प्राग इतिहासमा विदेह अर्थात मिथिला – ८

          मिथिलाको इतिहास

२०६८ असोज २७ गते

मिथिलाको राजा शिवसिंह पश्चात मिथिलाको साम्रज्य खण्डित भई अनेक स्वतन्त्र राज्यको रुपमा विकसित भयो । भूमिपति राजपूतहरु आफनो पराक्रमद्वारा आफनो प्रभाव रहेको क्षेत्रमा शासन गर्न थाले । कोई मुगल सम्राटलाई कर भुगतान गरि खुशी पारेर त कोई कुनै क्षेत्र दानमा लिएर शासक बने । यसरी खण्डित मिथिलाको बृहत क्षेत्र मुगल सम्राट अकबरले १५५६ ई. मा खण्डवला वंशका संस्थापक महेश ठाकुरलाई उनको विद्वताबाट प्रभावित भएर शासन गर्न दियो । यसरी मिथिलामा ओइनवार वंशको पतन पछि खण्डवला वंशको शासनको स्थापना भयो । महेश ठाकुको पूर्वजलाई खण्डवा क्षेत्र दानमा प्राप्त भएको कारण यिनीहरु ख्ण्डवा क्षेत्रमा गएर बसे । त्यही कारण यिनीहरु ख्ण्डवावंश कहलिए । महेश ठाकुर खण्डवावंशको दशौं पिढीका थिए । मैथिल परम्परामा अकबरले महेश ठाकुरलाई मिथिलाको राजा बनाएको वर्णन पाइन्छ– “अति पवित्र मंगल करण राम जनम के दिन । अकबर तुषित महेश को तिरहुति राजा करेन ।।”

अकबरबाट मिथिला राज्यको फरमान लिएर आउँदा महेश ठाकुरलाई राज्य गर्न अनेक संघर्ष गर्नु पर्‍यो होला, किनभने खण्ड खण्डमा परेको मिथिलामा अनेक स्वतन्त्र राजाहरु थिए । कतै राजपूतहरु राजा थिए भने कतै ओइनवार वंशका राजाहरु आफनो प्रभावले राज गरि रहेका थिए । बृहत मिथिलाको लागि यिनीहरुसंग संघर्ष हुनु स्वाभाविकै थियो । महेश ठाकुरले संघर्ष गरेर आफनो शासनको सहजता प्राप्त गरेको थियो । शान्तिपूर्ण तथा कुशल शासनबाट प्रभावित भएर औरंगजेबले बंगालको ११० प्रगन्ना तथा खिलत र महिरेतिव     (माछाको निशान, जो मिथिलाको राजकीय निशान थियो) मिथिलाको राजालाई दान बकस दिएको थियो । महेश ठाकुर कुशल राजनीतिज्ञका साथ प्रकाण्ड विद्वान पनि थिए । वीरवलको आदेशमा महेश ठाकुरले अकबरनामाको एउटा संक्ष्प्ति संस्कृत संस्करण सर्वदेश वृतान्त संग्रह लेखे, जो अति प्रसिद्ध छ । ओइनवार वंशको पतन पश्चात मिथिलामा बढेको अराजक स्थितिलाई साम्य पार्न तथा पौराणिक मिथिलाको साम्राज्य कायम गर्न उनले निकै प्रयास गरे । आफनो कालमा बृहत मिथिलाको साम्राज्य बनाउन नसके पनि धेरै भूभागलाई मिथिलामा गाभ्न सफल भएका थिए ।

महेश ठाकुर पछि यिनको द्वितीय पुत्र गोपाल ठाकुर मिथिलाको राजा बने । यिनी विद्रोही स्वाभावको भएकोले धेरै साना राजाहरुलाई परास्त गरे । आफनो पिताले थालेको बृहत मिथिलाको अभियानमा गोपाल ठाकुरले धेरै बृद्धि गरे । एकपल्ट दिल्लीको मुगल दरबारबाट बोलावट आएपछि राजकीय मामलाको व्यस्तताले गर्दा गोपाल ठाकुरले आफनो विद्वान पुत्र हेमांगदलाई पठायो । मुगल सम्राट आफनो अपमान सम्झेर हेमांगदलाई कैद गर्‍यो । कागज कलमको अभावमा हेमांगदले कैदखानामा भूँईमा लेखी रहेको कुरा थाहा पाएर मुगल सम्राट अकबर आएर सोध्दा हेमांगदले भन्यो– “एक हजार वर्ष सम्म कुन कुन समयमा ग्रहण लाग्ने हो, त्यसैको गणना लेख्दैछु ।” सम्राट उसको विद्वताबाट प्रभावित भएर उनलाई मुक्त गरि मिथिलाको बाँकी बक्यौता पनि माफ गरि दियो । यही ग्रन्थ राहु पराग पंजीको नामले प्रसिद्ध छ । हेमांगद साहित्य अनुरागी भएकोले राजकाजमा उसको मन लाग्दैन्थयो । ऊ साहित्य सेवामा नै बढी समय व्यतीत गर्न थाल्यो । गोपाल ठाकुर पछि मिथिलाको शासक शुभंकर ठाकुर भयो । यो राजा आफनो पिता समान विद्वान त थिए तर राजकाजमा भन्दा साहित्य लेखनमा बढी रुचि राख्दथे । मुगल शासक यिनको विद्वताबाट धेरै प्रभावित थियो । त्यसपछि पुरुषोत्तम ठाकुर मिथिलाका शासक बने । यिनको अल्पकालीन शासन पछि यिनकै सौतेनी पट्टिका भाई नारायण ठाकुर राजा भयो । बृहत मिथिला अभियान अन्तर्गत यिनले दुईटा फरमान प्राप्त गरेका थिए – सरसो (भौर प्रगन्ना) र बिजलपुर (बेराय प्रगन्ना) । मिथिलाको सुधार र विकासमा यिनले राम्रा प्रयासहरु गरेका थिए । १६४५ ई. सम्म यिनको शासन रह्यो । नारायण ठाकुर पछि सुन्दर ठाकुर शासक भयो । यिनको कालमा दिल्लीको सुल्तान शाहजहाँ थियो । त्यसपछि महिनाथ ठाकुर राजा भयो । महिनाथ ठाकुरले दिल्ली सल्तनतबाट बक्सिसमा तिरहूतको १०२ प्रगन्ना, मुँगेरको एक प्रगन्ना, बँगालको पूर्णियामा पाँच प्रगन्ना र ताजपुरमा दुई प्रगन्ना गरि १२० प्रगन्ना पाएको थियो । यिनको पालामा मिथिलाको सीमानामा बढोत्तरी भएको थियो । मिथिला परम्परामा महिनाथ ठाकुर कुशल योद्धाको रुपमा वर्णित छ । यिनले बेतियाको राजा गजसिंहलाई परास्त गरेका थिए । संकुचित हुँदै गएको मिथिलालाई आफनो रणकौशलले धेरै विस्तार गरे । यिनको शासनकालमा दरभंगा अविभाजित रहने तथा उत्तराधिकारीले शासन चलाउने नियम लागू भएको थियो । त्यसपछि यिनको भाई नरपति ठाकुर शासक बने ।

मिथिलामा ओइनवार वंशको पतन भएपछि यस राज्यलाई हडप्ने सिलसिलामा मकवानपुरका शासकले पनि तिरहूतका धेरै जसो भाग कब्जा गरेको थियो । नरपति ठाकुरले पटनाको सूबेदारसंग सहायता लिएर मकवानपुरको शासकलाई परास्त गरि तिरहूतको भूभाग फिर्त्ता लियो । नरपति राजनीतिज्ञ र कुशल योद्धा थिए । नरपति पछि यिनका पुत्र राघवसिंह मिथिलाको शासक भयो । राघव सिंहले ठाकुर पदवीलाई हटाएर सिंह पदवी स्वीकार गर्‍यो । आफ्नो पिता जस्तै राघव सिंह पनि कुशल योद्धा थिए । बेतियाको राजा ध्रुवसिंहसंग संघर्ष चलेको थियो । मैथिल परम्परामा यो वर्णित छ – “नगहु खङ्ग ध्रुवसिंह तोहि उपर यम चढौ । मिथिलापति सौवेर दिन दिन तोहि बढौ ।। तेकयत कुलवधिक एतो राघव नृप राजा । एहि दल दलन सम्मथ भीम भारत जिमि गाजा ।। पूर्णियातिर धर्मपुर प्रगन्नाको राजस्व उठाउन आफ्नै दरवारको विश्वासी वीरु कुरमीलाई राजस्व अधिकारी बनाएर राघव सिंहले पठायो । वीरु कुरमीले राजस्व पठाएन र धर्मपुरको शासक भएर काम गर्न थाल्दा राघव सिंहले सेना पठायो । त्यो युद्धमा वीरुको छोरा मारियो र वीरु परास्त भयो । वीरुलाई सहयोग गर्न सरमस्त अली खाँको नेतृत्वमा दिल्लीबाट सेना आयो । त्यो सेना राघव सिंहको सेना अगाडि टिक्न सकेन । वीरु कुरमीलाई परास्त गरि पुनश्च त्यो क्षेत्रमा राघव सिंहको शासन कायम भयो । राघव सिंहको धेरै शिलालेख उपलब्ध छ ।

राघव सिंह पछि विष्णु सिंह राजा भयो । यिनले चार वर्ष शासन गरे । यिनको मृत्यु पछि नरेन्द्र सिंह शासनाभार सम्हाले । आफनो बुबा राघव सिंह जस्तै नरेन्द्र सिंह प्रतापी र कुशल योद्धा थिए । यिनको सम्बन्धमा चन्दा झाको एउटा उद्धरण – “नृपति नरेन्द्र सिंह भेल जखन । अरिधर कानन पसरल तखन ।। ताकि ताकि शत्रुक संघार । कैलन्हि बहुत छात्र व्यवहार ।। कतहु जुद्धि नहि एला हारि । अतिशय तेज तनिक तरुआरि ।। मुगल सम्राटसंग यिनको संघर्षवारे यो पद्यबाट स्पष्ट हुन्छ – “ऐसो महाघोर जोर जंग सुल्तानी, बीच झुकत बबरजंग संगर करीन्द्र हैं । औलिया नबाव नामदार पुछै बार बार, ये दोनो कौन लडत अरिवारण परीन्द्र हैं । साहेब सुजान जैनुद्दिन अहमद खाँ सामनेयय, अजेकरत कहत कवि चन्द्र हैं । ये तो द्रोणवारकेँशो साह के अजित साह, ओ राघो सिंह जी के नवल नरेन्द्र हैं ।”

सहरसा जिल्लामा नरेन्द्र सिंहले आफनो पिताको स्मारक बनाउन राघवपुर (हालको राघोपुर)को स्थापना गर्‍यो । नरेन्द्र सिंहको एउटा पत्नि महिषि (सहरसा)को थियो र निजकै आग्रहमा नरेन्द्र सिंहले महिषीको उग्रतारा भगवती मन्दिरको जीर्णोद्धार गरेको थियो । नरेन्द्र सिंह पछि प्रताप सिंह राजा भयो । यिनले पहिले झंझारपुरलाई राजधानी बनायो र पछि दरभंगामा सार्‍यो । १७७१ ई.मा नेपालको राजा पृथ्वीसिंह कम्पनी सरकारसंग कर दिने सम्झौता अनुसार सो कर प्रतापसिंहकै माध्यमबाट जान्थ्यो । १७७० ई.मा वंसीटार्ट तथा सितावरायबाट तिरहुत राज्य प्रताप सिंहले मुकर्ररी पट्टाको आधारमा प्राप्त गरेको थियो । पछि करको विषय लिएर कम्पनी सरकारसंग प्रताप सिंहको धेरै झंझट भएको थियो ।

प्रताप सिंह पछि १७८५ ई.मा माधव सिंह राजा भयो । खण्डवला राजवंशमा माधव सिंहको काललाई महत्व मानिएको छ । माधव सिंहले सम्पूर्ण तिरहुतमाथि प्रभूत्व कायम गर्न स्वीकृतिको लागि कम्पनी सरकार समक्ष आवेदन गर्दा मानेन । मुगल सम्राट शाह आलमको दरबारमा पनि माधव सिंहले दरखास्त गरेको थियो । १८०० ई.मा शाह आलमले स्वीकृति दिए पनि कम्पनी सरकारले उक्त कुरालाई मान्न तयार भएन । कम्पनी सरकारले माधव सिंहलाई दरभंगाको जमींन्दारी मात्र प्रदान गर्‍यो जो अद्यावधि रहयो । माधव सिंहको कालमा तिरहूत हिन्दू स्वायत्त राज्यको रुपमा कायम थियो । न्यायालयको निर्णय संस्कृतमा दिने चलन थियो । १७९४ ई.मा गुलामकन्याको स्वत्वाधिकार बिषयको मुद्दाको निर्णय संस्कृत भाषामा गरिएको प्रमाण भेटिएको छ ।

(“मधेशवाणी” साप्ताहिकमा प्रकाशित)

Leave a Comment

error: Content is protected !!