‘मधेश’को ऐतिहासिकतामाथिको हस्तक्षेप

नेपालको इतिहासमा पौराणिक कालदेखि दक्षिणी सीमामा रहेको पुर्व मेचीदेखि पश्चिम महाकाली सम्मको समथर भूभागलाई “मधेश” शब्दले सम्बोधन गरेको पाइन्छ । देशको समथर क्षेत्रलाई अन्तर्राष्ट्रिय मान्यता अनुरुप तराई भन्ने चलन अनुसार “तराई” शब्द पनि उल्लेख भएको पाइन्छ । नेपाललाई भौगोलिक वर्गीकरण गर्दा हिमाल, पहाड, भित्री मधेश तथा मधेश (तराई) गरिएको पाईन्छ । मधेश र मधेशी शब्द पहाड तथा काठमाण्डौं उपत्यकाका वासिन्दाहरुको लागि जन जिभ्रोको शब्द हो । अझ ठाढो भाषामा मधेशीलाई भैया, मर्स्या, मदिशे आदि शब्दले सम्बोधन गर्ने चलन विद्यमान छ । २०६३ माघको मधेश विद्रोह पश्चात राज्य इतिहास भन्दा गएर मधेश शब्दबाट आतंकित भएर मधेशको सट्टा तराईलाई प्रचलनमा ल्यायो । भारतमा यो शब्द विलुप्त भएको शताब्दियौं बिति सक्दा पनि नेपालका शासकहरुले “मधेश” शब्दलाई इतिहासमा सुरक्षित राखि जन जिभ्रोको शब्द बनाएर जीवित राखेकोमा उनीहरुलाई धन्यवाद दिंदै प्रशंसा गर्नु पर्दछ ।
भारतमा १६ वटा महाजनपद मध्ये १४ वटा जनपद ‘मध्यदेश’ भित्र पर्दथ्यो भने गन्धार र कम्बोज बाहिर पर्दथ्यो । भारतको अर्वाचीन नाम मध्यदेश हो । अहिलेको भारत भूभागमा काश्मिरको खैबर दर्रा (गुफा) भएर आर्यहरुको आगमन ३५०० ई.पू. भएको थियो (राँगेय राघव, प्रा.भा.प.ई.पृष्ठ ११०) । इतिहासकार पार्जिटर पनि आर्यहरुको आगमनको यस तिथिबाट सहमत देखिन्छ । पार्जिटरले पुराण गवेषणाको आधारमा आर्यहरुको आगमनको तिथि निर्धारित गरेको छ । आर्यहरुको प्रथम पुरुष मनुले आर्यभूमिलाई ‘मध्यदेश’ नामाकरण र सीमाँकन यसरी गरेको थियो ।
हिमवदिवन्ध्ययोर्मध्यं यत्प्राग्विनशनादपि । प्रत्यगेवप्रयागाच्च मध्यदेशः प्रकीर्त्तितः ।।२१।। आसमुद्रात्तु वै पूर्वादासमुद्रात्तु पश्चिमात् । तयोरेवान्त गिर्योरार्यावर्त्तविदुर्बुधाः ।।२२।। मनुस्मृति, अध्याय १
“शब्दकल्पद्रुम” मा पनि आर्यावर्तको अर्थ ‘विन्ध्यहिमालयोर्मध्यदेशः‘ उल्लेख छ ।
अमरकोषमा “आर्यावर्त्तः पुण्यभूमिर्मध्यं विन्ध्यहिमालयोः” उल्लेख छ ।
मनुस्मृतिमा मध्यदेशको सीमा उत्तरमा हिमाल, दक्षिणमा विन्ध्याचल पर्वत, पूर्व र पश्चिममा समुद्र उल्लेख गरिएको छ । आर्य संस्कृतिको उद्भव तथा विस्तार यहीं भएको हो । १२औं शताब्दी सम्म मध्यदेश शब्द प्रचलनमा रह्यो, त्यसपछि मध्यदेशको उल्लेख भएको पाइदैन । धीरेन्द्र वर्मा, मध्यदेश, प्रस्तावना पृष्ठ १० अनुसार आर्यको यसै भूमिलाई ‘आर्यावर्त’ ‘हिन्दी प्रदेश’ पनि भनियो । भारतको इतिहास मध्यदेशको इतिहास हो । यूरोपीय विद्वानहरुको अनुसार आर्यहरुको संस्कृतिको प्राचीनतम तथा शुद्धतम रुप भारतको मध्यदेशमा पाइन्छ । ईरानी संस्कृति मध्यदेशीय संस्कृतिको सन्निकट थियो, ग्रीक अलि टाढा र जर्मनी धेरै टाढा थियो । वैदिक संहिताहरु, ब्राह्मण ग्रन्थहरु तथा उपनिषदहरुको रचना स्थल मध्यदेश थियो । राम, कृष्णको क्रीडा स्थल, महाभारत तथा पुराणहरुको लेखन, वाचन, ऋषि, मुनीको आश्रम, बुद्ध र महावीरको कार्यक्षेत्र, विदेशी, तुर्की, मुगल तथा अंग्रेजहरुको शासनको केन्द्र मध्यदेश थियो ।
यही मध्यदेश आर्यहरुको शासनको मूल थलो कालान्तरमा आर्यावर्तको नामले प्रसिद्ध भयो । शताब्दियौं आर्यावर्तको नाम प्रचलनमा रहेर यो भूमी भारतमा रुपान्तरण भई अद्यावधि कायम छ । मध्यदेशको उत्तरी भूभाग पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म नेपालको सीमामा परेकोले यसलाई नेपालका शासकहरुले मधेश भनेको हो । नेपालका शासकहरुले दक्षिणी क्षेत्रका बासिन्दालाई मधेशीभनेर ऐतिहासिक संज्ञा दिए पनि कालान्तरमा यो शब्द हेपाईको प्रतीक बन्यो । राज्य एकीकरणको अभियानमा सफल पृथ्वीनारायण शाह खस वर्चस्ववादी राज्य प्रणाली विकसित गरेपछि मधेशलाई विजित क्षेत्र तथा त्यहाँका बासिन्दालाई दास, गुलामको रुपमा हेर्ने, मधेशी भनेर उपेक्षा गरिने प्रचलन शुरु भयो । मधेशका बासिन्दालाई मधेशी भन्नु कुनै अनर्गल कुरा होइन, तर मधेशीलाई दास, गुलाम, डरपोक, कातर, विजित क्षेत्रका विदेशी भनेर घृणाका पात्रको रुपमा हेरिनु, व्यवहार गर्नु निश्चय पनि अशोभनीय कुरा हो । खस वर्चस्ववादी सामन्ती राज्य प्रणालीले साधन स्रोतको प्रचूरता रहेको मधेशलाई राज्यविहिनताको अवस्थामा राखी २४० वर्ष सम्म लूट्ने काम त गर्यो, तर न्यूनतम मानवाधिकार दिनु त कता हो कता, नेपालको नागरिकको दर्जा सम्म दिन सकेन । नेपालको जुनसुकै परिवर्तनमा मधेशीको अहम् भूमिका रहेको इतिहासलाई कसैले नकार्न सक्दैन । परिवर्तनकारी आन्दोलनमा जनशक्ति प्राप्त गर्न मधेशलाई प्रयोग मात्र गरि कुनै पनि परिवर्तनको अनुभूति हुन दिएन । देश भित्रै मधेशलाई उपनिवेश बनाएर शोषणका संयन्त्रहरुको माध्यमबाट त्यहाँका आयस्रोतलाई भर मग्दूर उपयोग गर्दा पनि राज्यले मधेशलाई तिरस्कार बाहेक केही दिन सकेन । पृथ्वी नारायण शाहले बसालेको नियम परिवर्तित परिवेशमा पनि यथावत् कायम रह्यो । शोषणका प्रारुपहरु लेखिनमा मात्र होइन, कसरी राज्यले मधेशलाई हरेक क्षेत्रमा शोषण गरेको छ, सरकार कै केन्द्रीय तथ्याँक विभागले प्रमाणहरु सुरक्षित राखेको छ । अहिले पनि शो केसको मिठाई जस्तै सैद्धान्तिक रुपमा राज्यले अधिकारको कुरा गरे पनि व्यवहारमा सम्भावना र अवसरका सबै ढोका मधेशको लागि बन्द राखेको छ ।
मधेश आन्दोलन पश्चात् राज्यले मधेशप्रति गरेको गैर न्यायिक व्यवहारलाई गम्भीरतापूर्वक बुझ्न जरुरी छ । सधैं पूर्व मधेश, पश्चिम मधेश, मधिशे, मर्सिया भन्न नथाक्ने राज्यले मधेश विद्रोह पश्चात् मधेशलाई तराई भनेर व्यापक प्रचार गर्न थाल्यो । मधेशको विरुद्धमा तराई को नाममा त्यहाँका जनजातिलाई उचालेर सामुदायिक दरार पैदा गरि त्यहाँको सामाजिक सद्भावलाई नष्ट गर्ने प्रयास गर्यो । राज्यबाट बञ्चित कुनै पनि समुदायको अधिकारको आन्दोलनलाई मधेशले सदैव समर्थन गर्ने कुरा बुझाई रह्नु पर्दैन । मधेश आन्दोलनको विरोधमा तराई आन्दोलनलाई विकसित गरि मधेशी शब्दलाई प्रचलन भन्दा बाहिर फ्याक्ने राज्यको दुषित षडयन्त्रको सुत्रपात भयो । मधेश सधैं राज्यको लागि प्रयोग हुने शक्ति भएकोले विश्वासै गर्न नसकिने किसिमले मधेश आफ्नो अधिकारका लागि समग्र मधेश एकतावद्ध भई विद्रोह गरेको देख्दा राज्य आश्चर्यचकित र भयभीत भयो । त्यही बेलादेखि राज्य मधेशलाई निस्तेज गर्न, तोड्न र कमजोर बनाउन आफ्ना सम्पूर्ण शक्तिलाई सक्रिय बनायो । मधेशका राजनीतिक दलहरु आन्दोलन पश्चात्का सफलताका उन्मादमा यसरी डूबे कि मधेशमा राज्यको षडयन्त्रको अभास पनि भएन । मधेशमा सामुदायिक शत्रुता, जातिय शत्रुता फैलाउन सफल राज्यको महको भाँडोमा परेको मधेशका राजनीतिक दलहरुलाई विलीनताको अवस्थामा पुर्याउने षडयन्त्र पनि थाहा छैन । विभिन्न समुदायलाई आफ्नो प्रभावमा पारेर राज्यले हामी मधेशी होइन भन्न लगाएर मधेशीहरुको आपसी एकतालाई नष्ट गर्ने साजिशको भविष्यम हुने परिणामबाट राज्य वाकिफ छैन । लिबीयाको कर्नल गद्दाफी जस्तो परिणाम नआउला भन्न सकिन्न ।
राज्यले दिएको परिभाषा अनुसार नेपालको सिमानाभित्र दक्षिणी तराई भूखण्डलाई मधेश भनिएको हो । मधेशले त्यो समथर भूमीलाई मधेश भनेको छैन । समथर क्षेत्रका बासिन्दालाई मधेशीभनेर पहिचान दिलाउने पनि राज्य नै हो । राज्यले घृणाको रुपमा प्रयोग गरेको मधेशी शब्दलाई आफ्नो पहिचान बनि सकेको अवस्थामा यसै शब्दबाट भयभीत भई तराई शब्दलाई प्रचलन ल्याउने अर्को किसिमको साजिश गरेको छ । एउटा सिमानामा बाँधिएका मान्यता प्राप्त देश नेपालका कुनै समुदायले “हामी नेपाली होईन” अथवा पहाडका बासिन्दाले “हामी पहाडिया होइन” भन्नेको कुनै तुक छैन । त्यस्तै मधेशमा बस्ने कुनै समुदायलाई “हामी मधेशी होईन” भन्ने अभ्यास गराउँदा गराउँदै राज्यलाई विकट अवस्थाबाट गुज्रिनु पर्ने यथार्थ पनि छर्लङ्ग हुनेछ ।
२०६८ मंसीर १६ गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!