(जन्म ९ अप्रिल १८९३, मृत्यु १३ अप्रिल १९६३)
अप्रिल महिना राहुल साँकृत्यायनको जन्म जयन्तीको अवसरमा आफना केही उद्गार पोखेर गौरव अनुभूत गरेको छु । आजभन्दा १२० वर्ष पूर्व भारत, उत्तरप्रदेश, आजमगढ जिल्लाको पन्दाहा मावली गाउँमा जन्मेको यो असाधारण प्रतिभा विश्वभरि महापण्डित राहुल साँकृत्यायनको नामले परिचित भयो । यिनका पिता गोवर्द्धन पाण्डेय र माता कुलवन्तीले यिनको जन्मको नाम केदार पाण्डेय राखे । असीमित मायालु वातावरण र फौजी हजूरबा रामायण पाठकको घुमक्कडी कथा सुनेर राहुलजी शिशुकालदेखि खुला विचार र हजूरबा जस्तै देश विदेश घुम्ने स्वाभाव बनाउनु भएको थियो । मायालु वातावरणले उनको स्कूली शिक्षा राम्ररी हुन दिएन । गाउँमा फौजी हजूरबाको राम्रो प्रतिष्ठा र वर्चस्व रहेको कारण परिवार जस्तै गाउँमा पनि राहुलजी उत्तिकै माया पाउनु हुन्थ्यो । पारिवारिक र सामाजिक अनुशासनभन्दा पर बस्न रुचाउने राहुलजी बाल्यकालको शिक्षा ग्रहण गर्न सक्नु भएन । देश विदेश भ्रमण गर्ने लालसाले उनलाई घरबाट १४ वर्षकै अवस्थामा बाहिर लग्यो । १९०६ ई० मा राहुलजी घरबाट भागेर कलकत्ता जानु भयो । त्यसपछि उनको फिरन्ते जीवनको शुरुवात भयो । हुनत पढ्न लेख्न नजान्ने पनि कतिपय महान साहित्यकार, दार्शनिक, कवि आदि बनेर आदर्श प्रस्तुत गर्ने धेरै उदाहरण भएपनि राहुलजीको असाधारण प्रतिभाले विश्वभरि आलोकित गरेको उदाहरण नै मान्नु पर्छ ।
सामाजिक आर्थिक, धार्मिक, जातीय, लिंगीय बिषमताको बिकृत रुपबाट प्रभावित राहुलजी बसुधैव कुटुम्बकम् तिरको यात्रामा कारण र निदान खोज्न यत्र तत्र भौंतारिंदै ज्ञानकै महासागरमा डुबुल्की लगाउनु भयो । मानव मानवबीचको भेदभाव, समाजिक बिषमता, श्रमशक्तिको अत्यधिक शोषण आदि प्रबृतिले राहुलजीलाई मार्क्सवादी दर्शनतिर तान्यो । मार्क्सवादी दर्शनको एकपक्षीय ज्ञानले पूर्णता नदिने अभिप्रायले बौद्धदर्शन, सनातनी धर्मदर्शन, सामाजशास्त्र, मानवशास्त्र, इतिहास, भूगोल आदि विविध दर्शनको गहनतम् अध्ययन गर्नु भयो । कहाँ र कसरी अध्ययन गर्नु भयो भन्ने कुरा उनका रचनाहरुले नै स्पष्ट पारि उनलाई महापण्डितबाट सम्मानित गरेका छन् । विलक्षण प्रतिभाका धनी राहुलजी सबै दर्शनको अध्ययन गरे पनि मार्क्सवादी दृष्टिकोणबाट प्रभावित रहेको उनको रचनाबाट प्रमाणित हुन्छ । शिक्षा लिने अनुशासित जीवनको उमेर पार गरी फिरन्ते जीवनमा दर्शनहरुका यति गहनतम् अध्ययन र रचनाको उदाहरण विरलै पाइन्छ ।
रुसमा जारशाही शासनको अन्त र भारतमा अंग्रेज शासनको विरुद्ध उत्कर्षमा रहेको स्वतन्त्रता संग्रामबाट निकै प्रभावित भई राहुलजी महात्मा गाँधीको सत्याग्रह आन्दोलनमा सरिक भई जेल पनि जानु भयो । किसान मजदूर तथा आम जनतालाई जागृत गर्न पत्र पत्रिका मार्फत अनेक लेखहरु लेख्नु भयो । उनको तीक्ष्ण प्रतिभा र विद्रोही स्वभावले उनलाई स्वतन्त्रता संग्रामको महत्वपूर्ण हिस्सा नबनाउने कुरै थिएन । जन उभार ल्याई स्वतन्त्रता संग्रामलाई उर्जावान बनाउन राहुलजीको ठूलो योगदान थियो । किसान मजदूरको आन्दोलनलाई जगाउन आफनो क्षेत्र उत्तरप्रदेशमा भाषाको माध्यम भोजपुरी नै बनाउनु भएको थियो । शोषणको विरुद्ध कतिपय किसान आन्दोलनलाई आफनै नेतृत्वमा संचालन गरि घाइते भई जेल पनि पर्नु भयो । क्षेत्रीय स्तरमा भोजपुरी लेख रचनाहरु रहे पनि उनका आफना उत्कृष्ट रचनाहरु हिन्दी भाषामै प्रकाशित छन् । समानता र मानवाधिकारको विचारलाई उनले सैद्धान्तिक स्तरमा मात्र होइन, प्रायोगिक रुपमा पनि उतारेर जनतालाई शिक्षित पारे । भारतीय स्वतन्त्रता संग्राममा यिनको सक्रिय उपस्थिति, जेल जीवन आदि कुरामा गएको समयले एउटा कुरातिर के इंगित गर्दछ भने यिनको अध्ययनको समय कुन हो ? यति कम समयमा ज्ञानको महासागरमा उत्रनु र यतिका रचनाहरु तयार पार्नु निश्चय पनि साधारण प्रतिभाको काम होइन । राहुलको रचनानै उनको प्रखर बुद्धि तथा पाँडित्यको ठूलो नमूना हो ।
१९५६ ई०मा बिहार राष्ट्रभाषा परिषदले प्रकाशित गर्न लागेको अनुसन्धानमूलक राहुलको कृति “मध्य एशियाका इतिहास” को पहिलो भागमा आफनो वक्तव्य पृष्ठ जोड्दै संचालक साहित्यकार शिवपूजन सहायले भन्नु भएको छ– “ यस कृतिका समर्थ लेखक महापण्डित श्री राहुल साँकृत्यायनजी अन्तर्राष्ट्रिय ख्यातिको विद्वान हुनु हुन्छ । यस युगको तपाईं धुरन्धर साहित्यकार हुनु हुन्छ । साहित्यिक शोधको क्षेत्र तपाईंको अनवरत् अनुसन्धानात्मक परिश्रम एवं लेखनी संचालनबाट धेरै उर्बर भएको छ । तपाईंको अथक लेखनीले धेरै यस्ता बिषयहरुलाई परिपूर्ण गर्ने काम गर्यो, जुन दिशामा हिन्दी संसारको विद्वज्जनहरुको ध्यान आकृष्ट भएको थिएन । अतः हिन्दी साहित्य तपाईंको खोजको लगनशीलता र देनबाट धेरै लाभान्वित भई रहेको छ । विश्वास छ कि यो कृति पनि हिन्दी साहित्यको एउटा चिर–अनुभूत अभावको पूर्त्ति गर्नेछ तथा ऐतिहासिक शोधको काममा सहायक सिद्ध हुनेछ ।”
१९५६ ई०मा प्रकाशित “मध्य एशियाका इतिहास”को भूमिकामा लेखिएको राहुलजीको शब्द यसरी व्यक्त भएको छः– “यो पुस्तकको धेरै जसो सामग्री मैले सोवियत संघको २ वर्षे प्रवास (१९४५–४७ ई०) मा संकलन गरि १.५ टन (५ मन) पुस्तक भारत ल्याएँ । खासगरि पुरातत्वविद् प्रो० ताल्स्तोफ तथा डा० वेर्नस्तामले महत्वपूर्ण जानकारी दिनु भएकोमा म धेरै आभारी छु । यसबारे म आफनो यात्रा पुस्तक “रुसमा पच्चीस महिना” मा उल्लेख गरि सकेको छु । लेख्ने अभ्यास छुट्दा नराम्रो लिखावटका कारण म टाइपराइटरमा बोलेर लेख्न लगाएको छु । मलाई परिश्रम गर्ने ठूलो अभ्यास छ । बाहिरी बाधा उपस्थित भएन भने म सारा समय लेख्न, पढ्नमा व्यतीत गर्न सक्छु ।”
गहन अध्ययन, अनवरत परिश्रम र लगनशीलताले राहुलजी मध्य एशियाका इतिहास, विश्वकी रुपरेखा, मानव समाज, वोल्गा से गंगा, दर्शन दिग्दर्शन, द्वन्द्वात्मक भौतिकवाद, बाईसवीं सदी आदि अनेक उत्कृष्ट कृति मानव समाजलाई दिनु भयो । नेपालमा बसेर लेख्नु भएको ‘बाईसवीं सदी’मा उनले सारा संसार एउटै देश हुने कल्पना गर्नु भएको हो । समानता र शोषण रहित मानव समाजको कल्पना उनको बसुधैव कुटुम्बकमको भावनालाई उजागर गर्दछ । उनको खोजमूलक ज्ञानवर्द्धक कृति पाएर मानव समाज धन्य भएको छ ।
स्वच्छन्द विचरण गर्ने राहुलजीको आन्तरिक जीवनमा ठाउँ अनुसार यिनका कमला, जया, लोला, इंगोर आदि जीवन संगिनीहरु भईन । मार्क्सवादी विचारबाट प्रभावित भएको कारणले होला राहुलजीले मुख्य कर्मभूमि दार्जिलिङलाई बनाउनु भयो । आफनो अनवरत परिश्रम र लगनशीलताबाट कीर्त्तिध्वज फहराउँदै असाधारण प्रतिभाका महामानव राहुल साँकृत्यानन्दजी ७० वर्षको अवस्थामा संसारबाट बिदा लिनु भयो । अप्रिल ९ तारेखमा जन्मी अप्रिल १३ तारेखमा मृत्यु वरण गर्नु पनि उहाँको जीवनको एउटा चमत्कारनै भन्नु पर्दछ । यो अप्रिल महिना उहाँको पुण्यतिथिको अवसरमा यस महामानवप्रति हार्दिक श्रद्धाँञ्जली ।
संदर्भ सामग्रीः
१. राहुलजीका कृतिहरु ।
२. अक्षयवर दीक्षितको गोरखापत्रमा ०६७ चैत्र ६ गते प्रकाशित भएको रचना ।
२०७० बैँशाख ६ गते मधेशवाणीमा प्रकाशित
