अनियमितताको साम्राज्य खडा गरी मनोकाँक्षा अनुरुप शासन प्रणालीलाई सहचरी बनाएर देशलाई लुट्नेबाहेक केही गर्न नसक्ने शासक दलहरुलाई अल्पमतमा पर्दा पनि शासकीय रवाफ कम भएको छैन । यसपालीको जनमतले कसैलाई बहुमत नदिएका कारण सरकार बनाउन नेपाली काँग्रेस र एमालेलाई दर्जन बढि दलहरुको सहयोग आवश्यक भएको छ । ३ दशकदेखि स्वार्थ सिद्धिमा सीमित रहेका दलहरुलाई पाठ सिकाउन पनि जनताले अल्पमतमा राखेर नयाँ शक्तिहरुको जन्म दिएको छ । नयाँ शक्तिको उदयले एमाले सवभन्दा बढि चिढिएको छ ।
नयाँ राजनीतक दलहरु तथा केही गर्ने आँट भएका युवाहरु बढि मात्रामा जितेर आएको देख्दा बूढा बाघहरु तर्सिएका छन् । देशलाई यथास्थितिबाट बाहिर निकाल्न आतुर रहेका युवाहरुप्रति बूढा शासकहरुको नकारात्मक प्रतिक्रिया देखाएर उनको मनोवल गिराउन गरिएको प्रयासबाट आफ्नै प्रतिष्ठा कम भई रहेको कुरा परिलक्षित भई रहेको छैन । देश उनैको, शासन उनैको भान हुने गरि देखाएको सामन्ती रवाफ नयाँ दलहरुको संसद प्रवेश देख्दा झन् आक्रामक देखिएको छ । किञ्चित पनि लाज नमानीकन साँसदको रुपमा प्रवेश गरेका युवाहरुलाई लक्षित गरि “कोही घंटी बजाउँदै, कोही लट्ठी बजार्दै देशलाई समृद्ध बनाउँछु भनेर आएकाहरु केही गर्न सक्दैन” भनेर सतही विश्लेषण नवागन्तुकहरुप्रति अपमानजनक व्यवहार हो, यति कुरा पनि नबुझ्ने शासकलाई जनताले कसरी बर्दास्त गर्ने ? अकर्मण्य, स्वार्थी र जनविरोधी शासकहरुप्रति जनमत सधैं एकनाशको रहँदैन भन्ने कुरा सर्वविदित छ ।
विश्वको पर्यटकीय आकर्षक गन्तव्यको रुपमा रहेको नेपाल र त्यसको राजधानी तीनै जिल्ला जोडिएको काठमाण्डौं उपत्यका विश्व मापदण्डमा हुनु पर्ने सोचको विरुद्ध फोहोरले भरेको, दुर्गन्धित, सडकजाम, सडक व्यापारका कारण हिंड्न नसक्ने अवस्था, सुकुमवासी र भिखारीको अव्यवस्थित बसोवास, सत्ता पावरको बलमा सरकारी जग्गा मिचेर बनाएका घर, टहरा आदिले काठमाण्डौं उपत्यकाको वातावरण नै दुषित बनाईएको छ । सोचमा हराभरा शहर भएपनि व्यवहारमा दुर्गन्धित शहर नै बनेको छ काठमाण्डौं ।
विश्व मापदण्डको स्तरमा पु¥याउन काडमाण्डौंका जनताले बालेन शाह जस्तो आँटिलो, साहसी, कर्मयोगी तथा विकासशील विचारका नयाँ स्वतन्ब छविलाई जिताएर काडमाण्डौंको मेयर बनायो । किञ्चित विलम्ब नगरि बालेन शाहले काठमाण्डौंको फोहोर व्यवस्थापनदेखि अवैध संरचना हटाउन अगाडि बढ्दा शासनमा रहेको बेथितिबाट लाभ लिएका दलका आसेपासेहरुले बनाएका अवैध घर, टहरा भत्किने डरले राजनीतिक आड लिन थाले । बेथितिमा रहेको न्यायालय पनि बालेन शाहको अवैध संरचना भत्काउने अभियानमा रोक लगायो । उसलाई सुधारका कार्यहरुबाट रोक्न, व्यवधान खडा गर्न, निस्तेज पार्न अनेक प्रयासहरु भए, तर उसको कदम रोकिएन । दलीय व्यवधान आएपनि काठमाण्डौं जनताको आड, भरोसा र समर्थनका कारण बालेनको अभियान गतिशील छ ।
सुधारको कार्यमा राजनीतिक दलहरु किन व्यवधान खडा गरेका होलान् भन्ने कुरा प्रष्ट छ । यहाँ सुधारका कार्य पनि कुनै राजनीतिक दलहरुले मात्र गर्ने, झोले कार्यकर्ताको घर टहरा सुरक्षित राखेर सुधार गर्ने, अरु कुनै स्वतन्त्र व्यक्तिले गर्न नपाउने सोचले यो व्यवधान खडा गरेृको छ । देशभरि हरेक क्षेत्रमा, राज्यका सबै संयन्त्रमा, राजनीतिमा, न्यायालयमा तीन दलीय वर्चस्व कायम रहेको अवस्थामा बाहिरबाट आएर शासकीय मनोवृतिमाथि चोट गर्ने कसैलाई नबक्सने त्रिदेबको आन्तरिक रणनीति बनेको छ । त्यसकारण त सुधारको कार्य रहेपनि राजनीति, दलहरु, सरकारी संयन्त्र सबै एकसाथ बालेन शाहको अभियानमा बाधक बनेका छन् ।
बागमती किनारमा रहेका सुकुमवासीको नाउँमा जग्गा ओगटेर पक्का घर बनाई बसेका दलका झोले कार्यकर्ताले मालिकबाट पाएका दान, बक्सलाई यसरी सहजै किन छोडथ्यो होला । बालेन शाहको टीममा रहेका नगर प्रहरीमाथि घरेलु हतियार लिएर प्रहार गर्दापनि कानून चुप लागेर बसेको कस्तो बिडम्बना ? झोलेहरुको संगठित प्रहारले दर्जनौं महिला, पुरुष प्रहरी घाईते भएका छन् ।
यस्ता दर्जर्नौं दृष्टान्तहरु हामी हेर्न सक्छौं । प्रधान न्यायाधीश चोलेन्द्र शमशेरमाथि महाभियोग लागेको १० महिना भयो । पहिलो संसदमा ६ महिनासम्म टुँगो नलाग्दा संसदको अवधी समाप्त भयो । संसद सचिवालयमा आफ्नोबारे के कस्तो भयो जानकारी पाउने चोलेन्द्रले निवेदन दिंदा संसद सचिवालयले चोलेन्द्रलाई क्लीन चीट दियो । सोही आधारमा उनी सर्वोच्च अदालतमा आफ्नो पदमा बहाल हुन जाँदा सर्वोच्चमा प्रहरी र बकिलहरुको सुरक्षा घेराभित्र प्रवेश पाउन कठीन देखियो । उनी ५ दिन पछि रिटायर हुँदैछ । उनको मुद्दा टुँगो नलागिकनै रिटायर गराउने सबैको साजिश देखिएको छ ।
बालेन शाह जस्तै अहिले रवि लामिछाने पनि जल्दो बल्दो रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा २१ प्रतिनिधी सभा सदस्य जिताएर संसदमा प्रवेश पाएका छन् । बालेन जस्तै यथास्थितिबाट देशलाई बाहिर निकालेर विकासको बाटोमा अग्रसर गराउने तथा देशबाट भ्रष्टाचार मेटाउने रवि लामिछानेको दृढ संकल्पबाट दलहरु डराएका छन् । उनले कुनैबेला अमेरिकाको नागरिकता लिएपनि ४ वर्षपूर्व सो नागरिकता त्याग गरि नेपाली नागरिकता लिएर नेपाल मै केही गर्ने सोचका साथ न्यूज २४ टी.वी. चलाएर जनता कै कार्यमा व्यस्त थिए । अहिले राजनीतिमा सक्रिय देखिएका छन् । बालेन जस्तै उनलाई पनि अनावश्यक रुपमा नागरिकता बखेडा झिकेर उनलाई निस्तेज बनाउन खोजिएको अवस्थाले जनता दुःखी छन् ।
३ दशकदेखि बेथिति झेल्दै आएको देश र जनताको दुर्दशासंग नेपाली काँग्रेस र एमालेलाई कुनै मतलब छैन । पछि देश सुधार्न आएको माओवादी पनि यिनकै अनुयायी भएर बसे । देश र जनतालाई वेवास्ता गर्ने जुनसुकै शासक विरुद्ध जनता आन्दोलित भएको उदाहरण छ । लोकतन्त्रको नाममा एकाधिकार जमाएर बस्ने अलोकप्रिय सरकार टिक्दैन समयले देखाएको छ । यही कारण बिना विप्लव जनताले सानै भएपनि वैकल्पिक राजनीतिक शक्तिलाई जन्म दिएका छन् । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले समयले चाहेको परिवर्तनलाई नेतृत्व गर्नेमा कुनै शंका छैन । रविले बेथितिको दुर्ग भत्काउने आँट देखाउनै पर्छ । देशको माया गर्ने अपार जनता उनीप्रति आशावादी बनेका छन् ।
(२०७९ मंसीर २३ गते मधेशवाणीमा प्रकाशित)
