विद्यमान बेथिती र नयाँ सरकारको कार्ययोजना

यहाँ त जे गर्दा पनि हुँदैन भन्ने बाक्य शाश्वत रुपमा राजनीतिको केन्द्रमा स्थापित भएको छ । ३ दशकको अभ्यासले यही देखाई रहेको छ । त्यसैले चर्चित राजनेताहरु देशको उन्नती, प्रगतिभन्दा यथास्थितिमा बस्न रुचाए । लोकप्रियता कमाउन नसक्ने राजनेताले सधैं जित्दा आफै लोकप्रिय भईन्छ भन्ने मान्यता लिएका नेताहरुले स्वार्थसिद्धिको प्रयासमा देशमा कतिको बेथिति थपे त्यसको कुनै लेखाजोखा छैन । देश बिगार्न यिनको कति हिस्सा छ भन्ने कुरामा अरुमाथि दोषारोपण गर्नुबाहेक आत्मालोचना गर्ने पाश्चाताप छैन ।

शासकको रुपमा त्रिदेव आए नै, सरसफाईका लागि केही नयाँ अनुहार आएका छन् । जोश, जाँगर भएका केही युवाहरु आउँदै उपप्रधानमन्त्री तथा गृहमन्त्रीको रुपमा शपथ लिएका रवि लामिछानेले ०४६ सालपछि मन्त्री तथा सचिवहरुको सम्पत्ति छानबीन गर्ने घोषणा गरेका छन् । सार्वजनिक भएका भ्रष्टाचारका ठूला काण्डहरु जो सेलाएर बसेको छ, त्यसलाई फैसलासम्म पु¥याउने आँट लिएका छन् । न्यायको पर्खाईमा रहेको अति चर्चित निर्मला पन्तको बलात्कार तथा हत्याकाण्डको छानवीन गरि न्याय दिलाउने उद्घोषले जनता धेरै आशावादी बनेका छन् । अरुहरुले डींग हाँके जस्तो यो उपहासको विषय न बनोस् ।

सरकारले यही २६ गते विश्वासको मत लिएको छ । अविश्वासका कारण एक अर्काप्रति रहेको राग, द्वेष एकपलमा मेटिएर २ जना साँसदबाहेक प्रतिपक्षमा बस्न कोही मानेन । धोखा खाएका काँग्रेस पनि विरोधी गठबन्धनको सरकारलाई विश्वासको मत दिनु र प्रतिपक्षविहीन सरकार बनेको अवस्थाले बुद्धिजीवि वृतमा अनेक शंका उपशंका जन्माएको छ । यो त्रिदेवको शासकीय मनोवृति त्रिदेवबाहेक कसैले बुझ्न सक्दैन । सकारात्मक रुपले सोच्दा प्रतिपक्ष बिनाको एकमना सरकारले बेथिति हटाएर देशलाई गतिशील बनाउन राम्रो अवसर पाएको छ । विगतको जस्तो समय खेर नफालेर देश निर्माणमा यस्तो सुखद अवसरको भरपूर उपयोग गर्नु पर्दछ । राजनीति सकारात्मक दिशा लिएकोले युवाहरुले गर्न चाहेका कामहरुमा शासकहरुले पनि सहयोग गरि दिए देशको ठूलो कल्याण हुन्थ्यो ।

देशमा चीन समर्थक सरकार बनेकोबाट भारतीय मीडिया आक्रामक देखिएका छन् । हुनत कूटनीतिक तवरले भारतका केन्द्र सरकारले शुभकामना आदान प्रदान गर्दा प्रचण्डको सरकारलाई भरपूर मद्दत गर्ने विश्वास दिलाएको छ । नेपालमा आफ्नै सरकार बनेजस्तै चीनको आतुरता अलि बढि नै देखिएको छ । केरुङ काठमाण्डौ रेलमार्गको सर्वे गर्न प्राविधिक टोली खटाएर १० वर्षमा बन्ने रेलमार्ग १ वर्षमा नै सिध्याउने आतुरताले भारतलाई बढि आक्रामक बनाएको छ । चीन र भारतसंग कमोवेश होइन, समान रुपले मैत्री सम्बन्धको सन्तुलन नेपालको राजनीतिका लागि स्वस्थकर बातावरण निर्माण गर्दछ । असमान कूटनीतिक सम्बन्धले नेपालको राजनीतिलाई स्थिर रह्न दिंदैन । चीन एकपक्षीय ढंगले नेपाली राजनीतिमा बढाएको प्रभावबाट अमेरिका पनि चुप लागेर बस्ने अवस्था देखिंदैन । सबैलाई एक अर्काको कार्ड देखाएर गरिने राजनीतिलाई मौलिक राजनीति भनिदैन । पद पाउन शक्तिकेन्द्रलाई गुहार्ने नेपाली राजनीतिको प्राचीन रीति हो । यो अहिले आएर अझ विकसित भएर झाँगिएको छ । स्वार्थ पूरा नहुँदा गाली गर्ने चलन पनि पुरानै हो । अरुभन्दा भारतको विरोध गर्ने भावना यहाँ बढि विकसित भएको देखिन्छ । जति विरोध छ त्यती नै सम्बन्धको प्रगाढता पनि छ ।

नाकाबन्दीको बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चीनसंग वैकल्पिक मार्ग खोज्न घनिष्टता बढाएका थिए । यो घनिष्टता धेरै दिनसम्म रह्यो । यसै अवधीमा केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी सम्मिलित नयाँ नक्शा लिकालेर भारतलाई चुनौती पनि दियो । रामजन्मभूमि अयोध्यामा रामजानकीको मन्दिर बनाउन लाग्दा रामको जन्म अयोध्यामा नभई वीरगञ्जको ठोरी भन्ने ठाउँमा भएको भनेर भारतीय प्रधानमन्त्रीलाई गिज्याएको थियो । केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्दा भारत सत्यमेव जयते हो कि सिंहमेव जयते भनेर भारतको ठाढै विरोध गरेको थियो तर पछि भारतले के जडी सुँघायो, रअ चीफ भेट्न आउँदा ओली नक्शा सम्बन्धी कुनै कुरा सार्वजनिक गर्न रोक लगाएर आत्म समर्पण नै ग¥यो । यो ओलीको भारतसंगको प्रगाढ सम्बन्धको प्रतिफल नै थियो । चीनसंग विकसित भई रहेको घनिष्ट सम्बन्धलाई तोडेर ओली भारतको खेमामा आयो । यतिका विरोध उनको कुरा नसुन्ने भएको वार्गेनिङ थियो ।

बेथिति बढाएर स्वार्थ पूर्ति गर्ने ठूला तस्कर, माफिया, व्यापारी (अहिले उल्लेख्य मात्रामा व्यापारी चुनाव जितेर संसद छिरेका छन्) बैंकर्स, भ्रष्ट राजनेताहरु, भ्रष्ट उच्च ओहदाका अफिसरहरु, अपराधीहरु सबै संसदमा विद्यमान छन् । यहीं फोहोरी राजनीतिलाई सफा गरि देशलाई सकारात्मक दिशामा लैजान जाँगरिला, आँटिला युवाहरुको पनि संसदमा प्रवेश भएको छ । तस्कर, माफियाको कब्जा रहेको राजनेताहरु कसरी सफाई अभियानमा युवाहरुको साथ देला ? यो त अचम्मको विषय हो नै । दरवार हत्याकाण्ड, भ्रष्टाचारका ठूला ठूला काण्ड चर्चामा आएपनि निष्कर्षसम्म पुग्न सकेन । सत्ता कब्जा गरेर बसेका यी अवैध तत्वहरु वस्थापित नहुञ्जेल भ्रष्टाचार र अपराधका काण्डहरु निष्कर्षमा नपुग्न निश्चित छ ।

पहिलो पार्टीको रुपमा जनादेश पाएका नेपाली काँग्रेस एक पलमा अर्थहीन हुन पुग्यो । काँग्रेसलाई त्यागेर सबै एमालेसंग नयाँ गठबन्धन बनाएर सरकार गठन गरेपछि नेपाली काँग्रेसको राजनीति सकिएको जस्तो भयो । अहिले एमालेसंग ७ दलको गठबन्धन छ । आफ्नो खुट्टामा उभिने कुनै दलको शक्ति छैन । सबै बैशाखी लिएर गतिशील छ । पारस्परिक सहकार्यको अभावमा कसैको अस्तित्व छैन भन्ने यथार्थबाट शासकवर्ग (त्रिदेव) वाकिफ छ । सहकार्य नरुचाए पनि सरकारको अस्तित्व जोगाउन सहकार्य बाध्यता बनेको छ । एक अर्काको सहयोग बिना राजनीति नै अगाडि बढ्दैन भन्ने आध्यात्मक परिस्थितिमा भ्रष्टाचार तथा अपराधका काण्डहरुलाई छानबीनको दायरामा ल्याएर परिणाममुखी बनाउन सकियो भने बेथितिको साम्राज्य धाराशायी हुने पक्का छ । गृहमन्त्री ज्यूले परिस्थितिको यो सम्वेदनशीलता बुझेर सक्रिय हुनु भयो भने सफलता निश्चय नै हात लाग्नेछ । होइन भने ढाकको उही तीन पात ।

२०७९ पौष २९ गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!