शताब्दियौंदेखि दोहन, शोषणको उत्पीडनबाट मुक्ति पाउन मधेशले संगठित सशक्त विद्रोह गरेको १५ वर्ष बित्यो । यो लामो अवधिमा मधेशले चाहेको प्रादेशिक संरचना, राज्यको हरेक अंग र तहमा समानुपातिक प्रतिनिधित्व, सेना र प्रहरीमा जनसंख्याको आधारमा भर्ना गरिने आदि मूलभूत कुराहरु सम्बोधनबाट बञ्चित राखी अरु साना कुराहरुमा पनि राखिएको विभेदमा खुकुलोपन दिएर मधेशीको चित्त बुझाउने काम गरियो । मधेशको अविस्मरणीय विद्रोह जहाँ सयकडौं शहादत भयो, सयकडौं घाईते, अपाङ्ग भएर मानिस कष्टप्रद जीवन जिउन बाध्य बनेका छन् त्यसको बदलामा मधेशले केही पाउन सकेको छैन । उपरोक्त अधिकारको नीतिगत सम्बोधन आवश्यक थियो, नियतवश हुन दिईएन । फलतः मधेश जहाँको त्यहीं रह्यो ।
मधेश विद्रोह शासकवर्गका लागि ठूलो चुनौतीको विषय थियो । बढ्दो जनसंख्याको चापले एकदिन मधेश शासकको रुपमा राज्यलाई कब्जा नगरोस् भन्ने अज्ञात भयबाट पीडित शासकवर्गले आपसी मतान्तरलाई बिर्सि संविधान सभामा सबै राजनीतिक दल एक भएका थिए । काठमाण्डौं ताक्ने मधेशीहरुलाई आफ्नै ठाउँमा बस्न र अधिकार खोज्न अहिलेको संविधान ल्याएर नियन्त्रणमा राख्ने प्रयास गरियो । मधेशलाई नेतृत्व गर्ने केही राजनीतिकर्मीहरुलाई राज्यले उच्च दर्जाका मन्त्री पद तथा उच्च सम्मान दिएर तेजोबध गरि मधेशको राजनीतिक धरातलमा बदनाम गराएर राख्यो ।
मधेशलाई ६ टुक्रामा विभाजन गरि ८ जिल्लाको एक टुक्रालाई मधेश प्रदेश बनाएर सुम्पिदा मधेशका राजनीतिकर्मीहरुले बडो खुशीका साथ आफ्नो सरकार बनायो । सरकार पाएको खुशीमा मधेशका राजनीतिकर्मीहरुले एकपल्ट पनि शासकवर्गसंग ‘हाम्रो मधेशको अरु भूभाग खोई’ भनेर सोधेन । मधेशलाई अधिकार दिलाउने नेतृत्व मण्डल अहम् नीतिगत कुराहरु राख्न पनि डराए । पाएको सामान्य अधिकार पनि खोसिने डरले थाती राखिएको राज्य पुनरसंरचनाको कुरा उठाउन पनि छोडे ।
चित्त न बुझेका कुराहरुमा आन्दोलन, विरोध प्रदर्शन जस्ता दबावमूलक कार्यक्रमहरु गरेर नैतिक दायित्व निर्वाह गर्ने मधेशका राजनीतिकर्मीहरु १५ वर्षको अनवरत परिश्रमबाट उपरोक्त अहम् मुद्दाप्रति सरकारले कुनै चासो नराख्दा यथास्थितिमा नै बस्नु बेस ठानेका मधेशका राजनीतिकर्मीहरु चित्त बुझाएका छन् ।
शासकवर्गसंग मिलेर सत्ता पनि पाईने र सानातिना जनताका मुद्दा पनि सम्बोधन गराउने भएकोले पनि कष्टकर संघर्षभन्दा यथास्थिति बढि आरामदेह ठहरिएकोले संघर्ष जस्तो अरण्यरोदन कसले देख्ला । यथास्थिति सिद्धान्तहीन राजनीतिक पलायन हो । राजनैतिक पलायन वैचारिक थकानको चरमोत्कर्ष हो । यहाँबाट संघर्षको सबै ढोका बन्द हुन्छ । पार्टीभित्र रहेका क्रान्तिकारी शक्ति पनि संघर्षको मूल ढोका नपाएर या त यथास्थितिलाई स्वीकार्छन् वा गन्तव्यको मूल दिशातिर लाग्छन् । अगुवा राजनीतिकर्मीहरुको वैचारिक पलायनले मधेशलाई त बिगा¥यो नै, सिङ्गै दोश्रो पुश्तालाई पनि दिशाहीन बनाई छाड्यो ।
मधेशको मुद्दालाई निस्तेज गर्ने राज्यको षडयन्त्र, राज्यको प्रलोभनमा विचारहीन बनेका मधेशका नेतृत्व मण्डलका नैराश्य गतिविधीका कारण मधेशमा असन्तुष्टता व्यापक रुपमा बढ्यो । दास मानसिकतालाई चिरेर बाहिर निस्किने मधेशको ठूलो प्रयास अन्ततः विफल नै भएको छ । राज्य विरुद्ध मधेशले गरेको पहिलो बलिदानी संघर्षले तात्विक उपलब्धि लिन सकेन । फलतः मधेश पुनः यथास्थितिमा बस्न बाध्य भयो । पछाडि धकेलिएको मधेशमाथि राज्यले विस्तारै भेदभावको जाल फिजाउन शुरु ग¥यो ।
विपन्न मधेशमा रहेको अवसरवादी चरित्र पनि असफलताको ठूलो कारण बन्यो । शदियौंदेखि उत्पीडनबाट मुक्त गर्न शहादत दिएर पनि मधेशका वीर सपूतहरुले दासताको जंजीर तोडेर आफ्नो अधिकारका लागि संघर्ष गर्न उत्प्रेरित ग¥यो । संघर्षको मशाल बाल्न एक होइन, दुई होइन, सयकडौं मधेशका वीर सपूतहरुले प्राणको आहूति दिए । उठेको संघर्ष कहिले पनि नमरोस्, दास मनोवृति विरुद्ध मधेशका अमर शहीदहरुले संघर्षलाई जीवित राख्न युवाहरुलाई दिएको सन्देश अर्थहीन भएको छ । युवाहरु अगुवाहरुको अनुसरण गर्दै घोर अवसरवादको दलदलमा फँसेको छ । अधिकारवादी आन्दोलन दिशाहीन भएकोप्रति कसैको चासो छैन ।
संविधान सभाको पहिलो चुनावमा (०६४साल) मधेशका दलहरु मिलेर १२ प्रतिशत मत संकलन गरेका थिए । मधेशको अधिकार दिलाउन प्रतिबद्ध दलहरु त्यस पश्चात् १२ प्रतिशतको सीमारेखा पार गर्न सकेन, अर्थात् मधेशले विश्वास गर्न छोड्यो । समय मै यसको कारण पत्ता लगाई आपूm सच्चिएर आएको भए मधेशको राजनीति ट्र्याकमा रहन्थ्यो । पारस्परिक झैं झगडाका कारण नेतृत्व संदिग्ध भयो नै, मधेशले विश्वास गर्न छोड्यो ।
केही सीट जितेर राज्यसुख भोग्ने, आसेपासेलाई पाल्नेबाहेक अधिकार आन्दोलनको दिशा मुखर छैन । कसरी हुने सोच पनि छैन । यसैलाई यथास्थिति भनिन्छ । अधिकार आन्दोलनले आफ्नो मुख्य शत्रु ठम्याएर त्यसका विरुद्ध संघर्ष तीखो पार्छ । तर यहाँ राजनीतिमा शत्रु र मित्र केही हुँदैन त्यसको मन्त्र जाप हुने चलन छ । अन्योलग्रस्त विचारले पनि गन्तव्यमा पु¥याउँछ ? अधिकार आन्दोलन गर्ने र राज्यसुख भोग्ने द्विविधायुक्त विचार बोकेर दुवै ठाउँमा आफ्नै उपस्थिति दर्शाउने तर उपलब्धि केही नहुने आदि क्रियाकलापले मधेश झन् निराश भयो । मधेशको विश्वासलाई जित्न सक्ने त्यस बमोजिमका आकर्षक गतिविधी दिन नसकेको कारण मधेशले विश्वास गर्न छाडेर अन्ततः शासक पार्टीलाई नै रोज्न बाध्य भयो ।
मधेशको राजनीति गर्ने दलहरुको दिशाहीन गतिविधीका कारण मधेश पुनश्च नेपाली काँग्रेस, नेकपा एमाले तथा माओवादी केन्द्रलाई रोज्न थाल्यो । जसको विरुद्ध आन्दोलन केन्द्रीत थियो त्यसैको पार्टीमा मधेशीहरुको पलायन मधेशका दलहरुका लागि उपलब्धि हो कि हानी, यसको पनि लेखाजोखा गर्ने फुर्सद नरहेको दलहरुले मधेशको लागि के गर्ला ? देश होईन, मधेश होईन, जातपातको राजनीति गरि सिमित क्षेत्रमा कैद रहेर यिनले न देशको न मधेशको समस्या हटाउन सक्छ । यिनको सिमित भूमिकाबाट मधेश असन्तुष्ट हुनु स्वाभाविक हो र यसरी मधेशको पलायन शुरु भयो । रोकिने चान्स पनि छैन ।
(२०७८ चैत ४ गते मधेशवाणीमा प्रकाशित)
