विभेद विरुद्धको सशक्त मधेश आन्दोलनले एकातिर अन्तरीम संविधानमा ‘स्वायत्त संघीय प्रदेश’को अवधारणा लेखाउन सफल भयो भने मधेश आन्दोलनको उँचाई देखेर भयभीत यथास्थितिवादी शक्तिहरु एकढिक्का मधेशलाई टुक्र्याउन एकीकृत रुपमा षडयन्त्रका तानाबाना बुन्न थाले । विगत केही दिनसम्म मधेशमा सरकारको यो पूनीत अभियान सफलतापुर्वक अभिनीत भयो । समग्र मधेशको क्षेत्रिय आन्दोलनको विरुद्घ जातीय आन्दोलनलाई प्रोत्साहित गरेर भिडन्तको अवस्था सृजना गरियो । मधेशलाई राजनीतिक रुपले तहस नहस गर्न षडयन्त्रका अनेक योजनाको सुत्रपात भयो । यसै योजना तहत थारुहरुलाई जातीय अधिकार आन्दोलनको नाममा मधेशी विरुद्ध आक्रामक रुपमा प्रस्तुत गराइयो । मुसलमानलाई ‘हामी मुस्लिम हौं, मधेशी होइनौं’ भन्न लगाइयो । इलेक्ट्रोनिक मीडिया, प्रिन्ट मीडिया आदिले धुवाँधार किसिमले दुबै समुदायका नेताहरुलाई परस्पर विवाद खडा हुने किसिमको अन्तर्वार्ता लिएर प्रचार गर्यो । मधेशीको अस्तित्वलाई किमार्थ स्वीकार नगर्ने गरी थारु समुदायलाई उचाल्यो ।
थारु समुदायको लागि मधेशी प्रमुख दुश्मन हो भन्ने मानसिकता विकसित गराएर नाटक मञ्चन गराईयो । खुल्ला सिमानाका कारण मधेशीहरु नेपाल पसेका विदेशी हुन भनेर मधेशकै एउटा ठुलो समुदायलाई साबित गर्न लगाउँदा अन्ततः यी सारा षडयन्त्रको पर्दाफास भएको छ । समाजमा विद्यमान प्रमुख अन्तर्विरोधको वस्तुगत विश्लेषणको अभावमा भएको गल्ती सच्चिएर थारु, मधेशीको एकताले आन्दोलनलाई अग्रगमनको दिशामा डोर्याएको छ भने यथास्थितिवादी शक्तिलाई यस्ता घृणित खेल नखेल्न चेतावनी पनि दिएको छ ।
राज्यले मधेश भूभागलाई नै राष्ट्रिय राजनीतिकको मूल प्रवाहबाट बञ्चित राख्दा मधेशमा भएका आदिवासी जनजाति, दलित, मुस्लिम, पिछडिएका वर्ग, अल्प संख्यक लगायत सम्पूर्ण समुदाय उपेक्षित जीवन जीउन बाध्य भएको छ । राज्यद्वारा गरिएको शोषणको मारमा कमोवेश मधेशका सबै समुदाय परेका छन् । थारुहरु सबभन्दा बढी शोषित समुदाय हुन यो सबैले स्वीकारेको कुरा हो । संविधानमा सबैको अधिकार सुनिश्चित नभएको अवस्थामा समुदायहरु मनवाधिकारबाट बञ्चित हुन्छन् । सोही बमोजिम भएको पनि हो । प्रमुख अन्तर्विरोध राज्यसंग हुनु पर्दछ, मधेशका अन्य समुदायसंग होईन । शोषणका प्रमुख कारक तत्वलाई पहिचान नगरी आन्दोलनको धारलाई निर्दिष्ट गर्न कठीन हुन्छ र आन्दोलन परिणाममुखी हुन सक्दैन । दुश्मन र मिक्रशत्तिको पहिचान र सम्बन्धसंग नै आन्दोलनको सफलता र असफलता गाँसिएको हुन्छ । थारु समुदाय भर्खरै मात्र मधेशीलाई मिक्रशत्ति बुझेर गरेको कार्यगत एकता ऐतिहासिक उदाहरण हो ।
परिवर्तन प्राकृतिक नियम हो । यसलाई कसैले अवरुद्ध गर्न सक्दैन । वस्तुमा अन्तर्निहित परिवर्तनका कारक तत्वहरु परिपक्व भएर अर्को वस्तुमा परिवर्तन गराउँदछ । सूक्ष्मातिसूक्ष्म देखि स्थूल सम्म कार्य फरक देखिए पनि नियम एउटै हुन्छ । नेपालको इतिहासमा राणाहरुको सत्ता बर्बर दासयुगीन सत्ता थियो । राणाहरुको ठाढो र मुखै शासनलाई नेपाली जनताले १०४ वर्ष झेल्यो । मुखै शासनले राणा बाहेक कसैको अस्तित्वको पहिचान दिएन । स्वयं राणाहरुबीच अन्तर्विरोध जन्म्यो । राणाहरुको बर्बर शासन नै परिवर्तनको कारण बन्यो र परिवर्तन भयो । राणा सत्ताकै गर्भबाट पुर्व निस्क्रिय राजतन्त्र अर्थात् सामन्तवादको जन्म भयो । यस परिवर्तनको पुर्व सन्ध्यामा ‘डेमोक्रेसी’ र कम्युनिज्म’ को बीजारोपण भई सकेको थियो । २००७ सालको परिवर्तन पछि राणाभन्दा अलि फरक तर आफ्नो असली रुपमा झण्डै ३० वर्ष, उदारताको नाटक गरेर ०४६ सम्म १६ वर्ष र वैधानिक राजतन्त्रको हैसियतले ०६२ सम्म १६ वर्ष अर्थात् ६२ वर्ष राणापछि राजाको शासन रह्यो । नेपाली जनता सबै खाले शोषणबाट मुक्ति चाहन्छ । २००७ देखि अहिले सम्मका लडाई नेपाली जनता लडेका हुन तर नेपाली जनता शोषणबाट मुक्ति पाउन सकेका छैनन् । उसको हिस्सामा गरिबी, भोकमरी, बेरोजगारी, महगी नै परेको छ । राजतन्त्र अर्थात् सामन्तवादका प्रतीक, जनताद्वारा हटाइए पनि उ छद्मभेषमा शक्तिको रुपमा सत्तामा विद्यमान छ र यसैकारण जनता केही पाई रहेको छैन । सन्दर्भ परिवर्तनको हो, परिवर्तन कै कुरा गरौं । पृथ्वी नारायण शाहले अर्ज्याको मुलुक नेपालमा उनका वंशजले आफ्नो अस्तित्व बचाउन सकेन । नेपालबाट जनताले राजतन्त्रको अन्त गर्यो । परिवर्तन प्रकृतिको शाश्वत् नियम हो । यसलाई कसैले रोकेर रोकिदैन ।
जीवन लीला समाप्त हुने लक्षण परिलक्षित हुन लाग्दा मानिसको बाँच्ने रहर तीब्र भएर आउँछ । ऊ बाँच्नका लागि हर सम्भव प्रयास पनि गर्छ । आफ्नो प्रयासमा केही दिन बाँचे पनि मृत्यु निश्चित छ । त्यस्तै राजनीतिमा पनि हुन्छ । नेपाली जनता शोषणका सबै किल्ला भत्काएर देशमा आमूल परिवर्तन ल्याउन खोजी रहेको छ । यथास्थितिवादी शक्तिहरु पुर्ववर्त्ती व्यवस्थाका अवशेषहरु भास्सिदै अवस्थाबाट बचाएर पुर्वावस्थामा ल्याउन असफल प्रयासमा तल्लीन देखिन्छन् । अर्थात् परिवर्तनलाई अनिच्छापुर्वक स्वीकार्ने बाध्यता छ । अहिले राजनीतिक अन्योल देखिएको यसै कारणले हो । तर समय जति लागोस् परिवर्तन अवश्य हुन्छ । नेपाली जनताको परिवर्तन ल्याउने दृढ इच्छाशक्ति अगाडी राणा टिकेन, राजा टिकेन, अरु कोही टिक्न सक्दैन ।
(२०६६ माघ २९ गते मधेशवाणीमा प्रकाशित)
