मुठभेडतिर उन्मुख राजनीतिक दिशा

पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले अकारण असंवैधानिक रुपले संसद विघटन गरि देशलाई एकपल्ट राजनीतिक मुठभेडतिर धकेलि दिएको छ । २०७८ वैशाख १७ र २७ गते दुई चरणमा चुनाव गराउने घोषणा गरेपनि ओलीको हरेक क्रियाकलाप संदिग्ध रहेको अवस्थामा नेपालको राजनीति सामान्य ढंगले अगाडि बढ्ने कुरामा कोही विश्वस्त भई रहेको छैन ।

पौष ७ गते नेकपा विभाजित भएर पार्टीभित्रको अन्तरसंघर्षको पटाक्षेप गरेको छ । नेकपामा रहेका ४४१ केन्द्रीय सदस्यमध्ये ३१५ जना उपस्थित रहेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय समितिको बैठकले केपी शर्मा ओलीलाई साधारण सदस्यबाट निष्काशित गरि सो ठाउँमा माधव नेपाल सर्वसम्मतबाट अध्यक्ष मनोनीत भई दुई अध्यक्षीय प्रणालीले निरन्तरता पाएको छ । संसदीय दलको नेतामा अर्को अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड चयन भएको छ । पौष ७ गते नै दुवै पक्षको बैठक बसी दर्ताका लागि निर्वाचन आयोगमा आवेदन पनि गरेका छन् । तुलनात्मक रुपमा प्रचण्ड नेपाल समूह ओली समूहभन्दा निकै मजबूत रहेको बुझिएको छ ।

नेकपाको स्थिर सरकार पाएर देश र जनता निकै उत्साहित भएका थिए । देशले विकास र जनताले सुशासनको माध्यमबाट जीवनशैली बदल्ने ठूलो आश लिएका थिए । नेकपाको सरकारले अनुकूलताको असीम अवसर पाएर पनि देश र जनताका लागि केही गर्न नसकेको, राजनीतिलाई आफ्नो स्वार्थका लागि प्रयोग गरेका कारण भ्रष्टाचार, हत्याहिंसा, बलात्कार, दुराचार, व्यभिचार आदि अराजक ढंगले बढेको आरोप आफ्नै पार्टीले लगाएको छ । राजनीतिक अनुकूलताबाट प्राप्त अहंकारले केपी शर्माओली यथार्थबाट धेरै टाढा भएर आत्मरतिमा तल्लीन भएपछि राज्यको कार्यभारलाई ईमानदारी ढंगले कार्यान्वयन गर्ने विवेक गुमाउनु भयो । अहंकारले यिनलाई देवत्वको भ्रम दिएपछि आफ्नै पार्टी तथा सहकर्मीप्रति विगत ६ महिनादेखि गरेको व्यवहार कति नकारात्मक छ भन्ने कुरा जनताले बुझेका छन् । शक्ति मदमा आज पार्टी विभाजन गरेर आफै कमजोर बन्न पुगेको कुरा सम्पूर्ण देशवासीले देख्यो ।

नेकपाको एकतालाई अक्षुण्ण राख्न अहोरात्र खटिने चीनियाँ राजदूत पनि केपी शर्मा ओलीलाई चित्त बुझाउन सकेन । चीनसंगको विकसित गहिरो मैत्री सम्बन्धको सम्बेदनशीलतालाई पनि ओलीको अहंकारले कुनै महत्व दिएन । ओलीको सामन्ती र जिद्दी स्वाभावले नेकपालाई मात्र कमजोर बनाएन, राजनीतिक धरातललाई अस्थिर बनायो, देशको विकास र जनताको जीवनशैली बदल्ने कम्युनिष्टप्रति आस्था राख्ने जनताको विश्वासको धरातल भत्काएको छ । कुरुवंशको जडमूल अन्त गर्ने संसारको ठूलो उदाहरणको रुपमा रहेको दुर्योधनको अहंकार जस्तै देखिएको ओलीको अहंकार पनि नेपाली राजनीतिमा ठूलो विनाशकारी घटना ल्याउने सम्भावना सबैले अनुभूत गर्न थालेको छ ।

संसद विघटन गर्ने ओलीको कदमप्रति केही अवसरवादी शक्तिहरु खुलेर प्रशंसा गरेको सामाजिक सञ्जालमा देखिन्छ भने प्रतिद्वन्द्वी राजनीतिक पार्टीहरु अन्तर मनमा खुशी भएका छन् । ओलीजीले बनाएको ठूलो शक्तिशाली दुर्ग आफै भत्काएर अरुलाई राजनीति गर्न सहज बनाई दिएको कुराबाट कतिपय राजनीतिक दलहरु मनमा अपार खुशीका साथ गोहीको आँसु झार्दै ओलीको कदमलाई असम्वैधानिक भनेर वाहवाही लुट्दै छन् । राजनीतिक तरलतामा अवसर खोज्ने शक्तिहरु आफ्नो स्वार्थबाहेक देश र जनताको हितका लागि राजनीतिलाई सही दिशामा गतिशील गराउने क्षमता कुनै राजनीतिक दलमा छैन । अवसर नपाउने अवस्थामा फरक विचारका शक्तिहरुसंग पनि न्यूनतम सम्झौता गरि सडक आन्दोलन चर्काउने राजनीतिक दलहरुको अभ्यास पनि शुरु भएको छ । भन्नका लागि सबैले जनताका लागि नै राजनीति गरेको दावा गर्छन् ।

ओली प्रवृतिको गन्तव्य कहाँसम्म हो यसको आकलन जरुरी देखिएको छ । संसद विघटन गरेपनि ओली प्रधानमन्त्री पदबाट राजिनामा गर्नु भएको छैन । यसभित्र लुकेको कुरा के हो ? संसदीय दल तथा केन्द्रीय सदस्यमा प्रचण्ड–नेपाल गुटमा बहुमत रहेकोले के आधारमा पार्टी विभाजन भएको हो ? पार्टी विभाजन नगरि छुट्टै पार्टी बनाउने मनसाय हो भने नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई प्रवक्ता कसरी नियुक्त गरिएको हो आदि धेरै संदिग्ध कुराहरु छन् जो कानून सम्मत छैन ।

ओलीको कदमबारे विश्व समुदाय केही नबोलेको सम्बन्धमा पनि विभिन्न अडकलवाजी छ । कसैले नेपालको आन्तरिक मामिलामा विश्व समुदायले हस्तक्षेप गर्न नचाहेको भनेका छन् भने कसैले ओलीको निरंकूश व्यवहारमा हस्तक्षेप गरेर उनको अभद्रताको शिकार हुन चाहँदैन भनेका छन् । तर निष्कर्ष भने फरक छ । ओलीले संसद विघटन गरेर राष्ट्रिय, अन्तर्राष्ट्रिय सबै शक्तिलाई मनोवाँछित राजनीतिक फायदा लिन अनुकूल अवसर प्रदान गरेको छ ।

नेपाली राजनीतिमा अप्रत्याशित र चमत्कारी घटनाहरु घटेको प्रशस्त उदाहरणहरु पाईन्छ । कुनै कुनै बेला राष्ट्रवादको स्वाभिमानी आवाज गगन चर्कने गरि उठ्छ । कुनै बेला आत्मसमर्पणको निरीहता पनि शर्मनाक किसिमले प्रदर्शित हुन्छ । शक्तिमा हुनेले जेपनि गर्दा हुने भन्ने धारणाका आधारमा ओलीले पनि संसद विघटन गर्ने अभ्यास गरेका छन् । कानूनबाट मिले नमिलेको कुरा अब अदालतले मिलाउनेप्रति ओली पूर्ण विश्वस्त देखिन्छ ।

जानी जानी पार्टी विभाजन गरेर कमजोर हुने, बहुमत नरहेको आफ्नो नयाँ फुच्चे पार्टीको अध्यक्ष भएर बस्नु, प्रदेशमा भएका आफ्ना समर्थक मुख्यमन्त्रीहरु धरापमा पर्नु, आदि ओलीका लागि पच्ने विषय होइन । अहिले ओली निरीह, कमजोर देखिएपनि यस्तै अवस्थामा बस्ने ओलीको स्वभाव नरहेकोले पक्कै पनि केही रहस्यका कुराहरु छन् जो सबैको आकलनभन्दा बाहिर छ । “मलाई माइनस गर्ने राधाकृष्ण मैनाली र सीपी मैनाली अहिले कहाँ छन्” भन्ने गरेको ओलीले आफ्नो गोप्य रणनीतिमा के के कुरा लुकाएको छ कसैलाई थाहा छैन ।

असम्वैधानिक रुपमा संसद विघटन, पार्टीको रुपमा आफ्नो गुटको अभ्यास कानून बमोजिम नरहेको ओली बुझ्दैन ? तरपनि गरि रहेको असम्वैधानिक अभ्यासभित्र ठूलो भुँईचालो लुकेको आभास महसूस गरिने कुरा हो । विकसित हुने राजनीतिक घटनाक्रमलाई बुझ्न नसक्ने अवस्थामा “ग्राण्ड डिजाईन” भनेर ठूलो बुझक्कड बन्ने चलन नेपाली राजनीतिमा पहिलेदेखि चल्दै आएको छ । अझै केही घटनाहरु सतहमा आएपछि सम्भवतः त्यो शब्द प्रयोगमा आउला । तर विकसित भई रहेको घटनाक्रम परिस्थितिवश भएको भन्न सकिंदैन ।

नेकपाको शक्तिशाली सरकारको शर्मनाक असफलताको प्रमुख कारण प्रधानमन्त्रीको स्वेच्छाचारी अहंकार हो । ओली सरकारको पतनले जनताको ठूलो आशलाई मारेको छ । स्थिर सरकारले केही गर्न नसकेपछि लडखडाउने सरकारलाई के आश गर्न सकिन्छ । जनतामा कम्युनिष्ट प्रभाव विस्तारै विस्थापित हुने क्रम शुरु हुनेछ । कम्युनिष्टप्रति रहेको जन विश्वासमा ह्रास आउने छ । दुईतिहाईको शक्तिशाली सरकार बनाउन अवसर प्रदान गरेको राष्ट्रवादी भनिने शक्ति पनि ओलीको शर्मनाक क्रियाकलापबाट पछुतो मान्दै होला र भविष्यमा पुनश्च यस्तो गल्तीको पुनरावृति नगर्ने कसम खाँदो होला । राजनीति सामान्य ढंगले चुनावसम्म गयो भने कम्युनिष्टले बहुमत पाउन कठीन छ ।

प्रतिनिधी सभा पुनस्र्थापित भएन, चुनावसम्म सामान्य रुपमा राजनीतिले जान दिएन भने देश अर्को कोर्समा जाने सम्भावनालाई नकार्न सकिंदैन । यसको सारा कलंक नेकपामाथि जाने प्रष्ट छ । चुनावभन्दा धेरै अगाडि जाने ओलीको प्लानिङ्ग छ भने त्यो नेपालको ठूलो दुर्भाग्य हुनेछ । नेकपाको यहींबाट नेपाली राजनीतिमा पतन हुने क्रम शुरु हुनेछ ।

ओलीले चालेको दाव उपलब्धीमूलक हो भने त समयले ओलीलाई हिरो बनाउँछ । यदि यस घटनाबाट राजनीति प्रतिगमनतिर गयो भने यसको प्रमुख दोषी ओली सरकार र नेकपा हुनेछ । नेपाली राजनीतिलाई जानी जानी प्रतिगमनमा पठाउने कम्युनिष्ट नेता र नेपाल कम्युनिष्ट पार्टी नेपालको राजनीतिक इतिहासमा ठूलो कलंकको रुपम अंकित हुनेछ ।
२०७७ पौष १० गते मधेशवाणीमा प्रकाशित

 

Leave a Comment

error: Content is protected !!