बेथिति विरूद्धका आवाजहरू

न्यायपालिकाका शीर्ष तह सर्वोच्च अदालतमा अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध न्यायाधीशहरू तथा बारका अधिवक्ताहरू राजीनामा गराउन संगठित भएका छन् । यो पंक्ति लेख्दासम्म न्यायालयभित्र चोलेन्द्र शमशेर जबराको प्रधानन्यायाधीश पदबाट राजीनामा गराउन न्यायाधीश र बारका अधिवक्ताहरू एकजुट भएर विरोधमा उत्रेका छन् ।

मन्त्रालय भागवण्डामा प्रधानन्यायाधीशले भाग खोजेको तथा अन्य कतिपय घटनामा भाग खोज्ने प्रवृत्तिले सर्वोच्चको छवि धुमिल भएको व्यापक गुनासो बाहिर फैलिरहेकोले चोलेन्द्र शमशेर जबराले अविलम्ब राजीनामा दिनुपर्छ भन्ने विरोधको आवाज बडो जोडले गुञ्जायमान छ । हालाकि चोलेन्द्र शमशेर जबराले जस्तासुकै परिस्थिति आएपनि फेस गर्ने भनेर सबैलाई चुनौती दिएको छ ।

अहिले व्यक्तिगत स्वार्थ पूरा गर्ने प्रधानन्यायाधीशको अनैतिक क्रियाकलापको घटना पहिलो होइन । पटक–पटक यस्ता घटनाले सर्वोच्च अदालतको मानमर्दन भएको छ । अहिले सर्वोच्च न्यायालयको भित्रैबाट भ्रष्ट आचरणको आवाज टड्कारो रूपमा उठेको छ । यस्ता घटनाहरूबाट सर्वोच्चको निष्पक्षतामाथि प्रश्न उठ्नु स्वाभाविक हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सेटिङ्ग रहेको व्यापक चर्चा भएको थियो । केपी शर्मा ओलीले नै यो कुरा सार्वजनिक रूपले भनेका थिए । तर त्यो सेटिङ्ग धेरै दिनसम्म चल्न सकेन । पछि अर्को सेटिङ्गसँग सम्बन्ध भएकोले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ जनादेश लिन पहिलोपल्टपुस ५ गते २०७७ विघटन गरेको संसदलाई सर्वोच्च अदालतले पुनस्र्थापना मात्र गरेन, लगत्तै दोस्रो पटकको विघटित संसदलाई पुनस्र्थापित गरी प्रधानमन्त्री पनि तोकि पठायो ।

यति छिट्टै नाता तोडेको झोंकमा अहिले केपी शर्मा ओलीले पनि विरोधको आवाजलाई समर्थन गर्दै संवैधानिक इजलाशमा रहेका ५ वटै न्यायाधीशको राजीनामा माग गरेका छन् ।
भ्रष्टाचारमा लिप्त सरकारका हरेक संयन्त्रमा यस्ता घटनाहरू सार्वजनिक भइरहँदा पनि सरकार मौन रहेको कुराबाट भ्रष्टाचार सरकारबाट नै निर्देशित रहेको कुरालाई अक्षरशः मान्न कुनै गल्ती हुँदैन । बालुवाटारको ललिता निवासको जग्गा प्रकरण कुन दबाबमा शिथिल भइरहेको, ३३ किलो सुनकाण्ड किन सेलाएको, वाइडबडी जहाज खरीदकाण्ड, चर्चाबाटकिन ओझेल भएको आदि घटनाहरू हामीलाई शंकाको घेरामा लैजान पर्याप्त छ ।

गरीबहरूको मुद्दा कि त अदालतको सूचिमै समावेश हुँदैन । भयो भने सबभन्दा तल–तल बसेको कारण फैसला क्रममा पुग्न दशकौं लाग्छ । रवि लामिछानेको न्यूज २४ टिभी कार्यक्रममा टेलिफोन अन्तर्वार्तामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले दिनुभएको यो अभिव्यक्ति हुन् । सर्वोच्च अदालतको निष्पक्षताको नियत कस्तो छ, यस अभिव्यक्तिबाट प्रष्ट थाहा हुन्छ । अर्थात् बेथितिमा चलेको यो देशको सबै शीर्ष राजनीतिक दलका भ्रष्टाचारका मतियार हुन् ? ट्रान्सपेरेन्सी इन्टरनेशनलले विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी नेपालको भ्रष्टाचारलाई केपी शर्मा ओलीको संरक्षण प्राप्त छ भन्ने प्रतिवेदन सार्वजनिक गर्दा त्यसको पक्षमा पहल गर्नुको साटो केपी शर्मा ओली रातोपिरो भई तथानाम गाली गरेका थिए । अर्थात् नेपालमा भ्रष्टाचार छैन, यी मिथ्या आरोप हुन भनेका थिए ।

यति सानो देशमा २१ अर्ब हिनामिना गर्ने चुडामणी शर्मा, ३३ किलो सुन ओसार्ने चुडामणी उप्रेती कसरी भ्रष्टाचार गरे त ? यसबारे कुनै पनि सरकार मौन रहनु मतियार धर्म निर्वाह गर्नु हो ।

प्रदेश नं. २ को मुख्यमन्त्रीको कार्यालयमा अख्तियारले छापा मारेको छ । मुख्यमन्त्री कार्यालयले कुनै अनियमितता नभएको भनेको छ भने अख्तियार अनुसन्धानको क्रममा छ । बिना सबुत अख्तियार छापा मार्दैन । मार्छ भने त्यो उसको लागि प्रत्युत्पादक हुन्छ । हालै खानेपानी तथा ढल निकासको कर्मचारी ई.राजेश्वर कुशवाहालाई जनमत पार्टीका कार्यकर्ताहरूले नाङ्गै पारेर शहर परिक्रमा गराएका थिए । भ्रष्टाचार गर्ने अरू कतिपय अख्तियारमा सूचिबद्ध छन् कतिपय जनमत पार्टीको कालो सूचिमा परेका छन् । जनताको नजरमा रहेका प्रदेश नं. २ का कर्मचारी, मन्त्रीहरू कति भ्रष्टाचारी छन्, जसलाई न अदालतले छुन सक्छ न सरोकारवाला निकायले । जनता आजीत भइसकेका छन्, भ्रष्टाचारको मार झेल्दा झेल्दै । ईन्जिनियरलाई नाङ्गै शहर घुमाएको घटनाबाट जनता खुशी छन् भने कर्मचारी आतंकित छन् । यो घटना सभ्य समाजको लागि हुँदै होइनन् भन्छन् ।

यता डा.बाबुराम भट्टराई दशैंमा अग्रजनबाट टीका थाप्दै हिन्दू धर्मले देशलाई उभो लाग्न दिँदैन, क्रिश्चियन धर्म अँगाले, देश खुशहाल हुन्छ भनेर अजीब खाले नौटंकी गरेर देशमा रहेको धार्मिक सहिष्णुतालाई भड्काउन खोजेको छ । जसलाई जे मन लाग्यो त्यो बोल्ने छुट छ ।

मधेशी कट्टर हिन्दू धर्म समर्थक सम्प्रदाय हो । मधेश गरीब छ तर पहाडको गरीब जस्तो यसले साँझ बिहान धर्म परिवर्तन गर्दैन । तर पनि बाबुराम भट्टराई मधेशलाई बदल्न आफ्नो ठूलो खतरनाक रणनीति बनाएको छ । जसपाले उसलाई संरक्षण दिएको छ । जब मधेशलाई पूर्णरूपले यो थाहा हुन्छ कि जनता समाजवादी पार्टीले मधेशलाई क्रिश्चियन बनाउने रणनीतिमा लागेको छ । त्यो दिन बाबुरामको मात्र होइन, उपेन्द्र यादवको राजनीति पनि समाप्त हुन्छ ।

लभ जेहादका पनि छिटफुट घटनाहरू देखा पर्छन् । हालै इनरूवामा मुस्लिम केटा र हिन्दू केटीको प्रेम प्रसंगमा हिरासतमा रहेका मुस्लिम केटाको मृत्युबाट मुस्लिम समुदाय केटीवालाको घरमा पसी सरसामान, लत्ताकपडा आदि तोडफोट गरी घर अगाडि जसलाइदिएको घटना उग्ररूप लिन खोजिरहेको छ ।

विधिको शासनमा चल्ने भनेर सबैको हस्ताक्षरित दस्तावेज छ, तर देश बेथितिमा चलिरहेको छ । बेथितिमा सबै कुरा सुलभ हुने, सरलमार्ग रहेकोले सरकार आफू मात्र होइन, सबैलाई त्यहीं मार्गमा हिंड्न बाध्य पारेको छ । फलतः देशमा अराजकता फैलिएर द्वन्द्व उठ्ने चलन नै बसिसकेको छ ।

(२०७८ कार्तिक १२ गते मधेशवाणीमा प्रकाशित)

Leave a Comment

error: Content is protected !!