ज्ञानेन्द्र शाहको विज्ञप्तिले ल्याएको राजनीतिक तरंग

प्रतिशोधात्मक राजनीतिक गतिरोधलाई इंगित गर्दै पौष ६ गते पूर्व राजा ज्ञानेन्द्र शाहको प्रेस विज्ञप्ति सार्वजनिक भएपछि नेपाली राजनीति तरंगित भएको छ । शीर्ष दलका नेताहरुको कडा प्रतिक्रियात्मक अभिव्यक्ति आउन थालेको छ । मन्त्रि परिषदमा दरवार हत्याकाण्डको पुनश्च छानवीन गरि ज्ञानेन्द्र शाहलाई जेल हाल्ने कुरा उठेको छ । कसैले पुरिएको कुरालाई के कोट्याउने भनेर थामथुम पनि गरेको छ । जेहोस्, ताकतवर, दम्भी दलहरु अज्ञात भयले भयभीत भएर कडा प्रतिक्रिया दिन थालेका छन् ।

के छ त ज्ञानेन्द्र शाहको प्रेस विज्ञप्तिमा ? पाठकहरुका जानकारीका लागि मैले सो प्रेस विज्ञप्ति एवीन्यूज अनलाईन टी.वी.बाट साभार गरि जस्ताको त्यस्तै राखि दिएको छु । प्रेस विज्ञप्तिको आशय, शीर्ष दलहरुको प्रतिक्रिया, तथा आगामी राजनीतिमा यसले पार्ने प्रभाव आदिबारे सर्व साधारणलाई बुझ्न सजिलो होस् भनेर मैले यसबारे एउटा चित्र कोर्ने प्रयास गरेको छु –“आज हामी जुन माटोमा जन्मिएर कर्मक्षेत्रमा क्रियाशील छौं, त्यो श्रद्धा र आस्थाका धरोहर, पूर्खाहरुको बलिदान, अदम्य साहस र रगत पसिनाबाट आर्जित पवित्र भूमि हो । हामीलाई सिंगो संगठित, अविभाजित, सार्वभौम नेपाल दिएर जाने पूर्खाहरुले सुम्पिएको राष्ट्रलाई जोगाउनु, समृद्ध, समुन्नत र सुदृढ बनाउनु हाम्रो मूल दायित्व एवं कत्र्तव्य हो । तर वर्तमान अवस्थामा मूल्य र मान्यतामा आधारित राजनीति नहुनु, शक्ति पृथकीकरणको सिद्धान्तमा ह्रास आउनु र आपराधिक कार्यले नेपाली समाज प्रताडित बनि रहेको छ । दिनानुदिन कमजोर बन्दै गई रहेको राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहार भई रहेको छ । नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशःजलाई रहेको छ । आज नेपालीबीचको सामाजिक सदभाव मेटिदै छ भने तराई, पहाड र हिमालमाझको ऐक्यभाव तोड्ने भागिरथ प्रयत्न भई रहेको छ । ती सबै कार्य क्रान्तिकारी, परिवर्तनकारी, बलिदानी आदि शब्दभावको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य अशोभनीय मात्र नभई असह्य पनि बनि रहेको छ ।

निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधारहरु किमार्थ बलिया हुन सक्दैन । इतिहास कलंकित गर्दै निश्चित निहित स्वार्थ पूरा गर्न गरिएका कार्यहरु कदापि प्रशंसित हुन सक्दैन । माटो र मुटुसंंग जोडिएको देशभक्तिलाई लाँछित गरेर आधुनिकताको दुहाई दिएर मात्र कथित अग्रगमनको यात्राले कदापि गति लिन सक्दैन ।

नेपालको स्थाई सत्ता भनेको राष्ट्र र राष्ट्रवासी नै हुन् । त्यसैले यसलाई सवल पार्ने भाषा, धर्म, संस्कृति, इतिहास एवं त्यसले बोकेको आस्था र विश्वास नै त्यसको बलियो जग हो । त्यो नै सार्वभौम सत्ताको मूल आधार हो । नेपाली जन जीवनका मौलिक परम्परा, रीतिथिति, सद्भाव, सहिष्णुता, सहअस्तित्व र पद्धतिसंग जोडिएको यावत् विषय नै लौकिक सत्ता हो । दुर्भाग्यवश आजको सन्दर्भमा वाह्यशक्तिको अनुचित प्रभावमा अस्थाई सत्ता हावी गराईएको छ भने स्थाई सत्ता र लौकिक सत्ता क्रमशःधुमिल पारिएको छ । अझै पनि जनताका आस्थाहरु ढलेका छैनन् । नेपाली मन मस्तिष्कमा देशभक्तिको भावना ढलेको छैन । सबै नेपालीले राष्ट्र बचाउन फेरि एक पटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र त्यसको अक्षत अस्तित्व आफना सन्ततिलाई सुम्पन मुखर र प्रखर रुपले जाग्नै परेको छ,र लाग्नै परेको छ । राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउन परेको छ भने हामी मरेपनि नेपाल बाँचि रहोस् भन्ने संकल्पबाट नै नेपाल र नेपालीको अजय शक्तिको रक्षा गरौं । एक समय भडकी सकेपछि पाश्चातापले कुनै अर्थ राख्दैन ।”

वर्तमान नेपालको राजनीतिक अवस्थामा नेपाली जनताले सह्दै गरेको दुःखदर्दबाट आम नेपाली पीडित बनेको अवस्थामा जो कोहीको यस्तै उद्गार प्रकट हुन सक्दछ । नेपाली जनताले आफनो अधिकारको संरक्षण र शान्तिपूर्वक बाँच्न पाउने जनताको न्यूनतम अपेक्षाको अभावमा आम नेपालीले चिन्ता प्रगट गर्नु स्वाभाविक हो । नागरिक सरह बाँचि रहेको ज्ञानेन्द्र शाहको अभिव्यक्ति राजनीतिको धरातलीय अवस्थाप्रतिको चिन्ता हो वा अरु पनि केही आशय ? यस्तै भिन्न भिन्न अर्थबाट अहिले राजनीतिक माहौल आतंकित हुन पुगेको छ । एउटा नागरिक सरह बाँचि रहेको ज्ञानेन्द्र शाहको अभिव्यक्तिबाट शीर्ष तीनवटै राजनीतिक दलहरु भयभीत हुनुले उसको कमजोर अवस्थालाई उजागर गर्दछ । कति कमजोर अवस्थामा रहेका छन् दलहरु स्पष्ट भई रहेको छ ।

अहिले प्रतिक्रियाको बोली अनुसार दरवार हत्याकाण्डको पुनश्च छानवीन गरि ज्ञानेन्द्र शाहलाई जेल हाल्ने आवाज उठि रहेकोमा त्यो आवाजमा कुनै दम छैन । त्यो महज आतंकित भएको प्रतिक्रिया हो । दरवार हत्याकाण्डको निष्पक्ष छानवीन गराउने तथा दोषीलाई न्यायिक दायरामा ल्याउने सरकारको नैतिक दायित्व थियो तर के कति कारणले भयभीत सरकारले आफनो दायित्व पूरा गर्न असक्षम रहेको पनि १५ वर्ष बिती सक्यो । राजतन्त्र फाल्ने समयमा दरवार हत्याकाण्डको छानवीन गराउँदा राजनीतिक सन्तुलन विग्रिने डरले पन्छाईएपनि पछिका दिनमा शीर्ष दलहरुको आफनो प्रभूत्व कायम भई सकेको अवस्थामा राजा विरेन्द्रलाई कसले मा¥यो भन्ने नेपाली जनताको जिज्ञासालाई सरकारले पूरा गर्न सकेन । राजा विरेन्द्रको वंश नाश भयो तर उनले नेपालमा न्याय पाउन सकेन । दोषीलाई न्यायिक कठघरामा उभ्याएर सरकारले राजा विरेन्द्रको आत्मालाई शान्ति प्रदान गर्न यति सानो नैतिक दायित्व पनि पूरा गर्न सकेन ।

राजतन्त्र गएको छ, संरचना भत्केको छैन । ज्ञानेन्द्र शाहले त्यसलाई संगठित पारि आफूले पनि राजनीतिक भूमिका खोज्न चाहेकोले अनावश्यक चिन्ता व्यक्त गरेका छन् । खसवर्गको शाहवंशीय राष्ट्रियता समाप्त भएको छ । खसवर्गको दलीय राष्ट्रियता शुरु भएको छ । लोकतन्त्र आएका कारण एकल सामन्ती सत्ता दलीय प्रतिस्पर्धामा रुपान्तरित भएको छ । जेजति कारणले होस्, शक्तिमा रहेको ज्ञानेन्द्र शाहले बिना रक्तपात सत्ता हस्तान्तरण गरेको उदाहरण विरलै पाइन्छ । यही योगदानको बदलामा उनी स्पेस खोजेका हुन् । त्यो पनि भारतको सहयोगमा । ज्ञानेन्द्र शाहले बाह्यशक्तिको अनुचित प्रभाव भनेका छन् । कसलाई इशारा गरिएको हो, प्रष्ट छैन । यहाँ चीन र भारतको प्रत्यक्ष प्रभाव छ । असलमा खसवर्गीय राष्ट्रियता वैशाखीमा चलेको राष्ट्रियता हो । यो जहिले पनि परावलम्बी नै रह्यो । त्यसकारण नेपालबाट हट्नै नसक्ने विदेशी प्रभावको कुरा गरेर, विद्यमान राजनीति गतिरोधले गाँजेको अवस्थामा आफनो औचित्यको अनुकूलतामा नेपाली जनतालाई आफनो शक्तिमा संगठित गर्ने प्रयासभन्दा फरक देखिएको छैन । ज्ञानेन्द्र शाहले सोझै सत्ता लिने सम्भावना पनि छैन ।

राष्ट्रिय राजनीतिमा आफनो प्रभूत्व कायम गरि शीर्ष तीन दल (नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्र)े निर्विकल्प शासकको रुपमा परिणत भई सकेपछि यसले पनि खस राष्ट्रियतालाई मजबूत पार्न एक दशक लगाएर मधेशलाई दमन गरि राष्ट्रिय राजनीतिभन्दा बाहिर एउटा सीमामा बाँधेर राखि सकेको छ । राजतन्त्रमा असन्तुष्ट पक्ष समयको अन्तरालमा बलियो भएर संघर्ष गर्दै राजतन्त्रलाई उन्मूलन गरि सत्ता प्राप्त गरे । आज त्यो ठाउँमा मधेश संघर्षका लागि तयार भएर प्रतिक्षारत छ । हिजो सत्ताको उन्मादले जसरी ज्ञानेन्द्र शाहलाई खायो, आज शीर्ष शक्तिको रुपमा उन्मादित दलहरु पनि त्यसको शिकार हुँदै गएको छ । कम्युनिष्ट, काँग्रेसले राजतन्त्रको विरोधमा ६ दशकको लामो संघर्ष पछि राजतन्त्रको अन्त गर्न सक्यो । मधेशसंगको चर्को भेदभाव, व्यवहारले मधेशलाई त्यति लामो संघर्षमा राख्दैन । भावनात्मक एकतामा गाँसिएको मधेश चाँडै मुक्त हुने सम्भावनालाई नकार्न सक्दैन ।

विरासतमा पूर्खाहरुबाट पाएको नेपालको सुरक्षाप्रति ज्ञानेन्द्र शाहभन्दा दलहरु बढि चिन्तित छ । त्यो चिन्ता नभए मधेशलाई कसरी सीमाभन्दा बाहिर पठाईयो । देश टुक्र्याउने संघीयताको विरोधमा कसरी जनमत तयार पारि त्यसको प्रतिकारमा उभेको छ ? आन्दोलनमार्फत मधेशले ल्याएको संविधान सभा जस्तो विशालकाय महाप्रलयलाई ठेलेर, पेलेर पछाडि धकेल्ने प्रयास के खस राष्ट्रियताको ठूलो उदाहरण होईन ? आन्दोलन, पहिलो र दोश्रो संविधान सभा, राज्यपुनर्संरचना समिति, आयोग, मधेशी दलहरुको विभाजन, प्रलोभन, नाकाबन्दीसम्म आई पुग्दा कति कठीन र जटिल द्वारहरु पार गर्नु परेको थियो शासकवर्गलाई । त्यो पनि शान्तिपूर्ण तरिकाले । मधेशलाई सीमामा बाँधि सकेपछि, संविधान घोषणा भई सकेपछि मात्र यिनी आक्रामक बनेका हुन् ।

मधेश प्रदेशको परिभाषा, यसको सीमाँकन सम्बन्धि समस्यालाई संविधान सभाको स्थापनाकालदेखि नै विवादित बनाउने काम भयो । संघीयता लिने दिनेहरु डेडलाईनमा रहेकोले यो अन्तहीन विवादको रुपमा नेपाली राजनीतिमा स्थापित भई सकेको छ । मधेशलाई हरेक द्वारबाट धकेल्दै आएर शासकवगले संविधान घोषणा गरि जसरी विजय पर्व मनाई रहेका छन् त्यसरी नै राजनीतिक गतिरोधको गाँठ कस्सिदै गई रहेको छ । परिवर्तनको सहज दिशालाई अवरुद्ध गरेर राज्यसत्ताले मधेशलाई जसरी चुनौति दिएको छ यो कसैको हितमा छैन ।

देशभक्ति र वर्गीय राष्ट्रवाद अलग अलग कुरा हुन् । मधेशीमा जति देशभक्ति छ, आनुपातिक तुलना गर्दा कमै होला । देशप्रति मधेशलाई औधि माया छ । मधेश खस राष्ट्रियताको विरोधमा छ । त्यसैले मधेश दुई राष्ट्रियताको कुरा गरेको छ । खस शासकवर्ग जहिले पनि आफनो राष्ट्रियताको दुहाई दिएर आत्मसमर्पण गराउन खोजेको छ । खस राष्ट्रियतासंग मधेशको चर्को अन्तर्विरोध रहेकोले यो साझा नबनुञ्जेल मधेश पछाडि नहट्ने निश्चित छ । मधेश नेपाली राज्यसत्ताको मेरुदण्ड रहेकोले मधेश बिना राज्यसत्ताको अस्तित्वको कल्पना गर्न सकिन्न ।
२०७३ पौष २२ गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!