स्थानीय चुनाव पछिको विचार र व्यवहार

भोकाएको पेटले गर्दन झुक्न दिन्छ, अघाएकोले गर्दन झुकाउँदैन । मधेशमा नाम चलेका दुई पार्टी जसपा र लोसपाको सन्दर्भमा उपरोक्त उक्ति आएको हो । कुनै बेला राज्यलाई चुनौती दिन उदाएका, केंचुवा फेर्दै डेढ दशकदेखि मधेशको राजनीति गर्दै आएका जसपा र लोसपाको चर्चा आवश्यक मात्र होईन अनिवार्य पनि हो । मधेश मुद्दाको चर्चासंगै यी दुई पार्टीको नाम नलिनु अन्याय नै हुन्छ । आन्दोलन पश्चात् राज्य सुविधा भोग गर्न पुगेका वीर क्रान्तिकारी नेताहरु हक, अधिकार माँग गर्ने आन्दोलनका रणनीति नै फेरे । क्रान्तिकारी विचार त बदले नै, आफ्नो चरित्रलाई समेत बदले ।

राजनीति दावपेंचको केन्द्रविन्दु रहेको राज्यसत्तामा पुगेपछि जालझेलको राजनीतिमा महारथ हासिल गरेका मधेशका नेताहरु मधेश आन्दोलनको भिन्न भिन्न परिभाषा दिएर उसको मूल स्वरुपलाई नै परिवर्तन गरि दिएका छन् । संघर्षको कंटकाकीर्ण बाटोबाट नहिंड्ने सबैले शपथ खाएको दिनदेखि राज्यले जस्तो सुकै अन्याय गर्दापनि विरोधपत्र (प्रेस विज्ञप्ति)बाहेक विरोधका अरु कुनै गतिविधी देखिदैन । राज्यसत्तामा शासकहरुको समकक्षी मित्रको भूमिकामा पुगेका मधेशका नेताज्यूहरु भोली काम लाग्ने भनेर नरम विरोधको बाटो अख्तियार गर्नु एक किसिमको आत्म समर्पण नै हो । राजनीतिमा मित्र र दुश्मन कोही हुँदैन भन्ने कुरा राज्यसत्ताले सिकाएपछि सिंहदरवार र मधेशबीचको अब कुनै अन्तर्विरोध रहेन भन्ने कुरा सार्वजनिक रुपमा नभनेपनि विचारमा भने गहिरो रुपमा बसी सकेको छ । राजनीतिक व्यवहारमा परिवर्तन आउनु यसको ठूलो प्रमाण हो ।

चुनाव जित्ने, साँसद बन्ने र भ्रष्टाचार गर्ने, शासकवर्गको जालझेलको त्रिकोणात्मक परिधीमा मधेशका नेताहरु पनि आएर सोही अनुसारको चरित्र बनाएकोले परिधीबाहिरको संसारलाई यिनले देख्न सक्दैनन् । राज्यसत्ताको रणनीति, मधेश आन्दोलनको दिशा, मधेशको राजनीतिक दलहरुप्रति मतदाताको आकर्षण, अर्थात् मधेशको अवस्थाबारे अनभिज्ञ रहेका नेताज्यूहरुका लागि चासोको विषय रहेन । वैचारिक अडान, सैद्धान्तिक धरातलबाट विचलित भएका नेताज्यूप्रति मधेशका मतदाताहरु के सोच्छन् यसप्रति कहिल्यै कुनै चासो नराखेकाले अहिले स्थानीय चुनावमा खुम्चिनु परेको हो । मतदाताले विश्वास गर्न छोडेपछि आफ्नै धरातल हल्लिएको कुरा पूर्व जानकारीमा थिएन । सीट कम आएको बेला मात्र मधेशतिर हेर्ने नेताज्यू अहिले विनित भावमा दुबै पार्टी मिलेर जाने प्रस्ताव अगाडि सारेका छन् ।

मधेश आन्दोलन पश्चात् मधेशलाई चुनौतीको रुपमा लिएर रणनीति बनाएको राज्यसत्ताले संघीय बनावटमा मधेशलाई ६ टुक्रामा विभाजन गर्दा यसको प्रतिरक्षात्मक रणनीति केही आएन । संविधान घोषणा भएको साल असोज ३ गते मधेशका राजनीतिक दलहरुले कालो दिवसको रुपमा मनाएर त्यसपछि सोही संविधानलाई स्वीकार गरि राज्यभोग गर्न थाले । वैचारिक विचलनको यो जस्तो अर्को नमूना के हुन सक्दछ । यही वैचारिक विचलनले मधेशको मतदातामा वितृष्णा ल्यायो, जसको समय अगावै नेताज्यूहरुलाई जानकारी भएन । जालझेल राजनीतिको त्रिकोणात्मक परिधीमा स्थापित नेताज्यूहरुको पदीय मदान्धता र अहंकारले मधेशको राजनीतिक संकटबारे केही सोच्ने, विचार्ने अवसर नै दिएन अथवा यो भनूँ कि यसको महत्व नै सम्झेन ।

स्थानीय चुनावमा जसपा ३० सीटमा र लोसपा १६ सीटमा सीमित भएपछि जसपाले लोसपासंग एकीकरण गर्ने आवाज उठाएको छ । विभाजनको बेला के थियो र अहिले एकीकरणको बेला के कारण हो ? विभाजनको बेला व्यक्तिगत स्वार्थको टकराहट थियो भने अहिले पार्टीगत स्वार्थ मिल्न गएकोले एकीकरणको आवाज आएको हो । लोसपामा चार चार दिग्गज नेताहरु हुँदा पनि १६ सीटमा खुम्चिनु पर्ने ठूलो कारण एक अर्कासंग स्वार्थ र मत नमिल्नु हो । सह अस्तित्व स्वीकार गर्न नसक्नु, आपूmबाहेक अरुको सम्मान गर्न नसक्नु, आफ्नो कुरा जसरी भएपनि मान्य हुनु पर्ने, यसरी व्यक्तिगत लडाईमा पार्टी नै आहत भयो । समग्रमा औषतन एकजनाको भागमा ४ जना विजेता परेपनि गुटगत हिसाबले कोही कोही नील पनि भएका छन् ।

चारैजना अध्यक्ष भई पार्टी चलाएका मानिस हुन् । सबैको महत्वाकाँक्षा उच्च छ । राजनीतिक प्रतिष्ठा कोहीभन्दा कसैको कम छैन । एकल वर्चस्वमा राज्यभोग गर्दै आउँदा तुष्टि हुने स्वार्थ बाँधिन कसैलाई स्वीकार हुँदैन । वीजेपी पार्टी अध्यक्ष चलाएर बसेका अमित शाह, राजनारायण सिंहले मोदी नेतृत्वको सरकारमा गृहमन्त्री र रक्षामन्त्री बसेजस्तै हीनताबोध हुने त्यस्तो काम मधेशका नेताहरु गर्न चाहँदैन । समान रुपको राजनीति गर्नु पनि हुँदैन । देश फरक छ, राजनीति फरक छ, व्यक्ति फरक छ, परिवेश फरक छ । भारतको देखासिकी गरेर काम छैन । आफ्नो मौलिकतामा बाँधिनु पर्छ । प्रो. कृष्ण खनालले चाण्डाल चौकडीका कारण लोसपाको यो हालत भएको हो भनेर कडा बाक्याँश प्रयोग गरे जस्तै म नमिठो लाग्ने बोली बोल्दिन । प्रिय लाग्ने कुरा मात्रै बोल्छु । दशकौं पार्टी चलाएर धेरै राजनीति उतार चढाव खेपेको मानिससंग राजनीतिक अनुभव नहुनु कसैले विश्वास गर्ने कुरा हो ?

उपेन्द्र यादब पनि साह्रै पीडामा छन् । हिन्दीमा एउटा कहावत् छ चौबे गये छब्बे बनने दुबे बनकर आये । कुनैबेला जातीय राजनीतिलाई बढावा दिने उपेन्द्र यादब अहिले यादब नेता साँसदबाट परेशान बनेका छन् । क्षेत्रीय राजनीतिबाट शुरु भई राष्ट्रिय हैसियत बनाउने प्रयासमा उनी क्षेत्रीय पार्टीभन्दापनि जातीय पार्टीको ट्यागबाट बाहिर निस्किन सकि रहेके छैन । लोसपा नेताहरुको महत्वाकाँक्षाभन्दा कयौं गुण बढि महत्वाकाँक्षा पाल्ने उपेन्द्र यादबले लोसपाका नेताहरुलाई कसरी बर्दास्त गर्ने । पार्टी विभाजनका श्राप पाएका बिचरा उपेन्द्र यादब पुनश्च यो पीडा भोग्ने हो कि ?

चुनाव जित्ने, पद पाउने र भ्रष्टाचार गर्ने पार्टी राजनीति यसैमा केन्द्रित रहेकोले यसभन्दा माथि उठेर मधेशलाई हेर्न आवश्यक छ । मधेश राज्यसत्ताको चंँगुलमा कुन अवस्थामा पुगेको छ र यसलाई कसरी निकालेर ट्र्याकमा ल्याउने भन्ने प्रश्न नेताज्यूहरुका लदागि महत्वहीन लागेृपनि यथार्थ भने यही हो । टुक्रा भएको मधेशलाई एकीकृत कसरी गर्ने, मधेश प्रदेशबाहिरको मधेशलाई मधेशको पहिचान कसरी गराउने, गैर मधेशी पार्टीहरुको मधेशमा बढ्दो बर्चस्वलाई कसरी रोक्ने र मधेशका राजनीतिक दलहरुको लोकप्रियता कसरी बढ्ने आदि विषय टड्कारो रुपमा उठ्नु पर्दछ ।
(२०७९ आषाढ ३ गते मधेशवाणीमा प्रकाशित)

 

Leave a Comment

error: Content is protected !!