०६३ साल माघमा विद्रोह गरेदेखि हाल एक दशकसम्म अधिकारका लागि संघर्षरत मधेश राज्यविहीन तथा सिमान्तीकृत समुदायको अधिकारबारे आवाज उठाउँदै आएको छ । मधेशको माँगप्रति शासकवर्गको चर्को उदासीनताले मधेशलाई अन्तहीन समस्यामा फँसाई दिएको छ । सिमाँकनबारे पूर्वमा झापा, मोरङ्ग, सुन्सरी तथा पश्चिममा कैलाली, कंचनपुरलाई तल झारेर मधेशमा दुई प्रदेश बनाउने माँगलाई कथमपि सम्बोधन नगर्ने चिन्तन लिएका शासकवर्गको अगाडि देशको आधी जनसंख्याको संघर्षलाई साम्य गर्ने द्वार पनि भेटि रहेको छैन । सिमाँकन विवादलाई थाती राखेर मधेशका तपसीलका कुराहरुलाई संशोधन प्रस्तावमा सामेल गरि संसदमा नाटकीय विवाद देखाएर मधेशलाई किंकत्र्तव्यविमूढ बनाउने प्रयास गरिएको छ ।
मधेशलाई आन्दोलनबाट बाहिर राख्न शासकीय चिन्तन अहिले उदार र अनुदार दुई धारमा विभक्त भएको देखिएको छ । अनुदार पक्षले मधेशसंग चर्को अन्तर्विरोध राखेर मधेशको विपक्षमा उभिएको छ भने उदार पक्ष भने मधेशको कुरालाई उठाएर घावलाई सुम्सुम्याउन पनि खोजेको छ । विगत नाकाबन्दी आन्दोलनमा रहेका मधेशीको हौसला तोड्न ओली सरकारको दमनले धेरै हदसम्म सफल भएको उन्माद अनुदार पक्षमा कायमै देखिएको छ । ओली सरकारको दमन व्यवहारको प्रतिकारमा नगएर मधेश विस्तारै लचिलो रणनीति लिएर शान्तिपूर्ण आन्दोलन गरि रह्यो । शान्तिपूर्ण आन्दोलन पनि केही दिनपछि हरायो । यसै बीचमा संविधान बनेर घोषणा पनि भयो । मधेशको नाकाबन्दी जस्ता उग्र आन्दोलन असफल बनाएर मधेशलाई शान्त पार्ने अनुदार पक्षको रणनीति नै सही हो भन्ने अनुदार पक्षको मान्यता हो भने देशको आधी जनसंख्याको असन्तुष्टिलाई वेवास्ता गर्दा द्वन्द्वलाई बढावा हुने मान्यता लिएर अर्को उदार पक्ष लचिलो रणनीतिबाट मधेशलाई फसाँउन खोजेको छ ।
सहमतीय वा बहुमतीय महाजालमा फँसाएर राख्ने रणनीतिक चालमा मधेश फँसि सकेको स्पष्ट छ । भिन्न भिन्न विचारधाराका शासकवर्गको सेवामा तल्लीन मधेशीहरुलाई मधेश आन्दोलनले आफनै धरातलमा ल्याएर अधिकारका लागि जुन संघर्ष गरेको थियो त्यो नै शासकवर्गको लागि ठूलो चेतावनी थियो । मधेशको एकीकृत संघर्ष वर्गीय राज्यसत्ताको अन्तको कारण रहकोले यसलाई एकीकृत रुपमै प्रतिकार गर्न शासकवर्ग एकमत भएर रणनीति बनाएका थिए । आफ्ना पार्टी छोडेर गएका मधेशीहरुलाई फिर्ता गर्न पनि तीन दल सफल भएका छन् । विजय उन्मादमा ठूलो महत्वाकाँक्षा बोकेका मधेशका नेतृत्व मण्डली राज्यको चौतर्फी आक्रमणका शिकार भएर मधेशको सहानुभूति पनि बटुल्न सकेन । विभिन्न प्रलोभनमा पारेर मधेशमा तिनलाई घृणापात्रको रुपमा प्रस्तुत गर्ने राज्यको रणनीति पनि सफल देखियो ।
शासकवर्गको षडयन्त्र र प्रलोभनमा परि विगतमा मधेशका राजनीतिक अगुवाहरुले गरेका गतिविधीका कारण मधेशमा आफनै नेतृत्वप्रति जन्मिएको वितृष्णाबाट मनग्गै फायदा लिएका शासकवर्ग बडो कुशलतापूर्वक मधेशलाई आफनो माँगभन्दा पछाडि धकेल्न सफल भएको छ । विभिन्न पार्टी परित्याग गरि मधेशको प्लेटफार्ममा एकीकृत आवाज उठाउन आएका मधेशीहरुलाई पुनश्च फर्काएर मधेशको विरुद्ध प्रयोग गर्न पनि सफल भएका छन् । मधेशको माँग सम्बैधानकि आकार लिई सकेको अवस्थामा एमालेको कार्यकालमा कतिपय मधेशीहरु मधेशको माँगलाई नाजायज भनेर तथानाम गाली गरि दास मनोवृतिको प्रदर्शनबाट अनेक लाभका साथ उपाधि पनि पाए ।
आफनै नेतृत्व क्षमताको विकास गरि रहेको मधेशबाट भयभीत भई शासकवर्गले एकीकृत रणनीति तहत संविधान सभाबाट मधेशलाई बाहिर निकालि एकतर्फा संविधान बनाउन सफल भए । नेतृत्व मण्डलीलाई मधेशमा बदनाम गरि आफनो नेतृत्व कायम गर्ने तीनै दलको प्रयास पनि सफल नै देखियो । दास र गुलाम मनोवृतिमा रहेका मधेशीहरु शताब्दियौं भेदभावको अन्ध्यारो कोठाबाट निस्कन नपाउँदै पुनश्च अन्ध्यारो मै धकेलिएको छ । सशक्त राज्यसत्ता र विभाजित भई कमजोर बनेको मधेशको संघर्षको प्रतिफल मधेश पछाडि जान बाध्य भयो । मधेशले पाई रहेको असफलतामा पूर्ण जिम्मेवार राज्यसत्ता हो नै तर मधेशका राजनीतिक अगुवालाई पनि क्लिन चीट दिन मिल्दैन ।
मधेशको अधिकारको कुरा नेपाली राजनीतिमा तत्काल समाधान हुने कुरा दिवा स्वप्न भई सकेको छ । मधेशको मुद्दा जीवित नै छ भनेर मधेशका अगुवाहरुलाई चित्त बुझाउन काफी छ । भ्यागुताका धार्नीको रुपमा मधेशीलाई हेर्ने शासकहरु यिनलाई तितर बितर गर्न अनेक षडययन्त्रमा पारेका छन् । मधेशका राजनीतिक अगुवाहरु अनेक पार्टीको नेतृत्व गरि आन्दोलनमा रहेपनि भावनात्मक एकतामा बाँधिएका छैनन् । परिस्थितिले आन्दोलनका लागि एक ठाउँमा ल्याई पु¥याए पनि काँक्रा जस्तै सतहमा एक देखिने र भित्र अलग अलग रह्ने स्वाभावले पनि मधेशको एकतालाई खण्डित पारेको छ । राष्ट्रिय, क्षेत्रिय राजनीति हुँदै जातीय राजनीतिमा ओर्लेर सोचलाई पनि संकीर्ण बनाउँदै लगेका कारण मधेशको नेतृत्व क्षमता कमजोर भएकोले यस पार्टीप्रतिको मधेशीको आस्था घट्दै गएको छ । त्यसकारण पनि मधेशीहरु पलायनतिर अग्रसर छ । नेतृत्व पंक्तिले मधेशको वृहत उद्देश्य छाडेर व्यक्तिवादी स्वार्थको संकीर्णतामा सिमित भएपछि मधेशमा पार्टीप्रतिको आस्था घट्नु स्वाभाविक हो । महत्वाकाँक्षाको मदान्धतामा यी यथार्थहरु कसैले स्वीकार गर्न तयार छैनन् । पार्टी जीवनमा यी सब कुरा चलि रह्ने प्रक्रिया हो भन्छन् । पार्टी स्थापनाकालदेखि पार्टी प्रवेश कार्यक्रमले मदान्धता घट्नै दिई रहेको छैन । पार्टी प्रवेश कार्यक्रमबाट सन्तुष्टताको आत्मरतिमा लीन नेतृत्व पंक्तिले समग्रमा न पार्टीलाई अग्र भूमिकामा राख्न सके न मधेशलाई नै ।
यहाँ एउटा सान्दर्भिक प्रसंग राख्न चाहन्छु । एउटा फटेहाल भिखारी सडकमा एक रुपियाको एउटा सिक्का भेटायो । सिक्का टिपेर अगाडिको फाटेको जेबमा राख्यो । सिक्का झरेर फेरि अगाडिमा भेटायो । फेरि टिपेर जेबमा राख्यो । यो प्रक्रिया दोहोरिदै रह्यो । भिखारीको गन्तीमा सिक्का १० रुपियाँ पुग्यो । त्यसपछि सिक्का खसेर कहाँ पुग्यो । भोकाएको भिखारी उच्च मनोवलका साथ होटलमा पुग्यो । रवाफका साथ उसले खानेकुरा अर्डर ग¥यो । काउन्टरमा पैसा दिन पुगेपछि जेबबाट पैसा निकाल्न खोज्दा औंलाहरु बहिर निस्केपछि भिखारीको के हालत भयो होला । सोही हालतमा मधेशका दलहरु रवाफका साथ अगाडि बढि रहेका छन् तर प्रगति भने केही छैन । मधेश पछाडिको पछाडि नै ठेलिंदै गएको छ । पार्टी चलाउने जिम्मेवारीबाहेक मधेशको जिम्मेवारी भगवान भरोसे भएको छ ।
मधेश आन्दोलनभन्दा धेरै पूर्वदेखि नेतृत्व विकासको प्रयास भएको छ । चार दशकभन्दा बढि समयको अन्तरालमा मधेशले सक्षम नेतृत्वको विकास गर्न सकेन । मधेश आन्दोलनले मधेशलाई नेतृत्व गर्ने आवश्यक पूर्वाधार निर्माण गरि दिएपनि प्रतिस्पर्धीहरु क्षमताको अभावमा भूईंमा पछारिएर जातीवादी पार्टीमा सिमित हुन पुगे । विभाजित र संकीर्ण विचारभन्दामाथि उठ्न नपाई रहेको अवस्थालाई विचार गर्दा नेतृत्व क्षमताको अझै विकास हुन नसकेको स्पष्ट हुन्छ । यस्तो अवस्थामा अब मधेशको विकल्प के छ ?
जेजति कारणले होस्, मधेशका राजनीतिक दलहरु आफनो क्षमता, राजनीतिक दायरा बढाउन नसकेको अवस्थामा मधेशमा गैर मधेशी पार्टीहरुको विस्तार हुनु स्वाभाविक हो । उदार, अनुदार शक्तिको चेपमा परेको मधेशलाई सक्षम नेतृत्वको भरोसा दिन नयाँ शक्ति विस्तार भई रहेको छ । पूर्वमा झापा, मोरङ्ग, सुन्सरी तथा पश्चिममा कैलाली, कंचनपुरलाई तल झारेर मधेशमा दुई प्रदेशको माँगलाई स्वीकार गरेर नयाँ शक्ति मधेशमा आफनो प्रभाव बढाउन अनुकूल वातावरण पाएको छ । मधेश र सत्तापक्षका गठबन्धन शक्तिसंग आमने सामनेको भिडन्तमा व्यक्ति विशेषको रुपमा आएर पार्टी निर्माण गरि जनताको सहानुभूति पाई रहेको बावुराम भट्टराई मधेशमा पनि निकै लोकप्रिय बनि रहेका छन् । तीनै शीर्ष दलबाट प्रताडित तथा मधेशी दलहरुको निकम्मापनका कारण असन्तुष्ट बनेका मधेशी जमात विस्तारै नयाँ शक्तिलाई उँचाईमा पु¥याउने सपना बुन्दै छन् ।
उदार अनुदार शक्तिबाटै जन्मिएको मध्यमार्गी नयाँ शक्ति माओवादी केन्द्र तथा काँग्रेसभन्दा मधेशीसंग बढि नजिक हुन पुगेको छ । अन्ततः मधेशको नेतृत्व मधेशीलाई नदिएर गैर मधेशी पार्टीको औचित्यलाई पुनश्च कायम गराउने राज्यको रणनीति सफलतातिर बढि रहेको सजिलै अनुमान गर्न सकिन्छ । अनुपातमा अहिले पनि मधेशका राजनीतिक दलहरुभन्दा शीर्ष तीन दलको बढि प्रभाव रहेकोले नै “दुई चार जनाको भनाईमा संविधान संशोधन गर्न मिल्दैन” भन्ने कुराको आशय स्पष्ट हुन्छ । मधेशको समग्र राजनीतिलाई हेर्दा मधेशका दलहरुको औचित्यलाई मेटाएर गैर मधेशी पार्टीहरुको समानुपातिक प्रभाव जमाउन र मधेशले लिएको अडान गलत हो भनेर दार्शनिक पाठ पढाउन राज्य सफलतापूर्वक अग्रसर भई रहेको यथार्थलाई बुझेपनि मधेशका दलहरुको मोतियाविन्दुको अप्रेशन बिना केही कुरा दृष्टिगोचर नहुने स्पष्ट छ । समय छँदै सचेत हुने क्षमताको अभावमा हीनताबोधमा बाँचि रहेका मधेशका अगुवा दलहरु समयको बहावमा आफूलाई छोडि सकेका छन् । यसको परिणाम मधेशका मुद्दा र झण्डा त हातमा रहन्छ, पछाडि कोही नरह्ने अवस्था आउन सक्दछ । त्यसकारण पनि अज्ञानताको दादागिरी छोडेर एक छिन अन्योलमा रहेको मधेशको राजनीतिलाई दिशाबोध गर्न सहमतीका साथ अगाडि बढोस् मेरो शुभकामना ।
२०७३ पौष २९ गते मधेशवाणीमा प्रकाशित
