चुनावको नतिजा र सुशासनको चुनौती

भर्खरै बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा जित्नेहरु शपथ ग्रहण गर्दै बडो उमंगका साथ कार्यालयमा बस्न थालेका छन् । जित्ने चिन्तामा थकित शरीर र मनमा कुर्सी पाएर ताजगी महसूस भएपनि जनताले खाई दिएको मोटो रकमको पीर भने पिरोलि रहेको छ । कति लाख खर्च भयो हिसाव किताव गर्न बाँकी नै छ । ५ सालको लागि पाएको कामको ठेक्काबाट नै असुल उपर गर्ने मनमा सन्तोष छ । पैसा दिएर किनेको मतबाट जितेको त्यहींबाट क्षतिपूर्ति लिने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा सबैको स्वीकारोक्ति छ । बिना पैसामा जित्ने स्वतन्त्र व्यक्तित्व भने यो श्रेणीमा छैन ।

काठमाण्डौंको बालेन शाह, धरानका हर्क साम्पाङ्ग राई विकास र जनसेवाको भावना लिएर आएका उदाहरण हुन् । बालेन शाहले पहिलो बैठक लाईभ गरेपछि सडे, गलेका, कुहिएका विचारहरु बालेन शाहको चुनौतीको रुपमा प्रष्ट देखा प¥यो । पार्टी र सिस्टममा बिग्रेका पार्टपूर्जाहरु सिस्टमलाई कसरी बिगारेको छ, जनसमक्ष आउन जरुरी छ । बालेन शाहले सिस्टमका दुष्प्रवृतिलाई सार्वजनिक गरेर सराहनीय कार्य गरेनको छ ।

पहिलो बैठकमा नै संगठन बिना तपाईं एक्लै जितेर केही गर्न सक्नु हुन्न भनेर बालेन शाहको मनोविज्ञान नै बिगारेर आफ्नो हातमा लिने शठहरुको प्रयास सार्वजनिक भएपछि जनताको कडा प्रतिक्रिया आउनु उनका लागि ठूलो चेतावनी हो । राज्य र राज्यसत्तालाई कमाईको माध्यम बनाउने प्रवृतिहरु लामो समयदेखि हावी छ, यसलाई सहजै हटाउन त सजिलो छैन, तर यस्तै प्रयासबाट जनतामा नाङ्गेझार पार्दै जाँदा स्वच्छता आउन बेर लाग्दैन ।

काठमाण्डौं महानगरपालिकामा स्वतन्त्र व्यक्तिको रुपमा बालेन शाहको उदाहरणीय जीत हो । राजनैतिक दलले मात्र सबैकुरा गर्ने भन्ने क्षुद्र विचारको विकल्पमा जनताले बालेन शाहलाई उभ्याई दिएको छ । समाजिक, राजनैतिक, आर्थिक क्षेत्रमा लगायत हरेक क्षेत्रका कूडा, कचरा, फोहोर मैला कसरी व्यवस्थापन गर्ने भन्ने हनुमान कूदको चुनौती सामना गर्न एउटा लौह पुरुषको रुपमा जनताले बालेन शाहलाई जिम्मेवारी दिएको छ । राजनीतिक दलहरुको स्वार्थनीति क्रियाकलापबाट तङ्ग आएर राजनीतिबाहिरका स्वतन्त्र व्यक्तिलाई रोज्नु दलीय अहंकारलाई तोड्नु पनि हो । बालेन शाहका लागि हजारौं बाधा, व्यवधान उसको मार्गमा रहेको पहिलो लाईभ बैठकले देखाई सकेको छ । तर पनि जनताले बालेन शाहलाई रोजेको छ ।

गरिव मुलुक, अवसरको अभाव, सर्वसाधारणका लागि पढेर जागिर खानु बिल्कुल असम्भव रहेको अवस्थामा सरल तरिकाबाट पैसा आर्जन गर्ने राजनीति बडो प्रभावशाली माध्यम रहेकोले जनसंख्याको ठूलो हिस्सा धनलाभका लागि राजनीतिमा संलग्न भएका छन् । अब राजनीति देश र जनताका लागि नभई यसमा संलग्न व्यक्तिका आमदानीका स्रोत हुन् । सबैको ईच्छा, आकाँक्षा पूर्ति गर्न प्रयोग भएको राजनीतिले जन उत्तरदायी स्वरुप परिवर्तन गरि सकेको छ । पैसावालले चुनाव जितेर वा मनोनीत भएर नीति निर्माणको तहमा बस्ने अधिकार राख्दछ ।

यसरी पैसाको बलमा नीति निर्माणको शीर्ष स्थानमा जाने व्यापारीहरुको चाहना लाभबाहेक अरु केही हुन सक्दैन । अराजनीति व्यक्तिहरुको जमातले देश र जनताको भलो होईन, आफ्नो मात्र भलो खोज्छ । पैसा दिएर सबै पार्टीलाई कब्जा गरेर बस्ने भ्रष्ट तस्कर, माफियाहरुले राजनीतिमाथि एकाधिकार जमाएका कारण राजनीति सकारात्मक दिशा लिन सकि रहेको छैन ।

प्रकाण्ड अर्थवद्, हरेक क्षेत्रका विशेषज्ञ विद्वानहरु, अनुभवी राजनीतिज्ञहरु आदि धेरै संख्यामा राज्य सुविधा भोग गर्छन, रिटायर हुन्छन् र फेरि प्रवेश पाउँछन्, तीन दशक बढि भयो देशको आर्थिक स्तरमा किञ्चित सुधार देखिएन । देशले विकासको गति लिन नसक्नुका असल कारण संस्थागत भ्रष्टाचार हो यसलाई स्वीकार गर्न कोही चाहँदैन । नेपालको हरेक क्षेत्र भ्रष्टाचारमा लिप्त छ राष्ट्रिय, अन्तराष्ट्रिय स्तरबाट प्रमाणित भएर पनि यहाँका राजनीति दल वा सरकार मान्न तयार छैन । बेशर्मीैको सबैले हदै पार गरेको छ ।

भ्रष्टाचारको विरोध गर्नु आफुले धनलाभ गर्ने स्रोत बन्द हुनु हो । भ्रष्टाचारको चेन अफ कमाण्डमा लाखौं मानिस कार्यरत् छन् र एक जनाले बाहिरको पनि १०, २० जनालाई फायदा पु¥याई रहेको छ । लाखौंको संख्यामा यस संस्थाबाट लाभ लिई रहेका मानिसहरु कोही भ्रष्टाचारको विरोधमा उत्रिदैन । देखाउनका लागि २, ४ जनाको बलि चढाएर चोखो बन्ने प्रवृति बेला मौकामा हुँदै आएको छ । तर सबैकुराको समय सीमा हुन्छ । यही भ्रष्टाचार शाश्वत् रुप लिन सक्दैन । केही सीमित व्यक्तिले लामो समयदेखि धनलाभ गरि रहँदा जनतामा अभाव, महँगी, करभार आदि थपिदै जाँदा जनता आन्दोलित हुन्छन् र सबै कुरा सखाप हुन्छ ।

खर्चिलो चुनाव प्रणालीले राजनीतिक दलहरुलाई तस्कर, माफियाको अड्डा बनाई दियो । राजनीतिक विचारका व्यक्तिहरु सबै किनारा लागे । पार्टी व्यापार गर्ने थलो भयो । विकृतिका अम्बार लागेको अवस्थामा विकासको कुरा मिथ्या सम्भाषण हुन्छ । तीन दशकको लामो अवधीमा देशप्रतिको माया जागेको भए विकासको थालनी हुन्थ्यो होला । देशको आर्थिक अवस्था यति बिग्री सकेको छ कि यसको सुधार शीर्ष तहका तीनै दलको सोचबाट हुन सक्दैन ।

नेपाली काँग्रेस, एमाले र माओवादी सरकारले वैज्ञानिक कृषिको माध्यमले कृषिलाई उद्योगमा रुपान्तरित गर्ने, उत्पादन क्षेत्रलाई प्रतिबद्धताका साथ विकास गर्ने, देशलाई आत्मनिर्भर बनाएर आयातलाई विस्थापन गर्ने, सबैलाई रोजगारी दिने, युवाहरुलाई बेरोजगार भत्ता दिने, देशमा सुशासन कायम गर्ने आदि जन सरोकारका मुद्दाहरु लिखित रुपमा घोषणा पत्रमा सामेल गरी तसौं वर्षदेखि जनतालाई ठग्दै आई रहेका छन् ।

विकृत सोचले राजनीतिलाई दुषित बनाएको छ । दुष्प्रवृतिले राजनीतिलाई न सकारात्मक दिशामा जान दिन्छ, न गन्तव्यमा पुग्न दिन्छ । सानो तिनो प्रयासबाट यसमा सुधारका संकेत पनि देखिदैन । आस्थाविहीन धरातल ठूलै परिवर्तनको खोजीमा रहेको भान हुन्छ । गलत शुरुवात्को गलत अन्त हुने सर्वमान्य सिद्धान्तलाई नकार्न मिल्छ ? आफ्नै कारणले मृत्यु निम्तिने हजारौं उदाहरण हाम्रो सामु छ । लोकतन्त्रमा पनि जनताले कति दुःख भोग्ने ?
(२०७९ज्येष्ठ २० गते मधेशवाणीमा प्रकाशित)

 

Leave a Comment

error: Content is protected !!