संविधान सभालाई अब ९ दिन बाँकी छ । माओवादी समर्थित झलनाथ नेतृत्वको सरकारले “म्याद थप्ने कि देशलाई अराजकतातिर पठाउने” भन्ने संवेदनशीलतालाई दर्शाएर १ वर्षको म्याद थप गर्ने विधेयक संविधान सभामा पास गराउन दर्त्ता गराई सकेको छ । संविधान म्यादभित्र किन बनेन ? अब त्यो प्रश्न होईन, म्याद थप्ने कि देशलाई अराजक बनाउने भन्ने प्रश्न टडकारो रूपमा अघि सारिएको छ । लोकतान्त्रिक गठबन्धनका घटकहरू पनि आफनो अडानप्रति लचक हुँदै गएको भान हुन्छ । सेना समायोजनको कुरामा माओवादी पनि काँग्रेसलाई खुशी पार्न विश्वसनीयताको मार्ग खोज्न लचकता देखाउन प्रतीत हुन्छ । ओलीको बोली लटपटिएको छ । माधव नेपालको गर्जना पनि कम भएको छ । समय वित्दै जाँदा विकट समस्याहरू सांगुरिदै गएको अनुमान गर्न थालिएको छ । आखिर “समथिंग इज बेटर दयान नथिंग” । भात खाने मेलो र शीतयुद्घलाई निरन्तरता दिन म्याद नथप्नुको विकल्प के ? अनशन, धर्ना, विरोध जुलुस, बन्द, हडताल आदिले यो त्रिदेवलाई केही फरक पार्दैन । भनिन्छ – सर्प जति बाँगो हिँडेपनि दुलो पस्ने बेलामा सिधा हुन्छन । तीन वर्षमा तीन दलको तिकडमी चालमा फँसैको संविधान सभालाई पुनर्जीवन दिएर फेरि एकर्कालाई गलाउने खेलको पुनरावृति नहोला, जस्तो लाग्दैन । राज्य सुविधा भोग गर्ने कुरामा सबैको स्वार्थ मिल्नेछ । नरम हुँदै गई रहेको काँग्रेस, नेपाल, ओलीको बोलीले यही कुरातिर संकेत गर्दछ । काँग्रेस र माओवादीको कुरा मिले पछि मधेशलाई तताउन खटाईएका मधेशी मोर्चाको आमसभाहरूमा हुने खर्च त्यसै व्यर्थ जानेछ । मधेशको मञ्चमा नाईटोको बल झिकेर मधेशी जनतालाई झुक्याउन खोज्ने मधेशी मोर्चाका नेताहरू “यथास्थितिमा हामी म्याद थप्दैनौ, थपै हामी सामूहिक राजीनामा दिन्छौं” भन्ने नाराका साथ अगाडी बढदा यदि म्याद थपियो भने पनि मधेशी मोर्चालाई निराश हुने ठाँउ छैन । पछि क्षतिपूर्तिको अग्राधिकार कायम राखेर राष्ट्रिय सहमतीको सरकारमा ससम्मान मधेशी मोर्चालाई सामेल गरेपछि ती निराशाको वातावरण आफै मेटिएर जानेछ ।
पाठकगण ! बैशाख ३ गते बिरगंजको आमसभालाई सम्बोधन गर्दै मधेशी मोर्चाका बरिष्ठ भनिने एक नेताले “हामी सरकारमा हुँदा जहिले पनि मधेशको मुद्दाप्रति आफनो अडान कायम राख्यौं”भनेर गोहीको आँसू झार्दै भन्यो । विगतको सरकारमा मधेशी मोर्चाका ९ क्याविनेट मन्त्री सामेल थियो र मधेशको मुद्दा (१६ जना शहीद घोषणा बाहेक) सम्बोधन हुन सकेन । सरकारमा गच्छदारको वरियता प्राप्त थियो । मधेश मुद्दाप्रति कस्तो अडान थियो कि मुद्दा सम्बोधन हुन सकेन ? वास्तवमा मधेशी मोर्चाको प्रतिनिधी मन्त्रीहरूको कुनै अडान नै थिएन । मधेशी मुद्दाप्रति कोई गम्भीर नै थिएन । सबैलाई आफनो स्वार्थ पूरा गर्ने बाध्यता थियो । ३ महिनामा मधेश मुद्दा पुरा गर्ने प्रतिबद्घता जनाएर २८ सभासदलाई झुक्यायो भने मधेशको जनतालाई गोहीको आँसू बगाएर झुक्याउनु विजय गच्छदारका लागि कुनै ठूलो कुरो होइन । राजेन्द्र महतो जीले पनि एउटा टी.वी. कार्यक्रमा “मधेशको लागि केही गर्ने त्यहाँ ठाउँ नै छैन” भनेर रहस्योदघाटन गर्नु भएको थियो । अर्थात आफनो लागि त्यहाँ प्रशस्त ठाँउ रहेको कुरा उजागर हुन्छ ।
मधेशप्रति गैर मधेशी राजनीतिक दलहरू पूर्वाग्रही रहेको यथार्थ सर्वविदित छ । तर मधेशका राजनीतिक दलहरूमा लक्ष्यप्रतिको विचलन चर्चाको विषय बन्छ । सार्वजनिक रूपमा क्रान्तिकारी नारा दिने मधेशी नेताहरू जब मधेशको माँग पूरा गराउन सक्दैन र सत्तामा टाँसिई रहन्छ, त्यतिबेला मुक्तिको राजनीति व्यापारको राजनीतिमा परिणत हुन्छ । राजनीतिक व्यापारीहरू जनताको मुक्तिको अभिभारा पुरा गर्नै सक्दैन । पैसाका लागि सत्तामा जाने, पैसा जम्मा पारेर मधेशको राजनीति गर्ने, यो सोच बाहेक मधेशी नेतामा मधेशका लागि त्याग र वलिदानको भावना अंकुरित भएन । होस पनि कसरी, आन्दोलनकारीहरूलाई थन्काईयो र पेशेवर राजनीतिक व्यापारीहरूको हातमा मधेशको राजनीति गयो ।
जनावरको बथानमा चमेरो आएर भन्छ – “तिमीहरू मलाई नेता बनाऊ ! म पनि जनावर हुँ । तिमीहरू जस्तै म पनि वच्चालाई दुध ख्वाउँछु । म सफलतापूर्वक आक्रमण गर्न सक्छु र वचाव पनि । म माथि भरोसा गर” भनेर चमेरो जनावरको नेता बन्छ । उता चराको बथानमा पनि गएर आफूलाई नेता बनाउन प्रस्ताव राख्छ – “चराहरू हो ! तिमीहरू जस्तै म पनि चरा हो । आक्रमण तथा प्रतिआक्रमणमा म जस्तो तिमीहरू सफलता पाउन सक्दैनौं । किनकि म जस्तो हिंसक दाँत तिमीहरूसंग छैन । त्यसकारण मलाई नेता स्वीकार गर” भनेर चराहरूको पनि नेता बन्छ । पछि दुवै समुदायबीच युद्घ हुन्छ र चमेरोको चालाकीको पोल खुल्छ । आखिरमा दुबै प्रतिस्पर्धी मिलेर चमेरोलाई मार्छ ।
मधेशमा पनि चमेरोको जस्तै चालाकी तथा लक्ष्यहीन नेतृत्वको आवश्यकता छैन । न आवश्यकता छ पेशेवर राजनीतिक व्यापारी नेतत्वको । आवश्यकता छ मधेशको माटोले जन्माएका ती वीर सपूतहरूको जसले मधेशका राजनीतिक व्यापारीहरूलाई (मृतप्राय अवस्थामा रहेका) वेवास्ता गर्दै आफनो बलबूतामा आफनो अधिकारको आन्दोलनलाई यहाँसम्म ल्याई पुरयाएको छ । स्मरण रहोस, राजनीतिक व्यापारीहरू सत्ताका रसास्वादन गर्दै आन्दोलनलाई गाली गरि रहेका थिए । थन्किएर बसेको जस्तो सुकै चरित्र भएका मधेशी नेतालाई मधेश आन्दोलनले पुनर्जीवन प्रदान गरेको यथार्थ पनि सर्वविदितै छ । मधेश आन्दोलनले यहाँसम्म ल्याई पुर्याउँदा पनि आन्दोलनको उपलब्धिलाई जिम्मेवारीबोधका साथ संस्थागत गर्नुको सट्टा जात जातमा आन्दोलनलाई विभक्त गर्ने काम भएको छ ।
२०६८ जेष्ठ ६ गते मधेशवाणीमा प्रकाशित
