(“मधेशवाणी” साप्ताहिकमा प्रकाशित)
मिथिलाको इतिहास
२०६८ भाद्र २३ गते
ओइनवार वंश (१३५५ ई०)ः
गयासुद्दिन तुगलकले मिथिला कब्जा गरेपछि १३२४ ई० देखि १३५५ ई० सम्म अर्थात ३० वर्ष केन्द्रको अधीनमा मिथिलालाई राख्यो । त्यस अवधिमा कैयौं पटक छिमेकी शासकसंग मिथिला बचाउनका लागि युद्ध गर्नु परयो । यसबाट मुगल शासकले के शिक्षा लियो भने यति टाढा दिल्लीबाट मिथिलालाई सुरक्षित राख्न सकिदैन । मिथिलालाई ऊ छोडन पनि चाँहदैन्थ्यो । मिथिलालाई आफनो प्रभावमा राखेर बँगाल, गढवाललाई जित्न सजिलो हुने रणनीति बनाएको थियो । छोडन पनि नचाह्ने, राख्न पनि न सक्ने समस्याबाट निजात पाउन उसले त्यहींको ओइनवारवंशको कामेश्वर ठाकुरलाई आफू मातहतमा रह्ने गरि वर्षेनी राजस्व बुझाउने शर्तमा मिथिलाको शासन भार हस्तान्तरण गरयो । कामेश्वरको भाई भोगेश्वरलाई फिरोज तुगलकले आफनो सखा बनाएको थियो ।
ओइनवार वंशावली
जयपति »» हिङ्खु »» ओएन ठाकुर »» अतिरुप »» विश्वरुप »» गोविन्द »» लक्ष्मण »» कामेश्वर ठाकुर »» भोगीश्वर ठाकुर »» गणेश्वर »» कीर्त्तिसिंह (यहाँ मिथिला दुई भागमा विभाजित भयो) ।
मिथिलाको अर्को भागको शासक भोगीश्वरको भाई भवसिंह बन्यो । भवसिंह »» देवसिंह »» शिवसिंह (पुत्रहीन) »» पदमसिंह (ओइनवारवंशको अन्य तर पुत्रहीन) »» लखिमादेवी (शिवसिंहकी रानी) »» विश्वास देवी (पदमसिंहकी रानी)
विश्वास देवी पछि शिवसिंहको भाई हरसिंह शाखाको उदय । हरसिंह »» रत्नसिंह प्रसिद्ध नरसिंह »» धीरसिंह »» भैरवसिंह »» रामभद्र »» लक्ष्मीनाथ देव कंस नारायण १५१३ ई० देखि १५२६ ई० सम्म (ओइनवार वंशका अन्तिम शासक) ।
ओइनवारवंश काश्यप गोत्रीय ब्राह्मण वंश थियो र कर्णाटवंशी राजाले ओइनी ग्राम दानमा दिएको कारणले यिनी ओइनवारवंशी कहलाए । यस वंशको संस्थापक राजपंडित सिद्ध पुरुष कामेश्वर ठाकुर थिए । गयासुद्दिन तुगलकले मिथिलाको सत्ता दिंदा लिन नचाहने उदार तथा संत चरित्रका कामेश्वर ठाकुर पुत्र भोगीश्वरको दबावमा स्वीकार गरि मिथिलामा ओइनवारवार वंशको शासन कायम गर्ये । गयासुद्दिन तुगलकको उत्तराधिकारी फिरोज तुगलकले भोगीश्वरलाई प्रियसखाको सम्मान दिएको थियो । कामेश्वर पछि भोगीश्वर राजा भयो, भोगीश्वर पछि गणेश्वर राजा भयो । गणेश्वर कालमा आपसमा सत्ता संघर्ष उत्कर्षमा पुग्यो । भोगीश्वरको भाई भवसिंहका पुत्रद्वय कुमर हरसिंह र कुमर त्रिपुरले गणेश्वरको बध गरी आफना पिता भवसिंहलाई राजा बनाए । गणेश्वरका पुत्रद्वय कीर्त्तिसिंह र वीरसिंह वालिग भएपछि फिरोज तुगलकको सहायता लिएर मिथिलालाई आफनो कब्जामा पारे, तर मिथिलाको एक भागमाथि भवसिंहको अधिपत्य कायम नै रह्यो । कीर्त्तिसिंहको शत्रुताका कारण भवसिंह दरभंगाबाट राजधानी सारेर दक्षिण बागमतीको किनारमा आफनो स्कन्धावार बनाएको थियो । त्यहीं भवसिंहले प्राणत्याग गर्यो र पार्थिव शरीरसंगै उनकी दुई रानी सती भईन । भवसिंह प्रतापी राजा थिए । कन्दाहा (सहरसा) अभिलेखमा भवसिंहलाई पृथ्वीपति द्विजवरो भनिएको छ ।
भवसिंह पछि देवसिंह राजा भयो र उसले देकुलीमा आफनो राजधानी बनायो । कीत्तिसिंह र देवसिंहको दरवारमा विद्यापतिको समान सम्मान कायम थियो । विद्यापतिको पुरुष परीक्षा तथा शैवसर्वस्वसार अनुसार देवसिंह महापराक्रमी तथा कुशल शासक थिए । उनले कृषि सुधारका लागि धेरै जलाशयको निर्माण गरेका थिए । देवसिंह कीर्त्तिसिंहसंगको शत्रुता मेटाउन अनेक प्रयास गरेका । विद्यापति पनि यो शत्रुतालाई निर्मूल गर्न चाहन्थ्यो । देवसिंहको यो प्रयासबाट विद्यापति खुबै प्रभावित भएका थिए । देवसिंहको कुशलताले विद्यापतिको निकट सम्बन्ध धेरै प्रगाढ भयो । विस्तारै विद्यापति स्थायी रुपमा देवसिंह कै दरवारमा बस्न थाले ।
देवसिंह पछि शिवसिंह राजा भयो । मिथिलाको इतिहासमा ओइनवारवंशका सर्वप्रसिद्ध राजाको रुपमा शिवसिंहको वर्णन पाइन्छ । विद्यापति र शिवसिंहमा आयुको धेरै अन्तर भए पनि दुबै घनिष्ट तथा समर्पित मित्र थिए । विद्यापतिको पुरुष परीक्षा शिवसिंहकै वर्णनले भरिएको छ । राजा शिवसिंह विद्वान, पराक्रमी, उदार, कुशल शासक तथा ऐतिहासिक व्यक्तित्वका लोकप्रिय शासक थिए । पिताका आदेशानुसार विद्यापतिको सानिध्य पाएर शिवसिंह साहित्यमा राम्रो रुचि राख्दथे । सानै उमेरदेखि पितासंगै राजकाजमा समेत संलग्न रहको कारण शिवसिंह राज्य संचालनमा निपूर्ण थिए । शिवसिंहकालमा मिथिला शक्तिशाली राज्यको रुपमा विकसित हुँदै गई रहेको थियो । मिथिलामा आफनो प्रभूत्व देखाउन राजा शिवसिंहले स्वर्ण मुद्रा चलनमा ल्याएका थिए । आफनो पिताकालमा चारैतिरबाट मुसलमान आक्रमणको खतरा विद्यमान थियो । स्मरण रहोस, देवसिंहले मिथिलालाई मुसलमानको प्रभावबाट मुक्त गर्न कर दिन बन्द गरेको थियो । त्यसकारण प्रायः मुसलमानको आक्रमण भई रहन्थ्यो । एकपल्ट शिवसिंहलाई दिल्ली पठाउँदा शासक गयासुद्दिनले शिवसिंहलाई परास्त गरि गिरफ्तार गर्यो । विद्यापति आफना मित्रलाई छुटाउन दिल्ली पुगेको थियो । आफनो काव्य प्रतिभाबाट मुगल शासक गयासुद्दिनलाई प्रभावित गरेका थिए । गयासुद्दिन विद्यापतिको काव्य प्रतिभावाट धेरै खुशी भई शिवसिंहलाई मुक्त गरेका थिए ।
बँगालको शासक गणेश थियो । गणेशको पुत्र जदुसेन मुसलमान भएर जलालुद्दिनको नामले बँगालका शासक भए । राजा शिवसिंहले आफना समकालीन जलालुद्दिनको विरुद्ध बँगालमाथि आक्रमण गरेर केही भाग आफनो अधीन बनाएका थिए । राजा शिवसिंह मिथिलालाई कर्णाटवंशी राजा नान्यदेवको परम्परामा पुर्याउन चाहन्थ्यो । मुसलमानहरुको अधीनता शिवसिंहलाई कथमपि स्वीकार्य थिएन । आफनो गिरफ्तारीको बेइज्जतीले पनि शिवसिंहलाई एउटा शक्तिशाली मिथिला राज्य बनाउन उक्साई रहेको थियो ।
मुसलमान शासक पनि राजा शिवसिंहको विद्रोही स्वाभावबाट निकै चकित थिए । उनीहरु मिथिलामाथिको पकड अझ कायम नै राख्न चाहन्थे । यसकारण दिल्लीका मुगल शासक सधैंभरि आक्रमण गरि रहन्थे । दुबैबीच फेरि युद्ध भयो । राजा शिवसिंह परास्त भए । राजा शिवसिंह त्यसपछि कहाँ गए, यसको साधन स्रोत उपलब्ध छैन । युद्धमा राजा शिवसिंह हराएपछि विद्यापति रानी लखिमालाई लिएर द्रोणवार पुरादित्य राजाको दरवारमा (सप्तरी प्रगन्ना) सुरक्षासाथ राखे ।
शिवसिंह पछि दिल्ली सुल्तानलाई कर दिने शर्तमा पदमसिंह राजा भयो । राजकाजमा सहयोग गर्न राजा पदमसिंहले विद्यापतिलाई बोलाए । विद्यपतिले पनि पदमसिंहलाई सहयोग गरे । पदमसिंह पुत्रहीन भएकोले आफनो शेष पछि मिथिला शासकविहीन अवस्थामा पुग्यो । बारह बर्षसम्म राजा शिवसिंहलाई प्रतीक्षा गरि लखिमाले पतिको श्राद्धकर्म गराई मिथिलाको राजकाज हेर्न सत्ता आफनो हातमा लिई शासन गर्न थालिई । लखिमाको शेषपछि पदमसिंहकी रानी विश्वास देवीले राजकाज चलाईन ।
विश्वास देवी पछि शिवसिंहको भाई हरसिंह मिथिलाको शासक भयो । हरसिंह पछि निजको पुत्र रत्नसिंह प्रसिद्ध नरसिंह दर्पनारायण राजा भयो । नरसिंह अत्यन्त प्रतापी राजा भएका कारण यिनलाई दर्पनारायण उपाधी दिइएको थियो । कन्दाहा (सहरसा) को सूर्य मन्दिरको शिलालेखमा यिनको तिथी १४५३–१४५४ ई० उल्लेख छ । यिनकै आदेशमा विद्यापतिले दानवाम्यवलीको रचना गरेका थिए । यिनको पहिलो रानीबाट धीरसिंह हृदय नारायण, भैरवसिंह रुपनारायण र दोश्रो रानीबाट चन्द्रसिंह, दुर्लभसिंह गरि चार पुत्र थियो । नरसिंह पछि १४६० ई० मा धीरसिंह राजा भयो । धीरसिंह पछि १४७५ ई० मा यिनका भाई भैरवसिंह राजा भयो । शिवसिंह पछिको अति लोकप्रिय राजाको रुपमा भैरवसिंहको नाम आउँछ । यिनले पनि शिवसिंह जस्तै चाँदीका सिक्का चलाएका थिए । आफनो कालमा मिथिलालाई स्वतन्त्र र संगठित राख्न अनेक कार्यहरु यिनले गरे । भैरवसिंह पछि रामभद्र मिथिलाका शासक बने । सिकन्दर लोदीसंग यिनको मित्रता थियो । यिनको शेष पछि मिथिलाका अन्तिम शासक लक्ष्मीनाथ देव कंसनारायण १५१० ई० मा मिथिलाको शासक भयो । बँगालमा यिनका समकालीन नशरत शाहबाट लक्ष्मीनाथ पराजित भएका थिए । १५२६ ई० मा पुत्रहीन अवस्थामा लक्ष्मीनाथको देहावसानसंगै मिथिलामाथि ओइनवार वंशको शासन पतन भयो ।
