विभिन्न भाषा, धर्म, संस्कृति, वेशभूषा, जातजाती भएको विविधतायुक्त, सधैं सहिष्णुतामाथि विश्वास गर्ने हाम्रो नेपाली समाजको विशेषता रहि आएको हो । फरक धर्म, संस्कृति रहेतापनि एक अर्काको चाडपर्वमा सामेल हुने हाम्रो सामाजिक परम्परा राजनीति स्वार्थ पूरा गर्ने कुत्सित प्रवतिका कारण तहस नहस हुने अवस्थामा पुगेको छ । उदाहरणको रुपमा रहेको हाम्रो पुरानो समाज रुपान्तरणको नाममा विखण्डित भएको छ । सबै आफ्ना धर्म संस्कृतिमा सीमित भएका छन् । पारस्परिक द्वेषको ताण्डवले असामाजिक घटनाहरु सृजित भएको छ । एउटा सामान्य विवाद हिंसाको रुप लिने गरेको उदाहरण आम भएको छ । समाजबाट मानवीय गुणको क्षयीकरण किमार्थ रोकिने पक्षमा छैन ।
हक, अधिकारका लागि मधेशको विद्रोह राज्यसत्ताका लागि ठूलो चुनौती हो । सपनामा पनि मधेशलाई निस्तेज पार्ने षडयन्त्रको तानाबाना बुन्ने राज्यसत्ता आफ्नो सम्पूर्ण पराक्रम पुनश्च मधेशलाई गुलाम बनाउन खर्च गरि रहेको छ । प्रत्यक्ष आक्रमणबाट सम्पूर्ण मधेश एकीकृत हुन सक्ने विगतका घटनाक्रमले देखाई सकेको छ । त्यसकारण अप्रत्यक्ष रुपमा त्यहींको व्यक्ति, वस्तु प्रयोग गरि भित्रबाटै ध्वस्त हुने गरि चालिएको राजनीतिक षडयन्त्र तीव्र रुपमा मधेशमाथि चलि रहेको छ ।
चुनाव गराउने, गठबन्धन बनाउने, तोडने, जिताउने, हराउने, सरकार बनाउने, निकाल्ने आदि हरेक कुरामा मधेशप्रतिको षडयन्त्र विद्यमान रहेको कुरा मधेशका राजनीतिक अगुवाहरु बुझ्न सकेको छैन । बुझेपनि मतियारको रुपमा प्रयोग भएका कारण केही गर्न नसक्ने चरित्र बनेको छ । राजनीतिलाई जीवन यापनका माध्यम बनाएका कारण मधेशको राजनीति जीवन्त अवस्थामा छैन । मधेशमाथि भई रहेको षडयन्त्रको विरुद्ध कसैले आवाज उठाउँदैन । बरु सम्मानजनक पद पाएन भने मधेश आन्दोलनको धम्की दिने प्रशस्त छन् ।
देश र जनताका लागि केही गर्न नसक्ने नेपालका अलोकप्रिय शासकहरुसंग (नेपाली काँग्रेस, एमाले र माओवादी) न भीजन छ, न कुनै क्षमता छ । बहुमत तथा दुईतिहाईको जनादेश पाएर पनि विगत ३० वर्षमा निकम्मापनको धेरै उदाहरण देखिएको छ । राजनीतिलाई सत्ता स्वार्थको केन्द्र बनाएर खेल्ने खेलमा भने यिनी माहिर खेलाडीहरु छन् । कसलाई उचाल्ने, कसलाई पछार्ने, राजनीतिमा सधैं वर्चस्व कसरी कायम राख्नेबाहेक देश र जनताको उन्नती, प्रगति यिनको सोचको हिस्सा कहिल्यै बनेन ।
नेपाली काँग्रेसको सरकार भयो भने एमाले र माओवादीले भागबण्डा पाउने, एमालेको सरकार भयो भने नेपाली काँग्रेस र माओवादीले भागबण्डा पाउने यी शासकवर्गको भद्र सहमती कै आधारमा सत्ता यि तीनबाहेक अरु कसैको हातमा जान सकेको छैन । समग्र मधेशले आफ्नो एकता प्रदर्शित गर्दा सत्ता नै छिनिने भयका कारण तीनै शक्तिबीच रहेको अन्तर्विरोध पन्छाएर यिनी एक भई मधेशको विरुद्ध खडा भएका हुन् । आपूmलाई जतिसुकै क्रान्तिकारी ठानिएपनि माओवादी पनि संविधान सभामा मधेशलाई अधिकार दिन सवालमा मधेशको विरुद्ध उभिएको नै देखियो ।
पहिचान झल्किने आफ्नो वेशभूषा, धर्म संस्कृति, भाषामा सपथ लिन सकिने संवैधानिक अधिकारको आधारमा मिथिला वस्त्राभूषणमा सजिएकी प्रदेश सभा सदस्य किरण साहले सपथ लिंदा आफ्नै पार्टीका कतिपय व्यक्तिद्वारा आलोचित हुन पुगेको कुराबाट के कुरा सिद्ध हुन्छ भने हाम्रो आफ्नै समाज गर्न चाह्ने व्यक्तिलाई अगाडि बढ्न दिई रहेको छैन । यो दास मानसिकताको उपज हो । के कुरा सही र के कुरा गलत स्वविवेक प्रयोग गर्न नसक्नु दास मानसिकता नै हो । भन्न त धेरै साना कुरा हो तर आफ्नै मानिस प्रयोग गरि विरोध गराउने शासकीय साजिशको कडी हो ।
हालै मधेशी आयोगले थारु र मुस्लिमलाई मधेशी क्लस्टरबाट अलग गरि दिने विधेयक मन्त्री परिषदमा पठाएर मधेशमा द्वन्द्वको बीजारोपण गरि दिएको छ । पारस्परिक सामाजिक सद्भाव कायम राख्ने मधेशी समाज यसरी विखण्डित हुँदै जाने हो भने शासकवर्ग चीरकालका लागि शासक बनी रहने अवस्था सृजना हुन्छ । एजेण्डाविहीन यो शासक विकल्परहित तानाशाहको रुपमा स्थापित हुने कुरा प्रष्ट छ । मधेशलाई तोड्ने मिहिनदेखि स्थूल षडयन्त्रबारे मधेशका राजनीति अगुवाहरुले कोही केही नबोल्ने तर मधेशका लागि बीष वमन गर्ने यो कस्तो राजनीति हो ?
उचित अनुचित केही नबुझेर जनमत पार्टीका अध्यक्ष सिके राउत मधेशी भाषामा शपथ लिएर ठूलो चर्चा बटुल्न सफल भएको छ । मैथिली भाषालाई मधेशी भाषा भनेर शपथ लिने सिके राउतको विरुद्धमा जनकपुरमा पुतला दहन समेत भयो । मेरो पुतला दहन गर्ने र विरोध गर्ने सबैलाई कानूनी दायरामा ल्याउने सीडियो.हरुलाई भनेको छु भन्ने कुरा सिके राउतले सार्वजनिक रुपमा भनेबाट यो विवाद अझ चर्किने सम्भावना छ ।
भाषा विवाद उठाएर सिके राउतले विरोध गर्नेहरुलाई कानूनी कारवाही गर्ने दावा गर्दा पक्कै पनि यिनलाई ऋग्वेदकालका मधेशी भाषाका प्रमाणहरु भेटेको हुनु पर्छ । इतिहासमा दखल राख्ने सिके राउतले मधेशी भाषाका लिपी, व्याकरण आदि सबै कुरा सार्वजनिक गरेर बेहतर विद्वताको परिचय दिन मधेशी जनताले आग्रह पनि गरेका छन् ।
यस्ता अनेकन विवादमा मधेशलाई फँसाएर राख्ने राज्यको षडयन्त्र जारी राख्न मधेशका अनेक मानसिंहहरु सक्रिय छन् । जसपा, लोसपाको सैद्धान्तिक विचलनबाट असन्तुष्ट मधेशका जनता विकल्प खोज्न सिके राउतलाई ल्याएका हुन् । यो चुनावमा अधिकाँश मधेशी नेताहरु पराजित हुनु पछाडि उनको स्वार्थ लिप्सा हो । मधेशी जनताले सिके राउतलाई ल्याउँदा उनलाई मधेश मुद्दाको ठूलो जिम्मेवारी पनि दिएको छ । अप्रत्याशित जितले अहंकार बढ्नु स्वाभाविक हो । तर यसलाई आत्मसात गरि जनताको पक्षमा काम गर्ने जोश, जाँगर देखाउनु पर्दछ । उचित अनुचित कुरा बोलेर चर्चा बटुल्ने प्रयास आत्मघाती हुन सक्दछ । सन्तुलित र संयमित व्यवहार नै लोकप्रियताको पहिलो सिढी हो । बाँकी मधेशका जनता सबै कुराबाट वाकिफ छन् ।
२०७९ पौष २२ गते मधेशवाणीमा प्रकाशित
