पृष्ठ १६०) ।
विदेहमा जनकवंशको अन्तिम राजा कलार (कराल)को समयमा विदेह साम्रज्यको अन्त भयो । विदेह साम्राज्यको वैभवबाट ईर्ष्या राख्ने काशी नरेश अजातशत्रु त्यहाँको राजवंशको अन्त गर्न चाहन्थ्यो । यदाकदा दुबै देशको सेनामा संघर्ष चलि रहन्थ्यो । पालि–टीका परमत्थजोतिका, भाग १, पृष्ठ १५८–६५मा भनिएको छ कि विदेहको जनकवंश पश्चात् उत्तर भारतमा लिच्छवीहरु जो काशी राजकन्याका सन्तान थिए र जो बज्जि गणतन्त्रको सर्वाधिक महत्वपूर्ण अंग थियो, शक्तिशाली राजवंशको स्थापना गर्यो (डा० हेमचन्द्र राय चौधरी, प्रा०भा०रा०इ०, पृष्ठ ६६) । त्यसपछि विदेहमाथि बज्जि संघको शासन कायम भयो । बज्जि संघमा यी महत्वपूर्ण गणराज्यहरु जसले आफनो ख्यातिका कारण आर्यावर्तमा आफनो प्रसिद्धि हासिल गरेका थिए, सामेल थिए – बज्जि, विदेह, शाक्य, कोलीय, लिच्छवी, मल्ल आदि । मध्यदेशमा विदेहको ज्ञान विज्ञान, बैभव, पराक्रम, विशाल राज्यसीमा आदि सम्पन्नताले राजा जनकलाई सम्राटको उपाधि प्राप्त थियो । अरु कुनै राजा सम्राटको उपाधिबाट बिभूषित थिएन । कलियुगमा विदेहको साम्रज्यको अन्त भई लिच्छवी गणराज्यमा गाभियो ।
शाक्यवंशी गौतम बुद्धको महान सुधारकको रुपमा कपिलवस्तुमा ५६५ ई०पू० जन्म भएको हो । शाक्य गणराज्यको राजधानी कपिलवस्तुको तिलौराकोटमा यिनका पिता राजा शुद्धोदन र माता मायावती थिइन । मायावती कोलीय राजकन्या थिइन । गर्भवती मायावती माइती जान लाग्दा लुम्बिनी वनमा गौतम बुद्धको जन्म भएको हो । राजकीय सुविधा त्यागेर बुद्ध २९ वर्षको अवस्थामा मानवमा सांसारिक दुःखबाट मुक्तिको बाटो खोज्न उनी ५३६ ई०पू० सन्यास लिए । उत्तरी बिहारको गया भन्ने ठाउँमा ज्ञान प्राप्त गरि बुद्धले आफना अनुयायीका लागि बौद्धसंघ बनाए । मध्यदेशको अनेक राज्यका राजा देखि सर्व साधारण लाखौंको यिनका संख्यामा यिनका अनुयायी भिक्षुसंघका सदस्य बने । ४८६ ई०पू० कुशीनारामा यिनको देहावसान भयो । धार्मिक सुधार र विश्वलाई शान्तिको सन्देश दिएर बौद्धधर्म स्थापना गर्ने बुद्ध अहिले पनि उनको शिक्षा सान्दर्भिक छ । वर्ण व्यवस्थामा आधारित तत्कालीन समाजमा जाति विभेदको अन्त गर्न बौद्धशिक्षाको अतुलनीय योगदान थियो । गौतम बुद्धको मृत्यु पश्चात् कलिंग विजयबाट विरक्तिएका सम्राट अशोक तत्पश्चात् बौद्धधर्म प्रचारमा लागे । पुत्री संघमित्रालाई सिंघलद्वीप, पुत्र देवेन्द्रलाई श्याम (द्वारावती) तथा आफू मध्यदेशको अनेक ठाउँमा बौद्धधर्म प्रचारको अभियानमा अशोक स्तम्भ निर्माण गरे ।
आर्य भाषाको उद्गम स्थल मध्यदेश नै थियो । पहिलो आर्य भाषा संस्कृत थियो । ईस्वी दोश्रो वा तेश्रो शताब्दीमा संस्कृत इण्डोचीनमा पुगेको थियो । त्यसपछि मलय, इन्डोनेशिया, जावा, सुमात्रा हुँदै वालीसम्म पुग्यो (इण्डो–आर्यन एण्ड हिंदी, पृष्ठ ६८–६९) । प्राचीन खोतानी र तुषारीले मध्य एशिया तथा चीनी सीमामा भारतीय भाषा तथा संस्कृतलाई फैलाउन सहयोग गर्यो (उही, पृष्ठ ७१) । संस्कृत मध्यदेशको भाषा थियो र यो देवभाषाको रुपमा स्वीकृत थियो । यहींबाट देवभाषा श्याम (द्वारावती), कम्बोडिया (काम्बोज), अनाप (चम्पा)मा ईशाभन्दा पूर्व पुगी सकेको थियो (उही, पृष्ठ ६८) ।
श्वेतद्वीपको कथाबाट प्रतीत हुन्छ पाञ्चरात्रका प्रादुर्भाव उत्तरबाट भयो । पाँचौं शताब्दी ई०पू० पाञ्चरात्र उपासना उत्तरदेखि दक्षिण मराठा प्रदेशसम्म पुगी सकेको थियो (इन्ट्रोडक्शन टु द पाञ्चरात्र एण्ड द अर्हिबुध्न्य संहिता, पृष्ठ १६–१७) । कपिलको साँख्य परम्पराको प्रभाव पनि तीब्र गति लिएको थियो । पाणिनी तथा यास्कको पूर्ववर्ती बैयाकरण तथा निरुक्तकारहरुको नाम पनि प्रचलित थियो जो वैदिकधर्म प्रचारमा ख्याति पाएको थियो– औदुम्बरायण, त्रोष्टुकी, शतबलाक्ष, मौद्गल्य, शाकपूणि, शाकटायन, स्थौलाष्ठीवी आग्रायण, औपमन्यव, आर्णवाभ, कौत्स, गार्ग्य, गालब, चर्मसिरस्, तैटीकि, वार्ष्यायणि तथा शाकल्य आदि (भारतीय प्राचीन लिपिमाला, पृष्ठ ८) ।
कलियुगको बारेमा महाभारत वनपर्व १८९।३०मा भगवानले मार्कण्डेयलाई भन्नु भयो– मेरो सत्ययुगमा श्वेत, त्रेतामा पीत, द्वापरमा रक्त तथा कलियुगमा कृष्णवर्ण हुन्छ । कलियुगमा अधर्मको उत्पत्ति, बृद्धि तथा अतिबृद्धि तीन चरण हुन्छ । १९० अध्यायमा धर्मलाई चार चरणवाला बृषभी भनिएको छ । सत्ययुगमा धर्मको चार चरण, त्रेतामा तीन, द्वापरमा दुई तथा कलियुगमा एक चरण हुनेछ । कलियुगमा मानिस धर्माचरणको विरुद्ध लोभ, मोह, काम, क्रोध, बैरभावमा बढि आकर्षित हुनेछ । सनपाटको कपडा र कोदो अन्न उत्तम बस्त्राहार हुनेछ । पुरुष स्त्रीको भक्त हुनेछ । गाईको नाश भएपछि व्रतधारी बाख्रा र भेंडीको दुध पीउने छ । माछा मासू महत्वपूर्ण आहार हुनेछ । मानिस लोभ लालचमा परस्पर हिंसा, चोरी, ठगी गर्न हिच्किचाउने छैन । धर्म कर्म नगरि मानिस चोर र नास्तिक बन्नेछ । पूजा पाठमा लागेकाहरु लोभबश एकर्काको धन लुट्ने छन् । पिता पुत्रको पुत्र पिताको धन हरण गर्नेछ । खाद्य अखाद्यको कुनै विचार हुँदैन ।
तत्कालीन समाज व्यवस्थामा विषमता भोगि रहेका शुद्र र दासलाई महाभारत युद्धमा ध्वस्त भई रहेका कूलीनतन्त्रको पतनले अगाडि आउन अवसर दिएका थिए । दासहरु शुद्रसंग मिलेर शक्ति बनाई रहेका थिए । महाभारतको युद्ध परिणाम सबैलाई थाहा थियो तर पनि महाभारत युद्ध गर्न सबै विवश थिए । महाभारतमा सबैको ज्ञान, बुद्धि, शौर्य, तेज, बल, राजाको शक्ति, शासनाधार र राजा सेना सबैकुरा नष्ट हुने आशंकामा विद्वानहरुले त्यसपछि शासित शुद्रहरु उदाउने कुराको आभास पाएर नै कलियुगबारे वर्णन लेखेका होलान् । कलियुगमा महाभारतमा लेखिए अनुसार मानिस बलहीन त भए तर ज्ञान र बुद्धिको अतुलनीय विकास भएको छ । गणराज्यको उदय भयो । शासितहरु शासक बने । यी सबै परिवर्तनमा मध्यदेशको परम्परा प्रधान रुपमा दर्शनीय नै रह्यो ।
२०६९ पौष ६ गते मधेशवाणी साप्ताहिकमा प्रकाशित
