त्रेतायुगमा मध्यदेशको प्रधानता–२

 

त्रेतायुग (२७००—२२०० ई०पू०) उत्तर वैदिककालः– पार्जिटर राजवंश तालिका अनुसार त्रेतायुगको काल ५०० वर्षको मान्दछ । त्रेतायुग २७०० ई० पू० प्रारम्भ भएर २२०० ई० पू० मा अन्त भएको हो, (राँगेय राघव, प्रा०भा०प०ई०, पृष्ठ २२२) । मत्स्यपुराण अनुसार त्रेतायुगमा एकमात्र वेद– यजुर्वेद – थियो । यसै यजुर्वेदको शासनको कारणले त्रेतायुगमा यज्ञकर्मको प्रधानता बढेको देखिन्छ । पुत्र आकांक्षाको लागि यज्ञ, राज्य प्राप्तिको लागि यज्ञ, स्वर्ग प्राप्तिका लागि, देवतालाई खुशी पार्नका लागि, अर्थात हरेक बिघ्न बाधा हटाउन यज्ञको महत्व बढ्यो । राज्याभिषेक यज्ञद्वारा हुन्थ्यो । प्रत्येक प्रतापशाली राजा अश्वमेघ यज्ञ गर्न अभिलाषा राख्दथ्यो । यजुर्वेद यजनको वेद हो । ऋग्वेदको मन्त्र यज्ञमा काम लाग्छ । साम मन्त्र गानमा प्रयोग हुन्छ र व्यक्तिगत इष्टियज्ञमा अथर्ववेद मन्त्रको उपयोग हुन्छ ।

       यज्ञको आयोजनले देवता मनुष्यबाट धेरै टाढा गएको प्रतीत हुन्छ । क्षत्रिय राज्य संचालनमा प्रभावशाली थियो, भने ब्राह्मण धर्मकर्ममा अधिकार जमाएको थियो । यज्ञ आदिम युगमा समानताको प्रतीक थियो । अब यज्ञ शासक वर्गको स्वार्थको साधन बन्यो । प्राचीन परम्परामा आर्य यज्ञमा समान उत्पादन वितरणमा सहभागी थियो । त्यही यज्ञ अब खास वर्गको सम्पत्ति बन्यो । समाजमा अलग अलग पेशा अख्तियार हुन थाल्दा भिन्न भिन्न वर्णको प्रादुर्भाव भयो । पहिले उत्पादन जनसमाज (विश्) को हातमा थियो तर सैन्य शक्तिको प्रादुर्भाव भएपछि वितरण क्षत्रियको हातमा गयो । पहिलेको सेनामा सबै सहभागी भएर गणको लागि लड्थ्यो । अबको सेना शासकको थियो । समाजको सबै शक्ति अब क्षत्रियको हातमा थियो । ब्राह्मण अधिकार च्यूत भयो । त्रेताको अन्तकालमा परशुराम र दाशरथि रामको झगडाको उदाहरण द्वापर देखि कलियुग सम्म अर्को देखिदैन । चन्द्रगुप्त मौर्य कालमा क्षत्रियको उपेक्षा भाव तीव्र भएपछि ब्राह्मणले हतियार उठाएको थियो । ब्राह्मणले क्षत्रियसंग सम्झौता गर्नु बाहेक कुनै उपाय थिएन । क्षत्रियद्वारा ब्रह्मणको शक्ति छिनिए पछि ब्राह्मण धनहीन त देखियो, तर सम्मान धेरै बढ्यो । यो कालमा हैहयहरुको शक्ति क्षीण भई वांशिक महत्व घटेको थियो । मध्यदेशका यादव, काशी, अयोध्या, विदेह, वैशालीको वंश उत्कर्षमा थियो ।

     क्षत्रियहरुमा अनेक स्त्री राख्ने चलन थियो । क्षत्रिय राजाहरुमा चार स्त्री राख्ने नियम थियो : महिषी (पटरानी), परिवाक्त्री (उपेक्षिता), वावाता (प्रिया), तथा पालागली (दरबारी अफसरकी छोरी) । यसको त्तैत्तिरीय, शतपथ तथा पञ्चविंश ब्राह्मणमा उल्लेख पाइन्छ । रावणको पितामह ब्रह्मा (स्वयंभू) थियो । उनको मानस पुत्रहरु मध्ये एउटा पुलस्त्य थियो । पुलस्त्यको गो नामको भार्याबाट वैश्रवण नामको पुत्र थियो । वैश्रवण, पिताको सेवा गर्न छोडेर, पितामहको उपासना गर्न थाल्दा क्रुद्ध पुलस्त्य आफ्नो योगबलद्वारा आधा अंशले दोश्रो शरीर धारण गर्‍यो ।

यसरी महात्मा पुलस्त्य विश्रवाको नामबाट प्रसिद्ध भयो । लंका निवासी नरवाहन राजराज कुबेर आफ्ना कुपित पिता विश्रवालाई खुशी पार्न सेवाका लागि तीनवटा राक्षसी—पुष्पोत्कटा, मालिनी र राकालाई पठायो । नृत्य, संगीतको माध्यमले राक्षसीहरु विश्रवालाई रिझाउन थालिन । विश्रवालाई, पुष्पोत्कटाबाट रावण र कुम्भकर्ण, मालिनीबाट विभीषण र राकाबाट खर र शूर्पणखाको जन्म भयो । कुबेर, रावणको ज्येष्ठ भ्राता थियो, (राँगय राघव, प्रा०भा०प०ई०, पृष्ठ १९०–९१) ।

यजुर्वेदमा शुक्ल र कृष्ण दुई पाठ छन् । शुक्लमा १५ शाखा छ : काण्व, माध्यंदिन, जाबाल, बुधेय, शाकेय, तापनीय, कापीस, पौंड्रवहा, आवर्त्तिक, परमावर्त्तिक, पराशरीय, वैनेय, बौधेय, औधेय र गालब । यी सबैको एकीकृत रुप बाचसनेयी शाखा हो । यसमा १९९० मन्त्र छन् । कृष्ण यजुर्वेदको दोश्रो नाम त्तैत्तरीयसंहीता हो । तिलक अनुसार तैत्तिरीयसंहीताको समय २३५० ई० पू० हो, (वैदिक इंडेक्स, पृष्ठ ४२५) । अविनाश चन्द्रदासको मत अनुसार शतपथब्राह्मणको समय लगभग २५०० ई० पू० हो, (ऋग्वेदिक इंडिया, पृष्ठ ३६४) ।

        प्राचीन गणराज्य पूर्णरुपमा नष्ट भएको थिएन । राजा निरंकूश हुन सकेको थिएन । जनता राजालाई पदच्यूत गर्न र अर्को राजा बनाउन अधिकार राख्थ्यो । गणहरुको निर्णय मान्न राजा बाध्य थियो । राजामाथि ब्राह्मणहरुको विशेष अंकुश हुन्थ्यो । शतपथ ब्राह्मण अनुसार अप्सरा शकुन्तलालाई प्रेम गरेर पनि गणको डरले तत्काल स्वीकार गर्न सकेन । अप्सरा की छोरी शकुन्तलाले नाडपित भन्ने ठाउँमा जन्म दिएकी थिइन ।

        समस्त आर्यहरुमा एउटै किसिमको राज्य व्यवस्था थिएन । ऐतरेयब्राह्मण अनुसार पूर्वमा साम्राज्य, दक्षिणमा भौज्य, पश्चिममा स्वराज्य र उत्तरमा वैराज्य थियो । गण परम्परा पूर्णतया नष्ट भएको थिएन तर दास–प्रथा तथा शूद्र समाजमा विद्यमान थियो । शूद्र पनि राजा हुन्थ्यो । छान्दोग्य उपनिषद्मा परवर्त्ती राजा पौत्रायण शूद्र थियो । ऐतरेय ब्राह्मण ७. १८. मा आन्ध्र, पुण्ड्र, शाबर, पुलिंद र मुतिवलाई म्लेच्छ जातिको रुपमा उल्लेख गरिएको छ । विश्वामित्रको ज्येष्ट पुत्र श्रापित भएर म्लेच्छ भयो । यी प्राचीन दस्यु जातिहरु आर्य भूप्रान्तको सीमामा बस्थ्यो, (प्रि आर्यन प्रि द्रविडियन, पृष्ठ ८८) ।

        सगरको पुत्र असमंजसको सम्बन्धमा एउटा किंवदन्ती प्रचलित थियो कि त्यो केही दिन ऋक्ष, वानरसंग रह्यो र पछि पश्चिमतिर गयो । उनले आर्यको सम्बन्ध पश्चिममा प्रसार गर्‍यो । दिलिपको नाम यस युगमा धेरै प्रचलित रह्यो । उनको गौ–सेवा महत्वपूर्ण थियो । भागीरथ गंगाको स्रोत खोज्न उत्तरदिशाका प्रान्तको भ्रमण गर्‍यो, जहाँ शिवका उपासकहरु बस्थे । उनले आर्यको प्रसार उत्तरमा गरे । रघुले उत्तरको कुबेरलाई हराएको थियो । उनको दिग्विजय प्रसिद्ध थियो ।

       त्रेतायुगको प्रसिद्ध घटना राम–रावण युद्धको बारेमा वर्णित छ । राँगेय राघव, प्रा०भा०प०इ०, पृष्ठ १८८ अनुसार बाल्मिकी रामायण २०० ई०पू० शुँगकालमा रचिएको उल्लेख छ । बाल्मिकी रामायणमा सामन्तकालीन समाजको चित्रण पाइन्छ । रामको स्थान आदर्श सामन्तको रुपमा गरिएको छ । आर्य संस्कृतिको केन्द्रविन्दु रहेको मध्यदेशमा काशी, कोशल, जनकपुर, अयोध्या, बैशाली, मगध आदि उत्कर्षमा थियो । जनक महान “सम्राट”को रुपमा प्रतिष्ठापित थियो । तत्कालीन राजाहरुले सम्राटको उपाधि पाउन सकेको थिएन । अयोध्याको राजा दशरथ तिनका छोरा रामको रावणसंगको युद्ध त्रेतायुगको प्रमुख घटनाको रुपमा चित्रित भयो ।

       आर्य संस्कृतिको विस्तार गर्न परशुराम र अगस्त्य विंध्याचल पारको देशमा गए । वैदिक इन्डेक्स२, पृ. २३४ अनुसार अगस्त्य र उनकी पत्नि लोपामुद्राको उल्लेख ऋग्वेदमा पाइन्छ । अगस्त्य इन तमिल ल्याण्ड, पृष्ठ ५,६ अनुसार लोपामुद्रालाई विदर्भको राजकुमारी भनिएको छ । अगस्त्यको दक्षिण भारतमा अनेक किंवदन्तीहरु पाइन्छ । नसिक, दण्डकारण्य, मलकूट, दक्षिणकाशी, पोथियन, पाण्ड्यदेश, इण्डोनेशिया, वर्हिणद्वीप (बोर्नियो), कुशद्वीप, बराहद्वीप, स्याम (कम्बोडिया) तथा जाबा सम्म अगस्त्यको सम्मान देखिन्छ (उही पृ.) । जावामा शिव मूर्त्तिलाई अगस्त्यको मूर्त्ति भनिन्छ । सम्भवतः अगस्त्यको शैवसंगको गहिरो सम्बन्धका कारण नै दक्षिणका अनार्यहरुले अगस्त्यलाई स्वीकार गर्‍यो । अगस्त्यलाई तमिलको पण्डित भनिन्छ । बाल्मिकी रामायणमा अगस्त्यले रामलाई ऋषि मुनीहरुको अस्थि देखायो । रामले राक्षस नाश गर्ने प्रतीज्ञा गरेर आर्यहरुको दक्षिणबाटो खोल दियो ।

       मध्यदेशको धर्म, संस्कृति, परम्पराले देश विदेशमा आफ्नो प्रभाव र पहिचान कायम राख्यो । पछिका दिनमा सहिष्णुताको आधारमा सबै समुदाय यही परम्परालाई अगाडि बढाएको देखिन्छ । यही मध्यदेशको अपभ्रंश भएर मधेश नामले परिचित नेपालको दक्षिणी समथर भूभाग पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म फैलिएको हो । नेपालको राजनीतिक शास्त्रमा यो समथर भूभागलाई मधेश र तराई नामले चित्रित गरिएको छ ।

२०६९ ज्येष्ठ १२ गते मधेशवाणी  साप्ताहिकमा प्रकाशित 

 

Leave a Comment

error: Content is protected !!