आफ्नो अधिकार बहालीका लागि उठेको मधेश आन्दोलन संविधान सभाको चुनाव पश्चात् अवसरवादीको गिरफ्तमा परेको कारण परिणाममुखी हुन सकेन । अवसरको खोजीमा नैतिक दायित्व पनि बुझन नसकेका मधेशका तथाकथित अगुवाहरू मधेशबाट प्राप्त जनादेश विपरित ब्यक्तिगत लाभलाई उद्देश्य बनाई अगाडी बढे पछि मधेशका राजनीतिक दलहरू विभाजनतिर उन्मुख भएको हो । संविधानसभा कालमा अवसरको खोजीमा विभाजनको शुरूवात भएको देखिन्छ भने संविधान सभाको अन्त पछि राजकीय सुविधाबाट बञ्चित उच्च महत्वाकाँक्षाका बोकेकाहरू असन्तुष्ट भएको कारणबाट पनि विभाजन प्रक्रियामा भाग लिएका छन् । आफ्नै घरमा आगो लगाएर अरूलाई ताप्ने सुख दिने मधेशमा त्यागी पुरूषको कमी छैन । यो त्याग र भक्तिको कारण नै मधेश फेरि एकपल्ट संघीयता पाउने अवसरबाट बञ्चित हुन पुगेको छ । मधेशका दलहरूलाई प्यादाको रूपमा प्रयोग गरेर संविधान सभाको अन्त गराउने शासकवर्गले संघीयता प्राप्त गर्ने मधेशको हौसलालाई तोडि दिएका छन् । संविधान सभाको शर्मनाक अन्तको दोष भने कोही लिन चाहेको छैन । एकअर्कामाथि दोषारोपण गरेर आफु चोखो बन्ने प्रबृतिका शिकार राजनीतिक दलहरू जनतालाई सम्प्रभू मान्दैन, पार्टीलाई सम्प्रभू मान्दछन् । जनतलाई उल्टा सीधा पढाएर जनादेश लिने र आफनो स्वार्थ अनुकूल सत्ता प्राप्त गरि रजाँइ मात्र गर्ने राजनीतिक दलहरूको मानसिकतामा जनतालाई अधिकार सम्पन्न गर्ने विचार ठाउँ नै बनाउन सकि रहेको छैन भने स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रको कुरा त यिनीहरूको लागि बकम्फुसे नै ठहर्छ ।
संघीयताको बहसबाट भाग्दै आएको नेपाली काँग्रेस र एमाले संविधान घोषणा गर्ने अन्तिम समयमा पनि संघीयताप्रति सम्बेदनशील नभएर संविधान सभा अन्त गराउने दिशातिर उन्मुख देखिएको कुरा आम नेपाली जनताले बुझे । संविधान सभाको अन्तसंगै गोहीको आँसू लिएर संविधान सभा पुनर्स्थापना गराई दिन राष्ट्रपति कहाँ पुग्ने नाटक पनि जनताले हेरे । नेपाली काँग्रेस र एमालेभित्र पार्टी संघीयताप्रति सम्बेदनशील हुन नसकेको भनेर जनजाती, मधेशीले उठाएको विद्रोहले यिनीहरूको मानसिकताको थप पुष्टि गर्दैन ?
जनताले रगत बगाएर स्थापना गराएको संविधान सभालाई महाप्रभूको रूपमा स्थापित हुन पुगेका प्रमुख तीन दलले जनताको जनादेश विपरित दलीय स्वार्थमा लागेर संविधान सभाको अर्थहीन अन्त गरेको छ । हजारौं शहीदको रगतलाई पानी सरह बुझने यी संकीर्ण मानसिकताका राजनीतिक दलहरू आफ्ना स्वार्थका लागि संविधान सभाको अन्तमा एकछिन हाँस्लान् तर परिणामै नपाएर संविधान सभा गुमाउनु परेको जनताको आक्रोश अगाडि कसरी टिक्लान् ? अधिकारका लागि खडा भएको संविधान सभालाई आफूलाई लोकतान्त्रिक भन्ने यी पार्टीहरू किञ्चित वास्ता नगरि जनतालाई पुनश्च पुर्वावस्थामा धकेलेर भोली जनता समक्ष कुन अनुहार लिएर प्रस्तुत होलान् ?माओवादीले सत्ता कब्जा गर्यो भनेर आन्दोलनमा उत्रेका नेपाली काँग्रेस, एमाले लगायतका दलहरूले भनि रहँदा पार्श्वमा यो सत्ता हाम्रो हो भन्ने कुरा पुष्टि हुँदैन ? अर्थात् हाम्रो सत्तामा कसैको अधिकार छैन भन्ने अभिप्रायले भनिएको प्रमाणित हुँदैन ? संविधान सभाको अन्त पछिको खुशीमा सत्ताप्राप्तिको आनन्दको मजा लिने ध्येयले थालिएको आन्दोलनले यिनीहरूको साख झनै गिर्दै जान्छ । अहिले प्रष्टिएको छविलाई सुधार्न सहमतीका आधारमा संविधान सभाको चुनाव गराउनुको विकल्प छैन ।
शदियौंदेखि विभेदका शिकार मधेशी जनताले अधिकारका लागि ल्याएको भीषण आन्दोलनको उपलब्धि विस्तारै गुम्ने अवस्थामा पुगेको छ । नीतिगत रूपमा पाउने अधिकारबाट मधेशलाई फेरि बञ्चित पारिएको छ । मधेशी राष्ट्रपति, उपराष्ट्र, मधेशी गृहमन्त्री तथा अनेक महत्वपूर्ण मन्त्रालयमा मधेशीहरूको वर्चस्व रहेको देखाएर मधेशीले के पाएको छैन भनेर प्रचार गरि धरातलीय अधिकारबाट उसलाई बञ्चित गरिएको छ । मधेश आन्दोलनमा यत्रो लगानी गरिए पनि मधेशलाई शून्य अवस्थामा धकेलिएको छ । अधिकार सम्पन्न गराउने आन्दोलनको धारलाई उद्देश्यहीन बनाएको छ । मधेशको जनशक्तिलाई रोगी तुल्याएको छ । मधेशको सफा, स्वच्छ विचारलाई दुषित पारेको छ । विगत चारवर्षको षडयन्त्रमा मधेशको सकारात्मक सोचको हत्या गरि नकारात्मक बनाईएको छ । आफ्नै नेतासंग घीन लाग्ने अवस्थामा पुर्याइएको छ । संविधान सभाको अन्त गरि असफलता देखाएर मधेशमा निराशा, कुण्ठा, क्षुब्धताको परिस्थिति सृजना गरिएको छ । अर्थात् मधेश चीरकालसम्म कुनै किसिमको आवाज उठाउन नसकोस् भनेर थालिएको षडयन्त्रमा राज्य संचालकहरूले औधि सफलता प्राप्त गरेका छन् । मधेशको एउटा चित्र यस्तो छ ।
मधेश आन्दोलनताका अन्धो बनेका तथा अधिकार लिने बाटो बिराएर सत्ताको फोहोर नालामा क्रमिक रूपले पछारिदै फोहोरले लथपथिएका मधेशी नेताहरू आफूलाई जनतामाझ स्थापित रहेको बुझछन् । फोहोरमा लथपथिएका अन्धो नेताले आफ्नो शरीरको फोहोरलाई त हेर्न सकि रहेको छैन भने जनता छन कि छैनन् कसरी थाहा पाउन सक्छन् ? हामीले शंका गरे पनि ऊ भने मख्ख छन, किन भने फोहोरमा लथपथिए पनि उसले थैलो बोकेको छ । मधेशमा विचार भन्दा लालच बढी छ भन्ने कुराप्रति ऊ विश्वस्त छ । ऊ जति गाली खाए पनि उही जितेर आउने कुरा निश्चित छ भन्ने विश्वासका साथ हिंडी रहेका छन् । वास्तवमा थैलोले मैलोलाई ढाकि दिन्छन् रे भन्छन, खोई के हो समयले बताउने छ । एउटा यो तस्वीर हो मधेशको ।
परिवर्तित परिवेशमा मधेश पश्चगमनमा जानै सक्दैन । परिवर्तन पश्चगमन हुँदैन । मधेश राजनीतिक रूपान्तरणको परिपक्व अवस्थामा छ । राज्य षडयन्त्रले एकछिन अलमलमा पारे पनि असन्तोष, अविश्वास र आक्रोशले मधेशलाई पुनश्च अधिकारका लागि संगठित हुन प्रेरित गर्ने नै छन् । अवरूद्ध भएको आन्दोलन निर्दिष्ट दिशातिर अभिप्रेरित हुनेछ । अधिकार नपाए सम्म आन्दोलन चलि नै रहने इतिहासले नै प्रमाणित गरेको छ । अहिले देखिएको राज्यको आक्रामक भूमिकाले मधेशको आन्दोलनलाई मलजल गरि रहेको अवस्था पनि छ । फेरि अधिकार विहीनताको अवस्थामा मधेश पुगे पछि आन्दोलनको धार अझ तिख्खर भएर आउनमा कुनै शंका छैन । यो सबभन्दा महत्वपूर्ण तस्वीर हो मधेशको ।
२०६९ आषाढ ०१ गते मधेशवाणीमा प्रकाशित
