भर्खरै संसदको चुनाव सकिएर सरकार पनि बनि सकेको छ । बेथिती बढाउने तथा बेथिती हटाउने दुवै शक्ति देशको लागि काम गर्ने वाचा गरेर चुनाव लडे । सामान्य क्षति वेहोरेर यथास्थितिवादी शक्तिका साथ युवाशक्ति पनि जीत हासिल गरेर संसद छिरेका छन् । छद्मवेशमा तस्कर, माफिया, व्यापारी, अपराधी पनि देशमा बढ्दै गई रहेको बेथिती हटाएर नयाँ नेपाल निर्माण गर्ने वाचाका साथ संसदमा छिरेर सरकारमा समेत सामेल भएको छ । बेथिती कायम राखेर स्वार्थ पूरा गर्ने व्यक्तिको उल्लेख्य उपस्थितिले युवाशक्तिलाई कसरी काम गर्न देला शंकाको विषय उब्जेको छ ।
राजनीतिमा आफ्नो व्यापार चलाउन राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा नेटवर्क बनाई सकेका व्यक्तिहरु पैसाको बलमा जहिले पनि चुनाव जितेर आउने परम्परा अनुसार अहिले पनि आएका छन् । नीति निर्माणको तहमा बडो इज्जतका साथ पदासीन भएका छन् । तस्कर र माफियाहरु राजनेताहरु जस्तो चर्चामा रहँदैन । उनी पार्टी अध्यक्षका भक्त हुन्छन् । पार्टीलाई वित्तीय सहयोग गर्ने उनका काम रहेकोले पर्दा पछाडि उनको ठूलो महत्व छ । चुनाव लडेर आउने र आपूmले रोजेको पद जसरी पनि पाउने उनको ठूलो भाग्य हुन्छ । अहिले सरकार बन्दा चुनिंदा माफियाहरुले ठाउँ लिई सकेका छन् ।
नयाँ युवाहरु जनतालाई वाचा गरे जस्तै सरकारमा आएपछि सो बमोजिमको कामको थालनी पनि गरि सकेका छन् । राज्यसत्ताको पराक्रम अधिकार आन्दोलन चलाउनेहरुले देखि सकेका छन् । परिवर्तनकारी शक्तिको राज्यसत्ताले कसरी तेजोबध गर्छ विगतको समयले सबैलाई देखाई सकेको छ । आन्दोलन उठाउने दलहरुले संघीय लोकतान्त्रिक पद्धति हाम्रो उपलब्धि हो भनेर आत्मरति त गर्छन् तर मूल रुपमा अधिकार लिने जनताको होइन, राजनीतिक दलहरुको व्यवस्थापन गरेर चुप बस्न भनेको हो । तात्विक परिवर्तनका आधारहरु केही पनि छैन ।
देश समृद्ध भयो भने जनताको जीवनशैली बदलिन्छ । उसले एउटा बेहतर जीवनको सुख भोग्छन् । त्यस्ता के कामहरु भएका छन् । उल्लेख्य योग्य केही पनि छैन । बजेट बराबरको व्यापार घाटा छ । कृषिक्षेत्र ध्वस्त बनाईएको छ । खाद्यान्न, दलहन, तेलहन, तरकारी सबै आयातमा निर्भर छ । उद्योग धन्दाको हालत कि त बन्द छ कि परिस्थितिको प्रतिकूलताले बन्द हुने अवस्थामा छन् । चारैतिर बेथिती र भ्रष्टाचारको साम्राज्य छ । सुधारका कुरा जनतालाई झुक्याउनका लागि मात्र प्रयोग गरिने कुरा बनेको छ । यथास्थितिलाई हटाएर बदलावको नयाँ बिहानी ल्याउने धेरै सुधारकहरु राज्यसत्ताको चलनमा विलीन भए । बदलाव ल्याउने आफै बदलेर राज्यसत्ताका दलालीमा व्यस्त छन् । सुधारका कुरा गर्नु राम्रो कुरा हो तर यसलाई लागु गर्नु ठूलो अपराध हो । राज्यसत्ताका स्पष्ट निर्देशन यही हो ।
०४६ सालदेखि अहिले ३३ वर्ष भयो प्रजातन्त्रले राज्यसत्ता सम्हालेको । देश उन्नती, प्रगतिको बाटोमा अग्रसर हुन नसक्नुको कारण के हो, पत्ता लगाएर यसको समाधान खोजेर देश र जनतालाई विकासको बाटोमा लानु पर्ने चिन्ता न नेपाली काँग्रेसलाई भयो न एमाले र माओवादीलाई । राज्यमा रहेका त्रुटिहरु तीन दशकमा परिलक्षित नहुनु यो राजनीतिक दलहरुको असक्षमताको प्रतीक नभई अरु के हो त ? त्यसकारण यी सम्पूर्ण बेथिती स्वार्थ पूरा गर्ने दलहरुको मिलोमतोमा प्रणालीको हिस्सा बनाईएको हो । राज्य संयन्त्रमा सुधार चाहने युवाशक्तिहरुले यी सूक्ष्म षडयन्त्रलाई कत्तिको बुझेका छन् । देश भास्सिदै जानु र सबै राजनीतिक दलहरु हेरेर बस्नुको पछाडि के कारण होला ? यसमा धेरै ठूलो रहस्य लुकेको छ । जसरी पनि सत्ताको केन्द्रमा बसेर शक्तिकेन्द्रसंग विकासको नाममा रकम लिई मनोबाँछित उपयोग गर्ने चलन अनुसार तैं चुप मै चुपको अवस्था सिर्जना गरि राजनीतिक दलहरु भागबण्डा खाई रहेका छन् ।
सुधारका कुरा कहाँबाट थाल्ने भन्ने युवाहरुको कार्यसूचीभित्र पर्दछ । अरु शीर्ष दलहरु जब जैसा तब तैसाको आधारमा चल्छन् । रवि लामिछाने गृहमन्त्रालयमा रहेका बेथितीका सञ्जाललाई हटाउने प्रयासमा लागेका छन् । काठमाण्डौंका मेयर बालेन शाहलाई जसरी बेथितीले थकित गरि लगेको छ र उनले गृहमन्त्रालयसंग सहयोग माँगेका छन्, त्यसरी नै रवि लामिछानेको अवस्था न आउला भन्न सकिन्न । बेथिती कायम राख्ने राजनीति दलको असहयोग र बेथितीको बोझले किचेर कतिपयले प्रयास नै छाडि सकेका छन् । राज्यसत्ता अगाडि आत्मसमर्पण गर्ने माओवादीभन्दा अर्को प्रमाण के होला ?
बहुमत वा दुईतिहाईको सरकार भएको बेला जति राजनीतिक अनुकूलता थियो, अहिले छैन । त्यो बेला केही गर्न नसकेको सरकार अहिले के गर्ला ? असलमा केही गर्ने मनसाय नै छैन । आएको परिस्थितिमा कसरी फायदा लिनेभन्दा अन्य सोच छैन । निर्वाध स्वार्थ पूर्ति गर्ने अवस्था पनि छैन । सरकार बनाउने सारा वातावरण आफ्नो अनुकूल छँदा पनि नेपाली काँग्रेस सरकार बनाउन नसकेर क्रुद्ध शेर जस्तै दहाड मारि रहेको छ । भागबण्डा खोज्न प्रतिपक्षमा नबसी विरोधीलाई सरकार बनाउन विश्वासको मत दिएर पनि सत्तापक्ष आफ्नो महत्व स्वीकार गरि रहेको छैन । अर्थात् यो सरकारलाई गिराउने चलखेल शुरु हुने संकेत देखा पर्न लागेको छ । अनि युवाहरुले लिएको सपनाको अवस्था के होला ?
पहिलो पार्टी भएर पनि राज्यसुखबाट बञ्चित हुनु परेको पीडा नेपाली काँग्रेसलाई असह्य भएको छ । लोकतन्त्र सिद्धान्तमा नाम चलाएका नेपाली काँग्रेस आपूmबाट त हुन सकेन, शत्तिकेन्द्रलाई गुहारेर भएपनि सत्ता हत्याउने खेल भने शुरु गर्छ । पहिलाको गठबन्धनलाई निरन्तरता दिन लागि परेका नेपाली काँग्रेस छिट्टै यो सरकारलाई गिराउन छिद्रान्वेषण गर्न लागेको छ । जनमत पार्टी र जसपा सरकारमा नजाने संकेत दिएपछि असन्तुष्टता बढ्दै जानु स्वाभाविक हो । तरल राजनीतिलाई स्थिर गर्न सकिंदैन । भएको पनि छैन ।
जब जैसा तब तैसाको सिद्धान्तमा चल्ने राजनीतिको लागि सुधार बकम्फुसे कुरा हो । ओलीले भने जस्तै सबै खान खाएका हौ, खाऊ यही मन्त्रको आधारमा नेपाली काँग्रेसको सरकार बन्यो भने साना दलहरु सबै उतै लहसिने छन् । पुनश्च सरकार गिराउने खेल पुनश्च शुरु हुन्छ । यसरी नै राजनीति चलि रहन्छ । तर परिवर्तन गर्न आएका युवाशक्तिहरुले सुधारका कुरा गर्न नसकिने कारणहरु के के छन् सिकेर जानेछन् ।
२०७९ माघ ६ गते मधेशवाणीमा प्रकाशित
