(“मधेशवाणी” साप्ताहिकमा प्रकाशित)
मिथिलाको इतिहास
२०६८ भाद्र १६ गते
कर्णाटवंशका संस्थापक नान्यदेवले मिथिलाको साँस्कृतिक परम्परालाई मात्र बढाएन, उनले मिथिलाको विकासका पूर्वाधारहरु निर्माण गरे, जनताको जीवनस्तर उकास्ने धेरै कार्य गरे । कर्णाटवंशको मिथिलालाई स्वर्ण मिथिला अर्थात मिथिलाको स्वर्णयुग पनि भनिन्छ । नान्यदेव पश्चात गंगदेव राजा भयो । नान्यदेवले खडा गरेको मिथिला साम्राज्यलाई गंगदेवले कायम राख्न सकेन । विद्यापतिको पुरुष परिक्षा अनुसार मिथिलामा मल्लदेवको शासन रहेको जानकारी पाइन्छ । नान्यदेवको पुत्रको रुपमा वर्णित मल्लदेवको अरु पुष्ट प्रमाण भने पाइँदैन । सम्भवतः गंगदेवको भाई मल्लदेव हुन सक्छ र दुबै भाईको राम्रो सम्बन्ध नभएका कारण मिथिलाको विभाजन भई पूर्वी मिथिला (सहरसा र पूर्णिया) मल्लदेवको अधिपत्यमा रहेको होला ।
गंगदेव (११४७)ः
आफनो पिताबाट विरासतमा पाएको समृद्धशाली मिथिलालाई अझ सुदृढ गर्न गंगदेव सतत प्रयत्नशील रह्यो । पश्चिम गढवाल, दक्षिण पालवंश र पुर्व सेनवंशबाट मिथिलालाई सुरक्षित राख्न सदैव सतर्क रहे । आफनो पिताकालमा सेनसंगको बिग्रेको सम्बन्धका कारण पनि गंगदेव आफनो राज्यको सुरक्षाप्रति चनाखो थिए । पिता जस्तै कुशल कूटनीतिज्ञको रुपमा देखिएको गंगदेवले कृषि सुधारका लागि अनेकौं कामहरु गरे । जनता खुशहाल भए राज्य बलियो हुन्छ भन्ने विश्वासको आधारमा जनपक्षीय सुधारका कामहरुलाई अगाडि बढाए । मिथिलामाथि गृद्धदृष्टि राखेका सेनवंशी तथा पालवंशीको ईच्छालाई गंगदेवले पूरा हुन दिएन । गंगदेवले आफनो शासनकालमा मिथिलालाई संगठित र सुदृढ बनाए ।
नरसिंहदेव (११८७)ः
गंगदेव पछि नरसिंहदेव मिथिलाको शासक बन्यो । यो कालमा मुसलमानको प्रभाव बढदै गई रहेको थियो । पूर्व र पश्चिमबाट मुसलमानहरु मिथिलामाथि घात लगाएका थिए । नेपाल पनि मिथिला राज्यबाट अलग भई सकेको थियो । नेपालमाथि गुमिएको अधिकार हरिसिंहदेवको पालामा नेपाल मिथिलाको अधीनमा आयो । नरसिंहदेव कुशल राजनीतिज्ञ थिए । उनका सामु धेरै चुनौतीहरु थियो । किन्तु सबै समस्याहरुसंग जुध्दै उसले मुसलमान प्रभावलाई विफल पारि मिथिलालाई अक्षुण्ण राख्न सफल भए ।
रामसिंहदेव (१२२७)ः
नरसिंहदेव पछि एउटा कुशल शासकको रुपमा रामसिंहदेव मिथिलाको इतिहासमा चिनिन्छ । मुसलमानहरुको आक्रमणबाट आफनो शासनको ४० वर्षे कालसम्म जसरी नरसिंहदेवले मिथिलालाई सुरक्षित राख्यो, त्यस्तै रामसिंह देवको पालामा मुसलमानहरुको बर्बर आक्रमणलाई परास्त गर्दै आफनो शासनको ५८ वर्षसम्म मिथिलालाई सुरक्षित राख्यो । मिथिलाको चारैतिर मुसलमानहरुको प्रभाव बढदै गई रहेको थियो । रामसिंह देवले आफनो राजधानीको किलाबन्दी गरेको थियो । तिब्बती यात्री धर्मस्वामीले पनि आफनो विवरणमा रामसिंह देवको गुणगान गरेका छन । रामसिंह देव विद्वान तथा धर्म प्रवर्तक थिए । धर्मस्वामीलाई उनी धेरै आदर गर्थे । चारैतिरबाट मुसलमानको आक्रमणबाट मिथिलालाई सुरक्षित राख्नुबाट यो स्पष्ट हुन्छ रामसिंह देव कुशल र चतुर शासक थिए ।
शक्तिसिंह (१२८५)ः
शक्तिसिंह प्रतापी, पराक्रमी शासक थिए । अलाउद्दीन खिलजीसंग राम्रो सम्बन्धका कारण मिथिलालाई जोगाउन यिनी सफल भएका थिए । शक्तिसिंह निरंकूश शासक थिए । यिनका दरबारीहरु राजाको निरंकूशताबाट निकै प्रताडित थिए । अत्याचारी शासक भएकै कारण यिनको कार्यकाल १० वर्ष मात्र रह्यो ।
हरिसिंह देव (१२९५–१३२४)ः
हरिसिंह देव मिथिलाको धेरै लोकप्रिय तथा महान राजाको रुपमा चिनिन्छ । हरिसिंह देव नेपालमाथि विजय प्राप्त गरि मिथिलाको राज्य विस्तार गरेको थियो । यिनकै समयमा पंजी प्रथा चलेको हो । मिथिलाको चारैतिरबाट मुसलमानहरुको प्रभाव झेल्दै आउँदा हरिसिंह देवको पालामा अर्थात १३२४ ई.मा गयासुद्दीन तुगलकले मिथिलामाथि विजय प्राप्त गर्यो । गयासुद्दिनको आक्रमणबाट परास्त भई हरिसिंह देव १३२४ मा नेपालको भादगाँवमा आफनो किला बनाए । नेपालमा हरिसिंह देव आफनो प्रभाव जमाउन सफल भयो । नेपालको शिलालेखमा हरिसिंह देवलाई कर्णाट वंशोदभव, कर्णाट चूडामणी भनिएको छ । कर्णाटवंशको शासनकाल १०९७ ई. देखि १३२४ ई. अर्थात ३२७ वर्षको अवधिमा मिथिलाले आफनो सर्वांगीण विकास गरेको कारणले कर्णाटवंशलाई मिथिलाको स्वर्णयुग भनिएको हो । कर्णाटवंशी राजाहरुले एक शताब्दि सम्म मुसलमानलाई मिथिला भूमिमा टेक्न दिएन । कर्णाटवंशी राजाहरु राजनीतिक चातुर्य, पराक्रम, कूटनीतिज्ञ र बलशाली थिए । मुसलमानको विजय पश्चात मिथिलामा कर्णाट वंशज रहे पनि उसको विकल्पमा मुसलमान शासकले ओइनवारवंशलाई विश्वास गरेर त्यहाँका राजा बनाए ।
कर्णाटवंशको पतन पछि मिथिला फेरि अस्त व्यस्तातिर धकेलियो । केन्द्र शासित राज्यको रुपमा रहे पनि मिथिला आफनो स्वतन्त्र अस्तित्व बचाएर राखेको थियो । साँस्कृतिक परम्परा तथा धर्ममा मुसलमानहरुको कुनै प्रभाव पर्न सकेको थिएन । दिल्लीबाट प्रत्यक्ष शासन मिथिलामाथि सम्भव थिएन । दिल्ली शासनको यही कमजोरीको फायदा उठाएर बँगालका शासक हाजी इलियास शाहले मिथिलामाथि आक्रमण गरि हाजीपुर सम्म पुगेका थिए । आफनै नामबाट हाजीपुरको नाम राखेर फर्केका थिए । पूर्वको बढदो प्रभावलाई रोक्न केन्द्रबाट फिरोज तुगलक आफनो सैन्य तयारीका साथ सप्तरीको सप्तकोशी तरेर बँगालतिर लागेको इतिहासमा पाइन्छ ।
केन्द्रबाट मिथिलालाई सम्हाल्न नसक्ने तथा मिथिलालाई छोडन पनि नसक्ने मुगल शासकले द्विविधामा ३० वर्ष विताए । मिथिलामा के गर्ने भन्ने कुनै निर्णय लिन सकेन । मिथिलालाई नछोडनुको कारण बँगाललाई आफनो अधीनस्थ गर्नु थियो । त्यतिमात्र होइन, मुगल शासक गयासुद्दीनले मिथिलाबाट नेपाललाई समेत आफनो अधीनमा राख्न चाहन्थे । अन्तमा मिथिला आफनो कमजोर पकडका कारण हातबाट जान सक्ने यथार्थलाई सम्झी उसले मिथिलामा अहिले पनि उपस्थित कर्णावंशजलाई नपत्याएर ओइनवार वंशजलाई विश्वासमा लिएर आफनो मातहतमा रहने गरि शासन गर्न दिने निर्णय लिए ।
कर्णाटवंशले आफनो २२७ वर्षको शासनकालमा मिथिलालाई जनकवंश सरह संगठित र समृद्धशाली बनाएका थिए । कर्णाटवंशको पतन (१३२४ ई.) पश्चात लगातार ३० बर्ष सम्म मिथिला मुगलहरुको अधीनमा केन्द्र शासित प्रदेशको रुपमा रह्यो । यस अवधिमा मिथिलालाई अराजक स्थितिको सामना गर्नु पर्यो । पूर्वबाट हाजी इलियासको पटक पटकको आक्रमणले पनि मिथिलाको समृद्धि संरचनामाथि निकै प्रभाव पर्यो । दक्षिण, पश्चिमले पनि मिथिलालाई कब्जा गर्न घात लगाएर बसेका थिए, जो पटक पटक आक्रमण पनि गर्थे । मिथिला एक पल्ट फेरि आफनो स्थायित्व गुमायो । (स्रोत–राधाकृष्ण चौधरी, मिथिलाक इतिहास) ।
