मानव प्रकृतिको उत्कृष्ट रचना हो । आदिम युगको बर्बरताबाट मुक्त भई यसले आफनो उत्कृष्ट पहिचान स्थापित गर्न शताब्दियौं संघर्ष गर्दै सभ्य मानव समाजको स्थापना गरेको हो । सूक्ष्मदेखि स्थूल मानव अधिकारको विश्लेषण र बहाल गर्न तथा मानवको समान हक दिलाउन सदैव अग्रसर रहेको यो मानव समाज उत्कृष्टताको उत्कर्ष पाई सकेको छ ? के हाम्रो समाजमा मानवता पूर्णविरामको अवस्थालाई प्राप्त गरि सकेको छ ?
बर्बर युगदेखि अपनाएको अनुसन्धानात्मक जीवन शैली, निरन्तर विकासका चमत्कारी जग स्थापना गर्दै मानव सुन्दर र आकर्षक संसारको निर्माण ग¥यो । मानव सभ्यताको चरमोत्कर्ष अवस्था प्राप्त गर्न सतत् प्रयासरत मानव समाजले निर्मित संरचना भङ्ग नहोस भनेर सामाजिक आचार संहिता निर्माण गरि यसलाई संरक्षित पार्दै लग्यो । मानव अगाडि बढ्दै जाँदा सामाजिक मर्यादा, अनुशासन जसले मानव सभ्यतालाई आकर्षक बनाएको थियो को जग कसरी हल्लिन थालिएको हो ?
मानव सभ्यताको बर्बर युग (अज्ञानताको युग) मा बहुपति, पितापति, पुत्रपति, पौत्रपति आदि प्रथा रहेको पाइन्छ । यौनेच्छा स्वतन्त्र र अराजक थियो । अराजक यौन प्रताडनाको शिकार भएर पनि वंश परम्परालाई अगाडि बढाउने नारि शक्तिको रुपमा पूज्य थिईन । आफू जस्तै सुन्दर, बलशाली, क्षमतावान् नरनारी उत्पन्न गरि दिने अद्भूत क्षमता राख्ने नारिप्रति सबै आसक्त भएर कबिलाकै रुपमा रहेको मानव समाजमा मातृसत्ता कायम भयो । मातृसत्ता विकसित हुँदै मानवमा रहेको यौनेच्छा विस्तारै अनुशासनभित्र कैद हुँदै गयो र अनुशासनको घेराभित्र बाँधियो । सामाजिक मर्यादा, नैतिक आचरण, अनुशासनभित्र मानव समाज अझ आकर्षक देखिन लाग्दा यो सर्वमान्य सिद्धान्तको रुपमा मान्यता पायो । मानव सभ्य हुन लाग्दाको अवस्थामा पनि यदाकदा यौन बर्बरताका घटनाहरु नघटेका होईनन तर यौन अराजकताले सामाजिक मान्यता पाएन । यौन अराजकतामा शताब्दियौंसम्म विकृत अवस्थालाई भोग्दै मानव समाज त्यसलाई अझ मान्यता दिने पक्षमा गएन र यो सामाजिक आचार संहिताभित्र बाँधिएर मानव सभ्यतालाई अझ आकर्षित बनाउँदै लग्यो । वंश परम्परालाई अगाडि बढाउने नारिको यो चमत्कार देखेर पुरुष नारिप्रति सहिष्णु हुँदै गयो । भक्षकभन्दा पनि पुरुष नारिको रक्षकको रुपमा देखा प¥यो ।
प्रकृतिले हरेक जीवमा यौनेच्छाको अद्भूत गुण प्रदान गरेको छ । सृष्टिलाई अगाडि बढाउन कै लागि सबै जीवलाई यस प्रक्रियामा भाग लिन प्रकृतिले यो गुण दिएको हो । मानिसबाहेक अरु जीवमा प्रकृति आफैले उनको यौन चाहनालाई नियन्त्रण गरेको छ भने मानिसको यौन चाहना विल्कुल अनियन्त्रित र स्वतन्त्र छ । अरु जीवहरुमा एउटा निश्चित समयमा यौनेच्छा जाग्ने र वंश परम्पराको यो अनिवार्य प्रक्रिया सम्पन्न गर्ने प्रकृति प्रदत्त यो गुण प्राकृतिक मर्यादाभित्र बाँधिएको अति रोमाँचक बिषय हो । तर मानवमा यौनेच्छालाई स्वतन्त्र किन छाडियो, यसको उत्तर पनि प्रकृतिको उत्कृष्ट रचनाको रुपमा रहेको मानव नै हो । यौनेच्छाको गुण दोषको आधारमा मानिस आफै यसलाई व्यवस्थित गर्दै जाने भएर होला प्रकृतिले यसलाई नियन्त्रित गर्न खोजेन । जेहोस, शताब्दियौंको यौन विकृतिले मानिसलाई यौन प्रक्रियालाई मर्यादित बनाउन आचार संहिताको जन्म दिन बाध्य ग¥यो ।
मानव सभ्यतालाई कलंकित पार्ने उद्देश्यले अहिले नेपाली समाजमा घटित बलात्कारका घटनाहरु आदिम युगको यौन बर्बरतालाई पनि मात दिएको छ । दिनहुँ बलात्कारको घटनामा नाबालिक बालिकाहरु पर्दै जानु, यौन विकृतिको यो ताण्डवले निश्चय पनि मानव समाजको सामाजिक विज्ञानलाई चुनौती दिन खोजेको छ । मानिसमा प्रगटिई रहेको यौनेच्छाको पाशविक रुपले दिनहुँ घटाई रहेको घटना तथा सुरक्षा निकायको नियन्त्रणभन्दा पनि बाहिर देखिने अपराधका यी श्रृँखलाहरु मानव सभ्यताको सामाजिक संरचनालाई नै ध्वस्त पार्ने हो कि जस्तो भएको छ ।
वयोवृद्धदेखि युवासम्मले बलात्कारका घटनाका लागि अवोध बालिकालाई छान्ने निर्णय संगठित रुपले नगरे पनि घटनामा मतैक्य हुनु र जहाँ पनि ६ वर्ष, ८ वर्ष तथा १४ वर्ष मुनिकी बालिका बलात्कृत हुनु सामाजिक विज्ञानमा देखिएका यस्ता यौन विकृति देशका उष्ण तथा शीत प्रदेशमा एकैसाथ देखिनु आश्चर्यको विषय बनेको छ । नेपालमा मात्र नभई छिमेकी मुलुक भारतमा पनि बालिका बलात्कारका कतिपय घटनाहरु राष्ट्रिय चर्चाका बिषय बनि रहेका छन् । समाजमा अकस्मात् प्रस्फुटित भई रहेका पाशविक यौन तृष्णा अनियन्त्रित रुपमा बढ्दै जानु अनुसन्धानको बिषय नै बनेको छ । आधुनिक मानव समाजको सभ्यतालाई नै चुनौति दिने दिनहुँ घटि रहने यस्ता विकृत यौनजन्य अपराधले किन स्वतन्त्र हुन खोजि रहेको छ ? यौनेच्छामा आई रहेको यस्ता परिवर्तनले समाजलाई पुनश्च बर्बरता दिन धकेल्न खोजेको त होईन ? के आधुनिक समाजले यस्ता यौन प्रवृतिलाई मान्यता दिन सक्दछ ? यस्ता कतिपय प्रश्नहरु समाजका अगाडि उपस्थित भएको छ ।
मानवले समाजको निर्माण गरेको छ भने समाजले मानवको । त्यसैले मानव सामाजिक प्राणी कहलिएको हो । मानवमा खोजको स्वभाव, र समय सापेक्ष परिवर्तनले आधुनिक सभ्य मानव समाजको जन्म दिएको हो । आफनो आवश्यकता अनुसार हरेक कुरालाई व्यवस्थित गर्दै मानव अनुपातिक रुपमा आफनो समाजलाई समय सापेक्ष परिवर्तित गर्दै आएको हो । विकसित समाजदेखि अविकसित समाजसम्म यौन व्यवहार सन्तुलित र नियन्त्रित अवस्थामा नै देखिन्छ । २१औं शताब्दिको मानव समाज चरम विकासको खोजिमा अगाडि बढि रहेको छ । विकासको यो दौडमा यौन चाहना यसै पनि प्राथमिकताका बिषय भई रहेको छैन ।
अशिक्षित समाज, यौन असन्तुष्टता, असन्तुलित यौन व्यवहार, असन्तुलित खानपान, यौन शिक्षाको अभाव तथा यौनेत्तेजना बढाउने वातावरणनै यस्ता यौनजन्य अपराधका प्रमुख कारण हुन् । अवसरविहीन युवाहरु मानसिक उत्तेजनाबाट मुक्ति पाउन मादक पदार्थको सेवन गर्ने, यौन उत्तेजना भडकाएर एकछिनको लागि भएपनि मानसिक तनावबाट मुक्त हुने प्रयासको निरन्तर अभ्यासले पाशविक प्रवृतिको अत्यधिक विकास भई सकेपछि यस्ता जघन्य अपराध देखा पर्दछ । प्रतिकूल परिस्थितिले मानव विकासको नकारात्मक पक्षलाई मात्र विकास गर्ने भएकोले समाजमा यस्ता प्रवृति अत्यधिक मात्रामा देखिएको हो ।
मानवको नकारात्मक पक्षलाई उजागर गर्ने प्रतिकूल परिस्थितिमा (अवसरविहीनता, गरिवी, अराजक खानपान व्यवहार, अशिक्षा) लामो समयसम्म बस्दा मानवीय गुणको कल्पना गर्नु मूर्खता नै हो । यसले पाशविकतालाई नै जन्म दिन्छ । मानवीय गुण विकास गर्न अनुकूल परिस्थिति हुनु आवश्यक छ । यस्तो परिस्थिति प्रदान गर्न सरकारको जिम्मेवारी हो । नेपालमा विद्यमान राजनीतिक बिषम परिस्थिति तथा सरकारमा भएकाहरुको नितान्त व्यक्तिवादी सोचले राष्ट्रिय दायित्वलाई बिर्सि सकेको छ । मानवीय गुणको विकास तथा अधिकार प्राप्त गर्नु सम्पूर्ण नेपाली नागरिकको नैसर्गिक हक हो । यसैका लागि नेपाली जनता बलिदानी लडाई लड्दै आएको हो ।
व्यक्तिगत स्वार्थमा डुबेका राजनीतिक दलका नेताहरु जनादेश बमोजिमको सहज निकासलाई पचाउन सकि रहेको छैन । जनाधिकार स्थापित गर्दा आफनो अस्तित्व गुम्ने वर्गीय स्वार्थमा दलहरुको मतैक्य भएकोले यसको विरुद्धमा उठाईएका राजनीतिक गतिरोधको गाँठो नफुक्किने हिसावले कस्सिएर गएको छ । जनाधिकार लिने र दिने बीचको कडा मानसिकताको द्वन्द्वले संक्रमणकालीन अवस्था लम्बिदै गएको अवस्थामा एकातिर ५० लाख युवाहरु अवसरको अभावमा विदेशिएको छ भने समाजमा रहेका बेरोजगार युवाहरु गलत बाटोमा जान बाध्य बनाईएका छन् । समाजमा अमानवीय घटनाहरु घट्नु पछाडि यो पनि एउटा प्रमुख कारण हो ।
प्रतिकूल परिस्थितिले मानवमा स्थापित गरि रहेको दुष्प्रवृतिले नेपाली समाजको अहित नै गर्दछ । द्वन्द्वकालमा मानवाधिकार उल्लंघनका धेरै घटनाहरु घटे । यसलाई द्वन्द्वको कारण भनेर सन्तोष गरियो । द्वन्द्वपछिका दिनमा मानव उल्लंघनका यस्ता शर्मनाक घटनाहरु श्रृँखलाबद्ध रुपमा घटि रहेका छन कि त्यो वर्णन गर्ने लायकको छैन । समाजमा फैलि रहेको विकृतिको निदान अदालतबाट आजीवन कारावासको सजाय दिएर हुँदैन । समाजमा दुष्प्रवृति फैलिन नदिन प्रतिकूल वातावरण हटाई सहज अवसर प्रदान गर्नु उत्तिकै आवश्यक छ, जसवारे सरकार विल्कुल उदासीन देखिएको छ । अथवा यो भन्नु कि सरकार यस्ता प्रवृति फैल्न दिन सहयोगी भूमिकामा छ कुनै अतिशयोक्ति नहोला ।
अदालतको न्यायाधीशलाई हत्या गर्ने एउटा युवा २ वर्षपछि समातिएपछि “आफूलाई हाय सञ्चो भएको” बयान दिएको छ । उसको बयानले ऊ अपराधी नभई प्रतिक्रियात्मक व्यवहारका कारण घटना घटेको प्रष्ट हुन्छ । तर त्यस्ता घटना घटाउन त्यो युवामा पाशविक प्रवृति जन्मि सकेको थियो । बाराका कन्हैया गुप्ता पाशविक योनेच्छाको वशीभूत ६ वर्षीय बालिकालाई बलात्कार गरि ३५ वर्षको जेल सजाय भोग्न तयार भयो । ६ वर्षको बालापनलाई पनि नचिन्ने यो कस्तो नरपशु होला ? अब २८ वर्षका युवा ६३ वर्षको बूढोको रुपमा संसारलाई हेर्न पाउँछ । हाम्रो समाजमा कन्हैया गुप्ता जस्ता नरपशुहरु धेरै मात्रामा जन्मि रहेका छन् ।
सभ्य मानव समाजलाई कलंकित गर्र्ने यस्ता नरपशुको जन्ममा रोक लगाउन समाजमा सभ्य, सहज, अनुकूल वातावरण तथा मानवाधिकारको बहाली आवश्यक भएकोले सरकारले आफैमाथि लाग्ने यस्ता कलंकको निवारप्रति सम्बेदनशील बन्नु आवश्यक छ । नचाहिंदा नाटकहरु बन्द गरि समाजलाई कलंकित हुनबाट बचाउन आवश्यक व्यवस्था मिलाउनु पर्दछ ।
२०७१ चैत २७ गते मधेशवाणीमा प्रकाशित
