गतिरोधले नयाँ सरकार बन्न दिएन

तीन राजनीतिक दलहरूको दलीय स्वार्थको टकराहटले उत्पन्न राजनैतिक गतिरोधले लामो समयसम्म देशमा सरकार बन्न नसकेको स्थितिमा देशको सम्पूर्ण काम कारवाही लगभग ठप्प नै भएको छ । देश, व्यवस्था प्रणाली, राजनैतिक दलहरू सबै असफलतातिर उन्मुख हुन लागेको यथार्थ सर्वविदित छ । जनता पूर्णरूपले निराश भएका छन । जनतामा राजनीतिक दलप्रतिको आशा र विश्वास कम हुँदै गई रहेको छ ।
सामान्य बहुमतको सरकार विगतको दिनमा धेरै कठिन परिस्थिति बेहोर्नु परेको र पाँच पल्टको निर्वाचनले पनि सरकार बनाउन नसक्दा देशको परिस्थितिले सहमतीको सरकार वा दुई तिहाईको सरकार बनाउन प्रेरित गरि रहेको राजनीतिक दलहरूले बुझनु पर्दछ । काँग्रेसले दुई तिहाई बहुमतको सरकार बनाउनै सक्दैन । २३७ सीट माओवादीसंग रहेकोले दुई तिहाईको आधार काँग्रेससंग छैन । अब काँग्रेससंग एउटा मात्र विकल्प रहन्छ, सहमतीको सरकार बनाउन ।
माओवादीसंग दुई तिहाई बहुमतको आधार छ यदि एमाले, मधेशीमोर्चा र सानादलहरूले समर्थन गरयो भने । तर सामान्य बहुमतको सरकारलाई समर्थन नगर्ने अडानमा रहेको मधेशीमोर्चा अन्ततोगत्वा राष्ट्रिय सहमतीतिर जाने भन्ने कुरा प्रष्ट हुन्छ । एमाले पनि राष्ट्रिय सहमती कै अडानमा छ । राष्ट्रिय सहमतीको बाटो दुबै प्रतिस्पर्धीले उम्मेदवारी फिर्त्ता लिएपछि मात्र खुल्छ । एमाले, मधेशीमोर्चा तटस्थ रहेसम्म र काँग्रेस र माओवादीका उम्मेदवारले नाम फिर्त्ता नलिएसम्म निर्वाचनको यो प्रक्रिया दोहोरि रहनेले देशले कुनै निकाश पाउँदैन । दलिय स्वार्थका अडानका कारण, राजनीतिक दलहरूबीचको विश्वास प्रायः समाप्त नै भई सकेको अवस्था देखिन्छ । राजनैतिक दुर्दर्शिताको आधारमा देशको बिग्रिदो अवस्थालाई ध्यानमा राखी न्यूनतम सहमतीको विन्दु पहिचान गरि दलहरू एकठाउँ आउनु पर्दछ । पाँचौं पटक सम्मको निर्वाचनले पनि सहमतीमा जानेको विकल्प छैन भन्ने देखाएको छ । दलहरूलाई सहमतीमा जान अहिले बाध्यात्मक अवस्था छ ।
लामो समयसम्म कायम राजनीतिक गतिरोधबाट उत्पन्न हरेकक्षेत्रको विकट परिस्थितिले जनतामा भोक, रोग, कुण्ठा, निराशा, असुरक्षा व्यापक रूपमा बढाएको छ । आपसी द्वन्द्वले नै यी कुप्रवृतिहरू बढदै जाँदा जनचाहनाको विपरीत दिशामा राजनीति मोडिन सक्छ । त्यतिबेला सबै राजनीति दललाई पछुताउनु बाहेक केही रहदैन । तरल अवस्थाको राजनीति कतातिर बग्छ कसैले भन्न सक्दैन ।
राजनीतिक गतिरोधको नेल ठोकेर देशलाई सास्ती दिएर रमाउने राजनीतिक दलहरू राष्ट्रिय मञ्चमा जतिसुकै दावपेंचको अभिनय गरेपनि देश र जनतानै आहत भएकोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा राजनीतिक दलहरू असफल भएको कुरा अब गम्भीर चर्चाको बिषय बनेको छ ।
तटस्थताको राजनीति क्षणिक उद्देश्य प्राप्तिको लागि गरिंदा त ठीक हो तर यदि यसले देश र जनतालाई बन्धक बनाएर राख्छ, त्यतिबेला यो संसदीय मर्यादा विपरीतको क्रिया–कलाप ठहरिन्छ । तटस्थता दीर्घकालीन उद्देश्य प्राप्तिको स्रोत बन्न सक्दैन । क्षणिक रूपमा तटस्थताको निर्णयले दलीय महत्वलाई पछिल्लो समयमा बढाएको थियो । जब यही तटस्थता लामो समय सम्म कायम भएर देशको राजनीति तथा देशका हरेक संयन्त्रलाई अवरूद्घ गर्ने कारक बन्छ भने दलीय महत्वको अवमूल्यन भएर त्यस्ता राजनीतिक दल जनताबाट अलग्गिन पनि सक्छ । तटस्थताले एक समयमा दलीय महत्व बढाए पनि तटस्थताले नै राजनीतिक निकाश दिने कुराको निर्णय राजनीतिक दिवालियापन नै ठहरिन्छ । पाँचौं पटकको निर्वाचनमा प्रधानमन्त्री चयन गर्न नसकेको राजनीतिले काँग्रेसलाई हल्लाउने र माओवादीलाई गलाउने खेलमा केन्द्रित रह्यो । काँग्रेस कति हल्लियो, माओवादी कति गल्यो, यसको लेखाजोखा त छैन । तर नेपाली जनता कति गल्यो, यसको सर्वे परिणाम सबै जनतालाई थाहा भयो ।
एमालेको तटस्थता उसको बाध्यता हो । उ चाहेर पनि तटस्थताको दलदलबाट निस्किन सक्दैन । उसको राष्ट्रिय सहमती ‘गुल्लरको फूल’ जस्तै हो जो बिल्कुलै असम्भव छ ।
कुनै अभियानलाई सफल पार्न एउटा संगठित दस्ताको आवश्यकता हुन्छ । यही सूत्रलाई बुझेर फरक चारित्रिक बिशेषता बोकेका चार मधेशवादी दल सरकार बनाउने अवसरमा हठात मधेशी मोर्चाको दस्ता तयार पार्दा (अन्तर्निहित उद्देश्य जे भए पनि) मधेशमा राम्रो सन्देश गएको छ । मधेशको मुद्दालाई चारै दलले आफनो संकल्पित उद्देश्य बनाएर अघि बढेको हो भने मधेशी मोर्चाले जिवन्तता पाउँछ । यदि सरकारमा जान समीकरण मिलाउन मात्र अभीष्ट हो भने मोर्चाको भविष्य स्पष्ट छ ।
(२०६७ भदौ १८ गते मधेशवाणीमा प्रकाशित)

Leave a Comment

error: Content is protected !!