२०६७ भदौ २५ गते
नेपालमा अधिकार सम्बन्धि उठेका द्वन्द्वको ठूलो भाग भूमि समस्यासंग गाँसिएको छ । सामन्ती भू–स्वामित्वको एकाधिकार, भूमिलाई सम्पत्तिको रुपमा प्रयोग र विभिन्न प्रकारका शोषणका कारण कृषिक्षेत्र असफल व्यवसायका रुपमा परिणत भएको छ । वि.स. १८५६ देखि भूमि अधिकारका आन्दोलन छिटफुट रुपमा देखिएपनि २००७ साल देखि संगठित र सशक्त रुपमा आएको हो । सयकडौंले यस आन्दोलनमा शहादत दिएका छन तर किञ्चित परिवर्तन बाहेक भूमिको समस्या ज्योंका त्यों रह्यो । भूमिमा सामन्ती भू–स्वामित्व र तिनका विभिन्न प्रकारका शोषण, उत्पीडन कायम रहे सम्म कृषिको विकास सम्भव छैन । कृषिको उत्पादनशीलता बढाउन सकिदैन ।
कृषि, सिंचाई तथा वनक्षेत्रमा वैदेशिक सहयोग (रु. दश लाखमा)
इस्वी सिंचाई तथा वन कृषि इस्वी सिंचाई तथा वन कृषि
१९९० ६४३.६ ६०९.६ १९९८ २४.७४ ९०९.९
१९९१ १५४८.६ ३९६.८ १९९९ २३४२.५ ८६७.३
१९९२ १०२.९ ७२४.५ २००० २९६८.५ ८०६.३
१९९३ ३४५४.२ २०६४.९ २००१ २३८९.१ ८९६.७
१९९४ २१६० १३०२.४ २००२ १६०३.४ ५७४.५
१९९५ २३०२.३ १०९७.३ २००३ १७५४.७ ६७४.९
१९९६ २३९१.४ ४३६.१ २००४ १८४३.७ ७५२.०
१९९७ १९२७.२ ९२४.९ २००५ १५७०.५ ८२५.८
स्रोतः मिनिस्ट्री अफ फाइनान्स (२०००–२००६)
पछिल्लो अङ्कमा कृषिभूमिको प्रतिशत मधेशमा ५२.६, पहाडमा ३९.१, हिमालमा ८.३ रहेको विवरण उल्लेख गरिएको थियो । भौगोलिक विकटताका कारण हिमाल र पहाडमा स्थायी सिंचाई व्यवस्था गर्न कठीन रहेकोले किसान आकाशे खेतीमा भर पर्छन । कृषिको विशालक्षेत्र ओगटेको मधेशमा सिंचाई प्रबन्धका पर्याप्त सम्भावना भएपनि मधेशको कृषिभूमि सिंचाई विहीन अवस्थामा छ ।
उपरोक्त तालिकाले सिंचाई तथा वनमा २९ अरब २ करोड १४ लाख, र कृषिमा १३ अरब ८५ करोड अन्ठावन्न लाख ९० हजार वैदेशिक सहायता नेपालले १६ वर्षमा प्राप्त गरेको छ । सिंचाई कृषिसंग सम्बन्धित भएकोले सिंचाईमा विनियोजित आधी रकम अर्थात १४ अरब कृषिको सहयोगमा थपिंदा २७ अरब हुन जान्छ । कृषिमा यति ठूलो रकम विनियोजित गर्दा पनि कृषिको अवस्था यथास्थानमा कायम छ ।
२००७ सालदेखि नेपालले वैदेशिक सहायता प्राप्त गर्न थाल्यो । सहयोग गर्ने राष्ट्रको संख्या क्रमिक रुपले बढदै गयो । सत्तासीन उपल्लो वर्गले यसको फाइदा उठायो भने देश र जनतालाई परनिर्भरतातिर धकेल्यो । बाहिर विकास भनिए पनि देश आन्तरिक रुपले परमुखापेक्षी बन्दै गयो । दक्षिण एशियाको पाँचवटा देशको ओभरसिज डेभेलपमेन्ट असिसटेन्ट (ओडिए)मा निर्भरताको मात्रा हेरौं ।
दक्षिण एशियामा ओडिए
देश १९८० १९९० १९९७ २००१ २००६
बंगलादेश ९.९ ६.९ २.३ २.१ १.९
भारत १.३ ०.४ ०.४ ०.४ ०.२
नेपाल ८.३ ११.८ ८.३ ६.७ ६.३
पाकिस्तान ५.१ २.७ १.० ३.४ १.७
श्रीलंका ९.८ ९.२ २.३ २.१ ३.०
यस तालिकाले नेपालको परनिर्भरता सबैभन्दा उच्च रहेको यथार्थ औंल्याएको छ । वैदेशिक सहायताले पहुँच भएका कुलीनवर्ग आर्थिक रुपले सम्पन्न भएकोछ भने देशमा गरिबी र परनिर्भरता व्यापक रुपमा बढेको विभिन्न तथ्याँकले देखाउँछ । स्रोतः ओइसिडी (२००८)
