अर्गानिक कृषितिर बढि रहेको जनचासो

२०७० माघ १० गते

नेपाली कृषिमा रासायनिक मल तथा कीटनाशक बिषादीको अत्यधिक प्रयोगका कारण नेपाली जनजीवनमा देखिएका रोग, ब्याधिले नेपाली जनताको स्वास्थ्य क्षेत्रमा ठूलो प्रश्न उठाई दिएको छ । कृषिक्षेत्रमा पनि यसले ठूलो नकारात्मक असर पारेको छ । रासायनिक मलको अनियमित प्रयोगका कारण माटोको मौलिक उर्बराशक्तिको ह्रास भएको छ भने कृषि उत्पादनमा बिषादीको प्रयोगका कारण  मानवको स्वास्थ्यमाथि नकारात्मक असर देखिएको छ । अरबौं रकम खर्च गरेर विदेशबाट ल्याईने रासायनिक मल र बिषादीको प्रयोग गरेर पनि कृषि उत्पादन बढ्नुको सट्टा दिनानुदिन घट्दै गएर  चौपट बनेको हाम्रो कृषिक्षेत्र वैकल्पिक मार्गको अभावमा विनाशको चक्रव्यूहबाट निस्कन सकि रहेको छैन । अरबौंको रासायनिक मल मँगाउने र प्रतिवर्ष खरबौंको कृषि उत्पादन आयात गरिने बिडम्बनाको सरकारले कुनै विकल्प पनि दिन सकि रहेको छैन ।

रासायनिक मल र बिषादी प्रयोगबाट दुषित भएको खाद्यान्न उपभोग गरि नेपाली जनताको स्वास्थ्यमा परि रहेको असरले सरकारको जिम्मेवारीमाथि ठूलो प्रश्न उठाएको छ । यही जिम्मेवारीबोधका कारण  सरकारी स्तरमा कसै कसैले विरोधका स्वरहरु उठाउन थालेका छन् । सरकारलाई जिम्मेवारीबोध गराउन सरकारी निकायबाटै उठ्न थालेको विरोधका आवाजहरु सकारात्मक दिशा लिने सम्भावना बढेको छ । साधन स्रोत भएपनि कृषिको स्तरोन्नति हुन नसक्नु र ‘स्लो फूड प्वाईजन’ को रुपमा रहेको खाद्यान्न प्रयोग गर्न जनता बाध्य हुनु परेकोले  सरकारी तथा गैर सरकारी स्तरबाट आवाज उठ्न थालेको हो । पूर्व सावधानीको प्राथमिकतामा राखिने स्वास्थ्य क्षेत्र विस्तारै जोखिमपूर्ण अवस्थामा गएको सबै जानकार क्षेत्रको ठम्याई छ । सरकारले यस क्षेत्रमा गम्भीरतापूर्वक चासो नलिएकोले निजीक्षेत्र अर्गानिक खेतीको सानो प्रयासलाई विस्तारै थाल्न शुरु गरेको छ । सानै स्केलमा भए पनि देशको विभिन्न भागमा अर्गानिक खेती गर्न थालिएको हो । बिषादी तरकारीको विकल्पमा शुद्ध तरकारी उब्जाएर प्रयोग गरिने व्यक्ति स्तरबाट शुरु भएको यो अभियान विस्तारै व्यावसायिक प्रतिष्ठानको रुपमा विकसित हुँदै जाने सम्भावना छ ।

संक्रमणकालीन अवस्थाले हरेक क्षेत्रमा ल्याएको अराजक प्रभाव र त्यसले ल्याएको कुप्रवृतिबाट जन जीवन अस्त व्यस्त बनाएको छ । खासगरि वित्तिय अराजकताले त जोखिमपूर्ण अवस्थाको सृजना गरि दिएको छ । स्थानीय स्तरमा सहकारीको माध्यमले आर्थिक क्रान्ति गर्ने सरकारले लिएको नीति अनुसार यसलाई कमाई खाने माध्यम बनाउने उद्देश्यले हजारौं सहकारी दर्ता भयो । लाखौं मानिस यसको सदस्य बने भने दशौं लाख व्यक्तिले यसमा रोजगारी पाए । यसले राजस्व संकलनमा ३% ले योगदान पुर्‍याएको छ । वित्तिय अराजकको तरल अवस्था र सरकारको उचित प्रवन्धको अभावमा सहकारीहरुको मनोमानी बढ्दै गयो र पछि नकारात्मक परिणाम भोग्न जनता बाध्य भयो । आकर्षक ब्याज दर देखाएर जनताबाट निक्षेप संकलन गरि जोखिमपूर्ण अनुत्पादक क्षेत्रमा लगानी गरि डुबेका सहकारीहरुले जनताका अरबौंका निक्षेप डुबायो ।

वित्तिय तरलताको संवेदनशीलतालाई अध्ययनै नगरि सहकारीहरु नाफा कमाउने उद्देश्यले अनुभवहीन छलाङ्ग लगाउने, सेवामुखी भएर जनताको जीवनस्तर उकास्ने, कृषि उत्पादन बढाउने, आय आर्जनका सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने, सहभागितामूलक स्थिर र दिगो व्यवसाय स्थापना गरि समूहगत आर्थिक स्वावलम्बनका कार्यक्रमहरु दिने आदि जस्ता जनमुखी कार्यक्रम नदिई जनतालाईनै चुस्ने वित्तिय कारोवारका कारण डुबेका सहकारीहरु विस्तारै खारेज हुँदै गई रहेका छन् । कतिपय जोखिमपूर्ण कर्जाका कारण खारेजमा परेका छन् भने कतिपय संचालन गर्न नसकेर खारेज भएका छन् । सरकारको फितलो नीतिका कारण पनि सहकारी बदनाम भएर विसर्जनको अवस्थामा पुगेका छन् ।

अर्गानिक कृषि उत्पादनको चारैतिरबाट आवाज उठि रहँदा सरकारले सहकारीलाई कृषि उत्पादनको क्षेत्रमा संलग्न गराई सहयोग गरेबाट यो क्षेत्र अपेक्षित लक्ष्य हासिल गर्न सक्थ्यो र यसले बिषादि खाद्यान्न विस्थापनमा कोशे ढुँगा साबित हुन्थ्यो । बिषादि कृषि उत्पादको फैलि रहेको दुष्प्रभावलाई अनुभूत गरि सरकारी स्तरका केही जानकारहरु पत्र पत्रिका मार्फत सबैलाई सचेत गराई रहँदा पनि यो क्षेत्रमा सरकारले व्यावहारिक कदम उठाएको देखिदैन ।

सहकारीलाई उत्पादन क्षेत्रमा प्रोत्साहन गर्नुको सट्टा सरकारी नियन्त्रणभन्दा बाहिर अराजक अवस्थामा वित्तिय कारोवारबाट मनपरि नाफा आर्जन गर्न छुट दिएकोले सबै त्यही कार्यमा लागेर सहकारीलाई फेरि जनताको नजरबाट गिराउने काम गरे । ग्रामीण क्षेत्रको विकासमा योगदान गर्न ल्याईएको सहकारीको अवधारणा सरकारको उचित रेखदेखको अभावमा यो पनि कृषिक्षेत्रको सुधार गर्न ल्याईएका बैक जस्तै नाफाखोर वित्तिय संस्थाको रुपमा देखा पर्‍यो र यसले जनताको जीवनस्तर खस्काउने काम गरि असफल भएका छन् ।

उत्पादनशीलताको अवस्था खस्किदै गएर हरेक क्षेत्रमा परनिर्भरता दिनानुदिन बढ्दै गई रहेको सरकारको तथ्याँकले देखाई रहेको छ । माघ ६, ०७०, आर्थिक कारोवार दैनिकमा टुलराज बस्यालको तथ्याँक अनुसार वस्तु आयात ०६२/०६३मा ८३.८% बाट ०६४/०६५मा ८०.४% मा झरेको थियो भने ०६५/०६६ बाट पुनः बढ्दै ०६८/०६९ मा ८८.७%, ०६९/०७० मा ८६.२% रहेको छ । निर्यात तर्फ ०६२/०६३ मा ६९.९% बाट घट्दै ०६९/०७० मा ४७.५% पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७०/०७१ को पाँच महिने प्रतिवेदन सार्वजनिक गर्दा कृषिमा परनिर्भरताको चित्र यस्तो देखियो । कृषि विकास मन्त्रालयको तथ्याँक अनुसार नेपालमा ०६८/०६९ मा ५० लाख ७२ हजार मेट्रिक टन, ०६९/०७० मा ४५ लाख ४ हजार मेट्रिक टन तथा ०७०/०७१ मा ५० लाख ४७ हजार मेट्रिक टन धान उत्पादन भयो । सोही अवधिमा भारतबाट चामलको आयात ०६८/०६९ मा ८५ करोड ८३ लाखको चामल आयात भएको थियो भने ०६९/०७० मा यो रकम बढेर २ अर्ब ८७ करोड ५९ लाख, ०७०/०७१ मा ३ अर्ब ३० करोड ५९ लाखको चामल आयात भएको हो । कृषिक्षेत्रमा आयातको यो भयावह अवस्थाको अगाडि नेपालमा भई रहेको धान उत्पादनको महत्वलाई त्यसै पनि गौण बनाएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार आर्थिक वर्ष ०७०/०७१ को मंसीरसम्मको पाँच महिनामा कूल वस्तु आयात २ खर्ब ७० अर्ब ३५ करोडको भएको छ । अघिल्लो वर्ष सोही अवधिमा २ खर्ब २५ अर्ब ३९ करोडको आयात भएको थियो । निर्यातको तुलनामा आयात फराकिलो अन्तरले बढेका कारण कूल वस्तु व्यापार घाटा २१% अर्थात् २ खर्ब ३२ अर्ब ९९ करोड पुगेको छ ।

सोही तथ्याँक अनुसार १०.३% ले मूल्यवृद्धि देखाएको छ । आ.व. ०७०/०७१को श्रावणमा ७.९%, भाद्रमा ८%, असोजमा ८.४%, कार्त्तिकमा १०% तथा मंसीरमा १०.३%ले वृद्धि भएको छ । यो मूल्यवृद्धि तराईमा १०.९%, उपत्यकामा १०.७% तथा पहाडमा ८.७% ले बढेको छ ।

एन० सी० ए० २००१ को सर्वे अनुसार देशको कृषिभूमि मधेशमा ५२.६%, पहाडमा ३९.१% तथा हिमालमा ८.३% रहेको छ । मधेशमा झापादेखि कञ्चनपुरसम्म २० जिल्लामा कृषिभूमि १३ लाख ९६ हजार ६०७.२ हेक्टर रहेको छ । कूल सिंचितक्षेत्र ५% अर्थात् ६३ हजार २ सय ८० हेक्टर कृषिभूमि रहेको छ । नेपालमा जम्मा ३५ लाख हेक्टर कृषिभूमि रहेको छ । उन्नत बीउ जोगाउन जिन बैंकको स्थापना गरिएको छ । कोल्ड स्टोर, प्राँगारिक मल कारखाना स्थापना एवं कृषिवाली र पशुवीमामा सरकारले ५०% अनुदान दिने नीति लिएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति अनुसार वाणिज्य बैंकहरुले कूल ऋण प्रवाहको १०% रकम कषि र उर्जाक्षेत्रमा लगानी गर्नै पर्ने नीति पनि छ । सरकारले काभ्रेको कुशादेवी र महादेव स्थानमा आई० पी० एम० (इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट) विधीबाट कृषि उत्पादन गर्न प्रोत्साहन कार्यक्रम प्रयोगमा ल्याएको छ ।

कृषि उत्पादन बढाउन उपरोक्त सुविधाहरु सरकारले प्रदान गरे पनि वर्षेनी वृद्धि भई रहेको कृषिवस्तुको आयातको परिमाणले हाम्रो देशमा कृषि उपज केही न रहेको भान हुन्छ । या त यी सुविधाहरु प्रदान गर्ने जटिल प्रक्रियाका कारण सरकारी फाइलमा सिमित रही जनतासम्म पुग्न सकेको छैन वा यो दातृ संस्थालाई देखाएर सन्तुष्ट पार्ने कागजी विधी मात्र हो । साधनस्रोत सम्पन्न भएर पनि कृषि उत्पादन गर्न र गराउन नसकेको पछाडि भ्रष्ट आचरणको मानसिकतानै देखिन्छ । हरेक कुरामा कमीशन खाने सरकारी कर्मचारीको अपरिवर्तनीय चरित्रले हरेक क्षेत्रमा संस्थागत रुप धारण गरि सकेको छ । एक प्रकारले यी धमिराहरु सत्तालाई कब्जा गरेर बसेका छन् । विनियोजित रकमलाई चाट्ने आफनो परम्परागत संस्कारका कारण वर्षेनी लक्षित उद्देश्य अधुरो रहने, देश आर्थिक संकटमा डुब्दै जाने खतरासंग यी धमिराहरुको कुनै मतलव पनि हुँदैन । देश जति संकटग्रस्त भयो, दातृ राष्ट्रहरु सहयोग गर्न त्यतिनै सक्रिय रहन्छन् र धमिराहरु पोषिलो खाना पाउँछन् । यही उद्देश्यमा सिमित रहेको सरकारी नीति र संयन्त्रले कृषिक्षेत्रमा खरबौंको बजेट रहँदा पनि दशकौंमा केही प्रगति गर्न सकेको छैन । संकटग्रस्त अवस्थामा नै वैदेशिक सहयोग प्राप्त हुने र आफनो भरण पोषण हुने परम्परागत संस्कारबाट प्रेरित सरकारी संयन्त्र देशमा उल्लेख्य विकास हुन नदिन बाधक छ । राष्ट्रिय नीतिलाई नै बदनाम गरि असफल पार्ने यी कर्मचारीहरुलाई अख्तियारले भ्रष्टाचारमा समातेर थुन्दा पनि भ्रष्टाचार गर्ने संस्था भने डराएको छैन । उ अहिले पनि अख्तियारलाई चुनौती दिन चट्टान झैं अडिग भएर बसेको छ । यो भ्रष्टाचारी चट्टानी संस्थालाई अख्तियारले हल्लाउन सक्छ वा सक्दैन समयले नै बताउला ।

देशको अर्थतन्त्र र जनजीवन कृषिसंग जोडिएको विषय रहेकोले यसप्रति सबैको चासो हुनु स्वाभाविकै हो । सरकारी संयन्त्रको भ्रष्ट नियतमा अल्झिएर अस्तित्व गुमाएको सरकारी विकास नीतिबाट जनता पनि निराश भई आफनै ढंगले कृषि उत्पादनको शुद्धिकरणमा जुटेको छ । आफनै स्तरमा सानै स्केलमा भएपनि अर्गानिक खेती गर्न मानिसहरु उत्साहित भएका छन् । सरकारी सुविधाको जटिल प्रक्रियामा नगई नेपाली किसान आफनै तरिकाबाट व्यावसायिक रुपमा अर्गानिक कृषि, पशुपालन, माछापालन आदि व्यवसाय शुरु गरेका छन् । विस्तारै विकसित भई रहेको अर्गानिक खेती आकर्षणको केन्द्र बन्दै गई रहेको छ र यसमा संलग्न भै रहेका किसानहरु पनि संगठित व्यवसायमा रुपान्तरण गर्दै छन् । बिषादि कृषि उत्पादनको दुषित प्रभावबाट बच्न अर्गानिक कृषि उत्पादन प्राप्त गर्न ग्राहक संख्या बढि रहेकाले किसानहरु आफनो उत्पादनको आकर्षक मूल्य पाई रहेको कारणले पनि अर्गानिक खेती निर्वाहमुखी बन्न गएको छ । सामान्य उत्पादनभन्दा अर्गानिक उत्पादनको माँग पनि दिनानुदिन बढ्दै गई रहेको र यसको मूल्य पनि बढी रहेकोले उत्पादन गर्ने किसानले माँगलाई पूर्ति गर्ने अवस्थामा भने छैन । तर किसानको उत्साह बढेको छ र यसले अरुलाई यो पेशा गर्न आकर्षित पनि गरेको छ ।

कार्वन उत्सर्जनलाई न्यूनीकरण गर्न प्रमुख भूमिका निर्वाह गर्ने नेपालको वनले अन्तर्राष्ट्रिय स्तरमा कार्बन व्यापारको क्षेत्रमा आफनो उपस्थिति जनाएको छ । सोही दाँजोमा अर्गानिक कृषिले पनि सोही परिमाणमा कार्बन व्यापार गर्न सक्षम हुने सम्भावना छ । उत्सर्जित कार्बनलाई आफनै क्रियामा समाहित गरि मलको रुपमा प्रयोग गरिने चक्रीय प्रक्रियाले कार्बन व्यापारमा सघाउन राम्रो भूमिका निर्वाह गर्ने अर्गानिक खेतीको औचित्य बढेर गएको छ । कृषि पेशाको शर्मनाक असफलताको चक्रव्यूहबाट बाहिर निस्केर सरकारलाई कृषिनीतिबारे गम्भीर भई सोच्न परिस्थितिले पनि बाध्य गरि रहेको छ । एउटा राम्रो सम्भावनालाई निस्तेज पार्ने सरकारी नियतलाई परिवर्तन गरि समय सुहाउँदो नीति तर्जुमा गरि देशको विकासको गतिलाई निर्विरोध अगाडि बढाउनु पर्दछ । यही समयको माँग हो । पूर्ववर्ती सरकारहरु जस्तै विकासलाई यथास्थितिमा राख्न खोजे अरु सरकारको पतन भए जस्तै यिनको पनि पतन हुने निश्चित छ । जनताको आवश्यकताको माँगलाई अवरुद्ध गर्ने कुनै पनि शक्ति अस्तित्वमा नरहने निश्चित छ ।

देशको सबल भए राष्ट्रियता स्वतः सबल हुन्छ । कृषि उत्पादनमा नयाँ प्रविधीबाट संलग्न हुने निजीक्षेत्रलाई सरकारले सहज रुपमा सहयोग गरि प्रोत्साहन गर्नु पर्दछ । सुविधा उपलब्ध गराउने सरकारी जटिल प्रक्रियाको निषेध अवस्थालाई हटाएर सर्व सुलभ बनाउनु पर्दछ । सरकारको ईमानदार प्रयास त कृषि उत्पादनको क्षेत्रमा संलग्न निजीक्षेत्रलाई वैदेशिक सहायता उपलब्ध गराई दिनु पनि हो । सो सम्भव नभए आफनो स्तरबाट देय सुविधा सहज उपलब्ध गराउनु पर्दछ । निजीक्षेत्रले देखाएको रुचिलाई प्रोत्साहित गरि सरकारले सहयोगि भूमिका निर्वाह गरे कृषिक्षेत्र उतपादन बढाउन कसैको मुख ताक्ने स्थितिमा रहँदैन । परिस्थितिले सरकारभन्दा जनतालाई कृषि उत्पादन बढाउन वैकल्पिक मार्ग खोज्न प्रेरित गरि रहेको छ ।

Leave a Comment

error: Content is protected !!