मधेश मुद्दा सम्बोधनको अनुत्तरित प्रश्न

असोज ३ को कालो दिवस देशभरि व्यापक रुपमा मनाईयो । विश्राम लिई रहेको आन्दोलन एकदिनको लागि राम्रै किसिमबाट उठेको हो । जनतामा शैथिल्य नरहेको प्रष्ट भयो । तर मधेशका राजनीतिक अगुवा ? इनर्जी, ईच्छाशक्ति, दृढता, राजनीतिक दूरदृष्टि, नेतृत्वको कुशलता आदि कति मात्रामा बाँकि रह्यो अगुवाहरुमा ? यसको आकलन पनि उत्तिकै जरुरी छ ।

टी.वी. अन्तर्वार्तामा उपेन्द्र यादवको अभिव्यक्ति आयो – “सबै कुरा एउटै पुश्तामा पूरा हुँदैन ।” अर्थात् मधेश मुद्दा तत्कालका लागि स्थगित नै भयो । यसको औचित्य हरायो । यो पुश्ताबाट मधेशको मुद्दा निर्णायक बन्न सकेन भन्ने कुराको संकेत दिन खोजेको हो ? राज्यसंग हारेको मनःस्थितिमा मधेशका दलहरु पुगेका हुन कि ? वा मधेश मुद्दा सम्बोधन गराउने सबै ढोका बन्द भयो कि जस्तो आभास पाएर त्यसो भनिएको हो ? यावत् प्रश्न मधेशको राजनीतिक वृतमा तेर्सिएको छ ।

कालो दिवस पनि बेग्लै लयतालमा मनाएको देखियो । कोही मण्डला त कोही रत्नपार्कको शान्तिबाटिकालाई कार्यक्रम स्थल बनायो । भिन्न मतावलम्बीहरुले भिन्दै भिन्दै कार्यक्रम गर्ने निर्णयको आधारमा कालो दिवस मनाईयो । जेहोेस् कार्यकर्ताको उत्साहले काठमाण्डौमा, मधेशमा समेत कालो दिवस भव्यताका साथ सम्पन्न भयो । जनता आफनो अधिकार लिन अहिले पनि आन्दोलित छ भन्ने कुरा यो कालो दिवसले देखायो । जसरी चालाकीपूर्ण तरिकाले संविधान सभालाई समाप्त गरि मधेशको माँगलाई वेवास्ता गरियो, मधेशको उत्साहलाई यो घटनाले अरु बढाई दिएको छ । अधिकार नपाउञ्जेल मधेश आन्दोलित रहि रह्ने कुरालाई नकार्न सकिंदैन । त्यसमा शासकहरुको प्रत्यक्ष अपमानजनक व्यवहारले त यो अझ प्रखर हुँदै गएको छ ।

मधेश आन्दोलन अहिले तीन दलीय घेरामा छ । आन्दोलन गर्ने, स्थगित गर्ने, विश्राम लिने, फेरि उठ्ने, शहादत दिने, घायल हुने, अपाङ्ग हुने, धर्ना दिने, चक्का जाम गर्ने, सदर मुकाम घेर्ने, वार्ता गर्ने, आदि सर्वाधिकार तीन दलमा निहित रहेकोले अहिले मधेशमा अरु दलहरु कसैको दाल गल्नेवाला छैन । नेपाली काँग्रेस, एमाले, माओवादी र अहिले नयाँ शक्ति अपवादमा छन् । नयाँ शक्ति पनि मधेशमा आफनो अस्तित्वको झण्डा गाडेर नै छोड्छन् । मधेशका साना दलहरु आफनो अस्तित्वको लागि तीन दलीय मोर्चा र गठबन्धनमा बाँधिएका छन् ।

मधेश आन्दोलनले बढाई दिएको महत्वाकाँक्षाका आधारमा नयाँ नयाँ पार्टी गठन हुने क्रम पनि उत्तिकै छ । मधेशलाई अधिकार सम्पन्न बनाउने निहूँमा स्वार्थलाभको माध्यमको रुपमा खुलि रहेका नयाँ पार्टीहरु निर्वाचन आयोगको थ्रेसहोल्ड पछि त विश्राम लेला नै । अहिले भने रहर पूरा गर्ने अभ्यासमा लागेका छन् । सामाजिक सञ्जाल अहिले प्रचारको माध्यम बनेको छ । संसारभरि आफनो कुरा फैलाउन सरल रहेकोले यसलाई सबैले पार्टी प्रचारको माध्यम बनाएको छ । सबै पार्टीको, सरकारको, मीडियाको दैनिक गतिविधी जनजनमा पु¥याउने माध्यम बनेको छ फेसवुक ।

यो मीडियाको युगमा यसको बढि प्रयोगले मानिस नाँङ्गि सकेको पनि अनुभव हुन थालेको छ । बढि बोल्ने, बढि ट्वीस्ट गर्नेलाई मीडिया अलि बढि महत्व दिने भएकोले मीडिया उनका पछाडि लागेकै रहन्छ । मधेशको पार्टीहरुमा मानिस अध्यक्षमा मात्र सिमित रह्न चाहँदैन । उ देवत्व प्राप्त गर्ने दिशामा अग्रसर हुन्छ । देवत्व प्राप्त गर्न मीडिया चाहिंन्छ । मीडियामा बोल्न पाउँदा स्वर्गको खुड्किला चढे जस्तै हुन्छ । त्यसकारण दिनहुँ जसो मीडियामा रहँदा छिटछिटो देवत्व प्राप्त हुने रहरले उनलाई बढि प्रेरित गरि रहेको हुन्छ । आफनो सामुन्ने अब उनलाई आफनै सहकर्मी ढोके, पाले जस्तो लाग्न थाल्छ । विचारको महत्व पनि घट्न थालेको हुन्छ । विचारको महत्व घट्नुमा यो मात्र कारण होईन, अरु पनि धेरै कारणहरु छन् । आफनो स्वार्थपूर्ति गर्न धनलाभ, पार्टी चलाउन धनलाभ, आसेपासे पाल्न धनलाभ, बूढेसकालका लागि धनलाभ आदि स्वार्थान्धताले मानिसलाई कमजोर बनाउँदै लगेको हुन्छ । आर्थिक प्रहारमा ठूल्ठूला मानिस होईन, देशहरु ध्वस्त भएका छन् । पार्टीहरुको त के कुरा ।

१० वर्षदेखि राज्यसंग लड्दै आई रहेका मधेशका रणबाँकुराहरुको पीडा कम छ ? राज्यले पनि पेलेको छ र मधेशले पनि । यही पेलाईले उसको दिमाग कर्कलाको पात जस्तो भएको छ । पानी जस्तै कुनै कुरा त्यो पातमा बस्दैन । कर्णद्वारबाट कुराहरु बलजफ्ती भित्र पसाए पनि त्यो दिमागमा अस्तित्व जमाउन सक्दैन । त्यसकारण अध्यक्षको बढि आलोचना हुन्छ । यो उसको बाध्यता हो । उसले बोलेको नराम्रो कुराको पनि राम्रो अर्थ निकालेर अगाडि बढ्नु पर्ने हुन्छ । के गर्ने देवत्व प्राप्तिको दिशामा यस्तै हुन्छ ।

राज्य संचालक त्रिदेव छ भने मधेश पनि त्रिशक्तिबाट बञ्चित छैन । अरुहरु त दुवैतिर सहायक मात्र हुन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश लोकतान्त्रिक पार्टीको अध्यक्ष महन्थ ठाकुर यही त्रिदेव मधेशका संचालक हुन् । त्रिदेव भएर पनि यसमा सवभन्दा बढि प्रभावी, लिडिंग रोलमा उपेन्द्र यादव छन् । उनको अजेय शक्ति, सामथ्र्य कै कारण मधेशले उनलाई मसीहा बनाएका हुन् । यही शक्तिलाई नमानेर राजेन्द्र महतो र उपेन्द्रबीच शक्तिको जुहारी चलेको हो । विष्णु र महादेवबीच पनि शदियौं संघर्ष चलेर सम्झौता पछि त्रिदेव बनेका हुन् । यिनको संघर्ष कति दिन चल्ने हो । देवत्वको दिशामा उपेन्द्र यादव मात्र अग्रसर रहेको देखिन्छ । उनमा अब टाढासम्म भविष्यलाई हेर्ने क्षमता आई सकेको हो । त्यसैले त टी.वी. कार्यक्रममा सबैकुरा एउटै पुश्तामा हुँदैन भनेका हुन् । केही विकट परिस्थितिवश यो पुश्ताले मधेशको मुद्दालाई परिणाममुखी बनाउन सक्दैन भन्ने सत्यसंग मधेशको साक्षातकार गराउने स्पष्टभाषी उपेन्द्र यादव नै हुन् । अरुले त केही भन्न सकेन ।

अर्को भविष्यवाणी हेरौं, मधेश मुद्दा हाम्रो आन्तरिक समस्या हो, यसमा कसैको हस्तक्षेप हुनु हुँदैन भन्ने अभिव्यक्तिले महन्थ ठाकुरलाई पनि सच्चिन निर्देश दिएको हो । महन्थ ठाकुरको यहाँ दुई राष्ट्रियता छ भन्ने अभिव्यक्ति मधेशको लागि प्रयोग नगर्न निर्देशन होला । पराश्रित राष्ट्रियताको विषयमा आएको उपेन्द्र यादवको अभिव्यक्तिको अर्थ यो अल्पबुद्धिको पंक्तिकारले लगाउन सकेन । मेरो अल्पबुद्धिले के अर्थ लगायो भने उपेन्द्र यादव ओलीको घुर्किबाट डराएर अभिव्यक्ति दिएर अवरोधको रुपमा रहेको एमालेलाई खुशी पार्न खोजेको हो कि ? मेरो सोच मिथ्या हुन सक्दछ, देवत्व प्राप्त गर्ने मानिसको वाणी मिथ्या हुन सक्दैन भन्ने आधारमा म पनि यसको अर्थ बुझाई दिन मधेशका बुद्धिजीवीलाई आग्रह गर्दछु । देवत्वको कुरा मैले उनको प्रतिभाशाली छविले प्राप्त गरेको प्रगतिलाई हेरेर भनेको हो । क्षेत्रीय राजनीतिबाट उदाएको उपेन्द्र यादव अहिले राष्ट्रिय, अन्तर्राष्ट्रिय पहिचान कायम गर्दै देवत्वतिर लम्किने प्रतिभालाई असाधारण नै भन्नु पर्ला । यस्तो प्रतिभाका लागि मधेश जस्तो क्षेत्रीय राजनीति कुनै अर्थ राख्दैन । त्यसैले मधेशमा सिमित रह्ने उनमा विकास भएको अन्तर्राष्ट्रिय छविले दिंदैन । मधेश कता कता उपेन्द्र यादवबाट टाढिएको यो अल्पबुद्धिले देख्छ । उनले बोलेको गूढ अर्थ बोकेको वाक्य अब मधेशले अर्थ लगाउन सकि रहेको छैन ।

सबैजना मिलेर आफनो समस्याको समाधान गरौं भन्ने उपेन्द्र यादवको भनाईले निष्कर्ष निकाल्ने हो भने मधेश विद्रोह किन भयो र मधेश अहिलेसम्म आन्दोलित किन छ । मिलेरै जाने हो भने सयकडौं मधेशीलाई मौतको घाट किन उतारियो । १० वर्षमा मिल्ने वातावरण किन बनेन ? किन फेरि फेरि संघर्ष गर्नु प¥यो ? किन संघीयताको विषय टुँग्गिएन । मधेशले चाहेको कुरा किन राज्य दिन चाहँदैन ? मधेशले यो प्राप्त गर्न के गर्नु पर्दछ भन्ने विषय यसै अनुत्तरित नै रह्ने भयो । उपेन्द्र यादवले सबैकुरा एउटै पुश्तामा हुँदैन भन्ने कुरा शतप्रतिशत सही हो ।

मधेशी मोर्चा र गठबन्धनले प्रधानमन्त्रीको भारत भ्रमणभन्दा पूर्व संसदमा संशोधन विधेयक दर्ता गराउने प्रयास असफल भएपछि यिनी हताश मनःस्थितिमा पुगेका छन् । संशोधन विधेयक दर्ता भएको खण्डमा जनतालाई मुद्दा सम्बोधन हुने कुरा देखाएर सत्तामा जाने ढोका खोलिन्थ्यो । तर त्यो भएन । मधेशको आन्दोलन जिवीत रह्यो, नेताहरुको अभिष्ट पूरा भएन ।

मधेशको माँग राज्यसत्ता र शासकवर्गको नीयत र नीतिका कारण अर्को पूश्ताका लागि थाति रहेको कटु सत्यलाई सबैले स्वीकार्नै पर्दछ । आन्दोलनको नाममा धेरै धनलाभ गर्ने छन् भने धेरै शहीद पनि बन्ने छन् तर आन्दोलन परिणाममुखी भने हुन सक्दैन । उपेन्द्र यादव देवत्व प्राप्त गरे । महन्थ ठाकुर साधू भए र एक्लो राजेन्द्र महतोको राज्यसंग लडन कति ताकत होला । मधेश विद्रोहदेखि साजिशको शिकार रहेको मधेशलाई मुक्त गर्न अवसर पाएपनि सबै असफल नै देखिनुको पछाडि अदुर्दिर्शता, अकर्मण्यता, उच्च महत्वाकाँक्षा र स्वार्थ नै रहेको पाईयो ।

कुनै चमत्कारिक परिवर्तन देखिएन र राज्य संविधान कार्यान्वयनको दिशामा अगाडि बढ्यो भने मधेशको ईस्यू नै समाप्त भएर मधेशका पार्टीहरु चुनावी पार्टीमा परिणत हुन्छन् । राज्यसंगको लडाईको यहीं इतिश्री हुन्छ । थाकेको भाषा प्रयोग गर्ने, द्विअर्थी भाषा प्रयोग गर्ने, दुबैतिर बरावर देखिने आदि कारणले पनि मधेशको मुद्दा ओझेलमा परेको भान हुन थालेको छ । दूईतिहाई र पारस्परिक सहमतीको आधारबाहेक मधेश मुद्दा सम्बोधन गरिने अरु कुनै बाटो नरहेकोले मधेशको लागि यो सहजता कसले ल्याउने ? सबै पार्टी मधेशको विरोधमा रहेकोले यो असम्भव छ ।
२०७३ असोज ७ गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!