परिवर्तन आयो, यथास्थितिलाई बदल्न सकेन

बेथितिको भारलाई थेग्न नसकेर जनता पटक पटक आन्दोलन गरे । परिवर्तन पनि आयो । तर यसले देशमा गुणात्मक परिवर्तन गर्न सकेन । सतही परिवर्तन देखाएर जनतालाई झुक्याउने काम भयो तर जनतामा रहेको समस्याको चिरस्थाई समाधान गरिएन ।

देशमा आमूल परिवर्तन ल्याई जनताको जीवन शैली बदल्ने तथा देशलाई समृद्धशाली बनाउने सपना बोकेर कम्युनिष्ट, काँग्रेसको बलिदानीपूर्ण संघर्षले अन्ततोगत्वा ०४६ सालमा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न सफल भयो । के के न गरौंला भनेर सरकार बनाउने स्वार्थको लडाईमा सबै बिर्से । चुनाव लड्ने, सरकार बनाउने, ढाल्ने आदि स्वार्थको खेल यसरी गहिरियो कि यी पार्टीहरु त्यसबाट बाहिर निस्कनै सकेन । न अल्पमतको संयुक्त सरकार, न बहुमतको एकलौटी सरकार आफ्नो कार्यकाल पूरा गर्न सक्यो । देश विस्तारै यथास्थितिको भुमरीमा जाक्किदै गयो ।

टालटुले तथा सतही परिवर्तन नआएको पनि होइन । देशमा राजतन्त्र समाप्त भयो । धेरै परिमार्जित शासन व्यवस्था “संघीय लोकतान्त्रिक गणतन्त्र” ल्याईएको छ । लोकतन्त्रका विकल्परहित यी नामूद शासकहरु जनतामाझ नाक फुलाउन यतिका उदाहरण काफी छ । देश र जनताको समस्यालाई वेवास्ता गरि शासन चलाई रहेका यी शासकहरुको आलोचना हुन लाग्दा यी उदाहरण सारेर चोख्खिने दावपेंच पनि जनताले बुझे । निस्सासिने एउटै अवस्थामा मानिस रहँदैन । मानिस राहत पाउन अर्को अवस्थामा जान खाज्छ । लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएपनि जनता नयाँ राजनीतिक दललाई रोज्न थाले । स्वतन्त्रलाई जिताएर आफ्नो तुष मेटाउन थाले । नेपाली काँग्रेस, एमाले, माओवादी, नेकपा समाजवादी, जसपा, लोसपालगाउत दर्जनौं दोश्रो पंक्तिका शीर्ष नेताहरु पराजित भए । तर अलोकप्रिय रहेका पार्टीका अध्यक्षहरु भने पद र पावरको प्रयोग गरि सत्तामा आफ्नो वर्चस्व कायम राख्न सफल भए ।

उमेरले असक्षम बनेका शेरबहादुर देउवा चुनावमा हार्ने पक्का थियो, तर पैसा बाँडेर जीत हासिल गर्दा पार्टीभित्रै संसदीय दलको नेता बन्न महामन्त्री गगन थापाले चुनौती दिएका थिए । देउवाले यहाँ पनि एकघ्नीको प्रयोग ग¥यो । अब उनी सबै बाधा, व्यवधान पार गरेर सरकार बनाउन सफल भएको देखिन्छ । अलि अलि प्रचण्डको किचलो देखिएपनि प्रचण्ड विकल्प खोज्न केपी शर्मा ओलीतिर जान सक्दैन भन्ने देउवा पूर्ण विश्वस्त छ । सत्तामा वर्चस्व कायम राख्ने यी त्रिदेव पुनश्च आफ्नो स्थानमा पदासीन भएका छन् ।

सयकडौं बेपत्ता पारेर, हजारौं विस्थापित गरेर, सयकडौं अपाङ्ग बनाएर र १७ हजार मानिस मारेर राजनीतिका शिखर चढ्ने पुष्पकमल दाहाल प्रचण्ड पनि अवतरण गर्ने बेलामा देशमा रहेका बेथिति हटाएर आमूल परिवर्तन गरि देश र जनतालाई समृद्धिको दिशातिर डो¥याउने प्रतिबद्धता जाहेर गरेका थिए । तर के भयो ? सत्ता समक्ष आत्म समर्पण गरेर, देश र जनतालाई ढाँटेर राजनीति गर्ने प्रचण्ड तेश्रो दर्जाका नेता कहलिएका छन् । आमूल परिवर्तन गर्न गएका प्रचण्ड आफै परिवर्तित भएर बेथितिका साक्षी बनेका छन् ।

माओवादीको राप र ताप देखेर जनतामा ठूलो आशा पलाएको थियो । त्यसैले त जनताले उसलाई २३९ सीट दिएर नेपालको पहिलो पार्टी बनाएको थियो । ०४६ साल पछि देशमा लादिएको बेथितिबाट देशलाई मुक्त गर्ने माओवादीप्रति जुन आशा जनताले गरेका थिए, कालान्तरमा माओवादीको अकर्मण्यताले जनतालाई धेरै निराश बनायो । जनतामा रहेको माओवादीप्रतिको आकर्षण विस्तारै घट्दै गयो र सोही बमोजिम माओवादीको आकार पनि छोट्टिदै गयो । त्यसपछि यथास्थितिका जन्मदाता नेपाली काँग्रेस, एमालेको शरणागत भएर अस्तित्व बचाउने प्रयासमा संघर्षरत छन् ।

मधेशलाई समान हक दिलाउने उद्देश्यले मधेशको सयकडौं सपूतलाई बलिदान दिएर इतिहासमा परिवर्तनको एउटा पाना थप्न संघर्ष गरेर आएका जसपा र लोसपा पनि आफ्नो द्वैध चरित्रका कारण यथास्थितिमा रमाए । देश र जनताको समस्याप्रति चासो नराख्ने, सत्तासुखका लागि आफ्नो स्वाभिमान समेत बेच्ने मधेशका क्षेत्रीय पार्टी पनि आफ्नो सीमित क्षेत्रमा अस्तित्व कायम राख्न सकेन । यसपालीको चुनावमा उपेन्द्र यादब हारेर भएपनि जसपाको अस्तित्व जोगाउन सफल भयो । महन्थ ठाकुर जितेर पनि लोसपाको अस्तित्व बचाउन सकेन । पार्टी राष्ट्रिय पार्टीको दर्जा पाउन सकेन । मधेशका यी दुबै पार्टी परिवर्तन गराउने सपना तिलाञ्जली दिएर यथास्थितिको गोल चक्करमा फँसेर अस्तित्वको लडाई लड्दै छन् ।

सप्तरी क्षेत्र नं. २ मा सिके राउतको जात पनि थिएन, संगठन पनि थिएन, तैपनि सिके राउतले उपेन्द्र यादबलाई दोब्बर मतले हराउन सफल भयो । जातीय अहंकारमा रमाएका उपेन्द्र यादब हार्ने कसैले चिताएको थिएन । १५ वर्षमा उपेन्द्र यादबको जन धरातल आकर्षणविहीन भई सकेको उनलाई थाहा थिएन । आफ्नो जात पनि विमुख भएको अवस्थामा उपेन्द्र यादब राजनीतिमा कति तल्लोसम्म स्खलित भएको कुरा अब देखाई रहनु परेन । उपेन्द्र यादबलाई दोब्बर मतले पछार्दा पाएको सम्मानसंगै अहंकार पनि आउनु स्वाभाविक हो । जनताले उपेन्द्र यादब कै निकम्मापनका कारण सिके राउतलाई मत दिएका हुन् । यसमा जनताले परिवर्तन खोजेको स्पष्ट छ ।

पढे लेखेको विद्वान सिके राउत मधेशको अधुरो मुद्दालाई आत्मसात गरि अगाडि बढाउला ? कि उपरोक्त घटना अनुसार यिनले पनि आत्म समर्पण गरि यथास्थितिको भागिदार बन्ला ? मधेशको जनता असीमित मत दिएर राष्ट्रिय पार्टी बनाई दिएको छ । मधेशको सम्पूर्ण आशा र भरोसालाई समेटेर सिके राउत मधेशका वीर सपूतको भूमिकामा आउन सक्ला ? हेरौं आगामी दिनले हामीलाई के देखाउँछ ।

केन्द्रमा बेथितिका विरुद्ध एउटा क्रान्तिकारी छवि उदाएका छन् – रवि लामिछाने । जनताले राम्रै जनादेश दिएका छन् । राज्यलाई चुनौती दिएर आउने धेरै परिवर्तनकारी शक्तिलाई राज्यले घाँटी निमोठी ग्रास बनाएका धेरै उदाहरण हाम्रै सामु छ । देश र जनताप्रतिको माया राखी देशमा रहेको शिखर उँचाईको बेथिति, भ्रष्टाचारबाट मुक्त गर्ने अभिभारा कसरी निर्वाह गर्छन् रवि लामिछानेले, बडो कौतुहलपूर्वक जनता प्रतीक्षारत् छन् । राम्रो देखिने जनताको अधिकार पनि हो ।

(२०७९ पौष ८ गते मधेशवाणीमा प्रकाशित)

Leave a Comment

error: Content is protected !!