बेथितीका आत्मघाती परिणामहरु

राजतन्त्रको शिकंजाबाट देशलाई आजाद गरि समृद्धशाली बनाउने चाहना बोकेका लोकतन्त्रवादी शक्तिहरुले शासन कार्यभार पाएपछि सिद्धान्तबाट स्खलित हुँदै निजी स्वार्थको वशीभूत बेथितीको मजबूत साम्राज्य खडा भएको थाहा भएन अथवा नियतवश गरिएको हो । देशको शासन सत्ताबाहेक आम नागरिकको जीवन अति कष्टकर रहेको जनस्तरमा अनुभूत भई रहेको छ । असफल राष्ट्रका सफल शासकहरु धन कुबेरको रुपमा जीवन यापन गर्दा देशको अर्थतन्त्र जर्जर भई रहेकोसंग कुनै वास्ता देखिदैन ।

देशलाई यथास्थितिको पिंजरामा कैद गरि शासन गर्ने शासकहरुसंगै यसपाली चुनावमा जनताले केही फरक कार्य गर्ने युवाहरुलाई जनादेश दिएर पठाउँदा अब उनी काम गर्ने ठाउँ त पाए तर काम गर्ने अनुकूल वातावरण पुराना शासकहरुले दिन चाहेन । जुवा स्थल नै भत्काएर खेलको पटाक्षेप गरि दिने कार्यको विरुद्ध सबै पुराना शासकहरु एकमत भएर लागेका छन् । नवागन्तुक युवा मन्त्रीहरुमा जोश, जाँगर, विकास योजना भएपनि अवरोधको माध्यमबाट युवाशक्तिलाई ठाउँको ठाउँ निस्तेज पारि यथास्थितिको मतियार बनाएर राख्ने शासकहरुको धारणा आम भएको छ ।

शासकहरुको भ्रष्ट आचरणका शिकार ठुल्ठुला उद्योगपति, व्यापारी, लघु उद्यमी, पसलेहरु तथा आय सिर्जना गर्ने सबै स्रोत बनेका छन् । आर्थिक लूटका कारण व्यापारीहरु फायदामा नहुँदा काम चलाउन एक अर्कालाई लुट्ने प्रथाको शुरुवात भयो । आर्थिक बेथितीको यहींबाट शुरुवात भएको हो । चन्दा न दिंदा व्यापारमा अनेक अवरोध पैदा गरि दुःख दिने शासकहरुको दिनचर्यामा कुनै परिवर्तन नहुँदा सबैले एक अर्कालाई ठग्ने प्रथा स्वतः स्थापित भयो । चुनाव जितेर शासनमा आउँदा सरल तरिकाले आय आर्जन गर्न सक्ने शुभ अवसर प्राप्त गर्ने ठूलो आकर्षण रहेकोले यतातिर लोभिनेको संख्या उल्लेख्य छ । लुट्ने प्रथा कायम राख्न शक्तिको संरक्षण अनिवार्य रहेकोले मानिसहरु गुण्डागर्दीको शैलीमा ठाउँ ठाउँ समूह बनाएर आवश्यक परेको बेला नेताहरुलाई सहयोग गर्ने गर्दछन् ।
सहज ढंगले उद्योग, व्यापार चल्न न सक्ने अवस्थामा व्यापारीहरु पनि गलत बाटोबाट व्यापार गर्ने गरेकोले पनि देशमा कुनै कुरा नियमबद्ध छैन । न्याय सम्पादन गर्ने न्यायपालिका न्याय मर्यादा सीमा भंग गरि जन विश्वास गुमाई सकेको छ । पुराना नेताहरुको शासन शैलीबाट दिक्क मानेर आम नागरिकले चुनावमा विकल्प दिन खोज्दा शासकहरुको पुराना चक्रव्यूह तोड्न सकेन । तैपनि धेरैलाई धाराशायी बनाएर केही युवाहरुलाई पठाएका छन् । केही गर्ने आँट लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने गृहमन्त्री बन्न सफल भएका छन् । ठाउँका ठाउँ अवरोधका किल्ला बनाईएको अवस्थामा उनको सुधारका कार्यक्रम कस्तो गति लेला सर्वोच्चमा रहेको रवि लामिछाने विरुद्ध नागरिकता प्रकरणको भारी अवरोधबाट थाहा हुन्छ । हुनत बार एशोसिएशन, वकीलहरु, प्रधानमन्त्रीको कार्यालय, निर्वाचन आयोग सबै रवि लामिछानेको पक्षमा रहेकोले फैसला आशाप्रद रहनेमा शंका छैन । तर यसरी सुधारको दिशामा बढ्नेहरुको खुट्टा तान्ने प्रवृतिले त देशलाई अगाडि बढ्न दिंदैन भन्ने कुरा सबैले बुझ्नु पर्दछ ।

कुनै बेला (९०को दशकमा) पूर्वी जर्मनीको कम्युनिष्ट शासकहरुबाट असन्तुष्ट भएका आम नागरिक मुक्त हुनका लागि लाखौंको संख्यामा पलायन भएका कारण त्यहाँको सरकार ढल्यो र पछि पूर्वी र पश्चिमी जर्मनी पर्खाल भत्काएर एक भयो । हालै श्रीलंकामा जहानिया शासनका विरुद्ध जनता विद्रोह गरि राष्ट्रपतिलाई लखेटेर देशबाट बाहिर पठायो । अरु मन्त्रीहरुको घरमा आगो लगायो । मन्त्रीहरुलाई लाँगो पारेर बजार परिक्रमा गरायो । जनस्तरबाट विद्रोह भएर शासकहरुलाई अपदस्थ गर्ने अनेक उदारहण छन् ।

यहाँ पनि श्रीलंकाको सरकार परिवर्तनको प्रभाव किञ्चित मात्रामा परेकोले जनताले केही मात्रामा मात्र परिवर्तन गर्न सकेको हो । तर अल्प संख्यकको रुपमा आएर पुराना शासकको घेरामा काम गर्न सरल छैन । बेथितीको साम्राज्य खडा गरिएको अवस्थामा शासनतन्त्र नै असफल भई सकेको अवस्थामा किञ्चित सुधारको प्रयास सूर्यलाई दियो देखाउने सरह नै हो । तर पनि जनस्तरमा यो शासकको विरुद्ध रहेको तीब्र वितृष्णा परिलक्षित भएको छ ।

असफल अर्थतन्त्रबाट पीडित प्रतीक उदाहरणको रुपमा ईलामका लघु उद्यमी प्रेम प्रसाद आचार्यले माघ १० गते दिउँसै संसद भवन अगाडि फेसबुकमा २५ बून्दे आर्थिक सुधारका सरकारलाई सुझाव दिंदै आत्मदाह गरि मृत्यु वरण गरेका छन् । प्रेम प्रसाद आचार्यको पीडा जस्तै लाखौंको संख्यामा मानिस पीडा भोगि रहेका छन् । प्रेम प्रसादको आत्मदाहले पीडित सबैलाई भावनात्मक रुपले हल्लाई दिएको छ । परिवर्तन चाहने युवाशक्तिलाई घचघचाउने गरि उनले आत्मदाह गरेको छ । यो बेथिती कायम राखेर रमाउने सरकारलाई यो आत्मदाहले चुनौती पनि दिएको छ । अब यथास्थितिमा रमाउने काम बन्द गरि अविलम्ब सुधारको प्रक्रियामा जाउ । निर्मम निर्णय गरेर विकासको मूलमा रहेको फोहोरलाई सफा गर, होइन भने अनिष्टको आँधी बेहरी आउँदा टिक्न गाह्रो हुनेछ भन्ने आत्मदाहको चुनौती देखिन्छ ।

असन्तुलित परराष्ट्र सम्बन्ध, देशको मौलिक सोच र सिद्धान्तको अभाव, जर्जर अर्थतन्त्र, ध्वस्त उद्योग व्यवसाय, चरम व्यापारघाटा, आयातको भरमा रहेको जनताको जीवनशैली, आयस्रोतको अभाव र खर्चको वेहिसाब गति, यो बेथितीले बिगारेको मानव सोचको अवस्था आदिले यो शासकले पनि निर्वाध रमाई रह्ने अवस्था देखिई रहेको छैन । सामन्य अवस्थामा पनि विद्रोह भएको कतिपय उदाहरण छन् । उपरोक्त प्रतिकूलताले त प्रलय नै ल्याउने कुनै शंका छैन ।

२०७९ माघ १३ गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!