सामाजिक सम्बन्ध विखण्डनका आयामहरु

आाखेट युग जहाँ मानिस कबिलाको रुपमा थिए, एक अर्काको सहयोग चाहिन्छ भनेर झुण्ड बनाएका थिए । यही झुण्ड पछि समाजमा रुपान्तरण भएका थिए । आमाको कोखबाट धेरै बलशाली पुरुषहरुको जन्म भएकोले सबैले आमालाई दैवीशक्तिको रुपमा मान्न थाल्यो । आमाकै नामबाट कबिलाको झुण्ड निर्माण भयो । आमा कै निर्देशनमा चल्ता फिर्ता अस्थाई समाज आखेट गर्न एक अर्काको सहयोगमा संचालन हुन थाल्यो । सहयोगको यही अपेक्षाले समाज निर्माण गर्न पृष्ठभूमि तयार ग¥यो ।

पशुपालन युगमा आई पुग्दा मानिस स्थायी रुपमा बसोवास गर्न घरहरु बनाउन थाल्यो र मानिस सामाजिक प्राणी हो भन्ने कुरा सिके । भ्रमण जीवनलाई समाज बनाएर स्थिर बनाए । आखेटलाई पशुपालन गरेर समस्याको समाधान खोजे । एउटा कबिलाले समाज निर्माण गर्दा अरु कबिलाले पनि सोही अनुसार त्यो ‘समाजमा आएर बसे अथवा अलग समाज बनाए । यसरी समाजको निर्माण भयो । युग परिवर्तनसँगै मानिसको बौद्धिक क्षमता अनुसार समाजको स्वरुप पनि बदलिंदै आयो । अहिले हामी आधुनिक समाजमा छौं ।

मानिसको जीवनमा समाजको महत्व के हो भन्ने कुरा बुझाई रह्नु पर्ने होइन । यसको महत्व सबैलाई थाहा छ । यसलाई बौद्धिक बनाउनु, सभ्य र अनुशासित बनाउनु, सबैलाई सम्मानजनक बाँच्न पाउने अधिकारको सुनिश्चित गर्नु सिकाउने कुरा बिल्कुलै होईन । किनभने आधुनिक मानवले आपूm बस्ने समाज कस्तो हुनु पर्ने हो राम्ररी बुझ्दछ र सोही क्षमताको समाज निर्माण गरेको पनि छ । एउटा आधुनिक, बौद्धिक सभ्य समाज हामीसंग छ ।

अहिले आधुनिक युगको बौद्धिक समाजमा हिन्दु, मुस्लिमको अन्तर्कलह, उँचनीचको अन्तर्विरोध, धार्मिक मतभिन्नता, छुवाछुतको भेदभाव, जातीय भेदभाव, पारस्परिक तनावको वातावरण समाजमा देखा परेको छ । समाजमा यस्ता प्रवृतिले ठाउँ पाएपछि मानिस सामाजिक प्राणी नभई नितान्त व्यक्तिगत जीवन जीउन बाध्य भएको छ । सामाजिक जीवनमा यस्ता दुष्प्रवृतिले ठाउँ पाएपछि समाजमा श्रृँखलाबद्ध आपराधिक घटनाहरु पनि देखा पर्न थालेको छ । एक अर्काप्रति बैरभाव राखेर बौद्धिक र सभ्य समाजको कल्पना गर्न सकिन्न । यस्ता घटनाहरु समाजको महत्वलाई घटाउँछ ।

समाजमा प्रवेश गरेका यस्ता असामाजिक तत्वहरुले के समाजलाई पूर्वावस्थामा ल्याई पु¥याउला ? अथवा आधुनिक, बौद्धिक, सभ्य समाजलाई विघटनको बाटोमा लैजाला ? यो चिन्तनीय प्रश्न हो । कठीन कालखण्डबाट परिष्कृत हुँदै अनेकतामा एकता लिएको सहिष्णु नेपाली समाज आज एक अर्काको रक्त पिपासु बनेको छ । राष्ट्रिय राजनीतिमा आफ्नो वर्चस्व कायम गर्न माओवादी भनाउँदा राजनीतिक पार्टीले देशमा आमूल परिवर्तन गर्ने भनेर झुक्याएर मानिसलाई यसरी एक अर्कासंग लडाए कि सबै एक अर्काको बेरी नै बने । जनतालाई डेलीभरि दिने माओवादी पार्टीको उपलब्धि शुन्य त रह्यो नै, सहिष्णु नेपाली समाजको संरचना तहस नहस भयो । पारस्परिक सम्बन्ध चुँडिएर सामाजिक मर्यादाको अन्त भयो ।

दुरगामी परिणामको पर्वाह नगरि नैतिक अनैतिक तवरले तत्काल राजनीतिक फायदा लिने नेताहरुको कुत्सित विचारले सामाजिक मर्यादा भङ्ग भई समाजमा राजनीति अराजकता फैलिएको हो । अहिले योजनाबद्ध तरिकाले आफ्नो अभीष्ट पूरा गर्ने असामाजिक तत्वहरुले पहिले धरानमा, सर्लाहीमा तथा अहिले नेपालगञ्जमा हिन्दु मुस्लिमको साम्प्रदायिक दङ्गा उठाउने प्रयासमा लागेका छन् । साम्प्रदायिक दङ्गा उठाएर गृहयुद्धसम्म लैजाने योजना अब सबैले थाहा पाएका छन् ।

देश आर्थिक रुपले जर्जर रहेको, बेथितीले हरेक क्षेत्रलाई अराजक बनाएको, जनतामा राजनीतिक दलहरुको आकर्षण घटेको, तीनवटै शासक दलमा बैमनष्यता रहेको मौका छोपी साम्प्रदायिक दङ्गा गराएर व्यवस्थाको खारेजीसम्म लैजाने उद्देश्यमा जसको लाभ भएपनि आम जनताको रगतमा राजनीतिक लाभ लिनेहरु पनि समाजमा उदाङ्गिने छन् ।

जातीय, धार्मिक, साँस्कृतिक, भूगोलको नारा दिएर समाजलाई विखण्डनमा लैजाने नेताहरु नै अहिले साम्प्रदायिक विद्वेषबाट डराएका छन् । समाजलाई स्थिर बनाउने सहिष्णुता मुख्य मापदण्ड हो । समाजमा पारस्परिक सहयोग, सम्मानजनक आदरभाव, मानवाधिकारको उच्च सम्मान, सामाजिक अनुशासन, बौद्धिक कल्याणकारी विचार आदिको समष्टिगत सामाजिक धरातल नै नेपाली समाजको उदाहरणीय विशेषता थियो । त्यसलाई राजनीतिकबाजहरुले प्याजको जस्तै परत दर परत खोल्दै केही पाउन नगरि खोखला छोडि दिएको छ । जात–जात, धर्म–धर्म, उँच–नीच आदिबीच रहेको भावनात्मक सम्बन्ध समाप्त भएको छ । एक अर्कासंग कुनै कारणवश कुरा गर्नु परेपनि मनमा बैरभाव रहि रहन्छ । कम्युनिष्टहरुले उनलाई न समान हक दिलायो, न समाजमा मिलेर बस्ने पूर्वावस्थामा रह्न दियो ।

पहिलाको सामाजिक संरचना भत्काएर नयाँ केही दिन नसकेर समाज अराजक अवस्थामा रहेको कुरासंग राजनीतिकर्मीहरुलाई कुनै चिन्ता छैन । भ्रष्टाचार, बेथितीबाट देश जर्जर भई रहेको प्रति पनि कुनै चिन्ता नराख्ने तीनवटै राजनीतिक दलहरुसंग सुशासनको के आश गर्ने ? देशलाई उभो लगाउने, देशलाई उत्पादनशील बनाउने, उद्योगधन्धाहरु खोल्न लगाउने, आर्थिक सुधारका विचार गोष्ठी आयोजना गरि परिणाममुखी योजना बनाउने तथा त्यसलाई सक्रिय कार्यान्वयन गराउने आदि विषयको कुनै एजेण्डा नै छैन । सबै मिलेर भ्रष्टाचार गर्ने एकमात्र एजेण्डा लिएर जतिसुकै बदनामी भएपनि नछोड्ने अठोट लिएका नेताहरु निर्लज्जताको हदै पार गरेका छन् ।

समाजमा व्याप्त रहेको असन्तुष्टताले जातीय सम्प्रदाय, धार्मिक सम्प्रदायमा जोडिएर समाजलाई हिंसात्मक बाटोमा लैजाने सम्भावना आज स्पष्ट रुपमा देखा परेको छ । नेपालगञ्जको हिन्दु मुस्लिमबीचको झडप यही असन्तुष्टताको परिणती हो । अहिले झडपको अवस्था मात्र देखिएको छ । यसको विकृत रुप विकसित भयो भने सरकारलाई रोक्ने क्षमता कम पर्ने पनि स्पष्ट छ ।

२०८० असोज १९ गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!