मधेशी मोर्चासंग भएको चार बून्दे सहमतीलाई एमाले, नेपाली काँग्रेस तथा माओवादी पार्टीको वैद्य समूहले एकीकृत रुपमा राष्टघाती भनेर मधेशको स्वाभिमानमाथि गरेको आघात तथा प्रतिक्रियाहीन भई बसेको मधेशका राजनीतिक दलहरुबाट आक्रोशित मधेशी जनतामा यही मुद्दा चर्चाको बिषय बनेको छ । मधेश आन्दोलनबाट आहत भई पालेर राखेको तीनै दलको रीस राग यस निर्णायक घडीमा सतहमा आएको छ । तीन दलीय राष्ट्रवादमा समान रुपले मधेशीको प्रवेश निषेध गरिने यी मानसिकताले मधेशलाई आफ्नो राष्ट्रियता खोज्न बाध्य गरेको होइन ? विगतको अवस्थामा मधेश रह्न सक्दैन र मधेशको माँगलाई तीन दलीय राष्ट्रियताले सम्बोधन गर्न सक्दैन भने मधेशको लागि आन्दोलन बाहेक अर्को के विकल्प रह्यो । राष्ट्रघाती भनेर मधेशीलाई अप्रत्यक्ष रुपमा विदेशीको संज्ञा दिएर मधेशलाई द्वन्द्वमा धकेल्ने प्रायोजित षडयन्त्र भन्दा अरु केही होइन । यही रुढिवादी सामन्ती चिन्तनलाई मधेशका राजनीतिक दलहरुले मौन स्वीकृति दिई रहेको बेला शरत् सिंह भण्डारीले कडा प्रतिक्रिया दिंदा सबैको सामूहिक प्रहारको मधेशी पार्टीले प्रतिवाद गर्न सकेन । एक्लै शरत् सिंह प्रहार झेल्दै मंत्रीमण्डलबाट बाहिरिनु पर्यो । आफ्नै पार्टीको अध्यक्षले क्षमा याचना गरि शरत् सिंह भण्डारीलाई दुधमा परेको झींगा जस्तो बाहिर फ्याँकि दियो ।
राजनीति विचारले हुन्छ । दृढ विचार र सिद्धान्तप्रति अडिग रही उद्देश्यलाई परिणाममुखी बनाउन सकिन्छ । विचारलाई बेचेर उद्देश्य पूरा हुँदैन । तर यसपाली सबै मधेशका राजनीतिक पार्टी विचारको लडाईलाई होईन, व्यक्तिगत लाभलाई प्राथमिकतामा राख्यो । बरु मधेशको लागि बोल्ने शरत् सिंह भण्डारीलाई मधेशका राजनीतिक दलहरुले कारवाही गरेर बाहिर फ्याँके । नफ्याँकेको भए सबैको जागिर जान्थ्यो । यस देशका भाग्यविधाता त्रिदेवको कृपाले भर्खरै मंत्रीमण्डलमा उक्लेका मधेशका नेताहरु शरत् सिंहसंगै शहीद हुन चाहेनन् । सत्तामुखी राजनीतिको यही परिणाम हुन्छ । शरत सिंहले मधेश विरोधी कट्टरपंथी सामन्ती सोचको कडा प्रतिवाद गर्दै दिएको अभिव्यक्तिको मधेशभरि व्यापक चर्चा भएको छ । तर यस लडाईलाई शरत् सिंहले कति दृढतापूर्वक अगाडि बढाउँछ, मधेशको लागि प्रतीक्षाको बिषय बनेको छ । आत्म समर्पणवादी पार्टीमा शरत् सिंहको लडाई सहज छैन । बैचारिक आन्दोलनलाई त्यही पार्टीको सदस्य भएर उठाउन धेरै कठीन छ । माफी माँगेर त्वम् शरणम् गर्ने पार्टीले शरत् सिंहको बगावत्लाई कथमपि बर्दास्त गर्न सक्दैन । शरत् सिंहले मधेशको हितमा उठाएको कुराबाट पछि हट्नु उनको राजनीतिक समाप्ती नै हुन्छ । शरत् सिंहले आफ्नो आत्म सम्मान, मधेशको स्वाभिमानको रक्षार्थ अगाडी बढ्नै पर्ने हुन्छ । पार्टी अध्यक्षले आफ्नो स्वार्थ पूरा गर्न केन्द्रीय सदस्य लगायत मधेशलाई समेत धोखा दिएर शीर्ष स्थानमा आसीन भएका हुन । यो क्रियाकलाप क्षम्य छ भने शरत् सिंहले मधेशको पक्षमा आवाज उठाएर अहिले मधेशमा राजनीति प्रतिष्ठा कायम हुन सक्ने अवस्था रहेकोले यस अवसरलाई गुमाउनु मुर्खता नै हुनेछ ।
महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, कपिलवस्तु र रुपन्देहीको भ्रमण गर्दा जनबोलीको उद्गार उपरोक्त पंक्तिमा उल्लेख गरिएको छ । अरु नेताहरुको भ्रमणमा आफ्नै पार्टीका कार्यकर्त्ताहरुको जमघट रहने देखिएको छ भने मेरो यस भ्रमणमा सबै पार्टीका कार्यकर्त्ताहरुको उपस्थितिले यथार्थता बुझ्न सजिलो भएको थियो । सबैले सबै नेताको व्यक्तिवादी चरित्रको बारेमा आफ्ना उद्गार व्यक्त गरे । कसैले पनि मधेश आन्दोलनको अखण्ड एकतालाई कायम राख्न सकेन । पद र पैसाका लागि यसलाई खण्ड खण्डमा विभाजित गरि मधेश र गैर मधेशी समुदायमा शर्मनाक स्थिति सृजना गरि दिएको छ । आन्दोलन पश्चात् मधेशी नेताहरुले पद र पैसाका लागि ईतिहासमा जुन शर्मनाक कुकृत्यको अध्याय थपेको छ, आगामी पिढीले यसलाई पढेर लाज मान्ने छन् । मधेशको अखण्ड एकताले दिएको जनादेश विरुद्ध मधेशी नेताहरुको कुकृत्य ताण्डवको इतिहासमा थपिएको यो कालो पानालाई सच्याएर पढ्ने अवस्था पनि छैन । मधेशको अधिकार सुनिश्चित गर्ने जनादेशलाई बिर्सेर मधेशको नाउँमा अकूत सम्पत्ति आर्जन गर्ने सामूहिक अभियानले मधेशमा के के बिकृति भित्रियो, त्यस्को आभास पनि मधेशी नेताहरुलाई हुन सकेन । व्यक्तिगत स्वार्थका लागि पार्टी विभाजन अभियानमा पनि सबै पार्टीले भाग लिएर सफलतापूर्वक यो पुण्यकर्मलाई सम्पन्न गरे । मधेशले आफ्नो अंग प्रत्यंग काटिदै गएको पीडालाई मूक प्रतिमा जस्तै सहन गर्यो । मधेशलाई जातिवादको दलदलमा फ्याँकेर उसको पीडामाथि अट्टहास गर्ने मधेशका महान नेताहरु जातिगत पार्टी बनाएर अहिले शीर्षासनमा आसीन छन् । के मधेशमा यी महान नेताहरुले चाहे अनुसार “पैसा कमाऊ, गुलाम मधेशीहरु आफै भोट दिन आउँछन्” मधेशीहरुले गर्लान् । निश्चय पनि होइन । मधेश अब जागृत अवस्थामा भएकोले आफ्नो प्रमुख दुश्मनलाई चिन्दछ भने उसका मतियार मधेशका गद्दारलाई पनि चिन्दछ । मधेशले आन्दोलन पश्चात् चरम पीडा भोगेको अवस्थामा निश्चय पनि यस्तो गल्ती गर्ने छैन । अबको मधेश युवाशक्तिको हातमा रहेकोले निश्चय पनि यस किसिमका कुतत्वहरुले फायदा लिन सक्ने छैन । मधेश आन्दोलनले मधेशी नेता तथा मधेशी समाजमा समान रुपले बढाएको महत्वाकाँक्षा नेताहरुले अवसरको अनुकूलता पाएर मनोवाँछित उपलब्धि लिए, तर मधेशी समाजको महत्वाकाँक्षा भने यथावत् रहेकोले समाज आक्रोशित हुनु स्वाभाविक थियो । जनमानसमा कुनै राजनीतिक दलप्रतिको जनआस्था देखिदैन । मधेश आन्दोलन मार्फत मधेशी समाजले देखेको सपना यतिका वर्षमा अत्यधिक मात्रामा सरकारमा मधेशी नेताहरुको उपस्थिति रहँदा पनि पूरा गराउन नसक्नु मधेशी समाजका लागि असफलता नै मानिन्छ । यो असफलताको श्रेय मधेशका प्रतिनिधी पार्टीलाई नै जान्छ । यस असफलताले मधेशी समाजका युवाशक्तिलाई बढी प्रभावित गरि असन्तुष्ट बनाएको छ । असफलताले अवसरका ढोका बन्द गरि दिएका कारण युवाशक्ति छटपटिएको अवस्था र मधेशप्रति राज्यको आक्रामक भूमिकाले मधेश आन्दोलनको दिशा प्रखर रुपमा मुखरित भएको छ । यस आन्दोलनलाई युवाशक्तिले नै नेतृत्व गरि गन्तव्यमा पुर्याउने अभिभारा छ । विगतका त्रुटिबाट शिक्षा लिदै अबको मधेश आन्दोलन सशक्त रुपमा प्रस्तुत हुने विगतका समयले स्पष्ट गरेको छ ।
मैले भ्रमण गरेको १४ जिल्ला (झापा देखि कपिलवस्तु) सम्मको मधेशी जनताको एकै आशयको उद्गार पाएको छु । समान रुपको अभिव्यक्तिलाई मैले बून्दागत रुपमा दिन चाहन्छु :— (१) विगतकालमा सरकारको मधेशप्रतिको व्यवहार र मधेशका प्रतिनिधी पार्टीको सत्तामुखी भूमिकाले आन्दोलनको विकल्प राखेन । (२) मधेशका प्रतिनिधी पार्टीको ढुलमुले चरित्रले मधेशलाई अधिकार सम्पन्न गर्न सक्दैन, विगतकालमा यी कुरा स्पष्ट भई सकेकोले सक्षम, कुशल, सम्झौताविहीन नयाँ नेतृत्व खडा गर्नु पर्दछ । (३) आन्दोलनको नेतृत्व युवाशक्तिले गर्नु पर्दछ । (४) मधेश आन्दोलनसंग सरकारले गरेको सम्झौतालाई मधेशी प्रतिनिधी पार्टीले सत्तालिप्साका कारण कार्यान्वयन गराउन नसकेकोले पुनश्च सत्तामुखी राजनीतिको जहर आगामी नेतृत्वमा नआओस भनी जनतालाई विश्वास दिलाउन आवश्यक छ । (५) पद र पैसाका लागि पार्टी तोडफोड गर्ने क्रममा पार्टीलाई जातिगत पार्टी बनाएर मधेश आन्दोलनको अखण्ड एकतालाई धाराशायी गरि मधेशमा नेताहरुले जातिवादको राजनीतिको बीजारोपण गरेको छ, यसबाट मधेशको एकता तहस नहस भएको छ । यस्ता अक्षम्य अपराधलाई दण्डित गरि जातिवादको विरुद्ध मधेशवादको राजनीतिलाई सशक्त रुपमा अगाडी बढाउनु पर्दछ । (६) मधेश आन्दोलनमा अभिव्यक्त “समग्र मधेश एक प्रदेश” अपरिवर्तनीय माँग हुनु पर्दछ । (७) मधेशका प्रतिनिधी पार्टीहरुले मधेश आन्दोलनसंग विश्वासघात गरेको छ । सत्ताबाट हटेपछि फेरि मधेशको मञ्चमा आएर गोहीको आँसू बगाएर क्रान्तिकारी भाषण दिने छद्मभेषी नेताहरुबाट सजग रही मधेशको एकतालाई तोड्ने शक्तिलाई निरुत्साहित गर्दै मधेशको क्रान्तिकारी धारलाई अगाडी बढाउने प्रयास गर्ने । (८) भाषा, धर्म, लिंग, जातको विविधतामा सहिष्णुता हजारौं बर्षदेखि मधेश समाजमा कायम रहेको हाम्रो विशिष्टता हो । यसलाई खल्बलाउन राज्यले प्रयास गरेपनि मधेशको विविध संस्कृतिको एकता अगाडी असफल नै देखिएको छ । यही विविध संस्कृतिको एकतालाई कायम राखी आफ्नो अधिकारको लागि आन्दोलनको धारलाई निर्दिष्ट गर्नु पर्दछ ।
२०६८ कार्तिक २५ गते मधेशवाणीमा प्रकाशित
