अहिले पनि शहीद घोषणा हुन बाँकी

मधेश आन्दोलनको चौथो बार्षिकीको अवसरमा मधेशलाई अधिकार सम्पन्न गर्न भीषण विद्रोहको तुमुल शंखनाद गर्दै आफनो ज्यानको आहूती दिने मधेशका वीर सपूतहरूलाई अञ्जली भरि श्रद्घा सुमन अर्पण गर्न चाहन्छु । जसले आफनो ज्यानको परवाह नगरि मधेश आन्दोलनलाई उत्कर्षमा लगेर संघीयता स्थापित गराउन शहादत दिए र जसको सपना थियो — आत्मनिर्णयका साथ स्वायत्त एक मधेश एक प्रदेश !
शदियौंदेखि सामन्ती राज्यसत्ताले भेदभावपूर्ण मधेशलाई चरम शोषणको अखाडा नै बनाएको थियो । राज्यविहिन अवस्थामा मधेश शोषणको शिकार मात्र भयो । हरेक क्षेत्रमा भई रहेको शोषण, उत्पीडनको विरूद्घ पहिलो पल्ट सम्पूर्ण मधेश एकताबद्घ रूपमा विद्रोह गरेको हो । आफनो स्वाभिमान, पहिचान कायम गर्न मधेशमा आएको जागृति मन्दगतिमा तर स्थाई रूपमा आयो । यो विद्रोहले मधेशलाई धेरै अगाडी ल्याएको छ, तर मधेशको नेतृत्व पंक्तिमा वैचारिक विचलनका कारण मधेश पछाडि धकेलिने क्रम जारी छ ।
मधेश आन्दोलन पछि नेतृत्व पंक्तिमा उग्र बामपंथी तथा उग्र दक्षिणपंथी चिन्तन हावी भयो । यी दुबै चिन्तनले मधेश आन्दोलनको गतिशीलतालाई नष्ट पार्‍यो । मधेश आन्दोलन दिशाविहिन अवस्थामा जाँदा नेतृत्व मण्डलीको लोकप्रियता हराउनु स्वभाविक पनि हो । कुनै पनि राजनीतिक शक्तिको उदय हुँदा विगतमा फालिएका, थन्किएका राजनीतिक सुलसुलेहरू नयाँ ठाउँको खोजीमा सक्रिय हुन्छन । जो स्वाभाविक पनि हो । तर सहज रूपमा भित्रिएको विकृतिलाई ठाउँ बनाउनु भन्दा पुर्व हटाउँदै जानु पर्दछ । समसामयिक रूपले राजनीतिलाई शुद्घिकरण, परिमार्जन गर्दै अगाडी बढनु पर्दछ । मधेश आन्दोलनले जति अनुपातमा नेताहरूको महत्वाकाँक्षालाई बढायो, त्यति नै उनीहरूलाई व्यवहार कुशल बनाउन सकेन । उच्च महत्वाकांक्षा बोकेका नेताहरू ‘मधेशका मसीहा’ भनाउन रूचाउने, जिउँदैमा कथित महानताबाट अलंकृत हुन रूचाउने मानसिकता घोर व्यक्तिवादी चरित्र नभई अरू के हो ?
व्यवहार कुशल, निष्ठावान, त्याग, बलिदान र सिद्घान्तप्रति चट्टानी अडान आदि कुराले व्यक्तिलाई महान बनाउँछ । उसको चरित्रले, संस्कारले महान बनाउँदछ । आयातीत कुराले होइन । जिउँदोमा सूली पाए पनि कर्मले ईसा मसीहा बने । जिउँदै मसीहा बन्नेको कुनै इतिहास हुँदैन । वर्तमानमा केही दिन चर्चामा रहे पनि घोडाको सिंघ जस्तै सधैंका लागि उ बिलाएर जान्छ । आफनो महानता देखाउनु आत्मरति हो, आत्मतुष्टि हो जसको कहीं उच्चता हुँदैन ।
शहीदलाई स्मरण गर्ने, घाईते, अपाङलाई सम्मान गर्ने मधेशका कुनै पनि राजनीतिक दलहरूसंग ठोस कार्यक्रम छैन । मधेशको नाममा राजकीय सुख सुविधामा चुर्लुम्म डुबेका नेताहरू नाटक कै रूपमा भए पनि बार्षिकी कार्यक्रम राखेर पाखण्डता प्रदर्शन गर्न चाहदैन । मधेशका लागि सहज ढंगले हुने कुरा पनि गर्न नचाहने नेताहरू मधेशको मञ्चमा क्रान्तिकारी भाषण जनताको लागि कति ग्राह्य हुने हो, यो समयले देखाउनेछ । मधेश आन्दोलनको क्रममा हात खुट्टा गुमाएका अपाङ बनेकाहरू जिउँदो शहीदको रूपमा पीडा भोगी रहेका छन । परिवारको आय स्रोत नै गुमाएका अपाङहरू, अहिले सम्म उपचाररत घाइतेहरू आफनो पीडा पोख्न कहाँ जाउन ? मधेश आन्दोलनलाई हेर्ने कुनै निकाय नै छैन । अहिलेको सरकारको गठन भएको ८ महिना पछि मधेशका राजनीतिक दलहरूको दबावमा आठ बुँदे सम्झौता पत्र बमोजिम अनिच्छापूर्वक ‘उच्च स्तरीय अनुगमन समिति’ शान्ति तथा पुनर्निर्माण मन्त्रीको संयोजकत्वमा गठन भयो । सरकारले अनिच्छापूर्वक गठन गरेको त्यो अनुगमन समिति जन्मदेखि नै अपाङ रह्यो । सरकारले १६ वटा शहीद घोषणा गरे पछि यस अनुगमन समितिलाई निष्क्रिय बनाइयो । मधेशका सरकारमा सामेल तीनवटै दललाई अनुगमन समितिको निष्क्रियता बारे जानकारी गराउँदा पनि कुनै ठोस पहल भएन ।
अहिले पनि १२ शहीदले सम्मान पाउन बाँकी छ । झण्डै ४०० जना झूठा मुद्दा खेपि रहेका छन । घाइते, अपाङले राहत पाउन सकेका छैनन । अनुगमन समितिको कुनै कार्यालय छैन । माघ देखि आषाढ सम्म यसलाई सक्रिय राख्दा तीन पल्ट मात्र यसको बैठक शान्ति मन्त्रालयमा बस्यो । श्रावण देखि बैठक बस्न बन्द भयो र सदस्यहरूको सुविधा पनि बन्द गरियो । मन्त्री परिषदबाट निर्णय भई गठन भएको अनुगमन समितिको निश्चित म्याद तोकिएको छैन । मधेश मुद्दा हल गर्न सहयोग पुरयाउन बनाइएको अनुगमन समितिबारे शान्ति मन्त्रीसंग जिज्ञासा राख्दा ‘तपाईहरूको सबै मुद्दा पूरा भयो, अब अनुगमन समितिको कुनै औचित्य छैन’ भन्ने कानून विपरीत ठाढै हप्काउनु शर्मनाक कुरा हो । शान्ति मन्त्रीज्यूको अनुगमन समितिको सदस्यहरू गोठाला बसेको सरह व्यवहार गर्नु उहाँको पदीय मर्यादाले मिल्दैन । कि त यसलाई विघटन गर्नु पर्दथ्यो, कानूनन जिवित रहेको अनुगमन समितिलाई शान्ति मन्त्रीज्यूले कुन अधिकार प्रयोग गरेर यसलाई निष्क्रिय बनाइएको हो, जवाफ दिन आवश्यक देखिन्छ । दानमा दिए सरह व्यवहार नगरि यसलाई यसको मर्म अनुसार काम गर्न दिइयोस ।
(२०६७ माघ ७ गते मधेशवाणीमा प्रकाशित)

Leave a Comment

error: Content is protected !!