मधेश मुद्दालाई सम्बोधन गराउने जिम्मेवारी लिएका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मधेशी पार्टीको रुपमा अव्वल पहिचानका साथ संघीय सरकार तथा प्रदेश २ मा आफ्नो राम्रो वर्चस्व बनाएका छन् । समाजवादी पार्टी संघीय सरकारलाई समर्थन दिएर सरकारमा छन् भने राजपा समर्थन फिर्ता लिएर भूमिकाविहीन किंकत्र्तव्यविमुढ अवस्थामा निष्क्रिय भएका छन् ।
सत्तारुढ पार्टी नेकपाको शक्तिशाली सरकारको तीव्र रुपमा बढेको स्वेच्छाचारिताले वैकल्पिक शक्ति निर्माणको परिस्थिति सृजना गर्न बाध्य गरेको परिणामस्वरुप संघीय समाजवादी फोरम र नयाँ शक्तिको समिश्रणले समाजवादी पार्टी अस्तित्वमा आएको प्रष्ट छ । उपेन्द्र यादब र बावुराम भट्टराईको मिलनले मधेश मुद्दाप्रति आस्था राख्ने राजपालाई पनि समाजवादीसंग एकीकरण गर्ने दबाव सृजना गरेको छ । भिन्न चरित्रका ६ वटा पार्टीको एकीकरण भई बनेको राजपा धेरै दिन टिक्न सक्दैन भन्ने अडकलवाजीलाई राजपाले मिथ्या साबित गरि दिएको छ । राजपा समाजवादीको एकीकरणको सघन वार्ताले दुवै पार्टीलाई धेरै नजिक ल्याई दिएको स्रोतको भनाई छ । तर पनि एक नहुने कारण के हो ?
मधेशको मुद्दा अनुत्तरित रह्यो । मधेश आन्दोलन पश्चात् खसवर्गीय राज्यसत्ताले आफ्नो अस्तित्व समाप्त पार्ने मधेशलाई प्रतिस्पर्धीको रुपमा देख्यो । मधेशमाथि शदियौंदेखि भई रहेको विभेदको उत्पीडनलाई देखेन । त्यही उत्पीडनको विरुद्ध मधेशले गरेको विद्रोहलाई आफ्नो अस्तित्वको दोषी ठहरायो र त्यसदिनदेखि मधेशमाथि नयाँ नयाँ षडयन्त्र गर्दै मधेशलाई धकेलेर बञ्चितीकरणको रेखा पार गरि दियो । संघीयताको नाममा मधेशलाई ६ टुक्रामा बाँडेर मधेशलाई आवाज पनि उठाउन नसक्ने गरि कमजोर पारेर राखि दियो । मधेशको अधिकारवादी आन्दोलन अनुत्तरित अवस्थामा रहेकोले उर्जा पाएर कुनै बेला भडकिन सक्ने आश लिएर राजनीतिबाट निराश भएका बावुराम भट्टराई आफ्नो स्टाटस नमिल्ने उपेन्द्र यादबसंग एकीकरण गर्न बाध्य भएको हो । किनकि सिंहदरवारलाई चुनौती दिने मधेश नै हो । आन्दोलनको उद्गम स्थल मधेश भएकोले सबैको निशाना मधेश नै बनेको छ ।
चुनावताका मधेशमा पलायनको ठूलो बाढी आएको थियो । यो बाढीले मधेशको राजनीतिक अवस्थालाई तहसनहस बनाएर धेरै क्षति पु¥यायो । यो क्षतिले मधेशी पराजित मानसिकताको पीडा पनि भोगे । तर पनि प्रदेश २ मा मधेशले सरकार बनायो । मधेशमा अवसरवादीको कमी छैन । मधेशमा पलायनको बाढी ल्याउने अवसरवादी नै थिए । अवसरवादी मित्र र शत्रु दुवै भूमिकामा रहन्छन् । यसलाई अवसरसंग मतलब हुन्छ, उद्देश्य वा लक्ष्यसंग होइन । समस्या यिनको असल व्यवस्थापनको हो । सामाजिक रुपान्तरणको सैद्धन्तिक धरातललाई अक्षुण्ण राखी अवसरवादलाई अराजक हुनबाट रोक्न र असल व्यवस्थापन गर्न नेतृत्ववर्गको कुशल क्षमतामाथि निर्भर गर्दछ ।
अवसरवाद नराम्रो होइन । समाज रुपान्तरणको दिशामा आउने हरेक आन्दोलन पनि अवसरको खोजीमा निस्केको हुन्छ । तर त्यो अवसर समूहको लागि होस् व्यक्तिको लागि होइन । समूहको लागि अवसरवादीको प्रयोगले समाज विकासमा राम्रो परिणाम देखाउँछ भने व्यक्तिवादी अवसरवाद पतनको बाटोमा लैजान्छ । मधेश आन्दोलनमा यही देखिएको हो । तत्कालीन फोरमले मधेश आन्दोलन उठायो भने अवसरवादीले यो संघर्षलाई उत्कर्षमा लग्यो । अवसर प्राप्तिको दिशामा दृढतापूर्वक फोरमको नेतृत्वमा संघर्षमा अगाडि बढाएका अवसरवादीहरु शहादत दिंदै यसलाई परिणाममा पु¥याए । मधेशी जन अधिकार फोरमले पार्टी र अवसरवादलाई समुचित व्यवस्थापन गर्न सकेन र अवसरवादीहरु अराजक अवस्थामा पुग्यो । पार्टीको स्वामित्व पनि अवसरवादको हातमा गएपछि पार्टी विभाजनको परिणाम भोग्नु प¥यो । विजयोन्मादमा पार्टी नेतृत्वले जन्मि रहेको खराब प्रवृतिले दुष्परिणाम ल्याउने कुराप्रति उदासीन रह्यो । कालान्तरमा यसको नराम्रो परिणाम देखायो ।
फोरमको जन्मकालदेखि नै तत्कालीन तमलोपा, सद्भावना पार्टीसंग एकीकरणको कुरा चल्दै आयो तर यो अहिलेसम्म निष्कर्षमा पुगेन । ६ बटा पार्टीले पारस्परिक भिन्न मत राखेपनि एकीकरण गरेर लामो अभ्यासमा छन् । एउटा आश्चर्यको कुरा के छ भने तत्कालीन मधेशी जन अधिकार फोरमबाट फुटेकाहरु फोरमसंग कहिल्यै मिल्न आएन भने तमलोपा र सदभावना पार्टीबाट फुटेर जानेहरु सबै राजपामा समाहित भएर सामुहिक नेतृत्वको अभ्यास गरि रहेका छन् । समाजवादी पार्टी र राजपाबीचको मिलनमध्य केही कुरा त छ जसले घनीभूत वार्तापछि पनि मिल्न दिई रहेको छैन । त्यो हो उपेन्द्रको देवत्व महत्वाकाँक्षा । एमालेलाई कहिल्यै महत्व नदिने प्रचण्ड प्रतिरक्षाका लागि जसरी आत्म समर्पण गरे, उपेन्द्रसंग त्यो बाध्यता पनि छैन । तर वैकल्पिक शक्ति निर्माण गर्न परिस्थितिले उपेन्द्र यादबलाई नै अवसर दिएकोले सरकारलाई छाडेर कसरी यो दायित्व पूरा गर्ने भन्ने सटीक काट खोज्न नसकेकोले बिलम्ब भई रहेको अडकल गर्न सकिन्छ । तर राजपालाई मिलाउने बाध्यता पनि छ ।
शक्तिशाली सरकारको अकर्मण्यता, स्वेच्छाचारिता तथा अलोकतान्त्रिक व्यवहारले वैकल्पिक शक्ति निर्माण गर्न प्रेरित गरेको परिस्थितिको निर्णायक नेतृत्वको माला पहिरिने उपेन्द्र यादब वैकल्पिक शक्ति निर्माण गर्ने सार्वजनिक दावा पेश गरेतापनि राजपाका ६ जना नेतालाई पचाउन सकि रहेको छैन । फोरमबाट टुक्रिएर गएका शक्तिहरु फिर्ता आउन नसक्नुको कारण पनि उपेन्द्र यादबको देवत्व महत्वाकाँक्षा नै हो । अशोक राई र बावुराम भट्टराईको प्रवेशबाट जनतामा समाजवादी पार्टीको जति प्रभाव पहाडमा बढेको देखिन्छ, त्यति मधेशमा आकर्षण बढेको पाइँदैन । दनादन प्रवेश गर्ने समूहले नै प्रष्ट गरेको छ । उपेन्द्र यादब विस्तारै अल्पमतमा पर्दै जाने समस्यालाई राजपाले नै हटाउन सक्नेछ । मधेशप्रति सद्भाव राख्ने पार्टीहरुले एकीकरण धेरै ठूलो समस्या बन्न सक्दैन । किनकि सत्तारुढ पार्टीको आकार यति ठूलो छ कि एक्लै एक्लै यी पार्टीहरु भोटे कुकुरको भुकाईभन्दा बढि प्रभाव बनाउन सक्दैन । त्यसकारण पनि वैकल्पिक शक्ति निर्माणको बाध्यता सबैको सामु छ ।
राजपासंगको मिलनमा राजपाभित्रका शक्तिहरुको रुढिवादी सोच पनि बाधक बनेको हुन सक्दछ । यस्ता सोचहरु तथा समाजवादी पार्टीको एकीकरण अभियानमा मुख्य भूमिका रहेकोले अविलम्ब व्यवधानलाई हटाएर एकीकरणको मार्ग प्रशस्त गर्नु पर्दछ । ताकि अरु साना साना पार्टीहरु समाहित हुने बाटो खुलोस् । सरकारको विरुद्ध नेपाली काँग्रेससंग सहकार्य गरेर सदन अवरुद्ध गर्ने राजपा संघर्षलाई परिणाममुखी बनाउने जुन भूमिका खेल्यो, बाहिर पनि वैकल्पिक शक्तिसंग सहकार्य गर्न आउने नेपाली काँग्रेसलाई पुनश्च आमन्त्रण गर्न सक्दछ र एउटा सशक्त ताकतको निर्माण हुन सक्दछ ।
२०७६ श्रावण ३१ गते मधेशवाणीमा प्रकाशित
