संविधान सभालाई ४२ दिन मात्र बाँकी छ । ‘खोदा पहाड निकली चुहिया’ भने जस्तै भयो संविधान सभाका यी दुई वर्ष । कृषकहरुको लागि चैत महिना खन जोत गर्ने, बीउ बीजन राख्ने महत्वपूर्ण महिना हो । मधेशवादी दलहरु पनि आगामी खेतीका लागि बीउ बीजन राख्न मधेश दौडाहामा छन । राम्रो बालीका लागि कठीन परिश्रम गर्नु स्वाभाविक हो । मधेशमा मधेशवादी दलहरुको भव्य उपस्थिति छ । जनता माझ नेताहरु जानु पर्दछ, तर स्वच्छ मानसिकताले । राजनैतिक नैतिकता, मधेशलाई अधिकार सम्पन्न बनाउने दृढ इच्छा शक्ति, निष्पक्ष र स्वच्छ भावनाको नेताको खाँचो छ मधेशमा । राजनैतिक व्यापारी धेरै भयो मधेशमा । मधेश जहाँको तहीं छ ।
मधेश आन्दोलनले संघीयताको कुरा उठाएर अन्तरीम संविधानमा समावेश गराएर स्थगित भयो । उल्लेखनीय प्रतिनिधी पनि संविधान सभामा पठायो । मधेश आन्दोलनका उपलब्धि संस्थागत गर्नुको सट्टा मधेशवादी दलहरु सत्ता हान थापमा केन्द्रित रहे । माधव नेपालको सरकारमा मधेशवादी दलको महत्वपूर्ण उपस्थिति हुँदा पनि मधेश आन्दोलनका अविलम्ब पूरा गर्ने मुद्दाहरु घाइते, अपाङ्ग, झूठा मुद्दा, सम्पत्ति क्षति जस्ता कुराहरुलाई सम्बोधन गराउन नसक्नुको पछाडि के कारण हुन सक्दछ ? सरकारमा सामेल यी मधेशवादी दलहरु आहत मधेशको घाऊमा मलहम समेत लगाउन नसकेको अवस्थामा मधेश दौडाहामा चर्का नारा दिएर मधेशको विश्वास जित्न सक्दछ ? उपरोक्त मुद्दाहरु सजिलै सम्बोधन गराउन सक्ने स्थिति हुँदा हुँदै पनि इच्छाशक्तिको अभावमा यी महत्वपूर्ण मुद्दाहरु जसले मधेशमा नेताहरुको राजनैतिक प्रतिष्ठा स्थापित गर्दथ्यो, सम्बोधन गराउन सकेन । मधेशले प्रश्न गर्दा माधव नेपाल जस्तै ‘के गर्ने’आलटाले जवाफ र झूठा आश्वासन बाहेक अरु केही छैन । अर्थात सरकारमा उपस्थिति जागिरको लागि मात्र भएको छ । १६ शहीदको घोषणा गराएर गरम तावालाई चिस्याउन सबै मधेशवादी दल एक एक बुन्द पानी हालेकै हो । चिसिएन भने के गर्ने ? सोध्दा, सबै कुरा एकैपल्ट हुँदैन, हाम्रो नेतृत्वको सरकार होइन, विस्तारै सबै कुरा हुन्छ, भन्ने जवाफ आउँछ सोझा सीधा जनतालाई । जनतासंग उपाय पनि छैन । भनिएको पनि छः–जनता घायल, नेतालाई सुख शयल । दुर्भाग्य मधेशको ।
मधेश जागृत अवस्थामा छ । मधेशी जनता आफना नेताहरुको मात्र होइन, देशको सबै राजनीतिक दलका नेताहरुको मधेशप्रतिको मानसिकता, गतिविधीलाई गहनतम रुपले हेरी रहेका छन । राष्ट्रिय राजनीतिमा कसको के भूमिका छ, र को कति इमानदार छ भन्ने सम्पूर्ण कुरा मधेशले बुझि रहेको छ । देशको हरेक अवयवमा परिवर्तन ल्याउने मधेश कसैको मुख ताकेर बस्ने अवस्थामा रह्न सक्दैन । मधेशको शोषणको यति लामो इतिहास संसारमा विरलै पाइन्छ र त्यसको विरोधमा उठेको स्वर यति सजिलोसंग दब्नेवाला पनि छैन । मधेश आन्दोलन पछि नवोदित परिवर्तनकारी शक्तिलाई टुक्रयाउन राज्यले खेलेका कपटपूर्ण षडयन्त्रलाई यतिका दिनमा मधेश स्पष्ट रुपमा बुझि सकेको छ । सूझबुझको अभावमा मधेशी नेताहरु राज्यको षडयन्त्र नबुझेर पनि मधेशमा साम्प्रदायिकता, जाति विद्वेषको बीष फैलिन गयो । सहिष्णुता, सदभावको धरातलमा उभिएको मधेशलाई तोडन राज्यले यस्तो जहरको प्रयोग गर्दा निश्चय नै मधेशमा हलचल मचेको छ तर यो केही समय पछि विलीन हुन्छ । किनभने सहिष्णुता र सदभावको मधेशमा हजारौं सालको इतिहास छ । अन्तर्विरोध छ, अन्तर्सम्बन्ध उत्तिकै बलियो छ । पोखरीको स्थिर पानीमा ढुँगा फयाँक्दा एकछिन हलचल भएपनि पानी फेरी स्थिर अवस्थामा नै आउँछ । त्यस्तै मधेशमा पनि स्थिरता आउँछ । बाह्य षडयन्त्रको प्रभाव भित्रिएपनि मधेशले सहिष्णुता र सदभावको सामाजिक अन्तर्सम्बन्धलाई छोडनु हुँदैन । यही मधेशी एकताको पहिचान हो, यही हाम्रो शक्ति हो ।
देशको राजनीतिक अखाडामा नेपाली काँग्रेस, एमाले र माओवादीले मात्र कुश्ती खेले । अरु साना दलहरु तमाशेको अग्रपंक्तिमा रहे भने मधेशवादी दलहरु पछाडिको पंक्तिमा उभिएर ‘श्याबाश, वाह वाह’ को गगनभेदी नारामा ताल मिलाए । संविधान सभाको अवधिभर नेपाली जनताका विधाता यी त्रिदेव (ब्रह्मा, विष्णु, महेश) संविधान निर्माण कार्य छोडेर कुश्ती खेल्न व्यस्त रहे । पुराणमा कथा छ– विष्णु आर्यका देवता थिए भने शिव असुरका । दुबै देवताका गणादिमा धेरै वर्ष सम्म लडाई भएको थियो । कसैको जीत हार भएन र पछि दुबै एक भए । हाम्रा लागि दुबै पूज्य भए । पुराणहरु पनि पूज्य छन । सोही बमोजिमको आचरण पनि नेपाली जनताका यी तिनै विधाताले गर्नु पर्दछ । समझदारी र सहमती नै सहज निकाशको मूलद्वार हो । संविधान निर्माण होस अथवा नहोस, सहमतीको विकल्प छैन । अहिलेको विज्ञान, अहिलेको राजनीति र अहिलेको आवश्यकता यही हो ।
(२०६७ बैशाख ३ गते मधेशवाणीमा प्रकाशित)
