प्रजातन्त्र प्रणालीको दिगोपनाका लागि प्रतिकूलता भन्दा अनुकूलताको ठोस आधार हुन जरूरी हुन्छ । विषम धरातलीय आधारमा उभिएको प्रजातन्त्रको कुनै भविष्य हुँदैन । प्रजातन्त्रको लामो अभ्यास गरेका मुलुकहरूबाट प्रजातन्त्र हराएर गएको प्रशस्त उदाहरणहरू इतिहासको पानामा पाइन्छ । प्रजातन्त्रको माला जपेर, स्थायित्वको कामना गरेर मात्र यसको स्थिरता आउन सक्दैन । प्रजातन्त्र स्थायित्वका लागि चाहियो, व्यापक जन समर्थन । अन्नपूर्ण पोष्टमा (२०६८ आषाढ ७) राजनीतिक विश्लेषक प्रदीप गिरिले आफनो लेखमा “संसदीय व्यवस्था वा बुर्जुवा प्रजातन्त्रले आम जनताको सशक्तिकरण गर्न सकेको छैन । यो एक तीतो सत्य हो” उद्धृत पंक्ति धेरै सराहनीय छ । जनताको मर्म अनुसारको प्रजातन्त्रको चाहना राख्नकै कारण यो तीतो सत्य उजागर गर्नु भएको हो ।
जन अपेक्षित प्रजातन्त्रको सट्टामा कुलीनवर्गलाई सेवा गर्ने प्रजातन्त्रको स्वरूपलाई कटाक्ष गर्दै उहाँले बुर्जुवा प्रजातन्त्र भन्नु भएको हो । गतांकमा मैले लेखेको थिएँ– अमेरिकामा लामो समय सम्म अभ्यासरत प्रजातन्त्रको प्रतिनिधीमूलक प्रणालीको विरोधमा सहभागितामूलक व्यवस्थाको माँग भएको थियो । वास्तवमा पहुँच नभएका जनतालाई यसले समेटन सकेन । कुलीनवर्गमै प्रजातन्त्र सिमित देखिएकोले विरोधका स्वर गुँजिएको थियो ।
प्रजातन्त्र अथवा लोकतन्त्र जब कुनै खास वर्ग वा व्यक्तिको हितमा उपयोग गरिन्छ, त्यहाँ जन असन्तोष मात्र होइन, प्रणालीभित्रका सम्पूर्ण संयन्त्र पनि असन्तुष्ट भएर जान्छ । पंचायती प्रजातन्त्रमा पनि सबैले असहयोग आन्दोलनबाट पंचायती व्यवस्थालाई सिध्याएका थिए । प्रजातन्त्र स्थापनाकाल वा त्यस पछिका दिनमा देशमा विद्यमान परिस्थिति तथा अन्तर्निहित विषमतालाई नजर अन्दाज गरि प्रजातन्त्र प्रणालीको दिगो स्थायित्वको कल्पना दिवा स्वप्न मात्र ठहर्छ । जन असन्तोष समर्थनको पंक्तिबाट विद्रोहको पंक्तिमा सामेल हुन्छ र जन आधार खस्किए पछि धाराशायीको अवस्थामा पुग्छ । सन १९४८ देखि १९८२ सम्म अमेरिकी मुलुकका ग्वाटेमाला, एल सल्भाकोर, होण्डुरस, निकारागुआ लगायत ४७ वटा देशमा सैनिक विद्रोह भएर प्रजातन्त्र लोप भएको दुःखद इतिहास छ । कोस्टारिका भने प्रजातन्त्र जोगाउने अलग उदाहरण बन्यो । चारैतिर लोप हुँदै गई रहेको प्रजातान्त्रिक देशको बीचमा कोस्टारिकाको प्रजातान्त्रिक राष्ट्रपतिले सन १९५० मा आफूसंग भएको सेनालाई नै खारेज गरेर प्रजातन्त्रलाई जोगाई राख्यो । कोस्टारिकाको यो साहसिक कदम इतिहासको एउटा महत्वपूर्ण पाना बन्यो । प्रजातान्त्रिक प्रणाली स्थापना गरि तिनलाई सुरक्षित राख्नका निमित्त पक्ष र विपक्षसंग खेल्ने कुशलतापूर्वकको भूमिका नै अहम कुरा हो । फरक उद्देश्य राखेका राजनीतिक दलहरूले राष्ट्रिय स्वार्थको कुरामा पारस्परिक सम्बन्ध बनाई सहकार्य गर्ने गरेको छिमेकी मित्रराष्ट्र भारतमा पनि यसको उदाहरण हेर्न सकिन्छ । विपरित विचार राख्ने दलहरूसंग सहकार्य गर्दैमा कसैको भलो हुन्छ भने त्यो हो राष्ट्र ! नेपाली जनता ! जो शदियौं देखि राज्यद्वारा प्रताडित भए र अहिले दलगत स्वार्थको गलत गतिविधीबाट पनि । राजनीतिक प्रतिष्ठा प्राप्त गरि सकेका नेताहरू ‘तिलको ताड’ बनाउने राजनीतिक विश्लेषणबाट आन्दोलनबाट प्राप्त जनताको उपलब्धि गुम्ने खतराको संवेदनशीलताप्रति गम्भीर नहुनु पनि एउटा ठूलो समस्या हो ।
भौगोलिक विकटता र साँस्कृतिक विविधताले परिवर्तनको नयाँ परिवेशमा सबैको महत्वाकाँक्षालाई बढाएको छ । विविध संस्कृतिको विचारको प्रभावले राजनीतिलाई पनि नराम्रोसंग प्रभावित गरेको छ । भिन्न साँस्कृतिक मतभिन्नताहरूलाई राष्ट्रिय राजनीतिको मूलधारमा कसरी समायोजन गरेर लैजाने भन्ने समस्या पनि टडकारो रूपमा एक ठाउँमा छ । जहाँ साँस्कृतिक एकरूपता हुन्छ, त्यहाँ राजनीतिक सँस्थालाई द्वन्द्वको विकटता झेल्नु पर्दैन, तर जहाँ विभिन्न सँस्कृति आफनो पहिचानका लागि द्वन्द्वरत छन, त्यहाँ अनेकतालाई एकतामा ल्याउन उत्तिकै कठीन पनि छ । राजनीतिक पार्टीहरूले जन समर्थन प्राप्त गर्न विविध सँस्कृतिलाई आफनो पार्टीको राजनीति एजेण्डा बनाएको छ । पार्टीभित्रै पनि ती विविधताको समायोजन हुन सकिरहेको छैन ।
अमेरिकामा विविध सँस्कृतिको एकीकरणको सिद्धान्त अनुसार सन १८४० देखि १९२० को अवधिसम्म मुख्यतः बेलायतबाट बसाई सरेर आएका औपनिवेशिक शासन र स्वतन्त्रता सहितका दुई सय वर्षभित्र ठोस रूपमा स्थापित गरेको मूल सँस्कृतिले आयर्ल्याण्ड, स्क्यान्डिनेभिया, जर्मनी, पोल्याण्ड, इटाली र अन्य विभिन्न ठाउँहरूबाट गैर बेलायती आप्रवासीहरूका अनेकौं मतभेदहरूको सामना गरयो । भाषा, धर्म, सँस्कृति, खानपिन, पहिरन, व्यवहार, चालचलन आदि सबैको फरक भए तापनि दुई पुश्ता पछि उनीहरू साच्चिनै यति घुलमिल भए कि आजका अनेकौं अमेरिकीहरूले आफनो पुर्ख्यौली देश वा सँस्कृति बारे केहि लगाव राख्ने गरे पनि उनीहरूको मूलभूत राजनीतिक निष्ठा र परिचय अमेरिकन भएको थियो ।
अमेरिकामा एकीकरण प्रयासले सामना गर्नु पर्न सक्ने चुनौती किन निकै हदसम्म सहज हुन पुगेको थियो भने अमेरिकामा अझ राम्रो जीवनस्तरमा बस्न पाइन्छ भन्ने विश्वासका साथ त्यहाँ पुगेका अधिकाँश वयस्क आप्रवासीहरू मूल सँस्कृतिमा घुलमिल भएर बस्न निकै उत्सुक थिए । अतः त्यहाँको एकीकरण मुख्य रूपले स्वेच्छिक वा सामाजिक प्रक्रियाबाट प्रेरित देखिन्थ्यो जसले गर्दा राज्यले दबाव दिनु पर्ने आवश्यकता थिएन ।
ठूलो आप्रवासी जनसँख्यालाई सफलतासाथ एकीकरण गरिएको भए पनि अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आएका आदिवासी जनताहरू बीचको द्वन्द्वमा सहज एकीकरणको ठाउँमा बलप्रयोग, जबरदस्ती पुनर्वास र मूल समाजबाट परै राख्ने कार्यहरू गरिए । जातीय आधारमा बलपूर्वक लागु गराइएको काला–गोराको भेदभावले जातीय एकीकरणको कुरालाई प्रभावकारी रूपले रोकिदियो । अमेरिकाको उत्तर र पश्चिममा बस्नेहरूको जीवन पद्धति र दक्षिणमा बसोवास गर्ने आदिवासीको जीवन पद्धति फरक अवस्थामा रहि कहिल्यै पनि एकीकरणको बन्धनमा बाँधिएन । उन्नाइसौं शताब्दिको शुरूतिर अमेरिकाको दक्षिणी राज्यमा दास प्रथामा आधारित अर्थतन्त्र र समाजको एउटा प्रष्टै देखिने उप सँस्कृति विकसित भयो जो अहिले सम्म विद्यमान रह्यो । जतिसुकै सम्झौताका, वार्ताका प्रयास गरे पनि आखिर सँघर्ष र दमन नै त्यहाँको नियति बन्यो ।
एक अर्काबाट प्रष्टै छुट्टिने र परस्परमा द्वन्द्व जगाई दिन सक्ने उप सँस्कृतिहरू लमो समय देखि स्वीटजरल्याण्ड, बेल्जियम, र नेदरल्याण्डमा रहि आएका छन । ती तीनवटै प्रजातान्त्रिक मुलुकमध्ये प्रत्येक मुलुकमा त्यस्ता राजनीतिक बन्दोबस्तहरू सिर्जना गरिएका छन जसले मन्त्रिमण्डल र सँसदबाट गरिने सबै निर्णयहरूमा सर्वसम्मती वा व्यापक सहमति रहनु पर्ने व्यवस्था गरेका छन । बहुमतको शासन भन्ने सिद्धान्तलाई सर्वसम्मतीको सिद्धान्तमा परिणत गरिएको छ । अर्थात “सत्ता साझेदारीको प्रजातन्त्र” को माध्यमले यी देशहरू आफना आन्तरिक विवादमाथि विजय प्राप्त गरि विश्वमा उदाहरण बनेका छन ।
अमेरिकाको दक्षिणी राज्यको आदिवासी, रेड इण्डियन जस्तै नेपालको मधेशी समुदाय आफनो छुट्टै भाषा, सँस्कृति, खानपिन, रीतिरिवाज, बोलीचाली, व्यवहार लिएर देशको आधी जनसँख्या ओगटेको छ । शदियौंदेखि राज्यद्वारा विभेदमा पारिएका मधेशी समुदायप्रति राज्य सहिष्णु हुन नसक्नु ठूलो बिडम्बना त छँदैछ, फरक दुई समुदायबीचको द्वन्द्व व्यवस्थापन गर्न लोकतान्त्रिक प्रणालीमा अभ्यासरत अभिजात वर्गको चारित्रिक रूपान्तरणको अभावले पनि यो सम्भव देखिदैन । अमेरिकाको आदिवासी जस्तै मधेशको पनि आफनै पहिचान, मूल्य र मान्यता विकसित रहेका कारण लोकतन्त्रका हिमायतीहरूले मधेशीहरूप्रति परम्परागत व्यवहार कायम नै राखेकाले द्वन्द्व व्यवस्थापनका लागि स्वीटजरल्याण्ड, बेल्जियम जस्ता देशहरूसंग शिक्षा लिएर अगाडी बढनु आवश्यक देखिन्छ ।
२०६८ आषाढ १० गते मधेशवाणीमा प्रकाशित
