(१९१८ ई० – २०१३ ई०)
दक्षिण अफ्रिकामा अल्प संख्यक गोरा जातीको सरकारले राखेको रंगभेद नीतिको विरुद्ध नेल्सन मण्डेलाले शुरु गरेको लडाई बीसौं शताब्दिको धेरै चर्चित घटनाको रुपमा रह्यो । बहु संख्यक काला जातीको दबिएको अधिकार स्थापना हेतु थालिएको संघर्ष संसारभरिको समर्थन पाउँदै परिणाममुखी बन्यो र त्यहाँको गोरा सरकारको सत्तालाई धाराशायी गरेरै छाड्यो । विभेद विरुद्धको संघर्षलाई आजीवन जारी राखेका कारण नेल्सन मण्डेला विश्वस्तरका लब्धप्रतिष्ठ राजनेताको रुपमा चिनिए । २७ वर्षको जेल जीवन, झण्डै आधा शताब्दिको लामो संघर्षको जीवन्तता प्रदान गर्न नेल्सन मण्डेलामा रहेको सच्चरित्र, सहिष्णुता, विचारप्रतिको दृढ अडान, समभाव आदि पर्याप्त थियो । आफनो जीवनको दुई तिहाई भाग संघर्षमानै समर्पित गरेको नेल्सन मण्डेला संसारमा विभेदमा परेका सम्पूर्ण मुक्तिकामी जनताको प्रेरणाको स्रोतको रुपमा स्थापित हुनु भयो । १९९० मा काला जातीको शासन स्थापना भयो । नेल्सन मण्डेला राष्ट्रपति हुनु भयो । एक दशक राजनीतिमा सक्रिय रही नेल्सन मण्डेला सार्वजनिक जीवनबाट सन्यास लिनु भयो । आफनो परिवारसंग जीवन बिताउँदै ५ दिसम्बर २०१३ का दिन भेदभाव र शोषणमा परेका संसारका मुक्तिकामी जनताका मसीहा, राजनीतिका शिखर पुरुष, महामानव नेल्सन मण्डेला पृथ्वीबाट सदाका लागि बिदा लिनु भयो ।
संसारभरि शोकाकुल बनेका राजनेताहरुले श्रद्धाञ्जली दिनका लागि १० दिनसम्म नेल्सन मण्डेलाका पार्थिव शरीर राखिएको छ । संसारका ७० देशभन्दा बढीले नेल्सन मण्डेलालाई श्रद्धाँजली दिई सकेका छन् । संसार विकसित र सभ्य हुँदै गई रहेको परिपेक्षमा अहिले पनि बर्बर शोषण र विभेद भोगी रहेका जनताका प्रेरणास्रोतको रुपमा रहेका नेल्सन मण्डेलालाई मधेशका मुक्तिकामी जनताको तर्फबाट हार्दिक श्रद्धाञ्जली टक्रयाउन चाहन्छु । २१औं शताब्दिको सभ्य समाजमा पनि नेपाली राज्यसत्ताले आन्तरिक उपनिवेश बनाएर रंगभेदको आधारमा भेदभाव गरिने मधेशीलाई सतत् संघर्षशील रहने प्रेरणा नेल्सन मण्डेलाको सुकीर्तिले दिई रहनेछ । दक्षिण अफ्रिकामा रहेको गोरा र कालाको भेद जस्तै यहाँ पनि पहाडी र मधेशीको भेद आन्तरिक रुपमा ज्वालामुखीको रुपमा विद्यमान रहेको अवस्था छ । लोकतन्त्रको जामा लगाएर भेदभावको यो चरम रुपलाई छोप्न खोज्दा ठुल्ठूला संघर्षहरु सतहमा देखिने गर्दछ । बेला बेलामा उम्लिने यो मुक्ति संघर्ष अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाए पनि समर्थन पाउन सकेको छैन ।
“मेरो कल्पना एउटा यस्तो लोकतान्त्रिक र मुक्त समाजको हो जहाँ सबैजना सौहाद्रपूर्ण तरिकाबाट बस्न सकून र सबैलााई समान अवसर मिलोस् । यो यस्तो सोच हो जसलाई हासिल गर्न म जीउन चाहन्छु । तर आवश्यकता पर्यो भने म यसको लागि मर्न पनि तयार छु ।” –नेल्सन मण्डेला
नेल्सन मण्डेलाको जन्म १८ जुलाई १९१८ ई० मा दक्षिण अफ्र्रिकाको इस्टर्न केपटाउनको एउटा सानो गाउँको मदीबा कबीलामा भएको थियो । कबीलाले यिनको नाम रोलिहलाहला दालिभङ्गा राखेको थियो । स्कूलका शिक्षकले उनको नाम अंग्रेजीमा नेल्सन राखी दियो । ९ वर्षको अवस्थामा थैंबु कबीलाका उनका पिता गदला हेनरीको देहावसान भयो । उनको आमाको नाम नासैन्नी फैन्नी थियो । उनका पिता राजपरिवारमा सल्लाहकार थिए । नेल्सन मण्डेलाको रेखदेख थैंबु कबिलाका मुखिया जोंगिनतावा दलिनद्याबोले गर्यो । आफनो स्कूलमा मेधावी छात्रको रुपमा नेल्सन मण्डेला नाम कमाउनु भएको थियो ।
केही शिक्षा प्राप्त गरेपछि उनको नजर आफनो कबीला जस्तै अरुपनि कबीलाहरुको दयनीय जीवनमाथि पर्यो । यी विभेदका कारणहरु पनि उनको नजरबाट बच्न सकेन । यसका मुख्य कारण गोरा सरकारका रंगभेद नीति नै हो भनेर ठम्याएपछि यसका मुक्तिका उपाय खोज्न नेल्सन मण्डेला अगाडि बढ्नु भयो । काला जातीलाई रंगको आधारमा पशु तुल्य व्यवहार गर्ने अल्प संख्यक गोरा जातीको शासनको विरुद्ध सशक्त आवाज उठाउन खडा गरिएको राजनीतिक संगठन “अफ्रिकी नेशनल काँग्रेस” संग मण्डेला १९४३ को हिउँदमा जुड्नु भयो । पहिले सामान्य कार्यकर्ताको रुपमा काम गर्दै आफनो जुझारुपनले गर्दा अफ्रिकी नेशनल काँग्रेसको युवा लीगको अध्यक्ष र पछि अफ्रिकी नेशनल काँग्रेसको अध्यक्ष भई संघर्षलाई अगाडी बढाउनु भयो । राजनीतिक पार्टीको रुपमा राष्ट्रिय स्तरमा पार्टीले प्रभावकारी भूमिका खेल्न सकेको थिएन । नेल्सन मण्डेलाले आफनो नेतृत्वमा पार्टीलाई गतिशील बनायो ।
सन् १९४४ मा एभेलिन माससंग नेल्सन मण्डेलाको पहिलो विवाह सम्पन्न भयो । ४ सन्तान भई सकेपछि १३ वर्षको अन्तरालमा एभेलिन माससंग सम्बन्ध विच्छेद भयो । सन् १९५८ मा उनले पुनः बिन्नी माडिकिजेलासंग विवाह गरे जसले पछि नेल्सन मण्डेलालाई जेलबाट निकाल्ने अभियानमा मात्र लागिन बरु नेल्सन मण्डेलाको जीवन संगिनी पनि बनिन् । उनको संघर्षमा बिन्नी मण्डेलाको योगदान प्रशंसनीय छ । ६९ जना मानिसको ज्यान जाने गरि भएको शार्पभिल हत्याकाण्ड पछि सन् १९६० मा अफ्रिकी नेशनल काँग्रेसमाथि प्रतिबन्ध लागेपछि नेल्सन मण्डेला भूमिगत हुनु भयो । तर अफ्रिकी नेशनल काँग्रेसको रंगभेद नीति विरोधी कार्यक्रम भने बन्द भएन । अफ्रिकी अर्थतन्त्रलाई प्रभाव पार्ने किसिमले ए.एन.सी.का विरोध कार्यक्रम तीब्र हुन थाल्यो । ए.एन.सी.का धेरै नेताहरु पक्राउ परे । नेल्सन मण्डेला पनि गिरफ्तार हुनु भयो । हिंसा र ध्वंश गरि राजद्रोहको अपराधमा निजलाई आजीवन कारावासको सजाय तोकेर जेल चलान गरियो ।
दक्षिण अफ्रिकामा रंगभेद नीतिको विरुद्ध लडि रहेको अफ्रिकी नेशनल काँग्रेसलाई अन्तर्राष्ट्रिय समर्थन प्राप्त भई रहेको थियो । गोरा सरकारका राष्ट्रपति एफ० डब्ल्यू० डी० क्लार्कलाई १९६७ मा यूरोपियन देशहरुले आर्थिक नाकाबन्दी लगाउन शुरु गरेका थिए । १९६८ र १९६९ मा आमा र छोराको दुर्घटनामा परि निधन हुँदा नेल्सन मण्डेलालाई संस्कारमा भाग लिन सरकारद्वारा अनुमति दिईएन । अन्तर्राष्ट्रिय दबावलाई तीब्र बनाउन अफ्रिकी नेशनल काँग्रेसका कार्यकर्ताहरु १९८२ ई० मा लाखौंको संख्यामा आन्दोलन चर्काउन सडकमा आए । आन्दोलनको तीब्रताले गोरा सरकार विरुद्ध अन्तर्राष्ट्रिय समुदाय गोलबन्द हुन थाल्यो । आर्थिक नाकाबन्दी कस्सिन थाले पछि गोरा सरकारलाई संकट पर्न थाल्यो । १९८८ मा ब्रिटेनको बेम्बले रंगशालामा आयोजित साँगितिक कार्यक्रममा लाखौंको संख्यामा सहभागीहरुले नेल्सन मण्डेलालाई रिहा गर्न त्यहाँको सरकारलाई आग्रह गरेको कुरालाई टी.वी.ले प्रसारण गरेको निकै प्रभाव पर्यो । अन्ततः १९९० ई० मा गोरा सरकारले अफ्रिकी नेशनल काँग्रेसमाथिको प्रतिबन्ध हटाएर नेल्सन मण्डेला लगायत ए.एन.सी.का सबै नेता कार्यकर्तालाई रिहा गर्यो । त्यसपछि बहुजातीय अन्तरिम सरकार गठन गरियो । १९९२ ई० मा आफनी श्रीमती बिन्नीसंगको सम्बन्ध विच्छेद भयो । १९९३ ई० मा नेल्सन मण्डेला नोबेल पुरस्कारबाट सम्मानित हुनु भयो । १९९४ को चुनावमा दक्षिण अफ्रिकाको इतिहासमा पहिलो पल्ट अश्वेतले पनि मतदानमा भाग लिएका थिए । त्यो चुनावमा नेल्सन मण्डेला अत्यधिक मतले विजयी भई राष्ट्रपति बन्ने अवसर पाउनु भयो । राष्ट्रपतिको रुपमा नेल्सन मण्डेलाले देशमा रहेको गरिबी, अशिक्षा, भेदभाव, असमानता, न्याय आदि बिषयलाई प्राथमिकताका साथ अगाडि बढाउनु भयो । पाँच वर्षको कार्यकालमा दक्षिण अफ्रिकामा गरिबी निवारण तथा विकास निर्माणको काममा उल्लेखनीय योगदान गरि १९९९ मा उहाँ राजनीतिक जीवनबाट उहाँ सन्यास लिनु भयो । आफनो ८० औं जन्मदिनको अवसर पारेर अर्थात् १९९८ ई० मा उहाँले विधवा ग्रासा माचेलसंग पुनश्च विवाह गर्नु भयो ।
देशमा आर्थिक सहयोग पुग्ने उद्देश्यले उहाँले २०१० मा विश्वकप फुटवल आयोजना गरि आयोजक राष्ट्रको सम्मान दिलाउनु भएको थियो । २००४ देखि उनले सार्वजनिक जीवन त्याग्नु भयो । गरिबी, असमानता र भेदभावसंग लड्ने महान योद्धालाई विश्वले जीउँदै पनि धेरै सम्मान गरि सकेको छ । अहिले श्रद्धाञ्जलीका लागि राखिएको पार्थिव शरिरमा संसारका कुना काप्चाबाट मानिसहरु श्रद्धा सुमन चढाउन मानव सागरनै ओर्लेका छन् ।
“मेरो परिवारको आजसम्म कोई पनि स्कूल गएको छैन……। शिक्षिका मिंगानेले मेरो नाम नेल्सन हो भन्नु भयो । मेरो खास नाम नेल्सन किन राखियो..मलाई थाहा छैन । – नेल्सन मण्डेला

विश्व चर्चित शिखर पुरुष नेल्सन मण्डेलाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि दक्षिण अफ्रिकाको प्रिटोरियाको युनियन बिल्डिङमा राखिएको छ । ११ दिसम्बरको ‘द टेलिग्राफ’ले अहिलेसम्म विश्वका ८०,००० मानिस आएर नेल्सन मण्डेलालाई श्रद्धाञ्जली दिई सकेका छन् । ८० देशका राजनेता, कूटनयिक, वैज्ञानिक, साहित्यकार तथा सर्वसाधारणले नेल्सन मण्डेलालाई अन्तिम बिदाई दिई सकेका छन् । द टेलिग्राफ अगाडि लेख्छ– “अमेरिकाका राष्ट्रपति बाराक ओवामाले आफनो वक्तव्यमा नेल्सन मण्डेलाको प्रशंसा गर्दै भन्नु भयो– बीसौं शताब्दिका लडाकू नेल्सन मण्डेला दक्षिण अफ्रिकामा मात्र होइन, विश्वलाईनै असमानता, गरिबी तथा भेदभावसंग लड्न प्रेरित गर्नु भयो ।”
२०७० मंसीर २८ गते मधेशवाणीमा प्रकाशित
