परिवर्तन प्रकृतिको शाश्वत नियम हो । आदिकाल देखि मानव समाज परिवर्तनसंग आफनो अन्तरसम्बन्ध बनाएर मानव हितमा प्रयोग गर्दै आएको छ । मानवले कल्याणकारी समाज विकासको सिद्घान्त रच्ने देखि लिएर ठूल्ठुला युगान्तकारी लडाई लडेर समाजलाई अग्रगति दिलाएको छ । एउटा परिवर्तन देखि अर्को परिवर्तन सम्म समाजलाई प्रयोगात्मक अवस्थामा राखी त्यसबाट प्रायोगिक ज्ञान हासिल गरी समाजलाई सुधारोन्मुख बनाउन अर्को परिवर्तनमा प्रवेश गराउने पनि मानव नै हो । मानवको मानव हितमा प्रकृतिसंगको अन्योन्याश्रित सम्बन्धको अधारमा गरिएको अतुलनीय प्रयोग कै परिणाम स्वरूप ‘मानव अधिकार’ ‘वसुधैव कुटुम्बकम’ ‘बहुजन सुखाय’ जस्ता आदर्शहरू विकसित भएको हो । बर्बर युग देखि आधुनिक मानव समाज सम्मको कठोरतम यात्रा युवाशक्तिले नै पुरा गरेको यथार्थ सर्वमान्य कुरा हो । त्यसैले युवाशक्तिलाई समाज विकासको परिवर्तनको संवाहक भनिन्छ ।
मानव र समाज, दुई फरक चरित्र, फरक अस्तित्वको गहिरो अन्तर सम्बन्धबाट विकसित भएको हो ‘मानव समाज’ । मानव समाज विकासको प्रक्रियामा कहिले समाजले मानवको नेतृत्व गरेको छ भने कहिले मानवले समाजलाई डोर्याएको छ । यी दुबै बीचको अन्योन्याश्रित सम्बन्धको गुढ रहस्यलाई मानवले नै प्रतिपादन गरेको हो । परिवर्तनको नियमित प्रक्रियाको गहनतम अध्ययन र मानव विकासमा यसको सफलतम प्रयोग मानव मस्तिष्क कै उपज हो । प्रकृति जस्तै मानवले प्रायोगिक ज्ञानलाई निरन्तरता दिंदै आधुनिक मानवको रूपमा आफूलाई रूपान्तरण गर्न सफल भएको हो । यी सब परिवर्तनमा युवाशक्तिको सक्रिय भूमिकालाई इतिहासले स्थापित गरी सकेको कुरालाई नकार्नु हास्यास्पद नै हुनेछ । युवावर्गमा अदम्य साहस, बलबुद्घि, नयाँपन स्थापित गर्ने क्षमता, पुरातनबाट नवीनतामा प्रवेश गर्ने उत्कट अभिलाषा, असम्भवलाई सम्भव बनाउन जटिलतम प्रक्रियामा भाग लिने र नयाँ खोजतिर अभिप्रेरित हुने क्षमताको भण्डार भएकोले नै युवाशक्तिले सुन्दर संसारको निर्माण गरी पेश गरेको हो । अझै कति सुन्दर बनाउन सकिन्छ, निरन्तर जटिलतम प्रयोगमा संलग्न छन ।
मानव विकासकै क्रममा संसारमा विभिन्न दर्शनको जन्म भएको हो । युग सुहाउँदो यी दर्शनहरू आदिकालमा मानव समाजलाई सकारात्मक परिणाम दिएपनि पश्चातकालमा नकारात्मक प्रभावका कारणले एउटा दर्शन विस्थापित भई नयाँ दर्शन लिएर समाज अगाडि बढदै आएको हो । यी सबै दर्शनको प्रयोगात्मक रूपले सत्यापन गरी स्थापित गर्ने काम युवाशक्तिले नै सम्पन्न गरेको छ । संघर्ष, आन्दोलन र युद्घ यही नै युवाशक्तिको प्रयोगशालाका उपकरणहरू हुन । हरेक दर्शनलाई यही उपकरणको माध्यमले युवाशक्तिले स्थापित, संरक्षित र विस्थापित गरको इतिहास छ । अर्थात युवाशक्ति बिना परिवर्तन सम्भव नहुने भएकोले परिवर्तनको सम्पूर्ण अभिभारा युवावर्गले नै पुरा गर्दछ ।
नेपालमा इतिहासकाल देखि नै सामन्ती सत्ताको जग बसेको हो । सत्ताका लागि पारस्परिक संघर्ष गरेपनि तीन किसिमका देखिएका सामन्तहरू (महासामन्त, निरंकूश सामन्त र उदारवादी सामन्त) यही सत्तालाई निरन्तरता दिंदै आए । जनताप्रतिको दायित्व विर्सेर जहान परिवारको स्वार्थसिद्घिमा लिप्त भएका राणाहरूको क्रूरतन्त्र जनतामा अलोकप्रिय बन्दै विस्थापित भयो ।
यो भौतिक जगतमा कुनै कुरा शाश्वत हुँदैन । परिवर्तन अवश्यम्भावी हुन्छ । २००७ सालदेखि नेपालमा ठुल्ठूला राजनीतिक परिवर्तनहरू भएका छन । राणाहरूको अन्त, राजतन्त्रको समाप्ति आदि ठूला परिवर्तन देखिएका छन । यी सबै परिवर्तनको संघर्षमा हजारौं युवाहरू शहादत दिए, सयकडौं घाइते अपाङ्ग भए, हजारौं विस्थापित भए । युवाहरूको बलिदानी संघर्षबाट नै परिवर्तनको नौलो बिहानीको ढोका खुलेको हो । सैद्घान्तिक रूपमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ को स्थापना भयो । सामन्ती सत्ताका स्वरूपहरूको अवशेष अहिले पनि विद्यमान रहेकोले संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक पक्ष अति कमजोर देखिएको छ । जनता यस परिवर्तनको प्रत्यक्ष अनुभूति गर्न सकिरहेको छैन । परिवर्तनलाई संस्थागत गरी जनतालाई अनुभूत गराउन कटिबद्घ परिवर्तनकारी शक्ति र सामन्ती सत्ताको हल्लिएको जगलाई पुनर्स्थापित गराउन तम्तयार यथास्थितिवादी शक्तिबीचको चरम भिडन्त जारी छ ।
परिवर्तनको नयाँ परिवेशमा राजनीतिक दलहरूको एकमात्र अभिभारा जनमुखी संविधान निर्माण गरी जनआन्दोलनमा अभिव्यक्त भएका जनताका समस्यालाई तत्काल सम्बोधन गर्नु हो, तर ठूला राजनीतिक दलहरू सरकार बनाउने प्रपञ्चपूर्ण तथा निष्कर्षहीन खेलमा केन्द्रित भई संविधान निर्माण प्रक्रियालाई अवरूद्घ पारी संक्रमणकालीन अवस्थालाई लम्ब्याएर देशमा संकटको अवस्था सृजना गरेर आफनो स्वार्थ अनुकूलको संविधान जनतामाथि लादने मनसायमा लिप्त छन । संविधान सभाको दुई वर्षको म्यादभित्र संविधान बनाउने जनादेश विपरीत एकअर्कामाथि दोषारोपण गर्दै समयाभाव दर्शाउँदै एकवर्ष म्याद थप्दा पनि राजनीतिक गतिरोध कायम राखी पाँच महिना बिताई सकेको अवस्था छ । राजनीतिक दलहरूलाई आपसी सहमती बिना निकास पाउन सजिलो छैन । पारस्परिक विश्वासको संकटले राजनीतिक दलहरूलाई एकैठाउँमा उभिन दिई रहेको छैन ।
राजनीतिक गतिरोध निकट भविष्यमा अन्त हुने कुनै सम्भावना देखिएको छैन । राजनीतिक गतिरोधका कारण देशमा भ्रष्टाचार, मूल्यवृद्घि, असुरक्षा, हत्या, हिंसा, अपहरण, जबरन चन्दा असुली, आत्महत्या, अपराध, अर्थाभाव आदि निरन्तर बढदै गई रहेकोले देशले ठूलै संकट व्योहोर्नु पर्ने अवस्था पनि कायम छ । देश दिनानुदिन संकटग्रस्त हुँदै जानु कुनै पनि राजनीतिक दलको हितमा छैन । देेश, विदेशी शक्तिको राजनीतिक अखाडा बन्ने सम्भावना प्रवल भएको छ । राजनीतिक दलहरू पारस्परिक द्वेषमा देशको स्वाभिमान, सम्मान, प्रतिष्ठाप्रति संवेदनशील नहुनु ठूलो दुर्भाग्यको कुरा हो । देशलाई अझै संकटग्रस्त बनाएर आफनो अभिष्ट पूरा गर्ने अदुर्दर्शिताले स्वच्छ राजनीति र देशको कल्याण हुने कुरा सर्वमान्य हुन सक्दैन । जन जनबाट यस्तो प्रपञ्चपूर्ण खेलको पटाक्षेप गर्न र देशलाई सहज निकास दिन दवावमूलक कार्यक्रम आउन आवश्यक देखिएको छ ।
देशमा विद्यमान संक्रमणकाल, राजनीतिक गतिरोधका कारण देश गतिहीनताको अवस्थामा जनताको समस्याको समाधान हुन नसकेको खण्डमा जनतामा नैराश्यता बढदै गई रहेको र यसको प्रत्यक्ष शिकार युवावर्ग भएकोले अवसरको खोजीमा युवाहरूको विदेश पलायन तीब्ररूपमा बढेको छ । देशमा राजनीतिक गतिहीनताले युवाशक्तिको भूमिका गौण बनाएकै कारणले लाखौं युवाहरू विदेशिन बाध्य भएका छन । सदियौं देखि जनताको समस्यालाई नजरअन्दाज गर्ने तत्कालीन राज्यसत्ताको विरूद्घ देशमा उठेको आँधीले परिवर्तनको ढोका खोले पनि परिवर्तन संस्थागत हुन सकिरहेको छैन ।
हजारौं युवाहरूको शहादतबाट प्राप्त ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ लाई संरक्षण र सम्बर्द्घन गर्ने अभिभारा पनि युवावर्ग कै काँधमा भएकोले राजनीतिक गतिहीनताको अन्धकारबाट देशलाई निकालेर जनताले अपेक्षा गरे अनुरूपको राजनीति प्रणाली स्थापना गर्ने दिशामा अहम भूमिका निर्वाह गर्ने दायित्व युवावर्गले नै पूरा गर्नु पर्दछ । शहीदले देशलाई यहाँ सम्म ल्याई पुर्याउँदा यहाँबाट देशलाई गन्तव्य सम्म पुरयाउने कर्त्तव्य युवावर्गले पुरा गर्नु पर्दछ ।
(२०६७ माघ १४ गते मधेशवाणीमा प्रकाशित)
