चमत्कारी चुनावको विस्मयकारी परिणाम

देशमा ‘डेमोक्रेटिक फोर्स’ लाई मजबूत बनाउन संविधान सभाको दोश्रो चुनावमा ठूलो आँधी बेहरी चलाइयो । तथाकथित ‘डेमोक्रेटिक फोर्स’ मा नाम चलाईएका नेपाली काँग्रेस, एमाले संविधान सभामा पहिलाभन्दा सशक्त भएर निर्णायक भूमिकामा आए । त्यो आँधी बेहरीले जसको लागि संविधान सभा खडा गरियो, त्यो परिवर्तनकारी शक्तिलाई धुलो पीठो बनाई दियो । अब संविधान सभा जसले विगतमा संघीयता विरुद्धमा जनमत तयार पारेर पहिलो संविधान सभालाई अन्त गरेको थियो, उसको अधीन भएको छ । परिवर्तनकारी शक्ति संविधान सभामा केही गर्न नसक्ने तमाशे बनेको छ ।

संविधान सभा–२ को चुनावी परिणामले विगतमा जनाधिकार स्थापित गर्न उठेका माओवादी द्वन्द्व, जन आन्दोलन र मधेश आन्दोलनको औचित्यलाई समाप्त पार्दै जनताले परिवर्तन चाहँदैन भन्न खोजेको छ । विगतमा भएका आन्दोलनहरुलाई तिलस्मी रुप दिएर मिथ्या साबित गरि ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ समेतलाई नेपाली राजनीतिबाट विस्थापित गर्ने भूमिकाको प्रारम्भिक रुप तयार गर्न यथास्थितिवादी कटिबद्ध रहनेमा कुनै शंका छैन । ‘जनता परिवर्तन चाहँदैन’ भनेर जसरी चुनावको वैधानिकताबाट साबित गरियो, त्यस्तै राज्य पुनर्संरचना गर्ने जनताको चाहनालाई भस्मीभूत गर्न के बेर ? आर्थिक लाभको उच्च महत्वाकाँक्षाको पूर्तिलाई एकमात्र उद्देश्य बनाएर सत्ताका लागि हानथाप गर्ने नेपाली काँग्रेस र एमाले अहिले संविधान सभामा झन् राजनीतिक शिरोमणीको रुपमा उदाएपछि विगतमा छाडिएका निकृष्ट खेलहरुलाई अझ सशक्तताका साथ शुरु गर्ने कुरामा दुईमत छैन । ६९ दिनसम्म निरर्थक संसद अवरुद्ध गरेको इतिहास एमालेसंग छ भने बहुमत प्राप्त सरकार चलाउन नसक्ने असक्षमताको इतिहास काँग्रेसले पनि बनाएर राखेको छ । राजनीतिको लामो अभ्यासले पनि यिनलाई व्यक्तिगत मनोकाँक्षाभन्दा बाहिर निकाल्न सकेको छैन । देशको तरल राजनीतिलाई स्थायित्व प्रदान गर्ने, उठेका समस्यालाई समाधान गर्ने, अवरुद्ध आद्योगिक प्रतिष्ठानलाई सुचारु गर्न अनुकूल बातावरण प्रदान गर्ने, देशका ठप्प भएका विकास आयोजनाहरुलाई निरन्तरता दिने, विकासको गतिलाई अगाडि बढाउने आदि लोकहितका कुरा यिनको उद्देश्यभित्र पर्दैन किनभने यति लामो समयसम्म कसैलाई सरकारमा बस्न सृजित प्रतिकूलताले इजाजत दिदैन । त्यसकारण अल्पकालिक अवधिलाई सबैले धनलाभकै माध्यम बनाउन उत्तम मानेको छ । कसैलाई सक्षमता छ भने सरकार बनाउन अवसर छैन । सक्षमता र अवसर दुबै जुरेको अवस्थामा प्रतिपक्षको प्रहारले सरकार धाराशायी भएको हुन्छ । प्रतिपक्षले सरकार बनायो भने ती सबै क्रियाकलापको पुनरावृति हुन्छ र सरकारको स्थायित्व कुनै पनि अवस्थामा हुन सक्दैन । नेपाली राजनीति स्तरहीनताका कारण लामो समयदेखि सरकार बनाउने बिगार्ने नियति भोगि रहेको छ ।
वर्गीय चिन्तनको घेराबाट बाहिर निस्कन नसक्दा जनतामाझ अलोकप्रिय बन्दै गएको नेपाली काँग्रेस, एमालेको संविधान सभा–२ को चुनावको परिणामले लोकप्रियताको ग्राफलाई ह्वातै बढाई दिएको कारणले पनि यो संविधान सभा अर्थहीन हुने आशंका बढेको छ ।
चुनावी परिणामले संविधान सभामा जन सरोकारको शक्तिलाई निषेध गरेर शक्ति सन्तुलन बिगारेर जुन राजनीतिक परिदृश्य उपस्थित गरेको छ यसले संविधान बनाउनेभन्दा पनि द्वन्द्व जगाउन अभिप्रेरित छ । शक्तिको असन्तुलनमा विवाद नजन्मोस् भनेर निर्देशित रुपमा सहमतीय राजनीतिको सहारा खोजिदै छ । जनाधिकार खोज्ने शक्तिलाई पाखा लगाइएका कारण उत्पन्न पीडा कम गर्न सहमतीय राजनीतिको मलहम लगाउन खोजिएको मात्र हो । एमाओवादी, मधेशी, जनजाती पार्टीहरु न्यूनताको चरमविन्दुमा रहेकोले यसको सहभागिताको कुनै अर्थ छैन । एमाले, काँग्रेस मिल्यो भने तिनीहरुसंग मिल्न आतुर साना दलहरु यसैपनि प्रतीक्षारत् छन् । उनीहरु बेकारमा सैद्धान्तिक विवादमा अल्झेर समय व्यर्थ गुमाउन चाहँदैन । काँग्रेस एमाले मिलेर सहज रुपलेनै सरकार बनाउन सक्छन् ।
संविधान सभाको यो चमत्कारी चुनावको विस्मयकारी परिणामबाट वोट हाल्ने जनता, विगत संविधान सभामा चरम उत्कर्षमा रहेका जनताको अधिकार स्थापित गर्ने परिवर्तनकारी (अहिले लोप भएका) शक्ति, विगतको संविधान सभामा संघीयताको विरोधमा अहम् भूमिका निर्वाह गर्ने अहिले संविधान सभामा शीर्ष स्थान ग्रहण गर्ने यथास्थितिवादी शक्ति, संलग्न सरकारी निकाय तथा चासो राख्ने संघ संस्थाहरु सबै चकित भएका छन् । धरातलीय यथार्थभन्दा विपरितको परिणाम आउँदा चकित हुनु स्वाभाविकै हो । संविधान सभा जनताको लागि हो, शासकवर्गको लागि होइन । तर यहाँ शासकवर्गलाई नै संविधान सभा सुम्पिएको छ । यसले जन अपेक्षित संविधान निर्माण गरि जनतालाई दियो भने फेरि अर्को चमत्कार हुनेमा दुईमत छैन । जालझेलको राजनीतिमा विद्यावारिधि गरेको शासकवर्गले माओवादी द्वन्द्व, जन आन्दोलन तथा मधेश आन्दोलनलाई निस्तेज पार्न सफलतापूर्वक खेलेको बारिकीय कपट खेल तथा संविधान सभा–२ चुनावले एकपक्षीय रुपमा पुनश्च उनैलाई शीर्षासन प्रदान गरेको सफलताले जनाधिकार प्राप्त गर्ने हरेक द्वार बन्द भई सकेको अवस्थामा अन्ततोगत्वा आन्दोलननै निर्विकल्प हुन जान्छ ।
चुनावपूर्वका मधेशवाणी अँकबाट उद्धृत केही तथ्यहरुः
“मधेशका प्रमुख दलहरुका अधिकाँश अध्यक्षहरुको चुनावमा पराजित हुने अवस्था छ । सीट पनि कम आएर पार्टीहरु खुम्चिने सम्भावना छ । अति महत्वाकाँक्षी बनेका मधेशी दलहरुको हैसियत परिक्षण गर्न यो चुनाव अति उपयुक्त माध्यम साबित हुनेछ । शायद यहींबाट मधेशले आफनो अधिकार प्राप्तिको रेखाचित्र कोर्नेछ । अधिकार प्राप्तिका हरेक बाटो बन्द भई सकेको अवस्थामा सम्भवतः मधेशले बाटो खोल्ने रणनीति लिनेछ ।” २०७० कार्तिक १ गतेको अँकबाट
“मधेशको मुद्दामा पनि मिल्न नसक्ने मधेशी दलहरु अन्ततोगत्वा गैरमधेशी दलहरुलाई नै फायदा पुर्‍याउने बाटोमा लागेका छन् ।” २०७० कार्तिक १ गतेको अँकबाट
“जनताबाट वोट लिएर जनादेश विपरित काम गर्ने मधेशका मसीहाहरुका लागि त यो चुनाव अति कठीन भएको छ । भोग्नु पर्ने संकटको पीडालाई दबाएर, केहि गर्न नसक्ने कम्मर भाँच्चिएको सिंह जस्तै “हाम्रो पार्टी ठूलो पार्टीको रुपमा उदाएर आउने” गर्जना गर्न भने छोडेको छैन । जनास्था गुमाएका दलहरु यसपाली पैसाको खोलो बगाएर जित्न सक्छन् । यसको अभावमा सबैको अस्तित्व संकटमा जाने, हैसियत छोट्टिने, अस्तित्व समाप्त हुने, जमानत जफत हुने आदि अनेक संकटबाट गुज्रिनु पर्ने अवस्था मधेशवादी दलले भोग्नु पर्नेछ । मधेशमा राजनीतिक असन्तुष्टता, अराजकता सृजना गर्ने महारथीहरुले पनि यसपालीको चुनावमा यसको कटु स्वाद चाख्नु पर्दछ ।” ०७० कार्तिक ८ गतेको अँकबाट ।
“मधेशी नेताको अहंकारलाई यसपाली मधेशी जनताले निश्चय तोडि दिनेछन् । यदि चुनाव भयो नै भने संघीयता विरोधी शक्तिहरु धेरै बलियो अवस्थामा संविधान सभामा देखिने छन् ।” कार्तिक २२ गतेको अँकबाट ।
“मधेशवादी अन्धभक्त विश्लेषकहरु जसले मधेशले अन्ततोगत्वा मधेशी दललाईनै वोट दिन्छन् भन्ने भ्रम पालेका थिए, प्रतिक्रियात्मक रुपका मतदाताले गैर मधेशी दलहरुलाई व्यापक मात्रामा वोट दिएर विश्लेषकको भ्रमलाई तोडि दिएको छ ।” २०७० मंसीर ७ गतेको अँकबाट ।

“मधेशी दलहरुको भ्रमलाई तोड्दै मधेशले आफनो राजनीतिक अराजकताको राम्रो चित्र मधेशी दलहरुलाई देखाई दिएको छ ।” २०७० मंसीर ७ गतेको अँकबाट ।

राजनीतिक सम्भावनाको खेल हो । राजनीतिको पक्ष विपक्ष हुन्छ । पक्ष विपक्षसंग सकारात्मक नकारात्मक विचारहरु एकर्काको प्रतिस्पर्धी बनेको हुन्छ । आफना विचारहरुलाई सफलता प्राप्त गर्ने रणनीतिक रुपमा परिस्थितिसंग समायोजन गर्ने दक्षतानै नेतृत्वको कुशलता हो । यो कुशलताले विचारको सक्रियताकै आधारमा सकारात्मक वा नकारात्मक परिस्थितिलाई जन्म दिन्छ । त्यसैबाट अनुकूलता पाएर राजनीतिलाई अगाडि बढाईन्छ । विद्यमान परिस्थितिमा सकारात्मक, नकारात्मक के कुन प्रभावले राजनीतिलाई प्रभावित गरि रहेको छ भन्ने कुराबाट लापरवाह हुनेले विपरितको परिणाम भोग्दै प्रतिस्पर्धाबाट बाहिरिने गर्छ । अधिकार प्राप्त गर्ने कडा राजनीतिक प्रतिस्पर्धामा रहेका दलहरुको सचेतता र सावधानी आवश्यक रहेकोले यही सचेतता र सावधानी खसेर अस्तित्वनै समाप्त हुने खतराबाट जोगाउँछ र अग्रगति प्रदान गर्दछ । मठ मन्दिरको महन्थ जस्तो सहज परिस्थिति राजनीति प्रतिस्पर्धाका महन्थहरुको हुँदैन ।
विगतमा राज्यद्वारा अधिकार आनदोलनलाई निस्तेज पार्न गरिएको संस्थागत षडयन्त्रको फेहरिस्त मधेशका राजनीतिक दलहरुको जानकारीभन्दा बाहिर छैन । यो षडयन्त्रमा मधेशका मुद्दालाई तिलाञ्जली दिएर अनैतिक रुपमा सहभागी हुन पुगेका तथा राजनीतिक रुपले विखण्डित भएका दलहरुको संविधान सभाको चुनावमा पनि चेत खुलेन । राज्यको षडयन्त्र विरुद्ध दलहरु एकजूट भएर चुनावलाई उपयोग गर्न सकेन । परिणामस्वरुप संविधान सभामा सबै दलहरु न्यून हैसियतमा आएपछि मधेशको अधिकारको कुरा त अब डाँडा पारिको घाम जस्तै भएको छ ।
मुखले मधेश मुद्दाप्रति प्रतिबद्धता देखाउने मधेशका दलहरुसंग यसको प्राप्ति तर्फ कुनै रणनीति नै छैन । यिनीहरु मधेश मुद्दाप्रति ओठे भक्ति देखाएर आफनो रोटी सेक्ने प्रवृतिले मधेश मुद्दा किञ्चित पनि अगाडि नबढ्ने निश्चित छ । संविधान सभाको चुनावी परिणामले मधेशलाई आन्दोलनको बाटो देखाई दिएको अवस्थामा मधेशले अधिकार प्राप्तिको दिशा अब सशक्त रुपले अगाडि बढ्नै पर्ने हुन्छ ।
२०७० पौष ५ गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!