कोरोना, शीतलहर र आन्दोलनको ताप

कोरोनाको महामारीले फैलाएको रोग र भोकमरीबाट अत्यन्त कष्टकर जीवन बिताइरहेका आम जनता शक्तिशाली सम्पन्न र स्थिर सरकारबाट संरक्षण र राहत केही पाउन नसकेर सडकमा उत्रिन बाध्य भएका छन् ।

सरकार विरुद्धको यो स्वतः स्फूर्त असन्तुष्ट आन्दोलन राजनीतिक कुनै दलहरुलाई महत्व नदिई राजनीतिक वृतबाट बाहिर बसेर आम नागरिक सरह जीवनयापन गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई नै वैकल्पिक शक्ति मानेर समर्थनमा सडक तताएको छ ।

देशभरि कोरोनाको कहर त छँदैछ । चिसो बढेका कारण कोरोनाको वृद्धि तीव्र हुने सम्भावना पनि छ । मधेशमा शीतलहरको प्रकोप बढ्न थालेको छ । यस्तो कष्टकर परिस्थितिमा जनता व्यवस्था परिवर्तन गर्ने सोच लिएर सडकमा उत्रिनु प्रगतिशील, समृद्ध सरकारका लागि लज्जाबोधको विषय नभएपनि देशको लागि ठूलो दुर्भाग्यको कुरा हो । कोरोना, शीतलहर र आन्दोलन तीनवटै आम जनतामा महाव्यापिको प्रकोप भएकोले यसले निकै मानव क्षति गराउन सक्दछ । नकारात्मक सोचबाट ग्रसित सरकार जनताको समर्थनमा उभिन चाहँदैन ।

प्रतिगमनको आन्दोलन भनेर सराप्दै सरकारले “राजावादीको यो सपना कहिल्यै पूरा हुँदैन” भनेर घृणात्मक व्यवहार र दमनले आगोको सानो झिल्का दावानलमा रुपान्तरण नहोला भन्न सकिन्न ।
“संघीय लोकतान्त्रिक गणतन्त्र” ल्याउन सयौं शहीदको शहादत खेर जाने परिस्थिति सृजना हुन थालेको छ । जनताका लागि वर्तमान अवस्था प्रतिकूल महसूस हुन थालेपछि जनता अनुकूल परिस्थिति सृजना गर्न विपरीत दिशामा जान लागेको कथित प्रगतिशील र शक्तिशाली सरकारको बितेको ३ वर्षमा असंवैधानिक गतिविधि, अलोकतान्त्रिक क्रियाकलाप, भ्रष्टाचारलाई प्रश्रय तथा आफ्नो निरंकूश सामन्ती चरित्रको नाङ्गो प्रदर्शनले देशको राजनैतिक धरातल नै असन्तुष्ट भएको छ ।
दुईतिहाई नजिक रहेको अहिले सरकारको काम, कर्तव्य उत्सााहवर्धक, देश र जनताको पक्षमा हुनुपर्दथ्यो । पहिलोपल्ट देशले पाएको स्थिर सरकारले ७० वर्षको लामो प्रतीक्षामा रहेको देश र जनताको विकासलाई छाडेर आफू र आफूलाई समृद्ध पार्न सिङ्गै सरकारी संयन्त्रलाई प्रयोग गरेका कारण ओली गुट बाहेकका सबै शक्ति र आम जनता असन्तुष्ट भएका छन् ।

सरकारको काम, कारवाही पथभ्रष्ट भएपछि जनताको पीडालाई प्रतिपक्षले सुम्सुम्याउनु पर्ने अवस्थामा आफै किंकर्तव्यविमुढ भूमिकाविहीन अवस्थामा देखिएको छ । रामचन्द्र पौडेलसँग प्रहरी प्रशासनले गरेको अभद्र व्यवहारप्रति नेपाली काँग्रेसले घटनाको १५औं दिन साईत जुराएर मंसिर २९ गते एकदिन देशभर सरकारको विरुद्ध शक्ति प्रदर्शन गरेको हो ।

सरकार विरुद्ध देशभर स्वतः स्फूर्त भइरहेको प्रदर्शनकै बेला नेपाली काँग्रेसको विरोध प्रदर्शन समर्थनको लागि गरिएको त होइन, वुद्धिजीवीहरुले अडकल पनि गरेका छन् । सरकारसँग पनि र सरकारको विरुद्धमा पनि नेपाली काँग्रेसको भूमिकाप्रति जनता सशंकित बनेका छन् ।

राजनीतिको असन्तुष्ट धरातलबाट उठेको स्वतः स्फूर्त आन्दोलन परालको आगो जस्तै तुरुन्तै सेलाउने दावा सबैले गरेका छन् । यसको कुनै गन्तव्य छैन । क्षणिक आक्रोशको कुनै संगठित शक्ति हुँदैन, भनिन्छ । तर यथार्थबाट बेखबर सरकारको जनविरोधी गतिविधि तथा आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै साना साना पार्टीहरुको संगठित हुने क्रमले आन्दोलन ठूलै रुप लिने आँकलन सबैले गरेका छन् । तर परिणाम के हुने भन्नेबारे कसैले भन्न सकिरहेको छैन ।

ओलीको विजयोन्माद अकाट्य अहंकारको ठोस रुप लिएको छ । उनको अहंकार नै उनको शक्तिको स्रोत केन्द्र हो । उनको पराक्रम अतुलनीय छ । उनले चीनसँग सम्बन्ध बनाएर आर्थिक सहयोग जुटाएको, भारतलाई गाली गर्ने हिम्मत देखाएको, देशभरका राष्ट्रवादीहरुलाई संगठित पारी दुई तिहाईको सरकार बनाएको, सबै शक्तिलाई आफ्नो समर्थनमा ल्याएको वा नतमस्तक बनाएको आदि कठीन कार्यहरु गरेर देवत्व प्राप्त गरेको ओलीलाई घेराबन्दी गर्दा रुष्ट हुनु स्वाभाविक हो । यी सबकुरा मानव बलबूताको हुनै सक्दैन ।

अहंकारको यही सोचबाट प्रेरित प्रधानमन्त्री ओलीले सदस्य पदहरु खाली रहेको संवैधानिक समितिको बैठक मंसिर २८ गते बोलाउँदा प्रतिपक्षका सदस्य शेरबहादुर देउवा र सभामुख अग्नि प्रसाद सापकोटा बैठकमा उपस्थित भएन । आफ्नै गुटका मानिसलाई सबै ठाउँमा नियुक्ति दिँदै आएको व्यवहारबाट आफ्नै पार्टी दुई चिरा भएको, प्रतिपक्ष रिसाएको कारण फेरि पनि हाम्रो उपस्थितिबाट ओलीले फाइदा लिने भनेर यी दुईजना बैठकमा उपस्थित भएन ।

संविधानभन्दा माथि आफूलाई बुझ्ने ओलीको अहंकारलाई ठूलै चोट पुगेका कारण ओली पुनश्चः मंसिर ३० गते मंगलबार “सर्वसम्मतबाट निर्णय गराउने”को सट्टा “बहुमतबाट निर्णय गराउने” विधेयक ल्याएको छ । ओलीको यो कदमबाट देशको राजनीतिक वृतमा अनेक शंका उपशंकालाई जन्माएको छ ।

अनियन्त्रित ओलीका यस्ता असंवैधानिक कदमहरु बढ्दै आएको छ । शेरबहादुर देउवा र अग्नि प्रसाद सापकोटा बैठकमा नगएर ओली सच्चिन्छ कि भनेर आश गरेको त, ओलीले सबैलाई आफ्नो पराक्रम देखाएर आश्चर्यचकित बनाई दिए । ओलीको यो कदमले सिंगै शासन प्रणालीमाथि संकट आउन सक्ने आभाष दिएको छ ।

अब देशको राजनीतिक नकारात्मक ढंगले क्रिया प्रतिक्रियाको शिकार बन्न पुगेको छ । यसले अब संसद अधिवेशन बोलाउन ओलीलाई दबाब बढ्ने भएपछि ओलीले फेरि कस्तो अनर्गल कदम उठाउँला राजनीतिक गतिरोधले सबैलाई नकारात्मक दिशातिर डो¥याइरहेको छ । किनभने स्वार्थको राजनीतिभन्दा कोही माथि उठेको छैन । स्वार्थान्धतामा आफूलाई लाभ हुनेबाहेक अरु केही कुरा हुँदैन । नकारात्मक दलदलबाट देश र जनतालाई बचाउने क्षमता कसैसँग नभएकोले राजनीतिक दुर्घटनाग्रस्त हुने सम्भावना बढ्दै गएको छ ।

अध्यादेशबाट तरंगित बनेको राजनीतिक माहौलमा सबै शक्ति ओली विरुद्ध खनिने डरले ओलीले ‘संसद बैठक बोलाउँदा कसैले म विरुद्ध अविश्वासको प्रस्ताव दर्ता नगर्ने शर्तमा म अध्यादेश फिर्ता लिन्छु’, भनेर बडो नाटकीय ढंगले आफू सच्चिन मानेको छ । यसबाट तत्काल दुर्घटना रोकिए पनि ओली प्रवृत्तिको कुनै भर छैन, ठेगान छैन ।
२०७७ पौष ३ गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!