महिना दिनदेखि रुस र युक्रेनबीच चलि रहेको युद्धमा रुसको प्रतिष्ठा दावमा लागेको छ । उच्च महत्वाकाँक्षाका कारण रुसले युक्रेन जस्तो सानो मुलुकमाथि अनावश्यक युद्ध थोपरेकाले सारा विश्व रुसको विरुद्ध संगठित भई प्रतिवाद गर्न उत्रेका छन् । अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरि रुसले युक्रेनलाई सिध्याउने गरि गरेको सैन्य कारवाहीप्रति विश्व अनपेक्षित तेश्रो विश्वयुद्ध घरदैलोमा आई पुगेको देखेर आश्चर्यचकित र भयभीत बनेको छ ।
तीन दिनमा युक्रेनलाई सिध्याउने अठोटका साथ थालिएको युद्ध महिना दिनमा पनि रुसले फतह गर्न नसकेर निरन्तर युद्ध गरि रहेको छ । युक्रेनको राजधानी कीव शहरका सरकारी भवन, सार्वजनिक महत्वका भवनहरु, ठूल्ठुला आवासका भवनहरु ध्वस्त पारेर पनि रुसले कब्जा गर्न सकेको छैन । सानो देश र कमजोर सैन्य शक्ति लिएर युक्रेन अदम्य साहसका साथ युद्ध लडि रहेको अवस्थाले विश्व युक्रेनी राष्ट्रपति जेलेन्स्कीको प्रशंसा गरेको छ ।
प्रतिरक्षात्मक अवस्थामा युद्ध लडि रहेको युक्रेनप्रति युरोपीय देशहरुको सहानुभूति रहँदा पनि युद्धमा प्रत्यक्ष साथ दिन भने ठूलो धर्मसंकट छ । यस युद्धमा युक्रेनको साथ दिने जोकोहीलाई छाडिने छैन रुसको धम्कीले तेश्रो विश्वयुद्ध निम्तिने खतरा स्पष्ट पारि दिएको छ । युद्धको अर्को विकल्प रुसमाथि युरोपीय देशको आर्थिक नाकाबन्दी हो । अहिले सम्म विश्वले रुसमाथि २ हजार ७ सय वस्तुको प्रतिबन्ध लगाई सकेको छ । विश्वबाट अलग्गिएको रुस अहिले ५ हजारभन्दा बढि प्रतिबन्धको सामना गरि रहेको छ । रुसको जीतले मात्र युद्ध विराम हुने अन्यथा युद्ध चलि रहने रुसको बाध्यता हो । रुसको जीत युक्रेनको समाप्ति हो जो विश्वलाई कुनै हालतमा मान्य हुँदैन ।
सन् २०१४ मा क्रिमियालाई आफ्नो कब्जामा लिएको रुसले युक्रेनको पूर्वी सीमासम्म सैन्य विस्तार गरि युक्रेनसंग शत्रुताको बिजारोपण गरेको थियो । आफ्नो प्रभावभन्दा बाहिर जान नदिन युक्रेनलाई अनेक किसिमको दबाव बेहोर्नु परेको थियो । नेटोसंग सम्बन्ध विस्तार गर्ने युक्रेनको अभिव्यक्ति रुसलाई पाच्य भएन र युद्धबाट नै युक्रेनलाई सिध्याउने रुसको अठोटले विश्वलाई संकटमा पारेको छ ।
युक्रेनमा धनजनको अपार क्षति देखेर विश्वले सैन्य सामग्री तथा आर्थिक सहायता उपलब्ध गराउन शुरुवात गरेदेखि युद्ध लम्बिदै गएको छ । युद्धरत रुस छिटो नतिजा निकाल्न असक्षम भई रहेको अवस्था, विश्वले लगाएको आर्थिक नाकाबन्दी आदिका कारण रुसले पनि अनपेक्षित क्षति बेहोरि रहेको छ । शक्ति राष्ट्रको अभिमानले युद्धबाट विजयी हुने चाहना संकटमा परेपछि युद्धबाट हट्ने अवस्था पनि छैन । शक्ति राष्ट्रको प्रतिष्ठा दावमा लागेकोले तेश्रो विश्वयुद्धको मूल ढोकासम्म यस युद्धलाई पु¥याउने रुसको बाध्यता देखिएकोले विश्व पनि युक्रेनको भौतिक संरचनाको क्षति, उच्च विन्दुको मानव क्षतिलाई मूक दर्शक भई हेर्न सक्दैन र रुसलाई नियन्त्रण गर्न कदम चाल्छ ।
चीन, उत्तर कोरिया, इरान, पाकिस्तान, बेलारुस लगायतका केही देशहरु रुसको समर्थनमा युद्धको तयारी अवस्थामा बसेको छ । बेलारुसले युक्रेनका राजनयिकहरुलाई बेलारुसबाट बाहिर निकालि सकेको छ । युक्रेनसंग नेटो राष्ट्र प्रत्यक्ष युद्धमा संलग्न भएपछि उपरोक्त देशहरु पनि रुसको समर्थनमा खुल्ने प्रष्ट छ । त्यसपछि त पारस्परिक बैरभाव राख्ने देशहरु एकअर्कालाई सिध्याउने हिसावले युद्धमा होमिने छन् । रुसको युद्ध नरोकिने जिद्दले विश्वलाई युद्ध गर्न उक्साई रहेको परिस्थिति सृजना भएको छ । रुस र चीनको अब्वल दर्जाको दुश्मनको रुपमा रहेको अमेरिकालाई युद्धमा होमिन बाध्य पार्ने, त्थ्यसपछि रुस र चीनबाट दोहरो आक्रमणको शिकार बनाउने रणनीति पनि हुन सक्दछ । अमेरिका निकट रहेको भारत रुसको पुरानो मित्रतालार्इै तिलाँजली दिन सक्दैन । अमेरिका र रुस कसलाई साथ दिने भा।रतसंग ठूलो धर्मसंकट छ ।
अमेरिकी राष्ट्रपति जो बाईडेनको युक्रेनको पश्चिम सीमामा पर्ने पाौलेण्डको भ्रमणले रुसको बौखलाहट तीब्र बनेको छ । रुस कुनै पनि बेला परमाणु हथियार प्रयोग गर्न सक्ने छ । युक्रेनमाथि चार दिनदेखि रुसले हवाई हमला तीब्र रुपमा बढाएको छ । युक्रेनको पुर्व रुसी सेनाको जमघट छ । पश्चिमी सीमा पौलेण्डमा अमेरिकाले आफ्नो सेना थुपार्ने रुसको आकलन छ । यसरी रुस र अमेरिकाको प्रत्यक्ष युद्धको सम्भावना देखिन्छ ।
रुसले भारी मात्रामा युरोपलाई पाइप लाईनद्वारा गैस र तेल बेची रहेको छ । युरोपीय देशले रुसमाथि आर्थिक नाकाबन्दी गरेका कारण रुसले अर्थ संकट भोगि रहेको बेला उनले पनि गैस र तेलको भुक्तानी रुबलमा लिने घोषणा गरि सकेको छ । अन्यथा गैस र तेलको आपूर्ति बन्द हुन सक्ने संकेत पनि गरेको छ ।
नेपाल भारत, अमेरिका, चीन र युरोपियन युनियनको समान स्वार्थको खेल मैदान बनेको छ । केही समय यता चीनको प्रभाव नेपालमा बढेको कारण अरु शक्ति संकुचित हुन पुगेको छ । संकुचनभन्दा बाहिर निस्केर चीनको प्रभावलाई न्यून गर्ने रणनीति तहत पहिला चीनको प्रभावमा रहेको नेताहरुलाई बाहिर निकाल्ने, दोश्रो, संसदमा एकतिहाई मत संख्या रहेपनि एमसीसी पास गराउन सफल भएपछि चीनको प्रभाव नेपालमा नष्ट भएको देखेर चीन क्रुद्ध बनेको छ । अमेरिकाको प्रभाव विस्तार भएका कारण नेपालले एक चीन नीति पनि छोड्ला कि भन्ने आशंका निवारण गर्न आगामी दिनमा चीनको विदेश मंत्री नेपाल आउने कार्यक्रम छ ।
नेपालमा एमसीसी पास गराउन सफल अमेरिकासंग चीनको तनाव तीब्र रुपमा बढेको छ । नेपालबाट आपूmलाई विस्थापित गर्न खोजेको कुराबाट त्रूmद्ध बनेको चीन, अमेरिकासंग भिड्न निहुँ खोजी नै रहेको छ । नेपालमा एक चीन नीतिसंगै एक चीन प्रभाव हेर्न चाह्ने चीन आफ्नो कब्जाबाट नेपाललाई बाहिर जान दिन चाहँदैन । फ्री तिब्बतको आवाजबाट तिब्बतलाई जोगाउनु चीनको ठूलो चिन्ता छ । तिब्बत कै सुरक्षाका लागि नेपाल चीनको लागि महत्वपूर्ण भएको छ ।
अमेरिकाप्रति क्रुद्ध रहेको चीन, नेपालमा उसको सशक्त उपस्थिति कथमपि बर्दास्त गर्दैन । अमेरिका मात्र होइन नेपालमा चीनले भारत, युरोपियन युनियन कसैको प्रभाव देख्न चाहँदैन । तेश्रो विश्व युद्धको थालनी भयो भने चार महाशक्ति देश एकत्रित रहेको ठाउँ नेपाल युद्धको प्रभावबाट बाँच्न सफल भयो भने भाग्यको कुरा नै भनौं ।
(२०७८ चैत ११ गते मधेशवाणीमा प्रकाशित)
