विविधताबीचको सहिष्णुताको अवसान

नेपाली समाज बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभाषिक तथा बहुभेष भएको विविधतायुक्त समाज भएर पनि पारस्परिक शान्तिपूर्ण रुपले जीवनयापन गर्ने हाम्रो समाज उदाहरणको रुपमा गनिन्थ्यो । मानवाधिकारलाई सर्वोपरि राखि विविध संस्कृतिको हाम्रो समाजमा अन्तरघुलन तथा एकले अर्काको सम्मान गर्ने परम्परागत व्यवहार हाम्रो समाजको ठूलो विशेषता थियो । एक अर्काको अनुष्ठानमा बिना भेदभाव सामेल हुने तथा उत्सवको व्यापकता बढाउने सामाजिक सहिष्णुता व्यापक मात्रामा प्रदर्शन हुन्थ्यो । आर्थिक रुपबाट समाज कमजोर देखिएपनि सामाजिक मर्यादा कायम राख्नमा बलियो थियो । नेपाली समाजको यही विशेषताले छिमेकी देश भारत पनि नेपालको प्रशंसा गर्दथ्यो ।

संयुक्त परिवार मिलेर बस्ने हाम्रो समाजको अर्को ठूलो विशेषता थियो । परिवारका ज्येष्ठ सदस्य परिवारको मुखिया हुन्थ्यो जसको अनुशासनमा परिवारका हरेक सदस्य बस्नु पर्दथ्यो । व्यक्तिहरु समाजप्रति उत्तरदायि हुन्थे । सबै एक अर्काको काममा सहयोग गर्थे । त्यहाँ जाति, धर्म, उँच, नीचको अवस्था थिएन । मानवता सर्वोपरि थियो । मानिसको समस्या समाजको समस्या हुन्थ्यो ।

छिमेकी देश चीन र भारतमा परिवर्तनको हावा चल्यो । भारतमा ब्रिटीश शासनको विरुद्ध ठूलो क्रान्ति भएर प्रजातन्त्रको स्थापना भयो भने चीनमा कम्युनिष्ट सरकार बहाल भयो । यो परिवर्तनबाट नेपालमा पनि परिवर्तनको ठूलो आँधी आयो । यो आँधीले नेपाली समाजको मौलिक संरचनालाई तहस नहस बनायो । समाजप्रति उत्तरदायी रहने मानिस व्यक्तिवादी भए । समाजको अनुशासन, मर्यादाको बन्धन सबै चुँडिएर व्यक्ति स्वतन्त्र भए । स्वतन्त्रतापूर्वक मानिसको बाँच्न पाउने अधिकारको उपयोग गर्न ललायित नेपाली जनता परिवर्तनको तेज बहावमा बग्दै गए ।

लोकतान्त्रिक सरकारको स्थापना भयो । शासन प्रणालीबाट राजतन्त्रको अन्त भयो । नेपालमा आमूल परिवर्तनको लक्ष्य लिएर प्रजातन्त्रको अति परिमार्जित रुप “संघीय लोकतान्त्रिक गणतन्त्र” स्थापना गरि थालिएको अभियान जनताका लागि प्रत्युत्पादक बन्यो । संघीय लोकतान्त्रिक गणतन्त्र उल्टो दिशामा चल्न थाल्दा यसले देशको अर्थ व्यवस्थालाई बर्बाद मात्र गरेन, समाजको मौलिक संस्कृतिमाथि हमला गरेर तहस नहस बनायो । तर विकल्पमा जनताको भलो हुने अग्रगामी कुनै संस्कृति दिन सकेन । उल्टै संविधानमा मधेशी, जनजाती, दलित, महिला, मुस्लिम, थारु, खस आर्य आदिलाई वर्गीकरण गरि पारस्परिक लडाउने र अस्तित्वमान बन्ने बडो घृणित राजनीतिको सूत्रपात भयो ।

धेरै पहिलादेखि नेपालमा ईसाईहरु आफ्नो बलियो उपस्थिति देखाउन सक्रिय रुपमा लागेको कुरा सर्वविदित छ । वैदेशिक सहयोग लिएर बाँच्ने यहाँका सरकार आफ्नो मौलिक संस्कृतिको क्षयीकरण हुने भन्ने कुनै चिन्ता लिएन । उनैको रणनीति अनुसार प्रलोभनमा परेर यहाँका हिन्दु सरकारले हिन्दु राष्ट्र नेपाललाई धर्म निरपेक्षतामा रुपान्तरण ग¥यो । पश्चात् सत्तामा भएका तथा प्रतिपक्षमा रहेका हिन्दुहरुले एकै स्वरमा कराए– धर्मनिरपेक्षता कसरी आयो, हामीलाई थाहै भएन । नैतिकहीनताको यस्तो उदाहरण कहीं पाइँदैन ।

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गराउने वीर क्रान्तिकारी नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीहरु राज्यसत्तामा व्याप्त नैतिकहीनता र भ्रष्टाचारको दीक्षा लिएर सोही बमोजिमको आचरण गरेर पथभ्रष्ट भए । देश र जनताप्रतिको दायित्वबाट बञ्चित भए । माँगी खाने संस्कारले यिनलाई अनेक खाले स्वार्थ पूरा गर्न देशमा विराजमान शक्तिकेन्द्रको विभिन्न खाले निर्देशन मान्न बाध्य भएको कारणले प्रणाली निस्तेज भयो । राज्यसत्ता चलाउने तीनबटै पार्टीलाई राज्यसत्ता तथा शक्तिकेन्द्रले धन कमाउने सीप सिकाएर पारंगत बनाए । देश र जनतामा आमूल परिवर्तन गराउने क्रान्तिकारी विचार ईतिहासको पानामा सिमित रह्यो र यी प्यादाहरु शक्तिकेन्द्रको इशारामा चल्न थाल्यो ।

सामन्ती अधिनायकवादी राजतन्त्र देशको उन्नती, प्रगतिको बाधक हो भनेर संसारमा लोकप्रिय हुँदै गएको लोकतन्त्रमा मात्र देशको उन्नती सम्भव छ, यसलाई अंगाल्दा सबैको भलो हुने नेपाली जनतालाई दीक्षित पारेर देशमा लोकतन्त्र ल्याई छाडे । तर यसलाई देश र जनताको कल्याण गर्नमा प्रयोग नगरि व्यक्तिगत स्वार्थमा लोकतन्त्रको उपयोग गर्न सिमित ग¥यो । फलतः लोकतन्त्रले जनतालाई कुनै डेलिभरी दिन सकेन ।

शक्तिकेन्द्रको फरक फरक विचार अनुसार दिशाविहीन हिंडेका पार्टीहरुको मौलिक विचार खोसिएको अवस्थामा के गर्ने, कसरी गर्ने भन्ने अन्योलमा बाँची रहेका पार्टीहरुका शीर्षस्थ नेताहरु भ्रष्टाचारमा समातिदै गएपछि कार्यकर्तामा असन्तोष व्याप्त रहेकोले लोकप्रियता घट्दै गएको कारणले राजनीतिक अवस्था दिशाहीन बन्न पुगेको छ ।

समाजमा एक अर्कालाई सम्मान गर्ने सद्भाव, एक अर्काप्रतिको धार्मिक सहिष्णुता आदि पुराना रीतिथितीलाई लोकतन्त्रको नाममा उन्मूलन गरि नयाँ केही कुरा दिन नसकी समाजलाई द्वन्द्वमा धकेली दिएको छ । स्वतन्त्र अधिकारको नाममा सबै स्वतन्त्र भए । कसैलाईै कसैसंग सम्बन्ध नरहेको अहिलेको समाज पूर्ण अराजक बनेको छ ।

समाजमा दीर्घकालीन असर पर्ने गरि कुनै पनि कुरालाई वेवास्ता गरि तत्काल राजनीतिक लाभ लिने उद्देश्यले समुदायहरुलाई पारस्परिक लडाउने कुकृत्य गर्न पनि पछाडि पर्दैन । अहिले सर्लाहीमा हिन्दु मुस्लिमबीच तनाव भडकिएको छ । केही समय पहिला धरानमा गोरु काटेर खाएको घटनालाई क्रिश्चियनहरुले भाइरल बनाएर हिन्दु र क्रिश्चियनबीच द्वन्द्व भडकाउने प्रयास गरिएको विरुद्ध धेरै सुझबुझका साथ प्रशासनले शान्त गर्न सफल भयो । तर सर्लाहीमा भने प्रशासन तनाव कम गर्न असफल देखिएको छ ।

व्यक्ति व्यक्ति अलग पारिएको समाजमा घटि रहेका आपराधिक घटनाहरु यसैको प्रतिफल हो । निरुद्देश्य राजनीतिक गन्तव्य लिएर हिंडेका दलहरुको समस्यासंग जुध्ने कुनै रणनीति नरहेको, अराजकताले दिनानुदिन घटाई रहेको घटनाले देशको हरेक कुनालाई प्रभावित पारेको छ । यी समस्याहरुबाट पार पाउन र यस व्यवस्थालाई सुरक्षित राख्न पनि यिनमा कुनै कौशल देखिएको छैन । मौलिक विचारको अभावमा परिणाम पनि प्रतिकूल हुने स्पष्ट छ ।

२०८० असोज १२ गते मधेशवाणीमा प्रकाशित

 

Leave a Comment

error: Content is protected !!