(१) भाषा क्षेत्रमाः– आन्तरिक बसाई सराई गरी पहाडबाट आउने खस भाषाभाषीको पुर्व मेची देखि पश्चिम महाकाली सम्म मधेशमा बाक्लो उपस्थितिका कारण मधेशमा बोलिने भाषा मैथिली, भोजपुरी, अवधि, थारू भाषा आदि बढी प्रभावित भएको छ । खस भाषाले यी भाषाहरूलाई पछाडि धकेल्न धेरै सफल प्रयास गरयो । राजकाजको मुख्य भाषा खस भाषा रहेकोले पनि खस भाषाको महत्व बढाइएकाले अरू स्थानीय भाषाको महत्व घटनु स्वभाविक पनि हो । खस भाषालाई मधेशमा जनजीवनको बोली बनाउन सदियौं देखि गरिएको प्रयासले जनबोली बनाउन त सफल भएन तर मधेशको भाषिक संरचनालाई धेरै मात्रामा ध्वस्त बनाएको यथार्थको अनुभूति मधेशले गरेको छ । काठमाण्डौमा बसोबास गर्ने अधिकांश मधेशी खस भाषाभाषी भएको उदाहरण पनि छ । मधेशमा खस भाषाजालले यस्तो परिस्थिति निर्माण गर्यो कि मधेशीहरू आफनो हरेक क्रियाकलापमा खस भाषा नै प्रयोग गरोस, यहाँ सम्म कि मधेशी सुत्दा खस भाषामा नै सपना पनि देखोस । भाषा सामुदायिक पहिचानको प्रतीक हो । यसलाई संरक्षण र संबर्द्घन गर्नु पर्दछ भन्ने सरकारको नीति पनि रहि आएको छ, तर पनि सदियौं देखि मधेशलाई खसमय बनाउन भाषाजालको कूटनीतिक षडयन्त्रमा फँसाउनु मधेशप्रतिको भेदभाव नीति न भनेर अरू के भन्ने ?
(२) आर्थिक क्षेत्रमाः– मधेशमा बसाई सरि आउने खस भाषाभाषीहरूलाई असल व्यवस्थापन गर्न सरकारले मेची देखि महाकाली सम्म विभिन्न पुनर्वास आयोजना मार्फत जंगल फडानी गरेर लाखौं हेक्टर जग्गा वितरण गरी बसोबास गराए । राज्यको हरेक क्षेत्रमा खसभाषीहरूको राम्रो पहुँच रहेकोले आर्थिक रूपले सम्पन्न हुनु स्वभाविक थियो । राज्यमा राम्रो पहुँचका कारण विभिन्न जालझेलमा पारेर मधेशीको जग्गा जमीन हडपेर गुलाम बनाउने, सुकुमवासी बनाउने तथा विस्थापित समेत पार्ने जस्ता क्रियाकलाप मौन रूपमा मधेश सहदै आएको छ । यसमा सभन्दा बढी पीडित थारूहरू भएको छ । पूर्व झापाका हजारौं संथाली, राजवंशी विस्थापित भएर नेपाल छोडन बाध्य बनाइयो । पश्चिम नेपालको बर्दिया, कैलाली, कंचनपुरमा खसभाषीहरूको बसाई सराईले लाखौं थारूहरूको जग्गा हडपेर जग्गाबाट बेदखल गरी कमैया र सुकुमबासी बनाइयो । यसरी मधेशमा बसाई सरी आउने खसभाषीहरू सम्पन्न हुँदै मधेशीलाई कंगाल बनाउदै आफनो धाक, रवाफको बलमा मधेशका ‘मालिक’ कहलिए । राज्यको पूर्ण समर्थनमा गाउँ गाउँ पठाईएका यी सिपाहीहरू आफनो सुख वैभव जुटाउन उर्बरास्थल भएको मधेशलाई लुटन सक्ने जति लूटे । मधेशलाई दिनका लागि केही थिएन, लुटनमात्र तल्लीन रहेका कारण नै शोषणका विरूद्घ मधेशमा भीषण ज्वालामुखी फुटेको हो । मधेश आन्दोलनले नचाहँदा चाहँदै पनि खसभाषी विरूद्घको भीषण आक्रोश मधेशमा देखिएकै हो ।
(३) सामाजिक क्षेत्रमाः– मधेशी आफनै किसिमको भाषा, धर्म, संस्कृति रीतिरिवाज, विविध परम्परा, जीवनशैली तथा विशिष्ट पहिचान बोकेको रैथाने नागरिक हुन । सदियौंदेखि विविधतायुक्त समाजलाई सहिष्णुता र भ्रातृत्व भावनाको आधारमा एकीकृत सामाजिक परम्परालाई आत्मसात गरी अगाडी बढि रहेको मधेशको जीवनशैली आन्तरिक आप्रवासनले गर्दा ध्वस्त नै भयो । मधेशमा सम्पन्नता हासिल गरी मालिकमा रूपान्तरित खसभाषीहरूले जात जातमा, धर्म धर्ममा, सानो ठूलोमा आफनो स्वार्थसिद्घिका लागि फाटो ल्याउने, एक अर्कालाई लडाउने, अभावमा भएकाहरूको जमात खडा गरी आफूलाई नटेरने, हुनेखाने मधेशी विरूद्घ आक्रमण गराउने, आपसी फूट गराएर मालिक बन्ने जस्ता क्रियाकलापले मधेशको सामाजिक संरचनालाई नै ध्वस्त बनायो ।
भित्रैबाट कमजोर पारि निस्तेज अवस्थामा मधेशलाई राख्ने राज्यको मनसायलाई मूर्त्तरूप दिन मधेशमा उपस्थित खसभाषीले अनेक विधि गरेर राज्य गरे नै । मधेशको सहिष्णुता, भ्रातृत्वलाई आहत गरी मधेशी मधेशीबीचको बैमनष्यताको बीजारोपण गर्यो । सबै सरकारी काम यिनीहरूको माध्यमबाट मात्र हुने भएकोले मधेशीहरू यिनीहरूप्रति आकर्षित हुनु स्वाभाविक पनि थियो । अभावमा रहेकाहरूको आर्थिक सहयोग पनि यिनीहरू सहजै उपलब्ध गराउँथे । यसप्रकार मधेशको समाजमाथि एकाधिपत्य कायम गरेर सामाजिकतालाई इच्छानुसार छिन्नभिन्न गरयो ।
मधेश आन्दोलन यस्ता शोषणको विरूद्घ केन्दित भएर एकताबद्घ रूपमा आएपछि मधेशको एकतालाई दृष्टिगत गरी राज्य फेरि भयभीत देखिन्छ र फेरि मधेशमा शोषणका अवयवहरू जहाँबाट टुटेको थियो, त्यसलाई जोडेर षडयन्त्रलाई निरन्तरता दिन तल्लीन देखिन्छ । मधेशमा आप्रवासन बाध्यता नभई राज्ययन्त्रको प्रायोजित षडयन्त्र थियो । राज्यको मधेशप्रतिको दृष्टिकोण अझै पनि कलुषित नै रहेकोले राज्यलाई अहिले विश्वास गर्ने ठाउँ छैन । मधेशले एकीकृत रूपमा उठाएको आवाजलाई पुनश्च उठाएर मधेशमा राज्यले अहिले पनि गरि रहेको षडयन्त्रलाई रोकि आफनो अधिकार कायम गर्न जरूरी छ ।
(२०६७ पौष २ गते मधेशवाणीमा प्रकाशित)
