प्रणाली आफैमा कुनै खराव हुँदैन । राज्यद्वारा गरिने यसको उपयोग प्रक्रियाले प्रणालीको चरित्रलाई निर्धारण गर्दछ । शासकीय मनोवृतिद्वारा प्रेरित राज्यको भूमिका जब वर्गहितमा सीमित हुन्छ, तब जन अपेक्षाहरु उपेक्षित हुन्छन् । लामो समय सम्म जन समस्या सम्बोधन नहुँदा प्रणालीमाथि दोष थुप्रिन्छन् र ठूलो विद्रोहको रुप लिन्छ ।
श्रीलंकामा महेन्द्र राजपाक्षेको सरकार पारिवारिक सरकार थियो । भाई, भतिजा, छोरा, नातीलाई लिएर बनाएको मन्त्रिमण्डल परिवारबाहेक जनताको समस्यालाई बुझ्न सकेन । वैदेशिक ऋण लिंदै ऐशो आराममा समय बिताई रहँदा जनताको समस्या चरमचुलीमा पुगेर अहिले श्रीलंका भोकमरि समस्यामा परेको छ । भारतीय प्रधानमन्त्रीसंग सहयोग माग्न जाँदासम्म श्रीलंकाको समस्या विस्फोटको स्थितिमा पुगी सकेको थियो । महँगाई जनताको पहुँचबाट टाढा गई सकेको थियो । भोकभोकै मर्नुभन्दा यो पारिवारिक सरकारलाई हटाउने जनताको निर्णयले उग्ररुप लियो । यत्रतत्र सरकारी कार्यालयमा आगो झोस्दै प्रधानमन्त्री कार्यालयलाई पनि बक्सेन । आपातकाल लगाउन पनि सकेन, महेन्द्र राजपाक्षेले राजीनामा गर्नु प¥यो ।
श्रीलंका जस्तो पारिवारिक सरकार नभएपनि नेपाल सरकार धेरै कुरामा समान छ । श्रीलंका सरकारले निजी स्वार्थमा लिप्त रहेका कारण देशको अर्थतन्त्र चौपट भयो । महँगाईलाई जनताको क्रयशक्तिले धान्न सकेन । नेपालमा पनि सोही परिस्थिति निर्माण हुँदैछ । देश र जनताप्रति किञ्चित सोच नराख्ने नेपालका राजनीतिकर्मीहरु आपूmलाई जतिसुकै ठूला अर्थविद्, राजनीतिज्ञ ठानेपनि देशको अर्थतन्त्रले यिनको निकम्मापनलाई त्यसै उजागर गरेको छ । यिनी कति देशभक्त हुन् र कति देशको माया छ, देशको परनिर्भरताले स्पष्ट पारि दिएको छ । परिवारको हितका लागि तल्लीन रहेको श्रीलंकाली सरकार जसरी देशको बिग्रिदो अर्थतन्त्रप्रति बेखबर थिए, नेपाल पनि वर्गीयहितमा चुर्लुमम्म डुबेर देशको अर्थतन्त्रसंग कुनै मतलब राखेको छैन । वैदेशिक ऋण लिएर खाने नेपालको कुसंंस्कार जस्तै श्रीलंकाले देशै डुबायो । नेपाल पनि डुब्नका लागि तयार बसेको छ । महँगाई क्रमिक रुपमा बढ्दै छ । महँगाईको विरुद्ध आन्दोलनहरु उठ्न थालेको छ ।
यो आन्दोलन जस्ता कति आन्दोलन सरकारले झेली सकेको छ । मधेशले उठाएको उग्र आन्दोलन, नाकाबन्दी आन्दोलनले यिनलाई केही बिगार्न सकेन भने महँगाई विरुद्धको आन्दोलनलाई के वास्ता गरोस् । तर श्रीलंका जस्तै कुन आन्दोलनमा यिनको विनाश लुकेको छ यिनलाई थाहा छैन । विद्रोहको बारुद सत्ताधारी आफैले ओछ्याएका कारण परिस्थितिले आगोको झिल्को सल्काउन बेर छैन । जर्जर अर्थतन्त्रबाट शेष हुन लागेको सरकारको आयुले कस्तो परिवर्तन ल्याउला भन्न सकिन्न ।
मधेश आन्दोलनको भीषण दबावका कारण अनिच्छापूर्वक स‘ंघीय लोकतान्त्रिक गण्तन्त्र स्थापना गरेपनि शासकवर्ग आफ्नो अस्तित्व र स्वार्थलाई अक्षुण्ण राख्न प्रणालीलाई नै चौकीदार बनाएकोले देशको यस्तो दुर्दशा भएको हो । प्रणालीलाई स्वार्थमा उपयोग गरेपछि देश र जनताको समस्या सम्बोधन हुनबाट बञ्चित हुन पुग्यो ।
नेपालमा भर्खरै स्थानीय चुनाव सम्पन्न भएको छ । नयाँ अनुहारहरुको पदार्पण भएपछि शासकवर्गका चाटुकारहरुले परिवर्तनको नाम लिएर खुबै प्रचारमा तल्लीन देखिन्छन् । जनतालाई प्रणालीमा नयाँपन आउने सम्भावना देखाउँछन् । तर यी सब कुरा मिथ्या नै हो । चुनावबाट कुनै नयाँपन आउनेवाला छैन । नयाँ अनुहार आए पनि सबै पार्टीका वफादार सिपाही हुन् । पार्टीहरुले देशैभरि आफ्नो नेटवर्क फैलाउन सिपाहीहरुलाई जिताएका छन् । पार्टीको हितमा काम गर्ने सिपाहीहरुले के नयाँपन दिन सक्ला ।
काठमाण्डौं, जनकपुर, धरान र धनगढीमा स्वतन्त्र उम्मेदवार जितेका छन् । जनकपुरमा नेपाली काँग्रेसका स्वतन्त्र उम्मेदवार जितेका छन् । बाँकी तीन विशुद्ध रुपले नयाँ अनुहार हुन् । यिनमा बेहतर सोच छ । काम गरेर देखाउने जोश, जाँगर छ । तर शासन सत्ता शासकको कब्जामा छ । तीनवटै शीर्ष नेताको अनुहारमा कालोमोसो दलेर बालेन शाह नयाँ अनुहार आएको छ । आफ्नो पराजयको पीडा सहन गर्न नसक्ने शाकिवर्गले बालेन शाहलाई काम गर्न अनुकूल वातावरण दिन सक्ला ? कुनै बेला रुपचन्द बिष्टले पनि परिवर्तनको आवाज उठाएको थियो । सरकारको सबै गतिविधी जनताले पनि थाहा पाउनु प¥यो भन्ने उनको आवाज हिमाल, पहाड र तराईको फाँटमा केही दिन घन्केर सेलायो ।
पूरै सिस्टमलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्ने शासकवर्ग आफ्नो नेटवर्कमा क्षति पुगेको कथमपि सहन गर्न सक्दैन । आफ्नो स्वार्थ माथिको प्रहार बर्दास्त गर्न सक्दैन । देशलाई आत्मनिर्भर र समृद्धशाली बनाउने सपना बोकेका अनेक युवाहरु आए र राज्यसामु रुपान्तरित भए । शासकवर्गले निधार्नरित गरेको राज्यको स्वाभाव अनुसार जो चलेन त्यो मूलधारबाट फ्याँकिएको अनेकौं उदाहरण छन् ।
अहिले नेपाली काँग्रेसले स्थानीय चुनावमा ३२४ सीट ल्याएको छ । एमाले २०३ र माओवादी १२१ सीटमा सीमित भएको छ । मेरो पहिलो पार्टी हुने केपी ओली डंका बजाउँदै, नेपाली काँग्रेस सरकारको ५ दलीय गठबन्धनलाई तोड्ने अनेक प्रयास गर्दै चुनावमा ओलीको सपना चकनाचूर भएपनि मत भने सबभन्दा बढि एमालेले ४५ लाख ल्याएको छ । काँग्रेस ३९ लाखमा छन् । ५ वर्ष संकुचनको पीडा भोग्दै बसेको काँग्रेस स्थानीय चुनावमा शीर्ष स्थान हासिल गरेर सुखद स्थिति बनाएको छ । प्रदेश र संघीय चुनाव बाँकी नै छ ।
सानो ठूलो बन्ने नयाँपन पार्टीको लागि हो । जनताको लागि केही पनि होईन । चार महानगरपालिकाका सचेत मतदाताले पार्टीहरुको स्वार्थी गतिविधी, देश र जनताप्रतिको उदासीनता, निकम्मापनको विरुद्ध स्वतन्त्रलाई जिताएर आफ्नो घृणा पोखेका छन् । देशलाई बन्धक बनाएर राख्ने शीर्ष तीन दलको एकाधिकारको विरुद्ध स्वतन्त्र व्यक्तिको जीत अनिष्टको संकेत हो । आस्था खस्किएको जन धरातलले जन आन्दोलन उठाएको सर्वविदितै छ । आर्थिक बिषमता चरम सीमामा पुगेको, जनताले धान्न नसक्ने महँगाई बढि रहेको, समाजमा असन्तुष्टता र आक्रोश व्याप्त रहेको कारण श्रीलंकामा जस्तै मन्त्रीलाई नाङ्गै पारेर बजार दौडाउने घटना नेपालमा पनि नहोला भन्न सकिन्न । यो परिस्थितिको आकलन हो ।
(२०७९ज्येष्ठ १३ गते मधेशवाणीमा प्रकाशित)
