मौलिक संस्कृति र परिवर्तनको आवेग

सनातन हिन्दू धर्म, संस्कृतिको आलोकमा नेपाली समाजको तयार संरचनामा मानव सभ्यता बिस्तारै विकसित भएको हो । सृष्टिकालदेखि समुद्रको गर्भबाट अस्तित्वमा आएको गगनचुम्बी हिमश्रृंखला र त्यसमा विकसित भएको सनातन हिन्दू धर्म, संस्कृतिको मानव सभ्यता हाम्रो मौलिक संस्कृतिको रूपमा इतिहासमा विराजमान छ ।

श्रृंखलाबद्ध रूपमा रहेको हिमाली श्रृंखलाले मानव सभ्यताको मात्र विकास गरेन, देवी देवताको बासस्थान पनि बनायो । कैलाश, मानसरोबर, मुक्तिनाथ, पशुपतिनाथ, स्वर्गद्धारी, बराहक्षेत्र आदि तीर्थ–स्थलहरू अनादिकालदेखि हिन्दूत्व संरक्षणको प्रतिकको रूपमा अस्तित्वमान छ ।

समुद्रको गर्भबाट पहिलो उत्तरी ध्रुव बाहिर आएको र सृष्टिकालको प्रतीकको रूपमा सर्वोच्च हिमशिखर नेपाली भु–भागमा रहेकोले जलप्रकोपबाट बच्च यही शिखरमा मानव सभ्यताको विकास हुनु स्वभाविक थियो । अन्य भाग जलमग्न रहेकोले मानव र देवी देउताको पहाडी श्रृंखलामा उपस्थिती अनेक धर्मग्रन्थ र इतिहासमा वर्णित छ । ब्रहमा र विष्णु मानसरोवरमा विराजमान थियो भने महेश (शंकर) कैलाश पर्वतमा बास बसेको अनेकौं प्रमाण बौद्धिक ग्रन्थ तथा इतिहासमा पाइन्छ । बिस्तारै तल्लो भागहरू पनि पानीबाट बाहिर आउँदै जाँदा मानवबस्तीको विकास भयो ।

जीवन जिउने आवश्यकताले मानिसलाई फिरन्ते बनायो । आवश्यकता पुर्ति गर्न जटिलमार्ग पनि पार गरि मानिस संसारभरि भ्रमण गर्न थाले । सुविधा र सहुलियतको खोजी गर्दै कालान्तरमा प्रकृतिले उपलब्ध गराएको समतल फाँटमा मानिसहरू बस्न थाले । यसरी दल, समूह, कबिलाहरू एक ठाउँबाट अर्को ठाउँ सर्दै रहे । मानव सम्भयताको विकास भएपछि पनि भ्रमण बसोबास रोकिएन, मानवको फिरन्ते स्वभावमा किञ्चित परिवर्तन आएन र यो क्रम शताब्दियौं चल्दै रह्यो ।

नेपाली भू–भागमा विकसित मानव सभ्यता ऐतिहासिक कालदेखि सनातन हिन्दूधर्म, संस्कृतिको आधारमा नेपाली समाजको निर्माण गरेको हो । फिरन्ते मानवको तिव्रतर आवेगले पनि मौलिक संस्कृतिको क्षयीकरण गर्न सकेन । परिवर्तनको प्रवल आवेगलाई झेल्दै हाम्रो हिन्दूधर्म, संकतिले आफ्नो मौलिक अस्तित्वलाई कायम राख्यो ।

गोपालबंशी, महिषपालबंशी, किराँतकाल, लिच्छिवी, मल्लकाल हुँदै शाहवंशीकालसम्म हिन्दू धर्म संस्कृतिकोे सामाजिक संरचना अक्षुण्ण नै रहेको देखिन्छ । यही ऐतिहासिक कालमा राजनीतिक वर्चस्व कायम गर्न अनेक जातीहरू नेपाली भुमिमा प्रवेश गरेपनि परम्परागत रूपको नेपाली सामाजिक संरचनामा खासै प्रभाव पार्न सकेन । अनेक रूढीवादी अनावश्यक रितिरीवाज खारेज भयो । तर सांस्कृतिक मुलप्रवाह आफ्नो दिशामा प्रवाहित हुँदै रह्यो ।

४ दशक पूर्वदेखि नेपाली राजनीतिमा प्रवेश गरेको मौलिक धर्म, संस्कृतिलाई नाश गर्ने खतरनाक प्रवृति बाहिरी निर्देशनबाट प्रेरित देखियो । यस अन्तरालमा मुस्लिम धर्म, बुद्धधर्म, सिख धर्मको पारस्पारिक सहिष्णुताको सुमधुर बन्धलाई चुडाल्दै इसाई धर्म आँधी तुफानको बेगमा नेपाली राजनीतिमा प्रवेश ग¥यो ।

नेपाली राजनीतिमा शिखरमा रहेका नेतृत्वमण्डली वर्चस्व अक्षुण्ण राख्न धनप्रति आशक्त हुन थालेपछि उनी समुहगत रूपमा इसाईको प्रभावमा फस्दै गए । शाहबंशीयकालमा शुरू भएको इसाईकरण नेपाली कांग्रेस र कम्युनिष्ट सरकारमा तीव्र रूपमा बढ्यो । धर्म परिवर्तन गराउने नाममा शीर्ष राजनीतिकर्मीहरूले अपेक्षाभन्दा बढी धनलाभ गर्न शुरू गरेपछि हिन्दूधर्म, संस्कृतिमाथि प्रत्यक्ष आक्रमणका अनेकौं घटनाहरू प्रकाशमा आउन थालेका छन् । शीर्ष राजनीतिकर्मीहरू हिन्दू धर्मको विरोधमा सार्वजनिक सभा, समरोहमा अभिव्यक्ति दिन थालेका छन् ।

पारस्पारिक सामाजिक संरचनालाई भत्काएर कम्युनिष्ट समाजको स्थापना गर्ने चीनमा कम्युनिष्ट सरकार स्थापना गर्ने माओत्सेतुङले संचालन गरेको ‘सांस्कृतिक क्रान्ति’ को महाअभियानलाई चीनियाँ जनताले धुलो चटाई दिएको घटनालाई बिर्सेर नेपालका तथाकथित राजनीतिकर्मीले विदेशीको ईशारामा नेपालमा क्रिश्चियन धर्म स्थापना गर्न लागि परेका छन् । नेपालको प्रगतिमा हिन्दू धर्म नै बाधक हो भनेर प्रचार गर्ने दलाल र गुलाम मनोवृत्तिको बिगबिगी यत्रतत्र सक्रिय देखिनु निश्चय पनि चिन्ताको विषय बनेको छ ।

विश्व–स्तरमा इसाई र मुस्लिम धर्मको चर्को तनावले कतिपय ठाउँमा युद्ध नै भएको घटनाहरू देखिएका छन् । नेपालमा इसाई धर्मको तीव्र प्रगतिले नेपाललाई समरभूमिमा परिणत गर्ने कुरामा शंका छैन । धार्मिक सहिष्णुताको मधुर बन्धनमा बाँधिएको नेपाली समाजलाई जरैदेखि परिवर्तन गर्ने दुस्साहसले नेपालमा युद्ध नल्याउला भन्न सकिन्न । तथाकथित राजनेताहरूको इसाई अभियानमा सामुहिक समर्थनका कारण गतिशिलता बढेको हो । इसाईको तीव्र बेगमा हिन्दूहरू नै भष्म भईरहेका छन् । इसाई धर्मलाई बेगवान बनाउने नेपालको गरिबी र कथित राजनेताहरूको दरिद्र मानसिकता हो । हिन्दू धर्मको क्षयीकरणमा मुस्लिमको भलो हुने कुरा पनि छैन । हिन्दू धर्मभित्र नै मुस्लिम धर्मावलम्वीहरूको संरक्षण लुकेको छ ।

हिन्दूधर्मको विरूद्धमा हरेक समुहलाई सक्रिय बनाइएको छ । सृष्टिकालदेखिको हिन्दू सनातन धर्म आफै भित्रका दुष्चरित्र, अभिमानी, कट्टरवादीहरूले आफ्नो मनोनुकुल मार्ग बनाए , पथ बनाए । व्यक्ति समयकालमा हिन्दू धर्ममा प्रवेश गरेका गलत रितिरीवाज, परम्परा, दुष्प्रवृति सबै परम्पराको नाममा श्रेष्ठ र निच बनाए । मार्गलाई छोपेर पथ बनाएर समाजलाई विभक्त गरिनु हिन्दूधर्मको दुर्भाग्य भयो । हिन्दू धर्मको राम्रो पक्षलाई गौण गरि दुष्प्रवृतिलाई धर्म बनाई पेश गरिनु विगतकालका ठुला–ठूला ऐतिहासिक भुल हो ।

विविधतायुक्त नेपाली समाज परम्परागत रूपमा हिन्दू धर्मप्रति आस्था राख्ने समाज हो । प्राणभन्दा प्यारो हाम्रो संस्कृतिको जगेर्ना गर्ने हाम्रो संवैधानिक अधिकार हो । बडो चलाखीपूर्ण ढंगले धर्म परिवर्तन गराउने प्रयास थालिएकोबाट हिन्दू धर्म क्षयीकरणमा परेको छ । हिन्दू धर्म तथा पास्टरको दोहोरो भूमिकामा रहेका राजनीतिकर्मीको खतरनाक खेलप्रति सतर्क रहन आवश्यक देखिएको छ । हिन्दू धर्म एउटा आस्था हो, विश्वास हो । हिन्दू धर्मको अनुयायी भएकोले यो हाम्रो जीवन पद्धति बनेको छ । यसकारण आवश्यक परिवर्तनलाई अंगाल्दै हाम्रो संस्कृतिलाई मास्ने गरि आउने परिवर्तनलाई रोकौं । नेपाली समाजको परम्परागत संस्कृतिलाई बचाऔं ।
२०७६ कार्तिक १५ गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!