विगतमा नैतिकहीन राजनीति खेल खेल्ने नेपाली काँग्रेस, एमाले र माओवादी शीर्ष खेलाडीको रुपमा खेल मैदानमा पुनश्च उपस्थित भएका छन् । नैतिकहीनताको राजनीति खेललाई समाप्त पार्न नयाँ पार्टीहरुका युवा प्रतिनिधीहरु बडो जोश, जाँगर र साहसका साथ संसद भवनमा प्रवेश गरेका छन् । देशको ठूलो पार्टीको रुपमा नाम दर्ज गराउन सफल नेपाली काँग्रेस सरकार बनाउन पहिलो अधिकार भएपनि सरकार बनाउनबाट बञ्चित भएको छ । नवीन शुभारम्भको यो शुभ संकेत हो ।
राष्ट्रपति र प्रधानमन्त्री पद दुवैमा नेपाली काँग्रेसले आफ्नो अडान लिएपछि यो गठबन्धनलाई प्रधानमन्त्रीका लागि छोडेर नजाने शपथ खाएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काँग्रेसको गठबन्धनबाट अन्तिम समयमा केपी शर्मा ओलीको गठबन्धनमा पुगेर प्रधानमन्त्री बन्न सफल भएका छन् । नयाँ पार्टीहरुलगायत ७ पार्टी (नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, जनमत पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी) तथा ३ स्वतन्त्र गरि १६९ संख्या पु¥याएर प्रचण्डको नेतृत्वमा सरकार बन्दा नेपाली काँग्रेस बेसहारा र निरीह बनेका छन् । सरकारमा नैतिकहीनताको ठूलो स्रोत नेपाली काँग्रेसको अनुपस्थितिले अहिलेको सरकार धेरै उत्साही देखिएको छ । जनता पनि आशावादी बनेका छन् ।
नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाई नहुञ्जेल सरकारमा नजाने आफ्नो माँग अगाडि सारेको छ । राप्रपाले बाहिरबाट समर्थन गर्ने अडान राखेपनि पुनश्च निर्णय परिवर्तन गरेर सरकारमा सामेल हुन तयार भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष, उपप्रधानमन्त्री तथा गृहमन्त्री माननीय रवि लामिछानेले फोहोरको नालीमा नउत्रे नाली कसरी साफ गर्ने भने जस्तै राप्रपाले पनि सरकारमा सामेल भएर शुद्धताको परिचय दिने भएका छन् ।
रवि लामिछाने साहसी, वीर योद्धाको रुपमा देखिएका छन् । ज्यान सिद्ध्याउने खेलदेखि अनेक षडयन्त्रसंग वीरताका साथ एक्लै लड्दै आउने योद्धा गृहमन्त्री बन्न सफल भएका छन् । पदासीन हुँदै बेथिती विरुद्ध लिएका निर्णय कम साहसको होइन । यसमा प्रधानमन्त्रीको साथ र सहयोगको त्यति नै आवश्यकता छ ।
देशमा झाँग्गिदै गएको नैतिकहीनता, दण्डहीनता, भ्रष्टाचार, अनियमितता, बेथिती र अराजक व्यवहार देशमा विद्यमान समस्याका मूल जड हुन् । तीन दशकदेखि बन्दै आएको सरकारले यसलाई नजरअन्दाज गर्दै आए । फलतः यो समस्या झाँग्गिदै ठूलो बटवृक्षको रुपमा खडा छ । यसलाई काटेर फाल्ने अभिभारा लिएर आएका नयाँ पुश्ताका युवा प्रतिनिधीको कत्र्तव्य हो । गृहमन्त्री रवि लामिछानेले साहसिक निर्णय त लिएका छन् तर यिनलाई गन्तव्यसम्म माफियाहरुले पुग्न दिन्छन् कि दिदैनन् । ज्ञानेन्द्र शाही पनि आँटिला युवा हुन् । उनको पनि सरकारमा सामेल हुने कुरा राम्रो पक्ष हो । यहाँ पार्टीभन्दा पनि जनतालाई बेथिती हटाएर देखाउने सरकारमा युवाहरुको टीम आवश्यक छ । यहाँ लहरो तान्दा पहिरो जाने सम्भावना बढि छ । बाहिर सुधारका कुरा गर्ने तर परेपछि तैं चुप, मैं चुपको अवस्थाले नै बेथिती झाँग्गिएको हो ।
तीन दशकदेखि सत्तासुख लिई रहेका नेपाली काँग्रेस र एमाले तथा दुई दशकदेखि माओवादी पनि सामेल भई बेथिती तथा भ्रष्टाचारका तीनै पार्टी मतियार हुन् । भ्रष्टाचारको लहरो तान्दा पहाडै किच्न आउने स्थिति विद्यमान छ । राज्यसत्ता र यिनका शक्तिहरु यी तीनै राजनीतिक दलका पेवा हुन् । साना साना भ्रष्टहरुलाई समातेर जेलमा कोंच्ने तथा माफिया, तस्करहरुलाई संरक्षण दिने राज्यसत्ताको पुरानो चलन हो ।
अज्ञान, परावलम्बी तथा लालची शासकहरुले आफ्नो स्वार्थलिप्सा पूरा गर्न कसरी बेथितीलाई मजबूत बनाउँछ यो उदाहरणबाट प्रष्ट हुन्छ । अमेरिकाका पूर्व श्रममन्त्री तथा राजनीति विश्लेषक रोबर्ट वी रेईव आफ्नो पुस्तक “द सिस्टम हु रिग्ड ईट, हाउ वी फिक्स्ड ईट” मा कसरी केही व्यक्तिलाई धनी बनाउने व्यवस्थाले समग्र पद्धतिप्रति जनतामा आक्रोश र देशमा बेमेल ल्याउँछ भनेर यथार्थ चर्चा गरेका छन् ।
राजनीति गर्न पैसा जम्मा गर्ने राजनेताहरु धनकुबेर बनेर राज्यसत्तामा बर्चस्व बनाएका छन् । ठूला ठूला वित्तीय अपराध गरि अकूत सम्पत्ति बनाएका तीनै पार्टीका प्रधानहरुले आपूm पनि बने तथा आसेपासेलाई पनि धनी बनाए । वित्तीय काण्डका लामो फेहरिस्त कसैबाट लुकेको छैन । राज्यसत्तामा पकड बनाउने तीनै पार्टीको आँखा अगाडि भ्रष्टाचारका ठूला ठूला अपराधहरु भए तर पनि कुनै कारवाही भएन । बचाउमा कानून प्रयोग भएका कारण ठूला अपराधहरु निरन्तर चल्दै रह्यो । यसरी बेथितीको संस्थागत विकास भयो र देशमा यी तीनै दलको व्यापक आलोचना शुरु भयो र नयाँ पार्टीहरुको जन्म भयो । युवाहरु अगाडि आए ।
माननीय गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको बलात्कार र हत्या प्रकरणलाई अनुसन्धानको दायरामा ल्याउने घोषणाले समग्र देश खुशी भएको छ । शक्तिको संरक्षणमा भएको यस्तो जघण्य अपराधको साक्ष्य प्रमाणहरु सबै मेटिएको अवस्थामा गृह्मन्त्रीले अनुसन्धान गर्ने साहस देखाउनु खुशीको कुरा त हो नै । यस्तै लुकेर बसेका अन्यान्य अपराध कानूनको दायरामा आउन जरुरी छ । जनताले बेहतर शासन प्रणालीको अपेक्षा गरेको छ ।
ठूलो माछा फस्न सक्ने कारणले चोलेन्द्र शमशेर जबरालाई पुनश्च सर्वोच्च अदालतमा प्रवेश गर्न दिईएन । न उनको मुद्दा नै किनारा लगायो । बेथितिको योभन्दा ठूलो उदाहरण अरु के हुन सक्ला । शक्तिको आडमा जायज कामभन्दा नाजायज काम धेरै भएकोले राजनीति दलहरुसंगै शासन प्रणाली पनि बदनाम भयो ।
यो सरकारको कर्ता धर्ता केपी शर्मा ओली र प्रचण्ड हुन् । यिनकै कारण अरु दलहरु मन्त्री बन्न अवसर पाएका हुन् । युवाहरु केही गर्ने आँट देखाएका हुन् । यिनको केही नयाँ गर्ने जोशलाई सत्ताले घेराभित्र पारेर निरीह न बनाओस् । धेरै ठूलो जोश र आँट लिएर प्रचण्ड पनि सत्तासीन भएका थिए । आज केही गर्न नसक्ने परावलम्बी बनेका छन् । मैले युवाशक्तिलाई हतोत्साही बनाउन खोजेको होइन, तर शासन प्रणालीमा रहेका निस्तेज गर्ने शक्तिको जतिबेला प्रयोग हुन सक्ने सम्भावनालाई दर्शाएको हुँ । जे हुँदै आयो त्यसलाई उजागर गरेको हुँ ।
२०७९ पौष १५ गते मधेशवाणीमा प्रकाशित
