नेपाल भारतको प्राकृतिक सम्बन्ध आदिकालदेखि रहि आएको छ । धार्मिक, सामाजिक र साँस्कृतिक आधारमा बनेको सम्बन्धलाई अहिलेको बदलिएको परिवेशमा कृत्रिम ढंगले परिभाषित गर्नु अनुचित नै हुनेछ । खुला सिमानाले नेपाल भारत सम्बन्धलाई अझ प्रगाढ बनाएको छ । धार्मिक सत्कर्म, साँस्कृतिक कार्य, अवसर, उपभोग्य वस्तुको बेरोकटोक आयात तथा अन्य आवश्यक कार्य हेतु खुला सिमानाको स्वतन्त्रतापूर्वक उपभोग गर्दा दुई स्वतन्त्र देशको भेद मेटिएको जस्तो लाग्थ्यो । यसैकारण कतिपय भारतीयहरुले नेपाल भारत कै हिस्सा हो भनेर भ्रमवश गल्ती पनि गरेका छन् ।
नेपालका शासकहंरु किरात, लिच्छवी, मल्ल र शाहवंश भारतबाटै आएर यहाँ शासन गरेकोले भारतको प्रभाव नेपाली समाजमा आदिकालदेखि रहेको छ । भारतीय प्रभावकै अभ्यासमा शताब्दियौंपछि नेपाली मौलिक पहिचान बनाउन सफल नेपाली समाजको धार्मिक, सामाजिक, साँस्कृतिक, भाषा, वेशभूषा आदिमा भारतीय झलक अवशेषको रुपमा अहिले पनि पाइन्छ । २००७ सालको परिवर्तन पश्चात हिन्दी भाषालाई पाठ्यक्रममा समावेश गरियो । शिक्षकको अभावमा स्कूलदेखि कलेजसम्म पढाउन सक्ने शिक्षकहरु भारतबाट झिकाईए । नेपालको शिक्षामा अतुलनीय योगदान गरेका ती सयकडौं शिक्षकहरु सेवा गरेवापत नेपालको नागरिकता पनि पाए । नेपाल भारतको प्राकृतिक सम्बन्ध भनिएको यही कारणले हो ।
खुला सिमाना र भौगोलिक सुगमताले दुबै देशको अन्योन्याश्रित सम्बन्ध एकपक्षीय रुपमा रहेकोले सानो देशको हैसियतले हेपिएको र चेपिएको अनुभव हुनु स्वाभाविक हो । तीनतिरबाट भारतले घेरेको नेपाल भारतमाथि आश्रित हुनुको यो पनि ठूलो कारण हो । संसारमा धेरै राजनीतिक उथल पुथल भएपनि उदयकालदेखि नेपाल स्वतन्त्र राष्ट्रको रुपमा अद्याबधि कायम छ । हालाँकि भारतको विस्तारवादी नीतिले नेपाललाई ताकेको अनर्गल प्रचार धेरै पहिलादेखि हुँदै आएको छ । संसारको अराजक परिस्थितिमा नेपालले आफ्नो स्वतन्त्रता बचाएर राख्यो भने अहिले नेपालको सार्वभौम सत्तामाथि खतरा हुने कुरै छैन ।
नेपाल दुई महाशक्ति देशबीच अवस्थित छ । समृद्धि हासिल गरेर चीन एक दशकदेखि नेपालमा हस्तक्षेपकारी चासो राखेको छ । श्रीलंका जस्तै अनुदान र ऋणभारले गुलाम बनाए जस्तै नेपाललाई पनि विकासको नाममा चीनले आफ्नो अनुयायी बनाएको हो । भर्खरै पनि ५० अरबको अनुदान सहयोग दिनेबारे अर्थ सचिव र चीनको राजदूतबीच सम्झौता भएको हो । भारतले यति धेरै मात्रामा सहयोग गर्न सक्दैन भन्ने सोचले नेपाल चीनतिर आकर्षित भएको हो । भारतसंग एकपक्षीय सम्बन्धको उदासीनता सोझै चीनसंग गठजोड गर्न पुगेको छ । भारतसंग हेपिएको अनुभव गरेर चीनसंग अप्राकृतिक सम्बन्ध बनाउनुलाई असंलग्न परराष्ट्र नीति मान्न सकिंदैन । समृद्ध शक्तिशाली राष्ट्रको रुपमा विकसित भएको चीन अब आफ्नो क्षेत्रफलभित्र अटाउन सकि रहेको छैन । ठाउँ खोज्दै संसारभरि विचरण गर्ने उसको बाध्यता हो । यसै क्रममा नेपाललाई आफ्नो प्रभावमा ल्याउन खोजेको हो । भारतसंग चीनको मैत्रीपूर्ण वैरभाव रहेको नेपालको सन्दर्भमा स्पष्ट देखिएको छ । भारतमा मोदी सरकारको उदयदेखि नेपाली राजनीतिमा चीनको पकड तीव्र रुपमा बढेको छ । आफ्नो फायदा मात्र देखेर चीनसंग प्रगाढ सम्बन्ध बनाउने नेपाललाई चीन र भारतको राजनीतिक सन्तुलन कायम राख्न यति सहज पनि छैन ।
मधेशको नाकाबन्दी आन्दोलनलाई भारतसंग जोडेर हेर्ने तत्कालीन एमाले सरकारको पालामा नेपाल भारत सम्बन्ध तनावमा पर्यो । यसै बेला नेपालले चीनसंग प्रगाढ सम्बन्ध बनायो । भारतसंगको दूरी बढ्दै गयो । त्यसपछि नेपाली राजनीतिमा कूटनीतिक सम्बन्धबाहेक भारतको कुनै प्रभाव देखिएन । तीनै तहको चुनाव घोषणा भयो । बाम गठबन्धन बने । चीनसंग नजिक रहेको अहिले बाम गठबन्धनको दुई तिहाई प्राप्त सरकार बनेको छ । भारतले आफ्नो प्रभाव कहिं प्रयोग गरेको देखिएन । स्थानिय प्रभावमा परेर आक्कल झुक्कल भारतीय राजदूतावास कतै कतै एमालेको ईशारामा प्रयोग हुनु बेग्लै कुरा हो । चीनले चुनावलाई भरपूर उपयोग गरेर शक्तिशाली सरकार बनायो । माल्दिभ्स जस्तै यहाँ चीन समर्थित बलियो सरकार बन्यो ।
भारतको पनि समर्थनमा कूटनीतिक अभिव्यक्ति नआएको होईन । कसैले “बाम गठबन्धन भारतले बनाएको हो” भने । कसैले “प्रधानमन्त्री के.पी.शर्मा ओली भारतीय प्रभावको मानिस भएकोले भारतसंग सहकार्य गरेर जाने” भने । तर यथार्थ भने यो होईन । नेपालका कतिपय बुद्धिजीवीहरुले पनि राजनीतिक असन्तुलनबारे लेखि सकेका छन् । राजनीतिक असन्तुलनले बिषम परिस्थितिको निर्माण गर्छ भन्ने तर्क दिएर कतिपय बुद्धिजीविहरुले एमाले सरकार सहज रुपमा अगाडि नबढ्ने सम्भावना प्रकट गरेका छन् ।
नेपाली राजनीतिमा प्रत्यक्ष दखल राख्ने काँग्रेस (आई) सरकारको पतन पश्चात् नेपाल राजनीतिमा भारतीय प्रभाव त्यसै पनि विलीन भयो । नेपाली राजनीतिमा चीनको बलियो उपस्थितिले पनि यो सत्यलाई उजागर गर्दछ । हालै ५० अरबको अनुदान सहयोगले ओली सरकारलाई भारतसंग सहकार्य गर्न देला ? भारतीय विदेशमन्त्री सुष्मा स्वराजको मैत्रीपूर्ण भेंटको जवाफ पाकिस्तानको प्रधानमन्त्रीलाई ल्याएर दिएका छन् । दोस्ती र दुश्मनी भनेर होईन, उठ बसबाट थाहा पाईन्छ । भारतलाई करारा जवाफ दिनु दोस्ती हो कि दुश्मनी ?
चीन र भारतलाई काखा र पाखा गर्ने नेपाल सरकारको रणनीति निश्चय पनि तीनै देशको हितमा छैन । चीनसंगको कूटनीतिक सम्बन्ध मात्र राख्न सकिंन्छ । व्यावहारिक सम्बन्ध राख्न सकिन्न । भारतसंगको प्राकृतिक सम्बन्धलाई ओझेलमा पार्नु कुनै सरकारको हितमा छैन । भारतले पनि नेपाललाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी छ । आफ्नै छिमेकी देशहरु नेपाल, श्रीलंका, माल्दिभ्स, पाकिस्तान चीनको प्रभावमा जानु निश्चय पनि भारतको लागि सोचनीय बिषय हो । नेपाल भारत नछुट्याईने देशको रुपमा रहेको सम्बन्ध तनावपूर्ण हुनुमा नेपाल मात्र दोषी हुन सक्दैन । भारतले पनि आफ्नो त्रुटिलाई सच्याउनु पर्दछ । चीन सम्बन्धको अध्ययन गर्ने एक जना भारतीय विश्लेषक जयदेव राणा देले हालै अनलाईनमा नेपाल सन्दर्भमा चीनको बढ्दो प्रभाव भारतको लागि खतरा भन्ने आशयको लेख प्रकाशित गरेको छ । नेपालसंग भारतको खुला सिमाना जहाँ भाईचाराको प्रतीक थियो, अब त्यो भारतको लागि थ्रेट बनेको छ । तर पनि भारत पक्षले नेपाल जस्तै सीमा सील गर्ने इच्छा देखाएको छैन । भारतले सहिष्णुता नै अपनाएको छ ।
चीनले आफ्नो सीमामा परेका नेपालका १५ बटा जिल्लालाई विकासको नाममा कब्जा गरेको छ । भारतसंग छुटाएर ओबीओआरमा हस्ताक्षर गराएको छ । चीनले विकासको नाममा बामपंथीहरुलाई हातमा पारेर अकूत सहयोगको आधारमा शक्तिशाली सरकार बनाएका छन् । आन्दोलनको बेला मधेशमा चीनको झण्डा जलेकोले चीनले यो सरकारको माध्यमले मधेशमा विकासको मूल फुटाउने रणनीति लिएको छ । यसरी विस्तारै सहयोगको माध्यमले सम्पूर्ण नेपाल कब्जा गर्ने चीनको रणनीति प्रष्छ छ ।
नेपालको भारत सम्बन्ध प्राकृतिक हो । चीनसंग व्यावहारिक सम्बन्ध हुनै सक्दैन । विकासको नाममा चीनसंग सानिध्य बढाएपछि भारतलाई चिढाउने कामले यो सरकार सहज रुपले अगाडि बढ्न सक्दैन । भन्नका लागि दुबै देशले कूटनैतिक मैत्रीभावको अभिव्यक्ति दिएपनि सम्बन्ध नराम्रोसंग विग्रेको छ । नेपाल सन्दर्भमा चीन र भारतको शीतयुद्ध नै शुरु भएको छ । यसले नेपालको राजनीतिमा नराम्रो प्रभाव पार्न सक्दछ । अन्धराष्ट्रवादको उदय पश्चात नेपाल भारत सम्बन्धमा तनाव बढ्दै गएको हो । अन्धराष्ट्रवादले शक्तिशाली सरकार बनाएपछि उन्माद चरम सीमामा पुगेको छ । पाकिस्तानी प्रधानमन्त्रीलाई ल्याएर भारतलाई मूँहतोड जवाफ दिनु यसै श्रृँखलाको कडी हो । नेपाल भारतको उज्ज्वल भविष्यको लागि भारतसंग सहकार्य गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति कति साँचो रुपमा आउला यसको भने प्रतीक्षा नै गर्नु पर्ला ।
२०७४ चैत ०२ गते शुक्रवार
काठमाडौँ को एउटा कार्यक्रममा प्रस्तुत
