मधेशीदलहरु अधिकार होइन, अवसर खोजेको हो ।

राज्यसत्तामा वर्चस्व कायम गर्न एमाओवादीे चुनावका लागि मधेशमा बलियो पकड बनाउन र दीर्घकालीन रुपमा मधेशलाई आफनो पञ्जाबाट उम्कन नदिन लिएको रणनीतिलाई जति गम्भीरतासाथ मधेशका विश्लेषक, चिन्तकहरु लिई रहेका छन, मधेशीदलहरु यसप्रति गम्भीर बन्न सकि रहेको छैन् वा भनूँ उनकै इशारामा चल्ने कठपूतली बनेका छन् । पूर्व, पश्चिम र उत्तरतिर आफनो सशक्त साँगठनिक आधार बनाई सकेको एमाओवादीको अब मधेशमा खुट्टा जमाउन खोजेको छ । मधेशलाई टारगेट गरि लिएको चुनावी रणनीतिले मधेशमा रहेको आश र त्रासबाट एमाओवादी निकै फायदा उठाउन सक्ने अवस्थालाई हेर्दा हेर्दै पनि एकल नेतृत्वको महत्वाकाँक्षा र संकुचित विचार बोकेका मधेशी दलहरु बिना कुनै रणनीति चुनावमा एक्ला एक्लै उत्रेका छन् । विगतको अनैतिक गतिविधीमा मधेशको विश्वास गुमाउन पुगेका मधेशका दलहरु एक्लै लड्दा अत्यधिक सीट जित्ने भ्रम पालेका छन् । राष्ट्रिय राजनीतिबाट क्षेत्रीय राजनीतिमा झरेका मधेशी नेताहरु मधेशलाई अधिकार सम्पन्न गर्ने दिशामा गम्भीर छन् भन्ने लागेको थियो, तर क्षेत्रीय राजनीतिभन्दा जातीय राजनीतिमा झरेपछि यिनीहरु घोर अवसरवादी हुन, स्पष्ट हुन थालियो । यिनी अधिकारका लागि होइन, अवसरको खोजीमा जहाँ पनि पुग्छन् । विभिन्न माँगहरु तेर्स्याउँदै उपेन्द्र यादब भागबण्डा पाए चुनावलाई सघाउने अन्यथा आन्दोलन गर्ने मूडमा छन् भने माओवादीको डुँगामा सवार मधेशी मोर्चा यथास्थ्िितमानै आफनो फायदा देख्ने भ्रममा छन् । सबै मधेशी दलहरुको अस्तित्व संकटमा परेको बेला उनीहरुको रणनीति अधिकार आन्दोलनको दिशामा पटक्कै छैन, आफनो अस्तित्व कसरी बचाउने भन्ने रणनीतिमा उनले जातीय खेमालाई अंगालेकाहुन् । यादब, थारु, पचपनियाँ र फोर्वार्ड ब्लक मधेश अहिले यी चार पार्टीमा विभक्त भई अधिकारको खोजीमा लागेको छ । यी चारै जातीलाई आफनो आफनो कित्तामा ल्याएर एकअर्काप्रति आक्रामक बनाउँदै मत संकलन गर्ने यी पार्टीहरुको कस्तो रणनीति हो, बझ्न कठीन भई रहेको छ । मधेशी पार्टीहरुको सीट अरुले लिएर जाने समस्याप्रति पनि गम्भीर बन्न नसक्नु यो कस्तो खाले राजनीति मधेशी नेताहरुले गर्न खोजी रहेका छन् । के यो मधेशको हितमा छ ?
“जातीवादी राजनीतिबाट मधेश अधिकार पाउँदैन” यो मन्त्र सबै नेताको जिभ्रोमा झुण्डिए पनि यसै राजनीतिलाई सबैले विजयको आधार पनि मानेको छ । यसको परिणाम जेसुकै होस्, राजनीतिक व्यापारीहरु भने आफनो रणनीतिभन्दा फरक दिशामा जाने अवस्थामा छैन । अर्थात् मधेश टुटेपनि यिनले लिएको उद्देश्य बदल्नेवाला छैन । राज्य यही चाहेको छ । राज्यलाई एकीकृत मधेश होइन, टुक्रिएको मधेश चाहिएको छ । टुक्रिएको मधेशमा चाकडीबाहेक अरु उपाय हुँदैन, एकताबद्ध मधेशमा संघर्षका कुरा विद्यमान रहेको राज्यले भोगी सकेको छ । यहाँ आएर मधेशका कथित अवसरवादी नेताहरु अवसरको खोजी गर्दै राज्यका मतियार बन्न पुगेका छन् । मधेशलाई तोडेर राज्यलाई हस्तान्तरण गर्ने र आफूपनि केही भाग पाउने अभिप्रायले खतरनाक रणनीति अख्तियार गरेका छन् ।
मधेश आन्दोलनपछि ३३ कोटि देउता सरह उदाएर, नाइटोको बल झिकेर मधेशलाई मुक्ति दिलाउने शपथ खाने कथित नेताहरु राज्यको चाकडी गर्दै मधेशको मुक्ति आन्दोलनलाई पछाडि धकेलेर नाम कमाएका अहिले जातिवादको नयाँ संस्करणमा मधेश सामू उपस्थित भएका छन् । मधेश दुईखाले आन्तरिक घातमा परेको छ । अवसरवादीले ल्याएको यथास्थितिवादी विचार र यसबाट प्रतिक्रियात्मक रुपमा जन्मेको उग्र विचार दुबै विचार मधेशका दुश्मन हुन् र राज्य षडयन्त्रका मतियार पनि । राज्यसंग लड्ने कुरा त परै जावोस्, मधेशका दलहरुले उपहार स्वरुप दिएको यो दुई विचारसंग मधेशलाइ संघर्ष गर्न कठीन भएको छ । त्यसमा थप गरिएको जातीवादी राजनीति मधेशलाई तोड्ने घातक हतियार पनि चलाइएको हो । अन्तरसंघर्षमा फँसाएर खण्डित अवस्थाको मधेशलाई परम्परागत चाकडी शैलीमा रुपान्तरण गर्ने राज्यको खतरनाक रणनीतिलाई मधेशका कथित नेताहरुले अनुभूत पनि गर्न सकेका छैनन् । गरे पनि मधेशको बिग्रेको अवस्थालाई एक अर्कामाथि दोषारोपण गरि उम्कने चारित्रिक लक्षण प्रदर्शित गर्न पछि परेका छैनन् ।
मधेश आन्दोलन पछि तीब्र रुपमा विकसित भएको अवसरवाद मधेशलाई गाँज्दै, अधिकार आन्दोलनप्रति विकर्षण फैलाउँदै, मधेशलाई यथास्थितिमा बस्न बाध्य तुल्याएको छ । पाँच वर्षको अभ्यासमा अवसरवाद पनि परिस्कृत भई तीन रुपमा श्रेणीबद्ध भएको छ । व्यक्तिगत अवसरवाद, समूहगत अवसरवाद र जातिगत अवसरवाद, यी तीन तहको आन्तरिक संघर्षले मधेशलाई भित्रैदेखि कमजोर बनाउन लागेको छ । मधेशी पार्टीलाई अल्पमतमा पारेर गैर मधेशी पार्टीहरुले मधेशलाई आफनो प्रभावमा लिएपछि यी दलहरुको के अवस्था होला सहजै अनुमान गर्न सकिन्छ । यी सम्भावनाहरुप्रति पनि सम्बेदनशील बन्न नसक्ने मधेशी पार्टीहरु आफूसहित मधेशलाई डुबाउने निर्णय नै लिएका छन जस्तो लाग्दैन ? मधेशमा हुन लागेको षडयन्त्रको विरुद्ध अहिले सबै पार्टीहरु एकजूट भै सामना गर्ने दायित्व निर्वाह गर्नु पर्दथ्यो । अरु पार्टीहरुको ध्रुवीकरण अभियानबाट पनि पाठ सिकेर एकजूट भई अगाडि बढ्ने नैतिक जिम्मेवारी वहन गर्नु पर्दथ्यो । पार्टीहरुलाई यो दायित्वबोध भई रहेको छैन । यसकै बुँई चढेर राज्य मधेशबाट अधिकार खोज्ने शक्तिहरुलाई नामेट पार्ने दमन नीति अख्तियार गर्ने भन्ने कुरा पनि बुझ्न सकि रहेको छैन । विगतमा मधेशी नेताहरुबाट हस्ताक्षर गराएर मधेशमा ल्याएको विशेष सुरक्षा नीति तहत ४००० निर्दोष मधेशी युवाहरुलाई जेलमा कोंचे जस्तै यिनीहरुकै माध्यमबाट अधिकार खोज्ने शक्तिहरुलाई राज्यले समाप्त पार्ने रणनीति बनाएको छ । मधेशले आवाज उठाएन भने एकात्मक राज्यको स्वरुप शताब्दियौं फेरिनेवाला छैन जो राज्यको सुखद पक्ष हो । यसलाई अजर अमर बनाउनका लागि मधेशलाई कमजोर बनाउन आवश्यक छ । राज्यको यही रणनीतिलाई अगाडि बढाउन मधेशका दलहरुले पनि सहयोगी भूमिका निर्वाह गरि रहेका छन् । जाने अनजाने मधेशवादी दलहरु मधेशलाई जोड्न होइन तोड्नमा नै संलग्न देखिन्छ । आफनो अस्तित्व जोगाउन लिएको रणनीति पनि मधेशलाई कमजोर पार्ने नै ठहरिएको छ । जाती जातीबीच बैमनष्यता फैलाएर फायदा लिने मधेशी दलहरुको रणनीति कदापि मधेश हितमा नहुने प्रष्ट छ । मधेश आन्दोलनको मर्म विपरित रहेको यो रणनीतिबाट आफूले उठाउने फयदाभन्दा राज्यलाई दीर्घकालीन रुपमा फायदा पुग्ने कुरा मधेशका दलहरुले बुझेर पनि लाचार अवस्थामा देखिएका छन् । आपसी अस्वस्थकर प्रतिस्पर्धामा लीन पार्टीहरु एकताका लागि छलफल पनि अगाडि बढाउन अग्रसर देखिएको छैन । सार्वजनिक रुपमा वार्ता चलि रहेको भनिए पनि यथार्थमा शीर्ष दलहरुबीच वार्ता नै भएको छैन ।
अवसरवाद आफनो उद्देश्य प्राप्तिको दिशामा सधैं क्रियाशील रहने प्राकृतिक नियम हो । अवसरवाद आफैमा नराम्रो कुरा होइन । यसको गुण अवगुण प्रयोगको आधारमा निर्धारित हुन्छ । यसले मानिसमा सधैं गतिशीलता नै प्रदान गर्छ र विकासको सर्वमान्य सिद्धान्तलाई अगाडि बढाउँछ । व्यक्ति, समाज र देशको स्तरोन्नतिको प्रक्रियामा सामेल मानिसलाई सधैं अग्रदिशामा उन्मुख गराउने अवसरवाद एउटा निश्चत उद्देश्य प्राप्त गर्न अगाडि बढेको हुन्छ । यसले उद्देश्य प्राप्तिको दिशामा आन्दोलनको स्वरुपलाई पनि निर्धारण गर्दछ । एउटा निश्चत उद्देश्य लिएर मानिस सधैं अवसरको खोजीमा क्रियाशील रहँदै सो प्राप्त गर्न अथक परिश्रम गरेको हुन्छ । असफलता र सफलताको प्रक्रियामा मानिस सधैं गतिशील रहने यो प्राकृतिक नियम अन्तर्गत उसले आफनो गन्तव्य प्राप्त गर्दछ ।
मधेशले आफनो अधिकार र पहिचान स्थापित गर्न दर्जनौं शहादत दिएर एउटा निश्चित उद्देश्यका लागि ल्याएको अवसरलाई मधेशहितमा प्रयोग गर्नुको सट्टा मधेशका नेताहरुले धनोपार्जनको माध्यम बनाएकोले अवसरवादको गलत प्रयोग भएको हो । व्यक्तिवादी प्रवृतिको तीव्रतर विकासले सबैले आफनो लागि अवसर खोज्दै मधेशको स्वार्थलाई तिलाञ्जली दिएकाले नै यिनी अवसरवादीको संज्ञा पाएका हुन् । मधेशलाई अधिकार सम्पन्न गराउने प्रतिबद्धता जाहेर गरेर आएका मधेशी नेताहरु स्वआर्जनको अवसरलाई प्रयोग गरि धनलाभ प्राप्त गरेर पनि मधेशको सम्झना नआउनु, मधेशमा भई रहेको षडयन्त्रप्रति चासो र चिन्ता नलिनु, मधेशको मुद्दामा पनि एक ठाउँमा आउन नसक्नु आदिले यिनी सिद्धान्त र विचारविहीन, नितान्त व्यक्तिवादी चरित्र रहेको ठहरिदैन र ? यस्तो सम्बेदनशील अवस्थामा पनि मधेशले आफनो नेताहरुलाई अवसरवादको दलदलबाट निकाल्न सकि रहेको छैन । अहिले सबै अवसर गुमि सकेको अवस्थामा मधेशी नेताहरु मधेशको यथार्थतालाई बुझ्न पनि तयार नरहेको, विगतको कमी कमजोरिहरुलाई सच्याएर अगाडि बढ्ने मनोभावना नरहेको व्यवहारले मधेशलाई अझ धेरै चिन्तित तुल्याएको छ । मधेश मुदामा एक हुने मधेशको सेन्टीमेन्ट अहिले पनि जिवीतै रहेको अवस्थामा मधेशका नेताहरु विखण्डित भएर नै राजनीति गर्ने निर्णय मधेशको अखण्ड एकताको हितमा कदापि हुन सक्दैन । भनिन्छ सधैं उन्माद कायम रहँदैन । उन्मादबाट मुक्ति पाएपछि मानिसलाई यथार्थसंग साक्षात्कार हुन्छ । के मधेशका दलहरुका लागि त्यो अवस्था आएको छैन ? वा यसलाई विनाशको लक्षण बुझुँ । हाम्रा मिक्रशत्ति भारतले पनि मधेशमा च्याउ जस्तो उम्रेको पार्टीबाट मधेशको हुने दुर्दशालाई आकलन गरि सबै पार्टीलाई एक हुन सुझाव वा दवाव दिई रहँदा पनि पार्टीहरु आपसी वैमनष्यता त्यागी एकताका लागि अगाडि बढ्न तयार देखिदैन । अहिले बिलम्व नै त भै सकेको छैन, तर पहल थाल्न आवश्यक छ । मधेशको एउटै राजनीतिक धरातलले मधेशले बेहोर्नु पर्ने क्षतिलाई रोक्न सक्दछ । सबैको अस्तित्व संकटमा रहेको र मेलमिलापको बध्यात्मक परिस्थिति पनि सृजना भई रहेकोले एकताको सम्भावना प्रवल हुने देखिन्छ । विनाश काले विपरित बुद्धि जस्तै दलहरु यथास्थितिमा नै चुनाव लड्न गयो भने यी दलहरुको कलंकित कालो इतिहास बन्ने निश्चित छ ।
२०७० आषाढ २१ गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!