भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण–एक समीक्षा

भारतीय प्रधानमन्त्रीको श्रावण १८ गते नेपाल भ्रमण सम्पन्न भएको छ । आफनो दुई दिने भ्रमणमा नरेन्द्र मोदीको चौतर्फी प्रशंसा भयो । विधायिका संसदमा आफनो ४६ मिनटको सम्बोधनमा राजनीतिक दलहरुलाई मात्र होइन, आम जनतालाई पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हर्षित तुल्याउनु भयो । वाक पटुताले सबै क्षेत्रलाई सन्तुष्ट पार्न सफल नरेन्द्र मोदी वास्तवमा नेपाल भारतको चिसिदै गएको सम्बन्धलाई नयाँ उर्जा दिनु भएको छ । अस्पष्ट रहेको नेपालप्रति भारतको भूमिकालाई नरेन्द्र मोदीले नवीन दृष्टिकोणबाट प्रखर ढंगले प्रस्तुत गर्न खोज्नु भएको विश्लेषक वृतमा चर्चा हुन लागेको छ ।
धर्म, संस्कृतिको आधारमा प्राकृतिक रुपमा रहेकोनेपाल भारत सम्बन्ध अनेक नासमझीका कारण निष्क्रिय भएको अवस्थामा अरु शक्तिकेन्द्रहरुले नेपाललाई आफनो हितमा प्रयोग गर्दै आयो । भारतसंग जतिसुकै सम्बन्ध चिसिएपनि हामी प्राकृतिक रुपमा जोडिएका छौं । अरु देशभन्दा भारतसंग हामी नजिक छौं ।बेला बेलामा दुबै देशलाई भएको “मिस अन्डरस्टैण्डीङ” ले सम्बन्ध चिसिदै गएकोले यसको नकारात्मक प्रभाव नेपालले मात्र भोगेन, भारतले पनि भोग्नु पर्‍यो । यो कुरा नरेन्द्र मोदीको सम्बोधनले पनि स्पष्ट पारेको छ–“आपलोग यदि चैन से नहिं हैं तो हिन्दुस्तान कैसे चैन से रह सकता है । आप दुःखी हैं तो हिन्दुस्तान कैसे सुखी रह सकता है ।”
आदिकालदेखि नेपाल भारतको सम्बन्धलाई दर्शाउँदै आफनो सम्बोधनमा उहाँले भारतको जीतको हरेक लडाईमा नेपालीको रगत सामेल छ भन्ने कुरा स्वीकार्नु भएको छ । हिमाल र गंगालाई नेपाल भारतको पौराणिक सम्बन्धका साक्षीको रुपमा दर्शाउनु भयो । हिन्दु धर्मावलम्बीहरुको शक्तिपीठहरु दुबै देशमा बाँडिएका छन् । नेपाल भारतको अन्योन्याश्रित सम्बन्धको यथार्थ पनि यही हो । तर १२५ करोड जनसंख्या भएको विशाल भारतको उत्तरी छेउमा रहेको २.६५ करोड जनसंख्या भएको नेपालसंग भारतको अन्तरंग सम्बन्ध रहेर पनि नेपालको अपेक्षित विकास हुन नसक्नुको भारतको अस्पष्ट भूमिकाबाहेक अरु के कारण दिन सकिन्छ ?
भारतसंग नेपालको व्यापार घाटा सबभन्दा बढि रहेको तथ्याँकले देखाएको छ । भारतले सहयोग गरेपनि नेपाल हरेक क्षेत्रमा पराश्रित हुँदै गएको छ । जलश्रोतको धनी नेपाल उर्जा संकट झेल्दै अन्ध्यारोमा बस्न बाध्य भएको छ । यी सबै दुर्दशाका यथार्थ चित्र हुन् । नेपाल भारत सम्बन्धको निष्क्रियताका कारण नै नेपालमा भारत विरोधी विचारको जन्म भयो । गरिबीका कारण धर्म परिवर्तनको होड नै चल्यो । यी सबै कुरामा भारतको गौण भूमिका दोषी छ । चीनको प्रभाव पहाड हुँदै मधेशसम्म पुगेको छ । यी सब कुराबारे नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा इण्डियन एक्सप्रेसमा सी. राजा मोहनको लेख पनि आएको छ । त्यसमा भारतले नेपाललाई हेर्ने परम्परागत दृष्टिकोणमा नयाँ सरकारले परिवर्तन ल्याउन जरुरी रहेको औंल्याएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यी सब यथार्थलाई अनुभूत गरेर नै आफनो सम्बोधनमा “नेपाललाई हाम्रो सरकारले प्राथमिकतामा राखेको छ” स्पष्ट गर्नुभयो । सर्वांगीण विकास भएर नेपाल समृद्धिको बाटोमा लागोस् भन्ने हाम्रो चाहना रहेको मोदीले स्पष्ट पार्नुभयो । नेपालको अन्ध्यारोलाई तत्काल हटाउन प्रसारण लाईनमार्फत बिजुली आपूर्त्ति गर्ने तथा ५.५ हजार मेगावाटको पंचेश्वर परियोजनालाई समयमै सम्पन्न गरि नेपालसंग विद्युत किनेर भारतको अन्ध्यारो हटाउने उहाँको प्रतिबद्धता वास्तवमा अहिलेको भारत सरकार नेपालको समृद्धिको पक्षपाती रहेको स्पष्ट हुन्छ । नेपालको विकासमा नै भारतको हित रहेको एउटा नवीन चिन्तन लिएर भारतीय प्रधानमन्त्री नेपालको विधायिका संसदमा प्रस्तुत हुँदा सबैले प्रशंसाभावमा ताली पिटेका थिए । हाईवेज, आईवेज तथा ट्रान्सवेज तीनै क्षेत्रमा नेपालको प्रगतिका लागि भारतले सहयोग गर्ने प्रतिबद्धता स्पष्ट भएको थियो । विकास निर्माणका लागि १० हजार करोडको सहयोग दिने घोषणा गरेर नरेन्द्र मोदीले विकासका योजनाहरु ल्याउनुस हामी अरु सहयोग गर्न तयार छौं भन्ने आश्वासन पनि दिनु भयो । यी कुराहरुबाट नेपालको विकासप्रति भारत गम्भीर रहेको स्पष्ट हुन्छ ।
बुद्ध नेपालमा जन्मेको ऐतिहासिक तथ्यको विरुद्धमा बिष वमन गरिएको कारणले दुखेको नेपाली मनलाई भारतका प्रधानमन्त्रीको हैसियतले नरेन्द्र मोदी “बुद्ध नेपालमा जन्मेको” तथ्य उजागर गरेर शीतलता प्रदान गर्नु भयो । भारतप्रति उत्पन्न भएको नेपाली मनको संशयको निवारण भएर नेपालीले ठूलो राहत महसूस गरेका थिए ।
लाखौंको संख्यामा रोजगारीका लागि विदेश पलायन हुने युवाहरु तथा उर्जा संकट खेपी रहेको समस्याप्रति इंगित गर्दै मोदीले पानी र जवानी पहाडको काम लाग्दैन भन्ने कुरातिर ध्यानाकर्षण गराउँदै भारतले पहाडकै लागि यसको उपयोगिता साबित गर्न जल विद्युत विकास तथा रोजगारका अवसर निर्माण गर्न चाहन्छ भन्नुभयो ।
कृषि र पर्यटनको क्षेत्रमा निहित असीमित अवसर रहेकोप्रति चासो देखाउँदै यस क्षेत्रको विकास गर्न भारत पछि नपर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । नेपालको चौतर्फी विकासप्रति भारतले देखाएको चासो नै उनको प्रशंसाको मूल स्रोत बनेको थियो । नेपालको विकास कार्यक्रमप्रति जुन दृढताका साथ मोदीको सम्बोधन भएको थियो, यसको कार्यान्वयन पक्ष उतिनै बलियो हुने सहजै अनुमान गर्न सकिन्छ । नेपालप्रति राखिएको परम्परागत सोचमा भारतले नवीकरण गरेको आम नेपालीको धारणा थियो र नेपाललाई भारत सरकारले प्राथमिकतामा राखेको नेपालको सर्वांगीण विकास गर्नकै लागि हो भन्ने कल्पना गर्न सकिन्छ ।
पहिलो संविधान सभादेखि दोश्रो संविधान सभासम्मको यात्रामा घटाईएका घटनाहरुप्रति वाकिफ रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक बिषयलाई पनि बडो कूटनीतिक तवरले विश्लेषण गर्नु भयो । “संघीय लोकतान्त्रिक गणतन्त्र”को शासन प्रणाली बनाउने तपाईंहरुको निर्णयप्रति हामी हर्षित छौं । ऋषिमनले बेलैमा संविधान निर्माण गर्नुस । संविधान पनि यस्तो गुलदस्ता होस जसमा सबै वर्ग, समुदायले आफनो पुष्पको वासना पाओस् ।कौमा र फुलस्टपको प्रयोग पनि बडो सावधानीपूर्वक होस्, होइन भने यसले संविधानलाई बिषवृक्ष नबनाई देओस्” भन्ने उद्गारहरु मोदीले प्रकट गर्नु भएको थियो ।
संघीय लोकतान्त्रिक गणतन्त्रबाट पछि हट्ने बदनियत मानसिकतालाई प्रहार गर्दै मोदीले ऋषिमनले संविधान बनाउन आग्रहको अर्थ जनपक्षीय संविधान बनोस् भन्ने थियो । दीर्घकालीन रुपमा द्वन्द्व व्यवस्थापनको लागि जनपक्षीय संविधान चाहिन्छ भन्ने आशय लिएर मोदीले “ऋषिमन” शब्दको प्रयोग गर्नु भएको हो । पहिलो संविधान सभादेखि संविधान सभाले लिएको जनादेशको विरुद्ध खडा भएका यथास्थितिवादी शक्तिहरुको क्रियाकलापलाई सबैले नियालेका छन् । दोश्रो संविधान सभालाई पनि त्यही बदनियत मानसिकताले अर्थहीन बनाउला भन्ने विद्यमान रहेको संशयपूर्ण वातावरणमा एकपक्षीय ढंगले होइन, सबैको भावना मुखरित हुने संविधान निर्माणको आवश्यकतालाई मोदीले उजागर गर्नु भयो ।
विगतकालमा यथास्थितिवादी शक्ति र प्रगतिशील शक्तिको अतिवादको प्रतिस्पर्धामा अर्थहीन बन्न पुगेको संघीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक रोडम्यापप्रति गम्भीर हुन तथा भविष्यमा उठ्ने सम्भावित खतरालाई रोक्न पनि जनपक्षीय संविधानको आवश्यकता रहेको मोदीको सम्बोधनको आशय थियो । नेपालमा उठ्ने द्वन्द्वबाट भारत पनि प्रभावित हुने भएकोलेद्वन्द्वको स्थाई समाधानप्रति भारत गम्भीर रहेको र त्यसैले संविधान निर्माणको संवेदनशीलतातर्फ सबैलाई ऋषिमनले लाग्न आग्रह गर्नु भयो ।
मधेशी नेताहरुपद र पैसाका कारण निरुद्देश्य हुन पुगेका तथा पार्टी फोडेर भएपनि अवसरको फयदा लिन अग्रसर रहेका, मधेशको जनादेशलाई दुरुपयोग गरेका, मधेशको कुरा गर्ने तर एकअर्कासंग मिल्न नसक्ने एकलकाँटे, अहंकारी आदि रुपमा भारतले नजिकबाट मूल्याँकन गरि सकेकोले केही दिन अघि मोदीको भ्रमणभन्दापूर्व भारतको विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण भएको अवसरमा मधेशका नेताहरुलाई सार्वजनिक रुपमा भेटघाट दिएकोले ती नेताहरु अचम्भित भएर आफनो कुरा भन्न अवसर नै पाउन सकेन । अपमानजनक भेटघाटको रुपमा लिएका मधेशी नेताहरु मोदीसंग पनि सोही अनुसारको व्यवहार पाउँदा जिल्ल परेका छन् । पैसा लिएर राजनीति गर्ने पराश्रित मानसिकतामाथि कडा प्रहार भएकोले “घरका नघाटका” को स्थितिमा पुगेका छन् । पात्र अनुसारको व्यवहार गरिने सामाजिक चलनको आधारमा भारतबाट भएको व्यवहारले सुध्रिनका लागि नैतिक दबाव पर्ने देखिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र भनेर मोदीले मधेशलाई खुशी पार्नु भयो भने मधेशका नेताहरुलाई प्राईवेट भेटघाट नदिएर गैर मधेशी नेताहरुलाई सन्तुष्ट पार्नु भयो ।
७ महिनादेखि एकीकरण प्रयासमा लागेका तराई मधेश लोकतान्त्रिक पार्टी, फोरम नेपाल तथा सद्भावना पार्टीको सयकडौं बैठकलाई भारतले आशापूर्ण नजरले देखि रहेको थियो । सबै मधेशी दलहरुलाई तत्कालीन काँग्रेस (आई) को सरकारले विभाजित रुपमा देख्न चाहेको आकाँक्षालाई मधेशी नेताहरुले पूरा गरेको थियो भने मोदी सरकार मधेशको दललाई एकढिक्का रुपमा देख्न चाहेको थियो । ऋषिमनको अभावमा थालिएको एकीकरणको प्रयास विफल हुनु स्वाभाविक थियो, भयो । यही एकीकरणको विफलताको परिणाम थियो मोदीसंग मधेशी नेताहरुको सार्वजनिक भेंटघाट,जसबाट मधेशी नेताहरु अपमानित महसूस गरेका छन् ।
फर्सीको लहरा जस्तै सहारा विना लत्रिन नसक्ने स्वाभाव भएका मधेशी दलहरु अहिले बेसहाराको अवस्थामा पुगेका छन् । अर्को सहारा नभेटुञ्जेल तत्काल एमाओवादीकै पिठ्यूँमा लत्रिन उपयुक्त सम्झेर लत्रेका छन् । विदेशमन्त्री तथा प्रधानमन्त्रीको उपेक्षाभावले मधेशलाई होइन, नेताहरुलाई तिरस्कार गरेको छ । मधेशको अधिकारको कुरा गर्ने तर एकढिक्का हुन नसक्ने अहंकारलाई तोड्नकै लागि मधेशका नेताहरुसंग यस्तो व्यवहार भएको बुझ्नु पर्दछ । मधेशलाई अधिकार दिलाउने भनेर पार्टी गठन गरि हिंडेका दलहरुले आफनो स्वार्थ पूरा गर्न विगतमा खेलेका अनैतिक घृणित खेलहरु तथा दोश्रो संविधान सभामा मधेशी मतदाताले विश्वास गर्न छाडेपछि संकुचित हैसियतमा पुगेपछि पश्चाताप गर्नुको सट्टा समानुपातिक सीटलाई कि त करोडौंमा बेचेको कि आफनो श्रीमतिलाई सभासद बनाएर अनैतिकताको प्रदर्शन गर्न चुकेनन् । पार्टीलाई हैसियत प्रदान गर्ने युवा जमातलाई सबै पार्टीले अपमानित गरेर राखेको छ । कसरी यी पार्टीहरु उभिएर मधेशको वकालत गर्न सक्दछ ?
२०७१ श्रावण २३ गते मधेशवाणीमा प्रकाशित

Leave a Comment

error: Content is protected !!